MENU

मधेसमा ‘दहेज’ को कहर

patan-college

नवीन झा शनिवार, पुस २९, २०७४ 1548 पटक पढिएको

Share This

635-x-85

१८ लाख दाइजोसहित बिहे भएको रञ्जना शर्माको जनकपुरमा एक महिनाअघि मृत्यु भयो। अदालतले उनको ससुरालाई दुई हप्ताअघि जेल चलान गर्‍यो।२०७२ साल माघमा धनुषामै एकजना डाक्टर छोराका लागि बिहेको दाइजोस्वरूप पाएको ६० लाख रुपैयाँ लिएर एउटा परिवार फरार भयो। गएको फागुनमा महोत्तरीमा एकजना केटाले बिहे गरेको भोलिपल्टै दाइजोमा भैंसी नदिएको भन्दै बेहुली नलिई घर फर्किए। पछि महोत्तरीको बर्दिबासमा प्रहरीले केटालाई समातेर थुनामा समेत राखे।वीरगन्जका अरजेव अहमदकी बहिनीको दाइजोकै कारण दुई वर्षअगाडि हत्या भयो।

Navin-Jha_1माथि उल्लिखित केही घटना प्रतिनिधिमूलक मात्रै हुन्। तराई-मधेस समाजका सबै वर्गमा हुने बिहेबारीमा लेनदेन, दाइजोले समाजमा महिलामाथिको हिंसालाई धेरै बढाएको देखिन्छ। दाइजोकै मुद्दाहरूमाथि नै विद्यावारिधि गरिरहेका सर्लाही घर भएका अधिवक्ता सुनिलरञ्जन सिंह भन्छन्, ‘तराई-मधेसमा दाइजोकै कारण समग्रमा बिहेहरू नै विकृत हुँदै गएका छन्।’ १. कहालीलाग्दो कहर

सर्लाहीको बबरगन्ज चौकमा रहेको सुरेश महतोको चियापसल गएको फागुनदेखि बन्द छ। बबरगन्ज चौकको महतोको चर्चित चिया पसलबन्द हुनुसँग उनको जेठी छोरी पुजाको बिहे गाँसिएको छ। तीन छोरीका बाबु महतो आफ्नी १४ वर्षीया जेठी छोरीकै भरमा उक्त चियापसल सञ्चालन गर्दै आएका थिए। निम्न आय भएका महतोले तीन छोरी भएकाले जेठी छोरीको बिहे गएको फागुनमा १४ वर्षमै गरिदिए। त्यसयता उनले पसल सञ्चालनमा ल्याउन सकेका छैनन्। महतो भन्छन्, ‘छोरीको उमेर जति बढी भयो, त्यति नै धेरै दहेज अर्थात् दाइजो तिर्नुपर्छ।

त्यसैले मैलै १४ वर्षकै उमेरमै छोरीको बिहे गरिदिएँ।’ उनले थपे, ‘त्यसमाथि मलाई थप दुई छोरीको समेत बिहे गर्नुपर्ने भार छ, के गर्ने ? दाइजो तथा बालविवाह रोकथाम गर्ने क्षेत्रमा काम गर्दै आइरहेका अभियन्ता राजकुमार महतोका अनुसार तराई-मधेसका जिल्लामा सुरेशजस्ता थुप्रै उदाहरण छन्। उनी भन्छन्, ‘दाइजोकै कारण समाजलाई माथि उठ्न समस्या भइरहेको मैलै महसुस गरेको छु। उनका अनुसार दाइजोले बिहेमा मात्रै नभई पूरै समाजलाई धेरै तरिकाले प्रभाव पारिरहेको छ। राजकुमार भन्छन्, ‘यसले समाजको विकासलाई नराम्ररी प्रभावित पारिरहेको छ। उनका अनुसार दाइजोले शिक्षा, स्वास्थ्यदेखि आर्थिक अवस्थालगायत विभिन्न क्षेत्रमा नराम्ररी प्रभाव पारिरहेको छ।

वीरगन्जका अरजेव अहमदकी बहिनीको बिहे सीमावर्ती भारतको गाउँमा भएको थियो। तर दाइजोका कारण उनको बहिनीको ससुरा पक्षले बहिनीको ज्यानै लिए। उनी अहिले वीरगन्ज क्षेत्रमा आफैं दाइजो उन्मूलन अभियानमा जुटेका छन्। भन्छन्, ‘समाजको एउटा तप्कामा शिक्षाको स्तर बढेपछि दाइजो जुन स्तरमा कम हुनुपर्ने हो, त्यो देखिएको छैन।’ दाइजो उन्मूलन अभियानमै लागेका सप्तरी घर भएका डा. सीके सिंहका अनुसार मधेसी समाजमा दाइजो सामाजिक प्रतिष्ठासँग जोडिन पुगेकाले यसलाई उन्मूलन गर्न त के, घटाउनसमेत धौधौ परिरहेको छ।

छोरीको उमेर जति बढी भयो, त्यति नै धेरै दहेज तिर्नुपर्छ । त्यसैले मैलै १४ वर्षकै उमेरमै छोरीको बिहे गरिदिएँ ।
-सुरेश महतो, विवाहित छोरीका अभिभावक

जनकपुरकामा एकजना ‘डाक्टर’ बिहेअघि नै केटी पक्षबाट ६० लाख रुपैयाँ दाइजो लिएर फरार हुनुमा पनि त्यही सामाजिक प्रतिष्ठा र मान जिम्मेवार रहेको कतिपय अगुवाको ठहर छ। ‘जसले जति बढी दाइजो लियो, समाजमा त्यसको त्यति नै बढी महत्व हुने प्रवृत्ति मधेसमा मौलाएर गएको छ’ डा. सिंह भन्छन्, ‘यसलाई चिर्न सरकारी तहबाटै बृहत् र बहुआयामिक अभियान चालिए मात्रै कम हुने सम्भावना देख्छु।’

०७२ को माघमा जनकपुर- १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रशान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दोइजोस्वरूप ६० लाख रुपैयाँ अग्रिम लिएका थिए। महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको बिहे डा. शर्मासँग गर्ने तय भयो। केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए। रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भने, ‘बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रुपैयाँ बिहे खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौं। बिहे हुन एक महिना जति बाँकी हुँदा उनीहरू सम्पर्कमा नआएपछि हामीले खोजबिन गर्दा उनीहरूका घरमा कसैलाई भेटेनौं। हामी अफ्ठेरोमा पर्‍यौं।’ पछि प्रहरी प्रशासनसमेतको सहयोगमा उनीहरूले प्रशान्तका बुबालाई फेला पारे। प्रशान्तका बुबाले ६० लाखको ठाउँमा एक करोड रुपैयाँ केही दिनभित्रै फिर्ता दिने सहमति दुई पक्षबीच भयो। लामो कसरतपछि केटी पक्षले रकम फिर्ता पायो।

दाइजोका कारण सयौं बिहे असफल हुन्छन् र चेलीबेटीमाथि महिला हिंसा हुन्छ। तराई-मधेससहित देशैभरि महिला हिंसाको प्रमुख कारण दाइजो प्रथा हो। दाइजो प्रथा सबैको साझा समस्या रहेकाले नेपाल प्रहरी तथा महिला तथा बालबालिका सेवा केन्द्रले यस प्रकारको अपराधमा कडाइका साथ प्रस्तुत हुनुपर्ने आवश्यकता छ।

एक महिनाअघि घरमै मृत फेला परेकी बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले ससुरालाई यही ९ पुसमा जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका- २ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा उनका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला अदालत धनुषाका न्यायाधीश वासुदेव उप्रेतीको एकल इजलासले हत्यामा संलग्न रहेको अभियोगमा ठाकुरलाई महोत्तरीको जलेश्वर कारागार पठाउने आदेश दिएको दियो। सोही घटनाको आरोपी मृतककी सासू सुमित्रादेवी शर्मालाई भने सामान्य तारेखमा रिहा गरियो।

गएको ९ मंसिरमा रञ्जनाको शव उनी सुत्ने कोठामा फेला परेको थियो। रञ्जनाको हत्या उनका सासूससुराले नै गरेको आरोप छिमेकीले लगाएपछि माइती पक्षले प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो। सिरहा नगरपालिका- १८ लक्ष्मीनिया निवासी रामनारायण शर्मा र प्रभादेवी शर्माले आफ्नो छोरीलाई पटकपटक सासूससुरा र श्रीमान् आनन्दमोहन ठाकुरले दाइजोको माग गर्दै प्रताडना दिने गरेको उनका बाबुआमाले दाबी गरेका छन्। त्यहीकारण हत्या गरेको भन्दै सासूससुरा, जेठान अरविन्दकुमार ठाकुर र उनकी श्रीमती रिंकु शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दर्ता गरिएको थियो।

मधेसी समाजमा दाइजो समाजिक प्रतिष्ठासँग जोडिन पुगेकाले यसलाई उन्मूलन गर्न त के, घटाउनसमेत धौधौ परिरहेको छ ।
-डा. सीके सिंह, दाइजो उन्मूलन अभियानता

घटनालगत्तै प्रहरीले रञ्जनाका ससुरा देवनारायण र सासू सुमित्रादेवीलाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो। हत्या अभियोगमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिए पनि अनुसन्धानका क्रममा सासूससुराको मात्र संलग्नता रहेको खुलेको थियो। अन्य तीनजना निर्दोष देखिएकाले पक्राउ नगरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए।

जनकपुरको कृष्णा नर्सिङ इन्स्टिच्युटमा तेस्रो वर्षमा नर्सिंङ पढ्दै गरेकी रञ्जनाको डेढ वर्षअघि १८ लाख दाइजो दिएर बिहे गरिएको थियो। बिहेको केही महिना नबित्दै उनका श्रीमान् आनन्द मोहनलगायत घरपरिवारले रञ्जनामाथि विभिन्न लाञ्छना लगाई दाइजोको मागसहित यातना दिँदै आएको छिमेकी बताउँछन्। पोखरास्थित वन विज्ञान अध्ययन केन्द्रमा कम्प्युटर अपरेटरमा कार्यरत श्रीमान् आनन्दमोहनले समेत आफूलाई पटकपटक दुःख दिने गरेको उनले छिमेकीलाई सुनाएको उनको मृत्युपछि खुलेको छ।

गएको फागुनमा महोत्तरी बर्दिबास- ८ फूलबारीकी १९ वर्षीया अमृताकुमारी कापरसँग बिहे गर्न आएका रौदी कापर जेल चलान भएका छन्। दाइजोमा लैनो भैंसी नपाएको निहुँमा दुलही अमृतालाई नै छोडेर हिँडेपछि रौदी प्रहरी खोरमा पुगेका थिए। कापरलाई इलाका प्रहरी कायालय बर्दिबासले पक्राउ गरेको थियो।

निम्न आय भएका अमृताका बुबा रामप्रकाश कापरले दाइजो नदिए छोरीको बिहे नहुने भएपछि बाध्य भएर प्रतिकठ्ठा दुई लाख ५० हजारमा बिक्ने तीन कठ्ठा खेतबारी छिमेकीलाई प्रतिकठ्ठा १ लाख ५० हजारका दरले बिक्री गरी मोटरसाइकल, नगद, कपडालत्ता दाइजो दिएका थिए। रामप्रकाशले दाइजोबाहेक छोरीको बिहेमा खानपान र अतिथि सत्कारमा झन्डै तीन लाख खर्चेका थिए। बिहेको भोलिपल्ट मण्डप (मरवा) मा दिउँसोको खाना (मरजादी भात) खाने समयमा दाइजोमा लैनो भैंसी नदिए भात नखाने सर्त बेहुला पक्षले राखेको थियो। गाउँलेले भात खानुअगाडि बेहुला उठेर भागेका थिए। प्रहरी र अधिकारकर्मीहरूको पहलमा पछि केटापक्षले बिहेको सम्पूर्ण खर्च बेहोर्नुपरेकोे थियो।

तराई-मधेसमा दाइजोकै कारण समग्रमा बिहेहरू नै विकृत हुँदै गएका छन् ।-सुनिलरञ्जन सिंह, अधिवक्ता 

महिला मानव रक्षक सञ्जाल महोत्तरीका अध्यक्ष रेखा झाका अनुसार ‘दाइजोका कारण सयौं बिहे असफल हुन्छन् र चेलीबेटीमाथि महिला हिंसा हुन्छ। तराई-मधेससहित देशैभरि महिला हिंसाको प्रमुख कारण दाइजो प्रथा हो। दाइजो प्रथा सबैको साझा समस्या रहेकाले नेपाल प्रहरी तथा महिला तथा बालबालिका सेवा केन्द्रले यस प्रकारको अपराधमा कडाइका साथ प्रस्तुत हुनुपर्ने आवश्यकता छ।’

महिलाविरुद्ध हिंसाको जग

प्रहरीमा उजुरी परेको घटनालाई मात्रै हेर्ने हो भन्ने महिला हिसांको अवस्था अत्यासलाग्दो छ। गएको साउन महिनामा मात्र नेपाल प्रहरीमा महिला हिंसाका २ सय ७९ वटा उजुरी परेका छन्। प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७३÷०७४ मा २ हजार ४ सय ६ उजुरीहरू प्रहरीमा परेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको असारमा २ सय २, जेठमा २ सय ३४, वैशाखमा १ सय ८२, चैतमा १ सय ९८, फागुनमा २ सय १४, माघमा १ सय ६३, पुसमा १ सय ७४, मंसिरमा १ सय ८१, कात्तिकमा १ सय ९८, असोजमा १ सय ८६, भदौमा २ सय ३२ र साउनमा २ सय ४२ महिला हिंसाका उजुरीहरू परेका छन्।

यी महिला हिंसाका घटनामध्ये ५० प्रतिशतभन्दा बढी दाइजोका कारण हुने गरेको रहेको प्रहरी अधिकारी तथा अधिवक्ताहरूको छ। महिलामाथि हुने अधिकांश हिंसामा कतै न कतै दाइजो जोडिएको देखिन्छ, दाइजोमाथि अध्ययन गरिरहेका अधिवक्ता सिंह भन्छन्, ‘महिला हिसांको जग नै दाइजो देखियो।’

प्रहरीको तथ्यांकमा रहेको कुल महिला हिंसाको घटनामध्ये झन्डै ५० प्रतिशत तराई-मधेसका जिल्लामा भएको देखिन्छ। गएको असारमा प्रहरीमा दर्ता भएका २०२ मध्ये ९९ पूर्वाञ्चल र मध्यमाञ्चलमा पर्ने तराई-मधेसका जिल्लामा भएका छन्। त्यसैगरी गएको जेठमा प्रहरीमा दर्ता भएका २३४ मुद्दामध्ये ती जिल्लामा १०९ वटा त्यस्ता घटना भएका छन्। त्यसैगरी वैशाखमा १८२ मध्ये ९१ र चैतको १९८ मध्ये ८९ घटना पूर्वाञ्चल र मध्यमाञ्चलका तराईमधेसका जिल्लामा भएका छन्।

दाइजोकै कारण भएका बहुविवाहसम्बन्धी उजुरी पनि दिनप्रतिदिन बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ। ०६८÷०६९ मा ६९, ०६९÷०७० मा १ सय ५, ०७०÷७१ मा १०५, ०७१÷०७२ मा १ सय ३३ र ०७२÷०७३ मा १ सय २१ बहुविवाहका उजुरी नेपाल प्रहरीमा परेको तथ्यांकले देखाउँछ। अधिवक्ता सिंहका अनुसार प्रहरीमा परेको उजुरीभन्दा समाजमा हुने घटना कयौं बढी छ। उनी भन्छन्, ‘अहिले पनि मानिसहरू प्रहरी प्रशासनदेखि अदालतसम्मै खुलेर कुरा गर्दैनन्। उनीहरूमा समाजमा पनि यसबारेमा खुलेर कुरा गर्दैनन्।

दाइजोले शिक्षा, स्वास्थ्यदेखि आर्थिक अवस्थालगायत विभिन्न क्षेत्रमा नराम्ररी प्रभाव पारिरहेको छ ।
-राजकुमार महतो, बालविवाह रोकथाम अभियन्ता

अभियन्ता राजकुमार महतोको बुझाइमा समाजमा अहिले दाइजोको विरोध गरेर महिलालाई उद्धार गर्न लागिपरेकाहरूलाई पनि समस्या छ। उनी भन्छन्, ‘कुनै महिलामाथि दाइजोका कारण समस्या आएमा उसको पक्षमा कुनै पुरुष अभियन्ताले बोलेको खण्डमा समाजले त्यस्ता पुरुषलाई बद्नाम पनि गर्न खोज्छन्। वीरगन्जका अहमदको बुझाइमा यसका लागि महिलालाई उच्च तहको शिक्षासँगै यस्ता कुरीतिविरुद्ध लड्न उनीहरूलाई नै बलियो बनाउनुपर्छ, नत्र यो समस्याकोे न्यूनीकरण हुने सम्भावना नरहेको उनी ठान्छन्।

दाइजो के हो ?

नेपाली शब्दकोशअनुसार दाइजो भन्नाले कन्यापक्षले बिहेको बेला वरपक्षलाई दिने सम्पत्ति, नगद, गरगहना तथा उपहार आदि हो। समुदायविशेषमा दाइजोलाई दहेज तथा तीलक पनि भन्ने गरिन्छ। दाइजो भनेको कुनै पनि जात र समुदायमा छोरीको बिहेमा केटा पक्षलाई दिइने गरगहनालगायतका चलअचल सम्पत्ति हो भने तीलक भनेको विवाहपूर्व केटीपक्षले केटापक्षसँगको भेटमा दिने नगद, लुगाफाटो तथा गरगहना आदि हो। यी दुवैको समय तथा शब्दमा फरकपना भए पनि सन्दर्भ तथा संस्कार भने एउटै रहेको छ। परापूर्वकालदेखि बिहे गरेर दिएकी चेलीलाई कर्मघरमा गाह्रोसाह्रो नहोस्, राम्रोसँग लालनपालन होस् तथा धनपैसाको अभावमा तत्कालका लागि दुःख भोग्नु नपरोस् भन्ने पवित्र सोचका साथ कन्याका अभिभावकले राजीखुसीले कन्यादानसँगै दिने दाइजो समयसँगै विकृत हुँद गयो। अहिले दाइजो प्रथा समाजमा महिला हिंसा तथा विकृतिको प्रमुख कारक बनेकोे छ।

कानुन के भन्छ ?

दाइजो विकृति नियन्त्रणका लागि नेपालमा रहेको सबैभन्दा बलियो कानुन सामाजिक व्यवहार सुधार ऐन, २०३३ हो। कानुनी प्रावधानअनुसार बिहे हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुसीले दिनेले पनि बढीमा दस हजार रुपैयाँसम्मको मात्र दाइजो दिन हुन्छ भन्ने व्यवस्था रहेको र दफा ५(३) मा त्यसभन्दा बढी लिएदिएको दाइजो जफत गरी दस हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै बिहे हुँदा तीलक लिन नहुने र तीलक लिनेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

मुलुकी ऐन, २०२० ले दाइजोको परिभाषा गर्दै स्वास्नी मानिसलाई माइती, मावलीपट्टि नातेदार, इष्टमित्रले दिएको चलअचल सम्पत्ति र त्यसबाट बढे-बढाएको सम्पत्ति दाइजो ठहर्छ भन्ने व्यवस्था गर्दै महिलाले आफ्नो दाइजो तथा पेवाको सम्पत्तिलाई आफूखुसी गर्न पाउने र आफ्नो शेषपछिको भोगचलनका लागिसमेत आफूखुसी हकवाला तोक्न पाउने भनी उल्लेख छ। त्यस्तै नेपालको संविधान २०७२ मा समानताको हकअन्तर्गत पैत्रिक सम्पत्तिमा सबै सन्तानको समान हक रहने प्रावधान छ। त्यस्तै ‘मौलिक हक र कर्तव्य’ अन्तर्गत ‘महिलाको हक’ मा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक यौनजन्य हिसा र शोषण गर्नु दण्डनीय हुनेछ भनी लेखिएको छ। साथै सम्पत्ति र पारिवारिक मामिलामा दम्पतीको समान हक हुने व्यवस्था पनि संविधानले गरेको छ।

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2