MENU

माइकल ज्याक्सनको पछिपछि

patan-college

धीरज राई शुक्रवार, पुस २८, २०७४ 480 पटक पढिएको

Share This

635-x-85

जतिबेला म नेपाली पपसंगीत क्षेत्रमा आएँ, त्यतिबेला पपगायक माइकल ज्याक्सन आफ्नो प्रसिद्धिको टाकुरामा थिए। उनको प्रभाव संसारभरि एकछत्र थियो। उनका धेरै प्रशंसकहरूमध्ये म पनि एक थिएँ। अहिले बुझ्दा यस्तो लाग्छ, माइकलको आगमन उनको परिवेशमा जति कठिन थियो, उतिकै गाह्रो नेपाली पपसंगीतको आगमनमा पनि थियो। पश्चिमी परिवेशमा ‘काम गर्ने कालु, मकै खाने भालु’ भनेझैं हुँदै आइरहेको छ। काला जातिको सिर्जनशीलतालाई गोराहरूले प्रायः ‘क्यास’ गर्ने गरेका छन्। जस्तो कि कालाहरूले सुरु गरेको ‘रक एन्ड रोल’ संगीतलाई गोराहरूले भरपुर उपयोग गरे।

हरेक क्षेत्रमा सकेसम्म आफ्नै किसिमको अनुहार आओस् भन्नाका खातिर गोराहरूले ह्वाइट् सिंगर विथ ब्ल्याक भ्वाइस्’ अर्थात् ‘कालाको गीत गाउन सक्ने गोरो स्वर’को खोजीतर्फ लागे। ‘चकबेरी’, ‘लिटल रिचर्ड’ जस्ता काला गायकहरूको योगदान महत्वपूर्ण भएता पनि ‘रक एन्ड रोल’ संगीतको राजाको उपाधि भने एल्भिसको पोल्टामा पर्‍यो। केही वर्षपहिले गायक कुबेर राई र मेरो विषयलाई लिएर प्रणय लिम्बूले बनाएको डकुमेन्ट्री ‘इतिहास जित्नेहरूका लागि’ मा मेरो भनाइ यही नै थियो कि कला ‘एक्सपोज’ हुने मौका पाएन भने त्यो त्यत्तिकै मर्छ। स्थापित हुनलाई कि वातावरण आफ्नो अनुकूलमा हुनुपर्छ, या त आफू वातावरण अनुकूल।

माइकलको सन्दर्भमा पनि त्यस्तै भयो। सही समयमा सही व्यक्तिको सहयोगको कारणले माइकलको प्रतिभा प्रस्फुटित हुने मौका पायो। घरमै सांगीतिक माहोल भएता पनि सायद ‘डायना रोस’जस्ता गायिका अनि ‘क्वेन्सी जोन्स’ जस्ता निर्माताको सहयोग नमिलेको भए यसै भन्न सकिँदैन थियो। स्मरण रहोस् यी दुई काला जातिका थिए। गोराहरूको त्यो ‘मेकानिजम’लाई तोडेर माइकल अगाडि आउन सके। दुई युद्धको सामना उनले गर्नुपर्‍यो। पहिलो रंगभेदको विरुद्ध र अर्को बजारमा चलेका संगीतसँग।

आफ्नो नाम कुनै प्रख्यात व्यक्तिसँग जोडिन पाउँदा खुसी नहुने व्यक्तिहरू सायद कम छन्। तर सत्य त के हो भने मैले कहिल्यै पनि आफूले आफैंलाई नेपाली माइकल ज्याक्सन भनेको छैन। 

नेपालमा मैले पनि त्यस्तै युद्धमा होमिनु पर्‍यो। बाबुआमाले सुन्दै आएको गीतसंगीत सुन्दासुन्दा हामी वाक्क दिक्क भइसकेका थियौं। आफ्नै सोच र उमेर मिल्ने संगीतको खोजी गर्ने क्रममा मैले नेपाली पप रोजे। यसमा स्वतन्त्रता थियो। गाउने विषय, शैली अनि प्रस्तुतीकरणमा खुल्लापन थियो। तर रेडियो नेपालमा हामी प्रतिबन्धित थियौं। २०४६ सालमा गाउन सुरु गरेदेखि २०५२ सालसम्मको अवस्थामा नेपाली पपगीत रेडियोमा बज्ने मौका पाएन। एक कार्यक्रममा मैले नाच्दै गाउँदा एक अग्रज स्रष्टाले मलाई गाली नै गरे। नाकको पोरा फुलाएर चोरी औंला मतिर तेस्र्याउँदै उनी कड्किए, ‘कि नाच, कि गाउँ...के नाटक हो यो ? ’ मैले नाच्दै गाएको उनलाई मन परेन।

२०५२÷०५३ सालतिर एफएम स्टेसन र प्राइभेट टीभी च्यानल अस्तित्वमा आए। त्यसपछि बाँधले छेकेर रोकिएको पपसंगीतको बाढी नै आयो। अतिरिक्त खुबीका कारण पपस्टारहरू अरू विधाका भन्दा फरक देखिए। समय बित्दै जाँदा नेपाली पपसंगीत स्थापित भयो। मेरो पनि चर्चा चुलियो।

रेडियो नेपालका गायकगायिकाहरूको प्रस्तुत गर्ने शैली मलाई पटक्कै मन परेको थिएन। गायक भनेपछि निराश देखिनै पर्ने, गम्भीरै हुनुपर्ने, बसेरै गाउनुपर्ने वा ठिङ्रिङ उभिएर मूर्तिजस्तो हुनुपर्ने यस्तो मान्यता थियो। केही सीमित गायकगायिका, संगीतकार, गीतकार वरपर नै रेडियो नेपाल घुम्थ्यो। स्वाभाविकै थियो, यसैकारण रेडियोमा बज्ने गीत ‘मनोटोनस’ थियो। राष्ट्रिय नाचघर, नेपाल प्रज्ञा प्रतिष्ठान वा पुलिस क्लबका कलाकारलाई नै देश तथा विदेशका कार्यक्रमहरूमा नाच्ने कलाकारको रूपमा समावेश गरिन्थ्यो।

ग्ल्यामर अनि ड्रेसअप चलचित्रका कलाकारको मात्र पहिचान हो जस्तो मानिन्थ्यो। भुवन केसी र शिव श्रेष्ठ त्यसबेलाका सुपरस्टार थिए। ठूल्ठूला पोस्टर अनि बस तथा ट्याक्सीमा टाँसिएको तिनका स्टिकर देखेर म उनीहरूजस्तै बन्ने चाहना राख्थे। समग्रमा त्यसबेला गायकगायिका भन्नेबित्तिकै रेडियो नेपाल, डान्सर भन्नेबित्तिकै राष्ट्रिय नाचघरलगायतका ठाउँहरू र डे«सअप, ग्ल्यामर अनि पर्फमेन्स भने चलचित्रका कलाकारमा मात्र हुनुपर्छ भन्ने बुझिन्थ्यो। यही आएर मलाई माइकल ज्याक्सनले आकर्षित गर्‍यो। उनी जति राम्रो गाउथे, त्यति नै राम्रो नृत्य गर्थे भने उनको डे«सिङ सेन्स पनि अत्यन्त फरक थियो। लुक्स राम्रो नभए पनि लुगा लगाउने उनको स्टाइल, गाउँदा देखिने उनको फरकपन चमात्कारिक थियो।

यसैबीच ‘थ्रिलर’ बोलको गीतमा ज्याक्सनले लगाएको रातो रङको चेनैचेन भएको छालाको ज्याकेट, फेसनको एउटा टे«न्ड नै बन्यो। काठमाडौंमा पनि त्यस्तै ज्याकेट लगाउनु युवाहरूको जमात बढ्यो। मैले एउटा प्रयोग गर्ने विचार गरेँ। सुरुका वर्ष नृत्य निर्देशक वसन्त श्रेष्ठसँग नृत्य सिके। मसँगै नायक दिलीप रायमाझी, श्रीकृष्ण श्रेष्ठ, सुशील क्षेत्री, नायिका पूजा चन्द पनि त्यहाँ नृत्य सिक्न आउथे। ड्रेसअपमा केही फरक देखाउन सकु भनी मैले जिन्सको पाइन्ट, जिन्सकै ज्याकेट र डिंगो बुटलाई आफ्ने ‘सिग्नेचर’ ड्रेस बनाए। डिस्को संगीत चलेको सो समय मैले ‘लुकीलुकी’ बोलको गीत सोही शैलीमा कम्पोज गरे। भाग्यवश सो ‘प्रयोग’ अत्यन्त सफल रह्यो। नाच्दै गाउने र ड्रेसअप अनि स्टेज प्रस्तुतिको मेरो नयाँ शैलीलाई युवाहरूले अत्यन्त रुचाए। पपगायकहरूको भीडमा मेरो पहिचान पृथक् हुन पुग्यो। नाच्दै गाउने नयाँ केटो आएको छ...एउटा पत्रिकाले लेख्यो। हुँदाहुँदा ‘नेपाली माइकल ज्याक्सन धीरज राई’ले स्टेज थर्काए जस्ता समाचार पत्रपत्रिकामा छापिन थाले। एफएम स्टेसनहरूले पनि कभरेज गरे।

वसन्त श्रेष्ठ, पूर्णाम राई, शम्भु शाही, रेनासा राईजस्ता कोरियोग्राफरहरूले मेरो नृत्यलाई निखारेका हुन्। वास्तवमा नाच्दै गाउँदा बढी प्रभावकारी हुँदो रहेछ भन्ने कुरा मैले माइकलबाट सिकेको हुँ। जति रकम खर्च गरे पनि, जति नै विज्ञापन गरे पनि श्रोतालाई जबर्जस्ती गीत मन पराइदिन लगाउन सकिन्न। दर्शक श्रोताहरू नै अन्तिम निर्णायक हुन्। गीतलाई जति दबाए पनि आफैंमा राम्रो छ भने हिट भएर छाड्छ। बिर्सिन नहुने कुरा के पनि हो भने हूलले कलाको मापन गर्दैन, जुन कि राजनीतिमा हुन्छ। कलाले सीधै मनसँग सम्बन्ध राख्दछ। आफ्नो नाम कुनै प्रख्यात व्यक्तिसँग जोडिन पाउँदा खुसी नहुने व्यक्तिहरू सायद कम छन्। तर सत्य त के हो भने मैले कहिल्यै पनि आफूले आफैंलाई नेपाली माइकल ज्याक्सन भनेको छैन।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2