MENU

ढाका उद्योगले कायापलट

patan-college

टीआर सेनेहाङ शनिवार, पुस २९, २०७४ 277 पटक पढिएको

Share This

635-x-85

तेह्रथुम : आर्थिक अवस्था कमजोर भएका कारण छथर शुक्रबारेकी कोपिला ठकुरीलाई घरको गर्जो टार्न धौधौ हुन्थ्यो। सानै उमेरमा विवाह, त्यसपछि श्रीमानले पनि छाडेपछि उनका दुःख थेगिसक्नु थिएनन्। काखको नानीका साथमा दैनिकी गुजारा चलाउनु हम्मेहम्मे थियो।

नजिकैको बजारमा सानो किराना पसलको सहाराले छाक टार्न मुस्किल हुन्थ्यो। पसलमै केही केटाकेटी भेला गराएर ट्युसन पढाएर आएको पैसाले जसोतसो बिहान बेलुकी दुःखका साथ धानिन्थ्यो। एसएलसीसम्म पढ्न पाएकीले मात्र यो अवसर पनि सिर्जना भएको थियो नत्र ज्यालामजदुरीको विकल्प थिएन। केही व्यावसाय गर्न कर्जाको खोजीमा भौतारिँदा कसैले पत्याएनन्। तर, पनि केही गर्छु भन्ने झिनो आशा कहिले मरेन उनमा। अवसरको पर्खाइले कहिले अल्छी लाग्दैनथ्यो।

यो १० वर्षअघि कोपिलाको वास्तविकता हो। तर, अहिले त्यस्तो अवस्था छैन। उनी मनग्गे आम्दानी हुने व्यावसाय चलाउँछिन्। उनको नाममा आफ्नै घडेरी पनि छ। अनि दुःखको बेला एक्लै छाडेर जाने श्रीमान् पनि साथमा छन्। बाल बच्चा राम्रो विद्यालयमा पढ्छन् अनि आरामदायी सन्तुष्टिका दिन बितिरहेका छन्। भन्छिन्,‘ढाका व्यवसाय नचलाएको भए मेरो जीवनमा दुःखका दिन कहिल्यै नसकिने रहेछन्।'


नेपालमा बनेका ढाकाका सामग्री भारत, सिंगापुर, हङकङ, बेलायत, अमेरिका, जापानललगायत मुलुकमा निर्यात हुने गरेको छ।

कोपिलालाई यो अवस्थमा पुर्‍याउने माध्यम ढाका कपडा व्यासाय हो। २०६७ सालमा शुक्रबारेमा झापा प्राविधिक शिक्षालयले आयोजना गरेको ढाका कपडा बुनाइ तालिममा सहभागी भएकी उनले यही व्यावसायबाट जीवनस्तर फेरेकी हुन्। तालिममा सहभागीमध्ये उत्कृष्ट भएकी कोपिलालाई प्राविधिक शिक्षालयका तर्फबाट एक थान तानसेट र नगद तीन हजार पुरस्कार मिल्यो। सोही पैसाले केही धागो किनेर निरन्तर ढाका बन्न सुरु गरिन् ठकुरीले।

यो क्रमले निरन्तरता पाइरह्यो कामले उनका हात कहिल्यै थाकेनन्। उनले बुनेका कपडा कलात्मक र आकर्षक बुट्टा भएको कारण बजारको कहिले कमी भएन। उनले भनिन्,‘कपडा तयार गर्ने कामले निरन्तरता पाएसँगै आम्दानी पनि राम्रो हुन थालेको छ।' घरको अन्य गर्जो टारेर बचेको पैसाले शुक्रबारेमै घडेरी पनि जोडिन्। मासिक बचत पनि रामैै्र हुन थाल्यो। ढाका बुनाइको सीपमा पनि वृद्धि भएपछि आकर्षक कपडा बुन्ने भएकाले बजारको कुनै समस्या भएन। उनी भन्छिन्,‘ मैले ढाका कपडा बुनेर महिनाको ३० हजारसम्म कमाएकी छु।'

२०७३ मंसिरमा जिल्लाको क्रियाशील गैरसरकारी संस्था देउराली सोसाईटीले हमरजुङमा ढाका व्यावसायीलाई लक्षित गरी गठन गरेको ढाका उत्पादन समूहमा कोपिला पनि आबद्ध भइन्। २२ जनाको उक्त समूहमा रहेर कोपिलालाई धेरै सहजता मिलेको छ। गरिबी निवारण कोषअन्तर्गत सोसाईटीले दुई लाख बराबरको घुम्तीकोष स्थापना गरेपछि समूह सञ्चालन गर्न र आर्थिक अवस्था न्यून भएका उद्यमीलाई कर्जाका लागि समस्या टरेको छ। देउराली सोसाइटीले गरिवी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा ढाकाको बजार व्यवस्थापन र मूल्य निर्धारणबारे उद्यमीलाई दिएको तालिममा सहभागी बनेकी कोपिलालाई आफ्नो श्रमको उचित मूल्य थाहा भएको बताउँछिन्।

ढाका कपडा बुनिरहेका महिला उद्यमीलाई सीप प्रदान गरी ढाकाको बजार प्रवद्र्धन गर्ने प्रयास भएको देउराली सोसाईटीका कार्यक्रम संयोजक प्रेमराज फोम्बोले बताए। सोसाईटीले जिल्लाका ६ वटै स्थानीय तहमा ३५ वटा ढाका उत्पादन समूह गठन गरी ढाकाको आधुनिक सीप र बजारीकरणबारे जानकारी दिँदै आएको छ। सीप तथा बजारीकरणको बारेमा जिल्लाभरका ६ सयभन्दा बढी महिला जानकार भएका छन्।

जिल्लामा करिब पाँच हजार ढाका उद्यमी छन्। जिल्लाभर तीन दर्जन ठूला ढाका उद्योग र अन्य दुई हजार बढी घरेलु ढाका उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको जनाएको छ। नेपालमा बनेका ढाकाका सामग्री भारत, सिंगापुर, हङकङ, बेलायत, अमेरिका, जापानललगायत मुलुकमा निर्यात हुने गरेको छ। ढाकाबाट टोपी,मखलर, रुमाल,पछ्यौरा, बर्को, साडी, ब्लाउज, सर्ट, हाते झोलालगायत तयार पारिन्छ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2