MENU

गरिब र विपन्नलाई चिसोले सास्ती : मृत्यु हुनेको संख्या १६ पुग्यो

patan-college

मनोहर पोखरेल/ फणि महत शनिवार, पुस २९, २०७४ 174 पटक पढिएको

Share This

635-x-85

 

राजविराज/ गौर : शितलहरसँगै सप्तरीमा अत्यधिक चिसो बढेपछि कठ्यांग्रिएर मृत्यु हुनेको संख्या १६ पुगेको प्रहरीले जनाएको छ। पछिल्लोपटक शुक्रबार हनुमाननगर कंकालिनी १ स्थित कोसी ब्यारेजमा इनरुवा १ बस्ने ४० वर्षीय ढुण्डीराज पोखरेल, तिलाठी कोइलाडी ४ की ७० वर्षीया श्यामादेवी सिंह तथा बिहीबार हनुमाननगर कंकालिनी १ भलुवा बस्ने ६५ वर्षीया शान्तिदेवी यादव, सुरंगा नगरपालिका १, चहकाका ५१ वर्षीय अम्बरबहादुर पुलामी, छिन्नमस्ता गाउँपालिका २ रम्पुराकी ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साहको मृत्यु भएपछि शीतलहरले मृत्यु हुनेको संख्या १६ पुगेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले बताए।

यसअघि बुधबार सुरंगा ८ स्थित फूलबारीमा कठ्यांग्रिएर बेहोस अवस्थामा भेटिएका ७५ वर्षीय देवनारायण चौधरीको राउ स्मारक अस्पताल लहानमा मृत्यु भएको थियो भने मंगलबार तिरहुत ५ का ५५ वर्षीय डम्बर खत्वेको चिसोकै कारण हृदयाघात भई मृत्यु भएको थियो।

प्रहरीका अनुसार सोमबार राति सुरंगा नगरपालिका ११, भजकाका ६५ वर्षीया दुर्गीदेवी चौधरी, सप्तकोसी १ का ६२ वर्षीय अर्जुन पोखरेल, हनुमाननगर कंकालिनी १ का गुल्टेन मण्डलकी छोरी ६ महिनाकी पार्वती मण्डल र तिरहुत गाउँपालिका १ का ६० वर्षीया भुटनीदेवी यादवको चिसोका कारण मृत्यु भएको थियो।

त्यसअघि आइतबार कञ्चनरूप नगरपालिका २ का ५५ वर्षीय बेचन शेष, खड्ग नगरपालिका ७ का ६४ वर्षीय प्रेमबहादुर माझी, शनिबार अग्निसाइर कृष्ण सवरन गाउँपालिका ४ का ६५ वर्षीय लखन ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका ४ चनी टोलका ७१ वर्षीय नारायण मुखिया र खड्ग नगरपालिका ८ मुसहरनियाका ७० वर्षीय मुसहरु चौधरीको चिसोका कारण मृत्यु भएको डीएसपी श्रेष्ठले बताए।

  दुई सातायता घाम नलागेर दिनभर सिरेटो चल्ने गरेको छ भने बिहान र बेलुका बाक्लो हुस्सु लाग्ने गरेको छ।

उनका अनुसार आर्थिक अवस्था कमजोर र चेतना अभावमा अधिकांशले शव परीक्षण नगराए पनि घटनास्थल मुचुल्का तथा स्थानीय चिकित्सक र स्थानीयको भनाइका आधारमा चिसोकै कारण उनीहरूको मृत्यु भएको हो। मृत्यु भएको जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुग्दा शवको दाहसंस्कार गरिसकिएकाले स्थानीयको भनाइलाई आधार मानेर चिसोका कारण मृत्यु हुनेको संख्या १६ पुगेको उनले बताए।

जीवन कष्टकर

शीतलहर नघटेपछि स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ। दुई सातायता घाम नलागेर दिनभर सिरेटो चल्ने गरेको छ भने बिहान-बेलुका बाक्लो हुस्सु लाग्ने गरेको छ। चिसोका कारण बजार, कार्यालय र सडकमा चहलपहल पातलिएको छ।

सप्तरीमा करिब ३६ हजार भूमिहीन सडक किनार तथा ऐलानी जमिनमा झुप्रो बनाएर ज्याला मजदुरी गरी गुजारा गर्दै आएका छन्। दलित समुदाय अधिकांशको आर्थिक अवस्था कमजोर रहेकाले चिसोमा झनै दयनीय स्थिति बनेको विष्णुपुर गाउँपालिका ६ का शिवकुमार यादवले बताए।

बढ्दो चिसो र शीतलहरका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका गरिब र विपन्नलाई सबैभन्दा सास्ती भएको छ। चिसोले काम गर्न नसक्ने गरी हातखुट्टा नै कठ्यांग्रिएकाले मजदुरीमा बाहिर निस्कन नसक्दा भोकै सुत्नुपर्ने अवस्था आएको राजविराज ३ का सोनु सिद्दिकीले सुनाए। न्यानो लुगा अभावमा दलित समुदायका मुसहर, बाँतर, चमार, हलखोर, डोम समुदायका मानिस ज्यादै पीडित छन्।

सम्पन्न परिवारमा चिसोको व्यवस्थापन गर्ने विभिन्न उपाय भए पनि विपन्न परिवारलाई ज्यान जोगाउनै धौधौ परेको छ। चिसो बढ्दै गएपछि जिल्लाका चोकचोक र घरहरूमा न्यानो कपडा लगाएका स्थानीय दाउरा बालेर आगो तापिरहेका छन्। चिसोबाट जोगिन न्यानो कपडा र दाउरा नहुँदा विपन्न वर्गका मानिस टायर र प्लास्टिक बालेर आगो ताप्ने गर्छन्।

दाउरा र कम्बल वितरण

चिसोको कहर जारी रहेपछि गरिब र विपन्न समुदायलाई लक्ष्य गरी न्यानो कपडा वितरण तथा विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरिएको छ। जिल्ला दैवीप्रकोप उद्धार समिति, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, श्रीमती प्रहरी संघ, रेडक्रस, जाइका, धुर्मुस सुन्तली फाउन्डेसन, नार्कोनन नेपाल, सांग्रिला अफोर्नेज होम, धर्मीहल्फासहित विभिन्न संस्थाद्वारा दाउरा, कम्बल, न्यानो कपडा बाँड्ने काम सुरु भएको छ।

प्रहरीले बाल्यो आगो

चिसोले जनजीवन कष्टकर भएपछि प्रहरीले जिल्लाका करिब एक सयभन्दा बढी ठाउँमा आगो बालेको जनाएको छ। डीएसपी श्रेष्ठका अनुसार इलाका प्रहरी कार्यालय रुपनी, हनुमाननगर, भारदह, पातो, भेडिया, कञ्चनरुप, महुली, कल्याणपुर, ठेलिया, छिन्नमस्ता, कडरबोनालगायत स्थानमा आगो बालिएको छ।

यसैगरी, सुरक्षा बेस क्याम्प लोहजरा, वडा प्रहरी कार्यालय राजविराज, प्रहरी चौकी तिलाठी, फत्तेपुर, पकरी, तिलाठी, धरमपुर, डिमन, गोइठी, मौवाहा, धाँतीलगायत प्रहरी युनिटले विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको डीएसपी श्रेष्ठले जानकारी दिए।

 

 
विद्यार्थी घटे

 

अत्यधिक चिसोका कारण दुई सातादेखि बन्द गरिएका सरकारी विद्यालय शुक्रबार खुले पनि विद्यार्थी भने न्यून संख्यामा उपस्थित भएका छन्। एक हजारभन्दा बढी विद्यार्थी रहेका विद्यालयमा शुक्रबार सय जना पनि आएनन्।

जिल्लाको मध्यभागमा रहेको नमुना मावि गरुडामा करिब १८ सय विद्यार्थी रहेकोमा शुक्रबार करिब एक सय जना मात्रै हाजिर भए। अत्यधिक चिसोका कारण विद्यार्थी आउन नसकेको गरुडाका शिक्षक सञ्जय साहले जानकारी दिए।

चन्द्रनिगाहपुरको जनज्योति माविमा पनि १७ सयभन्दा बढी विद्यार्थी छन् तर करिब दुई सय जना मात्रै आएको प्रधानाध्यापक शंकर भट्टराईले बताए।

विद्यार्थी मात्रै होइन, धेरै शिक्षकसमेत अनुपस्थित भए। जनज्योति माविको प्लसटुको बिहानी कक्षामा जम्मा चार जना विद्यार्थी उपस्थित भएको शिक्षक यादव पुरीले बताए।

ग्रामीण भेगका प्राविमा डेस्क-बेन्च नहुँदा भुइँमा बसेर पढ्नुपर्ने बाध्यता छ। घरबाट बोरा लिएर आउने विद्यार्थी अत्यधिक चिसोका कारण स्कुल आउनै नसकेको शिक्षकहरूको भनाइ छ। तीन सय ९६ वटा बाल विकास केन्द्रमा समेत हजारौं बालबालिका पढ्न जान सकेका छैनन्।



720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2