MENU

बाढी

patan-college

नयनराज पाण्डे शनिवार, पुस २९, २०७४ 336 पटक पढिएको

Share This

635-x-85

स्मृति

तेस्रो पेगपछि ऊ असाध्यै अश्लील बोल्न थाल्थ्यो।

उसको यही बानी सबैभन्दा नराम्रो थियो। तर, मान्छे गौप्राणी थियो। सरल, सहज र आत्मीय। मेरो बालसखा थियो ऊ। तर, माध्यमिक तहको अध्ययनसम्म पुगिसक्दा उसको र मेरो साथ छुटिसकेको थियो। उसले त्यसपछि पढाइलाई निरन्तरता दियो, दिएन मलाई आजसम्म पनि थाहा छैन। नेपालगन्जमै हुँदा पनि उसको र मेरो भेट हुँदैनथ्यो। तर, जब म काठमाडांै बस्न थालेँ र बिदाका दिनहरूमा नेपालगन्ज जान थालेँ, यस्तै कुनै मौकामा उसको र मेरो फेरि भेट भयो र निरन्तर हुन थाल्यो।

लामो अन्तरालपछिको भेटघाट भए पनि हामीले एक–अर्कासित दोहोर्‍याएर परिचय गर्नु परेन। देख्नासाथ एकअर्कालाई चिनिहाल्यौं। करिब दस–बाह्र वर्षपछि हाम्रो भेट भएको थियो। हामी दुवैको अनुहारबाट यतिका वर्षमा बालसुलभ कोमलता बेपत्ता भइसकेका थिए। त्यसको ठाउँमा वयस्क हुनुका केही अमूर्त छापहरू थिए। तर, ती छापहरूले हाम्रो आत्मीय भेटलाई अवरुद्ध पारेनन्। हामी दुवैले हाम्रो अनुहारमा नदेखिने कोमलतालाई आफ्नो हृदयमा जोगाएर राखेका थियौं। त्यही कोमलताले हामीलाई फेरि हार्दिक बनायो।

ऊ श्याम वर्णको थियो। कपाल घुम्रिएका थिए। दाँत सेतै थिए र हाँस्दा उसको अनुहार धपक्कै बल्थ्यो। अनुहारको यो शाश्वत गुण उसको यौवनावस्थामा पनि कायम थियो। अनुहारमा मीठो मुस्कान नल्याई ऊ सायद बोल्नै सक्दैनथ्यो। त्यो मुस्कानले उसको व्यक्तित्वलाई सम्मानित बनाएको थियो।

लामो अन्तरालपछि भेटिँदा हामी दुवै विवाहित भइसकेका थियौं। हामी दुवैका सन्तान पनि भइसकेका थिए। तर, हामीबीचको सम्बन्धमा पुरानै पाराको केटाकेटीपन फेरि स्थापित भएको थियो।

त्यसपछि हामी हरेक दिनजसो भेट्न थाल्यौं।

०००

ऊ नेपालगन्जमा चलेको पेन्टर थियो। धम्बोजी चोकदेखि अलिक उत्तर लागेर दाहिने मोडिँदै न्युरोडतिर जाने बाटो छेउमै उसको कारखाना थियो, जहाँ निरन्तर सरकारी र निजी कार्यालयहरूका साइनबोर्ड, हाकिमहरूका नेमप्लेट, विभिन्न उत्पादनका विज्ञापनका चित्रमय विशाल होर्डिङ बोर्ड अनि कार र मोटरसाइकलका नम्बर प्लेटहरू धमाधम बनिरहेका हुन्थे। उसको व्यवसाय शानदार चलिरहेको थियो। आठ–दसजना ठिटालाई रोजगारी दिएको थियो। भ्याइनभ्याइ भएको बेला ऊ आफैं पनि साइनबोर्ड या होर्डिङ बोर्डमा पेन्ट, ब्रसले अक्षर र चित्रहरू कोर्न थाल्थ्यो। विज्ञापन बोर्डमा कुनै उत्पादनको चित्र या मुहारचित्र बनाउनु छ भने उसले पहिला कागजमा भएको नमुना चित्रमाथि स्केलले नापीनापी ग्राफ बनाउँथ्यो र त्यही ग्राफअनुसार बोर्डमा बनाएका कोठाकोठामा रङ भर्न थाल्थ्यो। केही घन्टामै चित्रहरू दुरुस्तै उताथ्र्यो। उसको काममा एकखालको सफाइ र स्तरीयता थियो। त्यसैले त्यस पेसामा नेपालगन्जलगायत आसपासका जिल्लासम्म पनि उसको एकछत्र रजाइँ चलेको थियो। उसले यसरी बोर्ड बनाउने, बनाएका बोर्डलाई कार्यालय, बाटोघाटो या राजमार्गहरूमा ठड्याउने जिम्मा पनि लिन्थ्यो। उसको कारखानामा रङको खेल सँगसँगै साइनबोर्डहरूलाई आवश्यक पर्ने फलाम या काठका फ्रेम बनाउने क्रम पनि लगातार चालिरहेको हुन्थ्यो। त्यसैले म त्यहाँ पुग्दा जहिले पनि एकखालको गतिशीलता र फलाम अनि काठका आवाजहरू सुन्थेँ। सायद त्यो श्रमको संगीत थियो। त्यसैले त सुन्दा कर्णप्रिय लाग्थे।

ऊ दिनभरि काममा व्यस्त हुन्थ्यो। कामबापतको भुक्तानी लिन पनि मोटरसाइकल लिएर दौडधुप गरिरहनुपथ्र्यो उसले। त्यसैले प्रायः साँझ नजिकैको सेकुवाघरमा हाम्रो भेट हुन्थ्यो।

‘यार, यो काममा आम्दानी त राम्रो नै छ। तर, सरकारी कर्मचारीहरूलाई कमिसन पनि तगडा दिनुपर्छ। एक लाखको काम भयो भने चार लाखको बिल बनाइदे भन्छन् एकाउन्टेन्टहरू’, पहिलो पेग सुरु गर्दा यसै भन्थ्यो ऊ।

ऊ र म बसपार्कबाट छुट्टिएका थियौं। त्यो रात नेपालभरि ठूलो पानी परेको थियो। सायद त्यो रात मैले कामना गरेको थिएँ, ‘मेरो यार चढेको बस कुनै बाढीमा नफसोस्।’

तर, पनि ऊ शानदार जीवन बाँचिरहेको थियो। नगदको समस्या थिएन उसलाई। पहिलो पेगसम्म उसको बोली पनि शानदार नै हुन्थ्यो। अदबसाथ बोल्थ्यो। तर, दोस्रो पेगदेखि उसको आवाज लर्बरिन थाल्थ्यो। ‘तिमी’ भनेर सम्बोधन गथ्र्यौं हामी एकअर्कालाई। तर, तेस्रो पेगदेखि ऊ मलाई ‘तँ’ भन्न थाल्थ्यो र उसको बोली अमर्यादित हुन थाल्थ्यो। अरू बेला अत्यन्त विनम्र देखिने ऊ अब अराजक, अभद्र र अशिष्ट बन्दै जान्थ्यो। बातैपिच्छे अश्लील गालीहरू फलाक्न थाल्थ्यो। दिनभरि आफ्ना कामदारहरूलाई अत्यन्त माया गर्ने ऊ, अब भने तिनैलाई आमाचकारी गाली गर्दै हकार्न थाल्थ्यो।

‘तिमीहरू कामचोर हौ। एउटा साइनबोर्ड बनाउन तीन दिन लगाउँछौ हरामीहरू। यस्तै ताल हो भने एक दिन म तिमीहरूलाई तातो फलामले डाम्छु। त्यतिले पनि टेरेनौ भने सुट गरिदिन्छु। मसित दुइटा कटुवा पेस्तोल छ। एउटा मेरो कट्टुभित्र र अर्को मेरो कोठाको दराजमा।’

केटाहरू उसको आनीबानी र बोलीवचनसित अभ्यस्त थिए। उसका सबै जायज नाजायज कुराहरू हाँसेर टार्थे।

ऊ बिनासितन रक्सी खान्थ्यो। शाकाहारी थियो। शाकाहारी बन्नुको रोचक कथा सुनाएको थियो एक दिन उसले।

‘केही वर्षअघि कामकै सिलसिलामा नेपालगन्जबाट रात्रिबसबाट काठमाडौं जाँदै थिएँ। वर्षाको बेला थियो। रातभरि पानी दर्किएको थियो। नारायणघाट नपुग्दै अचानक एउटा खहरे खोलामा हामी चढेको बस फस्यो। दुई तीनजनालाई त खहरेले बगायो पनि। बस बीच खोलामा अड्किएको थियो। न अगाडि जान सक्थ्यो, न पछाडि फर्कन। हामी सबै बिहान नहुन्जेल बसभित्र घाँटीघाँटीसम्मको पानीमा बस्यौं। बाँच्ने आश मारिसकेका थियौं। त्यति बेला जीवनरक्षाको लागि देउतालाई पुकारा गर्दै ‘बाढीबाट बाँचेँ भने माछामासु खान्नँ’ भन्ने कसम खाएँ। बिहान भएपछि नजिकैका गाउँलेहरूले थाहा पाए। सारा गाउँलेहरू आएर जसोतसो बससम्म नाइलनको डोरी ल्याइपु¥याए। हामी सबै पालैपालो त्यही डोरी समातेर बाढीबाट बाहिर निस्कियौं। ज्यान जोगियो जसोतसो मेरो पनि। त्यसपछि मैले देउतासित खाएको कसम तोडिनँ। पूरै शाकाहारी भएँ।’

यति कथा सुनाएर ऊ हाँस्यो र भन्यो, ‘शाकाहारी त भएँ तर त्यसपछि रक्सीको बानी लाग्यो। अब त साँझ भयो कि शरीरले रक्सी माग्न थालिहाल्छ।’

तर, यति हुँदा पनि उसको हुलिया जँड्याहाजस्तो थिएन। पेन्टिङको काम गर्ने बेलामा रङैरङ पोतिएको कुनै पुरानोधुरानो लुगा लगाए पनि, काम सकेलगत्तै ऊ चल्तीको जिन्स पाइन्ट र ब्रान्डेट सर्टमा सुकिलो भएर हिँड्थ्यो। हातमा महँगो घडी, आँखामा रेबनको गगल्स, पाउमा ओरिजिनल रिबोकको स्पोर्ट सुजमा चिटिक्क पथ्र्यो ऊ। म केही महिना नेपालगन्जमा हुँदाहुँदै उसले दुइटा बाइक फेरिसकेको थियो। यति हुँदा पनि ऊ व्यक्तिगत रूपमा आत्मीय थियो। मनले असल थियो। व्यवहारले सहज र स्वाभाविक थियो। मित्रवत् थियो।

बस्, सारा समस्या तेस्रो पेगदेखि सुरु हुन्थ्यो।

०००

जाडोको कुनै साँझ। हामी नजिकैको सेकुवाघरमा बसेका थियौं। उसको तेस्रो पेग सुरु भइसकेको थियो। ऊ बहकिन थालिसकेको थियो। खै, के मनोविज्ञान हो कुन्नि ! यस्तो बेलामा ऊ आफूले राखेका यौनसम्बन्धहरूको कुरा गर्न थाल्थ्यो। गर्वसाथ। ऊ नेपालगन्जका विभिन्न टोलमा बसोबास गर्ने विभिन्न युवतीहरूको नाम लिँदै तिनीहरूसितको आफ्नो रतिरागात्मक सम्बन्धबारे अश्लील किसिमले हाउभाउसहित व्याख्या गर्न थाल्थ्यो। दुईचार बसाइसम्म त मैले उसको आनीबानीको राम्ररी भेउ पाउन सकेको थिइनँ। तर, केही बसाइपछि भने उसको त्यस्तो खालको कुरा गराइ मलाई अप्रिय लाग्न थालेको थियो। उसले जति नै रतिरागात्मक सम्बन्धको कुरा गरे पनि मलाई भने पत्यार लाग्दैनथ्यो। उसले सही कुरा नै भनेको भए पनि ती त्यसरी भट्टीमा आएर सबैले सुन्ने गरी चर्को स्वरमा आफ्ना नाजायज सम्बन्धको विज्ञापन गर्नु हुँदैन भन्ने लाग्थ्यो मलाई। म उसलाई रोक्न खोज्थेँ। तर, ऊ झन् उग्र हुन्थ्यो। तेस्रो पेगपछिको यस्तै एक क्षणमा मैले हार्दिकतापूर्वक उसलाई सम्झाएँ, ‘यार, कसैसित शारीरिक सम्बन्ध नै राखे पनि यसरी सार्वजनिक ठाउँमा हल्ला गर्नु हुँदैन।’

त्यति आत्मीय विमल, त्यसपछि अभद्रतापूर्वक कड्कियो मसित। उसले जानेजति सबै खालका अश्लील गाली गर्दै भन्यो, ‘तँ साले, काठमाडौंबाट आएको भनेर धाक लगाउँछस् ? मैलेभन्दा बढी पढेँ भनेर धाक लगाउँछस् ?       नेपालगन्जमा बडेमानको घर छ भनेर फूर्ति लगाउँछस् ? बढी भइस् भने म अहिल्यै तेरो पाइन्ट खोलेर...।’

त्यसपछि मैले सहन सक्ने कुरै भएन। मैले उसको कठालो समातेँ। उसले भन्दा पनि चर्को अभद्र र अशिष्ट शब्दहरू फलाक्दै म भिडिहालेँ ऊसित। ऊ सम्हालिन सकेन। असन्तुलित भएर टेबुलमुनि ढुन्मुनियो। तर, त्यसपछि लडेको लड्यै भयो। ‘ऐया ऐया’ भन्दै चिच्याउन थाल्यो। म आत्तिएँ। जसोतसो उठाएँ फेरि उसलाई। मैले लडाउँदा टेबुलको कुनामा उसको मेरुदण्ड ठोक्किएछ। ऊ असह्य वेदनाले रुन थाल्यो। म चिसो भइसकेको थिएँ। एकैछिनपछि उसका कारखानाका केटाहरू आए र उसलाई बोकेर घर पुर्‍याए। म उदास मन बोकेर सुटुक्क घर फर्किएँ। बुवाआमाले थाहा नपाउने गरी घरभित्र पसेँ। अबेर आएकोमा श्रीमतीले केही गुनासो गर्दै थिइन्। म चुपचाप सुतिहालेँ। निद्रा भने रातभरि परेन।

बिहान भयो। तर, हाम्रो सम्बन्धमा त्यो बिहानी फर्केर आएन। मैले उसकहाँ जानै छाडिदिएँ। उसले पनि मेरो चासो राख्न छाडिदियो। केही दिनपछि बाटामा उसको कामदार भेटियो। उसले भन्यो, ‘सरको ढाडमा निकै गहिरो चोट पो लागेको रहेछ। लखनउसम्म लगेर उपचार गर्नु पर्‍यो।’

त्यसपछि मैले आफ्नो मित्रमाथि हात उठाएँ भन्ने ग्लानिको भाव स्थायी किसिमले मेरो मनमा बस्यो। उसले होश गुमाएको बेला भनेका कुराले रिसाएर मैले उसलाई शारीरिक रूपमा दखल पर्ने गरी आक्रमण गरेको थिएँ। मैले त्यसो गर्नु हुँदैनथ्यो।

म काठमाडौं फर्किएँ। ग्लानिको गहु्रँगो बोझसहित।

०००

चार या पाँच वर्षपछि। घनघोर वर्षात्को कुनै दिन। अचानक उसको फोन आयो। मेरो कोठाको ल्यान्डलाइनमा। मैले फोनमा उसलाई चिनिनँ। उसैले चिनायो आफूलाई र विनम्र आवाजमा भन्यो, ‘तपाईंसित भेट्ने मन थियो।’

अहँ, ‘तँ’ या ‘तिमी’ पनि होइन। उसले मलाई ‘तपाईं’ भनेर सम्बोधन गरिरहेको थियो। जीवनमा हामीहरू यसरी औपचारिक बनौंला भनेर सायद हामी दुवैले चिताएका थिएनौं। खै, किनकिन म पनि सहज हुन सकिनँ। त्यही पुरानो ग्लानिको भावले मलाई छपक्कै छोपिहाल्यो। तैपनि सम्हालेँ मैले आफूलाई र भनेँ, ‘मेरो डेरैमा आउनुस् न। बत्तीसपुतलीमा बस्छु।’

भोलिपल्ट ऊ निर्धारित समयमा मेरो डेरामा आयो। उसलाई देख्नासाथ म अजीव बेचैनीमा छट्पटिएँ। किनभने ऊ पहिलाको विमल थिएन। एकदमै फरक। एकदमै अर्कै। उसको हातमा महँगो घडी थिएन। उसले रेबनको सनग्लास लगाएको थिएन। उसका खुट्टामा कुनै पुरानो स्पोर्टस् जुत्ता थियो। उसले लगाएको पाइन्ट र कमिज सुकिला थिएनन्। एकचोटि त मलाई लाग्यो, त्यो अर्कै कुनै दयनीय प्राणी हो, जो यति बेला मेरोसामु विमलको काया धारण गरेर आएको छ। तर, त्यही काया पनि अत्यन्त निर्बल र लाचार देखिन्थ्यो।

श्रीमतीले हामी दुवैलाई चिया ल्याइदिइन्। चियाको पहिलो चुस्कीमै मैले सोधेँ, ‘के छ हालचाल ? ’

‘साह्रै बेहाल छ।’

त्यसपछि उसले आफ्नो रामकहानी सुनायो।

‘कुनै बेलाको बेफुर्सदी म अब पूरै फुर्सदिलो भएको छु। कामधाम केही छैन। कारखाना बन्द भइसकेकोे छ। मसित काम गर्ने केटाहरू कोही साउदी कोही मलेसिया लागिसके।’

‘यस्तो किन भयो त ? ’, मैले जिज्ञासा राखेँ।

‘नयाँनयाँ टेक्नोलोजी आयो। हामी ब्रसले रङ पोतेर काम गथ्र्यौं। अब सबै काम कम्प्युटरबाट हुन थालेको छ। ठूलाठूला प्रेसबाट फ्ल्यास छापिन थालेका छन्। बिजुली बत्तीवाला बिलबोर्डहरू बन्न थाले। हामीले त्यस्ता काम जानेका छैनौं। त्यति धेरै लगानी पनि गर्न सकिन्न। यो नयाँ प्रविधि यति छिटो हाम्रोमा प्रवेश ग¥यो कि हामीले काम सिक्ने मौकै पाएनौं। अब हाम्रो पुरानो पाराको कामलाई कसले महत्व दिने ?       एक त पुरानो ढर्राको काम, त्यसमाथि फ्ल्यास या बिलबोर्डभन्दा पनि महँगो पर्ने। समय पनि लाग्ने। हामीलाई कसले काम दिन्थ्यो अब। एक्कासि कसैले हाम्रो हातबाटै हाम्रो सीप खोसेजस्तै भएको छ।’

अब उसको समग्र व्यक्तित्वमा अभाव र गरिबीको छाया प्रकट भइरहेको थियो। कुरैकुरामा मैले थाहा पाएँ। अब ऊसित नयाँ मोडलका बाइकहरू छैनन्। उसैले भन्यो, ‘घर पनि बैंकमा छ। लोन लिएको थिएँ। अझै लोन तिरेर घर निखन्न सकेको छैन।’

‘लोनचाहिँ किन नि ? ’, मैले सोधेँ।

‘जेठानले कोरिया पठाइदिने एउटा एजेन्ट चिनाइदिए। आफ्नै जेठानले चिनाएकाले मान्छे विश्वासिलो लाग्यो। १० लाख लाग्छ भन्यो। घर धितो राखेर पैसा निकालेँ र उसलाई दिएँ।’

म खुसी नै भएँ। जे भए पनि मित्र अब कोरिया जाने भए। भताभुंग भएको उनको आर्थिक हैसियत ढिलै भए पनि सुध्रिने भयो। तर, उनको अनुहारको कुनै कुनामा पनि खुसीको सानो भाव पनि थिएन।

‘उसो भए कोरिया जान काठमाडौं आउनुभएको तपाईं ? ’, मैले सोधेँ।

‘हैन, कोरिया पठाउने एजेन्टलाई खोज्न आएको। मैले पैसा बुझाएदेखि बेपत्ता छ। मजस्ता दर्जनौंका पैसा खाएर भागेको रहेछ। मेरो त बिचल्ली नै भयो। श्रीमती चिन्तैचिन्ताले मानसिक रोगी भएकी छ। छोराछोरीको पढाइ पनि बिग्रिसक्यो। बैंकले सावाँ र ब्याजका लागि ताकेता गरेको ग¥यै छ। यसपालि त घर लिलामीको सूचना पनि निकालेको छ।’

हामीबीचको आत्मीय सम्बन्ध अप्रिय मोडमा टुंगिएको भए पनि मलाई उसको कुरा सुनेर माया लाग्यो। तर, मैले गर्नसक्ने कुरा केही थिएन। म त बस् उसका कुरा सुन्न सक्थेँ र सहानुभूतिका केही शब्द भन्न सक्थेँ।

‘एजेन्टसित भेट भयो ? पैसा फिर्ता देला नि त।’

‘भेट भयो। तर, अब दिन्न त्यसले पैसा। काठमाडांै आएको बेकार भयो।’

‘किन र ? के भन्यो एजेन्टले ? ’

‘के भन्नु ! ङिच्च हाँस्यो र सरी भन्यो।’

‘पुलिसमा खबर गर्नुस् न त। त्यसै छाड्नु त भएन नि त्यस्ता हरामीलाई।’

‘पुलिसले समातेको त उहिल्यै हो। अहिले जेलैमा छ त्यो। हिजो जेलमै गएर भेटेँ। दुनियाँको पैसा पचाएर मस्तसित जेलमा बसेको छ।’

के यति कुरा भन्न ऊ मलाई भेट्न आएको थियो ? पक्कै होइन। ऊ काठमाडौंमा एजेन्टलाई खोज्दाखोज्दै बेखर्ची भएको थियो र मसित नेपालगन्ज फर्किने बसभाडा माग्न आएको थियो। लाचार भएर। उपायहीन भएर।

०००

साँझ बसपार्कमा ऊ चढेको बस हिँड्यो। घनघोर पानी पर्ने सुरसार थियो। बस हिँडेपछि उसले बिदाइमा हात हल्लायो। मैले पनि हात हल्लाएँ। एकैछिनमा बस आँखाबाट ओझेल भयो। तर, अझै पनि मैले ऊमाथि गरेको दुर्व्यवहारको ग्लानि मेरो मनबाट हट्न सकेको थिएन।

जीवनमा धेरै मित्रसित मेरा यस्ता तीतामीठा अनुभवहरू रहे। ती अनुभवलाई मैले मेरो आफ्नो पहिलो गैरआख्यानको किताब ‘यार’मा सामेल गरेको छु। तर, किताब छाप्न दिइसकेपछि मात्र ऊ मेरो स्मृतिमा आयो। स्मृतिमा ढिलो आए पनि उसले मेरो हृदयमा बलियो हस्तक्षेप गरिरहेको छ। म अहिले पनि उसलाई सम्झिरहेको छु।

ऊ र म बसपार्कबाट छुट्टिएका थियौं। त्यो रात नेपालभरि ठूलो पानी परेको थियो। सायद त्यो रात मैले कामना गरेको थिएँ, ‘मेरो यार चढेको बस कुनै बाढीमा नफसोस्।’

तर, मैले भनेर के हुन्थ्यो ! नियतिले त पहिले नै उसको जीवनमा बाढीपहिरो ल्याइसकेको थियो।

के ऊ सकुशल नेपालगन्ज पुग्यो ? मैले आजसम्म ऊसित सोध्न पाएको छैन। त्यसपछि ऊसित मेरो भेट पनि त भएको छैन।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2