MENU

बिरुवारामको ‘चाली’ चिन्ता

patan-college

भगीरथ अवस्थी शुक्रवार, पुस २८, २०७४ 192 पटक पढिएको

Share This

635-x-85

विशालपुर माविका शिक्षक बिरुवाराम लुहार गाउँमा कुनै सार्वजनिक कार्यक्रमको सुइँको पाउनेबित्तिकै कुदिहाल्छन्। सार्वजनिक कार्यक्रममा उनी १०÷१२ महिला पुरुष तयार गरेर ‘चाली’ खेल देखाउन तम्तयार हुन्छन्। पहिलापहिला गौराका समयमा दिनभरि देवीदेवताका गाथामा आधारित खेलहरू खेलेपछि साँझको समयमा रमाइलोको लागि खेलिने ‘चाली’ लोप हुन थालेपछि शिक्षक लुहार अनवरत रूपमा यसको संरक्षणका लागि तत्पर छन्।

समाजमा रहेका विकृति विसंगतिका विरुद्ध तिखो प्रहार उनी ‘चाली’ मार्फत नै गर्छन्। ‘पहिला पनि चालीमा हँसाउने, रमाउने खालका देउडा भाकाका गीतहरू गाइन्थे, अहिले मैले समाजमा हुने विभिन्न विकृतिलाई समेत ‘चाली’मार्फत सुनाउने गरेको छु,’ उनले भने। विद्यालयका वार्षिकोत्सव अथवा अन्य सार्वजनिक समारोहमा शिक्षक लुहारको ‘चाली’ आकर्षणको रूपमा रहन्छ। यसमा गाइने गीतहरूको भाका, भन्ने शैली र व्यंग्यात्मक प्रस्तुति नै यसको आकर्षण हो।

के हो ‘चाली’

‘चाली’ भनेको देउडा खेलकै एक नमुना हो। तर यसमा पैताला र हातको ताली पनि सँगै बजाउनुपर्ने भएकाले यसलाई ‘चाली’ भनिएको हो। यसमा महिला र पुरुषविपरीत दिशातिर भएर खेल्छन्। उनीहरूले एकअर्कालाई कटाक्ष हुने खालका शब्दहरू देउडा गीतमार्फत भन्छन्।

‘चाली’ हेर्न गौराका समयमा धेरै घुइँचो लाग्थ्यो। त्यसमा सहभागी हुन पनि तँछाडमछाड हुन्थ्यो। पछिल्लो समयमा यो लोप हुन थालेपछि यसको संरक्षणका लागि गौराबाहेकको समयमा पनि खेलाइएको शिक्षक लुहारले बताए। उनले पुरुषहरूको ड्रेस पनि आकर्षक बनाउन थालेका छन्। ताकि दर्शकको ध्यान पोसाकले समेत तानोस्। चाली खेल्दा हँसाउन पुरुषले मुखुण्डो, फाटेको झुत्रा लुगासमेत लगाउने गर्छन् भने महिलाहरू सारी र चोलीमा खेल्छन्।’

शिक्षक बिरुवाराम लुहारको ‘चाली’ जोगाउने अभियानले युवा पिँढीमा संस्कृति संरक्षणको लागि जागरुकता पैदा भएको छ। युवाले पनि हराउँदै गएको संस्कृतिको बारेमा बुझ्न पाएका छन्।

‘चाली’ खेलमा पहिला पहिला ठट्टा मजाकका गीतहरू गाइने भए पनि अहिले भने सामाजिक विकृति अन्त्यका गीतहरू पनि समावेश गरिने गरेको शिक्षक लुहार बताउँछन्। उनले भने, ‘महिलाले पहिलापहिला घरमै बच्चा जन्माउँथे, छोरीहरूलाई विद्यालय पठाउँदैनथे, जातीय विभेद हुन्थ्यो। त्यसले समाजको विकास भइरहेको थिएन। त्यसैले गलत चलनलाई त्यागेर सभ्य समाज निर्माणका लागि पनि ‘चाली’मार्फत आग्रह गर्ने गरेका छौं।’

विभिन्न समारोहमा खेलिने ‘चाली’ ले पुराना संस्कृति बचाउन सहयोग पुर्‍याएको स्थानीयबासी जयदत्त भट्ट बताउँछन्। उनले भने, ‘शिक्षक बिवाराम लुहारको अभियानले युवा पिँढीमा संस्कृतिको संरक्षणका लागि जागरुकता पैदा भएको छ। उनीहरूले पनि हराउँदै गएको संस्कृतिको बारेमा बुझ्न पाएका छन्।’

शिक्षक लुहारले अन्य गाउँमा हुने कार्यक्रममा पनि चाली खेल प्रदर्शनको संयोजन गर्ने गरेका छन्। उनले भने, ‘जिल्लाको तल्लोसोराङका हरेक वडामा हुने कार्यक्रममा हामीले चाली संस्कृति प्रदर्शन गर्ने गरेका छौं। यसले चालीप्रतिको आकर्षण पनि बढ्दै गएको छ। चाली हेर्ने मान्छेको घुइँचोसमेत लाग्ने गरेको छ।’

मेलौली नगरपालिकाका सदस्य सुरत पार्की भन्छन्, ‘नयाँ पुस्ताले चाली के हो भन्ने थाहा नै पाएको थिएन। अहिले हाम्रो ठाउँमा हुने हरेक कार्यक्रममा चाली प्रदर्शन हुन्छ। यसले चालीका विषयमा बुझ्न मद्दत गरेको छ।’ पछिल्लो समयमा डीजे साउन्डका माध्यमबाट हिन्दी गीत र पश्चिमा गीतहरू बजाएर मनोरञ्जन लिने क्रम बढेको भए चालीले पनि विस्तारै आफ्नो चाल चाल्दै छ। पाटनका धर्मसिंह विष्टले भने, ‘हामीसँग अपार संस्कृति छ। तर त्यसको संरक्षण नहुँदा हामी संस्कृतिविहीन अवस्थामा पुग्ने भएका छौं। चालीमार्फत जागरण आउँदै गरेकोमा खुसी लागेको छ।’

चालीका बारेमा जानकार गिदारा शुक्रदेव भट्ट भन्छन्, ‘चालीको पुनर्जागरणले समाजमा हुने असमानतालाई कम गर्न समेत सहयोग गर्दछ। महिला र पुरुष मिलेर खेल्ने भएकाले यसले सामाजिक समानतामा जोड दिएको छ।’

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2