MENU

पोस्टरम्यानको कथा : फिल्मी दुनियाँका अर्कै राजेश

patan-college

राजु स्याङ्तान शनिवार, पुस २९, २०७४ 1630 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : उनको खास नाम त झालु सिंह क्षत्री हो । तर, फिल्म इन्डस्ट्रीका मानिस उनलाई राजेश भिखारी भनी बोलाउँछन् । नेपाली सिने क्षेत्रमा ‘राजेश’ अब नामबाट विशेषण भइसक्यो ।ती राजेशको काम सिनेमा खेल्नु हो, अटोग्राफ दिनु हो । अनि, पोस्टरमा टाँसिनु हो । यी राजेशको काम केवल पोस्टर टाँस्नु, टाँसिरहनु हो । कालो वर्ण, चुरोटले डढेर कालो भएको ओठ, पछाडि बाँधेको कपाल । मोटो शरीरमा कालै रंगको ज्याकेट । फिल्मका रंगीचंगी पोस्टरजस्तै रंगीन र गुलाबी छैन उनको जीवन ।

सारा सहर मस्त निदाइसकेपछि राजेश रातो रंगको बाल्टिनमा मैदाले बनेको गम र रिलिज हुन लागेका फिल्मका पोस्टर बोकेर सहरका भित्री गल्लीहरू चाहर्छन् र सहरका भित्ताहरूमा फिल्मका पोस्टर टाँसेर रात गुजार्छन् । जाडो, गर्मी या बर्खा, २० वर्षदेखि राजेशको दैनिकी यही हो ।

फिल्मको सम्पूर्ण निर्माण कार्य सकिएपछि मात्र सुरु हुन्छ, राजेशको काम । ०४६ देखि काठमाडौं बस्न थालेका राजेशलाई नगरप्रहरीले पोस्टर टाँसेकै कारण ५० औं पटक पक्राउ गरिसकेको छ ।

rajesh-poster

गोपीकृष्ण सिनेमा हल राजेशको खास अड्डा हो । अन्तर्वार्ताका लागि उनीसँग भेट भएको पनि गोपीकृष्णको ग्राउन्ड फ्लोरको अँध्यारो होटेलमै हो । चुरोटको लामो सर्को तानेपछि उनले भनेका थिए, ‘मेरो अन्तर्वार्ता लिएर तपाईंलाई के फाइदा ? ’

कहिल्यै घामको ताप नछिर्ने चिसो कोठामा एउटा रातो बत्ती बलिरहेको थियो । छेउछाउमा थिए केही टेबल । चुरोटको गन्ध ह्वास्स आयो । अलिपर भाँडा माझिरहेको आवाज आइरहेको थियो । उनले दुईवटा चिया अर्डर गरे । त्यसपछि मैलो सोफामा थ्याच्च बसे । कलर प्रिन्ट गरिएको सानो पोस्टर टेबलमा फिँजाए र भने, ‘यो मेरो नयाँ फिल्मको नाम हो । सौगात मल्लसँग कुराकानी गरिसकें । दयाहाङसँग बाँकी छ ।’

सहर सफा राख्ने भन्दै महानगरपालिकाले पोस्टर टाँस्न बन्देज गरेपछि २० वर्षदेखि काठमाडौंका भित्तामा फिल्मका पोस्टर टाँस्ने राजेश ‘भिखारी’को पोस्टर पेसा अहिले संकटमा छ ।

 

भिखारी टाइटल किन नि ? उनले प्रस्टीकरण दिए, ‘मेरा केही साथीहरू भिखारी छन् । एकदमै माया लाग्छ उनीहरूको । त्यही भएर राखेको ।’ उनको घर पूर्व झापाको सरणमती-८ । बुबा धमनिया सिंह क्षत्री र आमा नेहालीसिंह क्षत्रीले दाउरा बेचेर हुर्काए तर स्कुल पठाउन सकेनन् । उनले स्कुलको ढोकासम्म टेकेका छैनन् । सामान्य लेखपढ गर्नसम्म आउँछ ।

७ दाजुभाइमध्ये उनी माइला सन्तान हुन् । उनलाई सबैले झालु भन्थे । गाउँमा बनिबुतो गर्ने र दाउरा बेच्नेबाहेक अरू उपाय थिएन । वर्षामा पानी चुहिरहने खरको सानो झुपडी थियो । आधा घाम घरभित्र लाग्ने, आधा बाहिर । त्यहीँ हुर्किए उनी । राजेश सानोमा खुब बाँसुरी बजाउँथे । गाउँभरिको बाँसझाङमा बाँसको टुप्पा एउटै बाँकी राखेनन् । टुप्पा काट्दै झिरले प्वाल पारेर बाँसुरी बनाए । बाँसको टुप्पा हराउँदा गाउँलेहरू सरासर उनको घर आउँथे र उनैलाई खोज्थे । कतिले थप्पड पनि लगाए । स्कुल जाने उमेरमा उनी अर्काको घरमा हरूवा बस्न गए । ८ वर्षदेखि ११ वर्षसम्म बाख्रा चराए । त्यसपछि हलो जोत्न थाले । बाख्रा चराउँदाको साथी हो निर्देशक प्रकाश आङ्देम्बे । राजेशले भने, ‘प्रकाश कहाँ होला आजभोलि ? उसले बनाएको फिल्म अस्ति लागेको थियो यहाँ ।’

हलो जोत्दा-जोत्दै भागेर राजेश बेलाबेला बोर्डर पारी पुगी हिन्दी फिल्म हेर्थे । मिथुन चक्रवर्ती र गोविन्दा उनको फेवरेट हिरो । तर, हेरेर त जिन्दगी चल्दैनथ्यो । हलो जोतेर जीवन उँभो नलाग्ने ठाने । र, परदेश जाने सोचे ।

काठमाडौंमा गलैंजा बुन्न पाइन्छ भन्ने सुने । त्यसपछि एकदिन सुरुंगा बजारबाट नाइट बस चढेर भागे । त्यो ०४६ सालतिरको कुरा हो । हाफपाइन्ट र हाफ कमिज लगाएका थिए । खुट्टामा थियो हात्तीछाप चप्पल । काठमाडौं आएर गलैंजा बुन्न थाले । तर, त्यो काम धेरै समय गरेनन् । ज्यामी काम गर्न थाले । ज्यामी काम गर्दागर्दै रेडियो नेपालको चौतारी कार्यक्रममा पुगे । त्यो अवसर संगीतकार बुलु मुकारुङले दिलाएका थिए । त्यहाँ गएर बाँसुरी बजाए । ‘झालु रेडियो नेपालको कलाकार बन्यो’ भन्दै गाउँमा हल्ला चल्यो । रेडियो नेपालमा स्वर परीक्षा पनि दिए । तर, सफल भएनन् । झालुको कलाकार बन्ने सपना अधुरै रह्यो ।

ज्यामी काम गर्दागर्दै उनले निर्देशक शम्भु प्रधानको घरमा काम गर्न थाले । दिनभर प्रधानको घरमा भाँडा माझ्नु, रातभर उनकै फिल्मको पोस्टर टाँस्नु उनको दैनिकी बन्यो । उनलाई साताको सय रुपैयाँ पारि श्रमिक दिइन्थ्यो । राजेशको कटेरोमा घन्टी राखिएको थियो । कटेरोमै उनी सुत्थे । घन्टी बज्नासाथ दौडिएर प्रधानको अघि हाजिर हुन्थे ।

posterman-rajesh-bhikhari

प्रधानको घरमा राजेशको दुई वर्ष बित्यो । उनका बुबा बिरामी भए । घर जान उनले १२ हजार रुपैयाँ मागे । त्यसबेला शम्भु प्रधानले भनेको शब्द उनलाई याद छ, ‘शिव श्रेष्ठकै रेट मागिस् त !’ उनलाई अन्तिममा दिइयो ३५ सय रुपैयाँ । त्यही पैसा लिएर घर गए । त्यसपछि राजेश कहिल्यै फर्केर प्रधानको घर गएनन् ।

राजेशलाई पहिलोपटक नरेन्द्र घिमिरेले स्पट ब्वाईको काम दिए । सुटिङस्थलमा खाना पुर्‍याउने, भाँडा माझ्ने, लाइट बोक्ने काम गर्न थाले । जीवनको ५ वर्ष त्यहीं बित्यो ।

पोस्टर जिन्दगी

राजेशको ०५४ सालदेखि पोस्टर जिन्दगी सुरु भयो । काठमाडौंभरि पोस्टर टाँस्ने नाइके जिम्मा उनैको हुन्थ्यो । रिङरोडभित्र राति टाँस्थे । रिङरोडबाहिर दिउँसो । कति रात नसुुती टाँसे । कति रात भोकै टाँसे । कति रातहरू यति चिसा थिए कि, पोस्टरै बालेर रात कटाए ।

एउटा फिल्मको पोस्टर टाँसेबापत ७० हजारसम्म पाउँथे । भोलिपल्ट बिहान त्यो पैसा सबै साथीलाई बराबरी बाँड्थे । अहिले मुस्किलले २० हजार पाउँछन् । त्यसबेला राजेशका २० जना साथी थिए । अहिले कम छन् । उनका केही साथी पशुपति क्षेत्रमा भिख माग्नेहरू, प्लास्टिक टिप्नेहरू, मसानघाटमा काम गर्नेहरू छन् । गोपीकृष्णबाट जयबागेश्वरीतर्फ आउने गाडी कुरेर बस्थे । राजेशलाई देख्नेबित्तिकै हुरुरु चढ्थे । पेटभरि मासुभात खान्थे, रातभरि टाँस्थे । अनि दिनभरि सुत्थे ।

पोस्टर टाँस्दा विभिन्न घटना भोगे उनले । एकपटक भुवन केसीको फिल्मको पोस्टर रातभरि टाँसे । भोलिपल्ट पुलिस आएर उनलाई हनुमानढोका पुर्‍यायो । किन समाइयो उनले थाहै पाएनन् । अर्को फिल्मको पोस्टर टाँस्दा नरेश पौडेलको फिल्म ‘हिरो’ को पोस्टर छोपियो भनेर उसलाई पुलिसले समाएर लगेछ । निर्माण पक्षको कुरा मिलेपछि पुलिसले उनलाई छाडिदियो ।

नगरपुलिसले उनलाई कैयन् रात शौचालयमा थुन्यो । उनले बोकेका गम र पोस्टर फ्याँकिदिन्थ्यो । भोलिपल्ट बिहान उनलाई छाडिदिन्थ्यो । बेलुकी फेरि मैदाको लेदो र पोस्टर बोकेर हिँड्थे उनी ।

एकपटक नसोचेको घटना भयो । रातको ३ बजेतिर पोस्टर टाँस्ने क्रममा एक जना साथी गाडीबाट लडेर बेहोस भए । तत्काल वीर अस्पताल लगियो । गाडीबाट लडेको भनेपछि प्रहरी केस गर्नुपर्ने भन्दै वीरले उपचार गर्न मानेन । त्यसपछि बीएन्डबी लगियो । त्यो साथीको आफन्त कोही थिएन । राजेश दिनभर अस्पतालको शड्ढयामा बस्थे, कुरेर । उनका साथीहरू फिल्म हलमा चन्दा उठाउँदै हिँड्थे । सिनेकर्मीसँग सय÷दुई सय मागेर ल्याउँथे । कैयन् दिन उनलाई अस्पतालमा राख्दा भविष्यका लागि जोहो गरेको राजेशको ३ लाख सकियो । साथीलाई पनि बचाउन सकेनन् ।

फिल्म हिट भयो भने उनलाई बोनस दिने थोरै छन् । फ्लप भयो भने पोस्टर राम्रोसँग नटाँसेर मान्छे हेर्न आएनन् भन्दै उल्टै थर्काउने धेरै छन् । कतिले फिल्म फ्लप भयो भन्दै पैसा दिएनन् । २० औं लाख उठाउन बाँकी छ । तर, उनलाई थाहा छ, अब त्यो पैसा कहिल्यै पाउँदैनन् । एक जना प्रोड्युसरले उनलाई पोस्टर राम्रोसँग नटाँसेको भन्दै फिल्म हलबाहिरै कुटे । कति प्रोड्युसरले रातभरि पोस्टर टाँस्न लगाए । भोलिपल्ट प्रोड्युसर अमेरिका हिँडिसकेको हुन्थ्यो । उनको मेनुमा केही फिल्म प्रोड्युसर ‘गुड नेम’ भएर बसेका छन्- नीर शाह, तुलसी घिमिरे, अशोक शर्मा, युवराज लामा...।

राजेशले ७ वटा फिल्म खेले । तर, जम्मैमा खलनायकको साथी मात्रै । सिर्फ भीडमा उभिनुपर्ने । नयाँ कलाकारले दशौं पटक टेक लिएको देख्दा उनलाई दिक्क लाग्थ्यो । आफू भए एकै टेकमा काम गर्थें भन्ने लाग्थ्यो । तर, उनलाई मौका दिने कसले ?

८ वर्षीया छोरी र जीवनसाथी लक्ष्मी सिंह क्षत्रीसँगै गौरीघाट बस्दै आएका राजेशको पेसा अहिले संकटमा छ । सहर सफा राख्ने भन्दै महानगरपालिकाले पोस्टर टाँस्न बन्देज गरेको छ । तैपनि, उनी राति लुकेर पोस्टर टाँस्छन् । अहिले जम्मा १० देखि २० हजार कमाउँछन् । जीविका चलाउन गाह्रो छ उनलाई । भन्छन्, ‘यही पेसामा आधा जुनी बित्यो । अरू काम गरिएन । अब यसरी नै कति दिन बित्छ, थाहा छैन ।’

‘आफ्नो जीवनदेखि दुःखी हुनुहुन्छ कि खुसी ? ’ उनी बोलेनन् । टोलाइरहे । राजेश अहिले फिल्म बनाउने योजनामा छन् । उनको फिल्मको नाम हो, ‘राजेश लाल भिखारीको प्रस्तुति ः कमल-काले ।’ उनले कलाकारसमेत छानिसके । कमलमा दयाहाङ राई, कालेमा सौगात मल्ल । अभिनेत्रीमा प्रियंका कार्की ।

‘फिल्म चल्छ ? ’ मेरो प्रश्नपछि उनी मौन भए । शून्यता छायो कोठामा । उनी बोलेनन् । अहँ बोल्दै बोलेनन् । घोसेमुन्टो लगाएर तलतिर हेरिरहे । बरर आँसु झारे । गाला हुँदै गुडेर भुइँतिर झरेको आँसुले उनको फिल्मको स्क्रिप्ट र पोस्टर भिज्यो ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2