MENU

लेखपोखरामा माघीमेला

patan-college

गंगा खड्का शनिवार, पुस २९, २०७४ 215 पटक पढिएको

Share This

635-x-85

तम्घास : गुल्मीको मालिका गाउँपालिका-५ स्थित छापहिलेको लेखपोखरामा यस वर्ष पनि माघीमेला लाग्ने भएको छ । माघेसंक्रान्तिको अवसरमा सो स्थानमा दुई दिन विशेष मेला लाग्ने गरेको छ । समुद्री सतहदेखि करिब २ हजार मिटर उचाइमा अवस्थित लेखपोखरामा ऋषिकेश मन्दिर निर्माण गरिएको छ । धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसार गरी स्थानीय उत्पादन बिक्रीवितरण गर्न मेला आयोजना गरिँदै आएको लेखपोखरा माघीमेला व्यवस्थापन समितिका अध्यक्ष रेखाकुमार जिसीले जानकारी दिए । ‘स्थानीय कृषिलगायत अन्य सामग्री मेलाका विशेष आकर्षण हुन्, ‘उनले भने, ‘पर्यटक बढाउनु मेलाको प्रमुख लक्ष्य हो ।'

ग्रामीण पर्यटनको उच्च सम्भावना भएकाले यस ठाउँलाई सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ । छापहिलेको बस्तीदेखि माथि जंगलको बीचभागमा आकर्षक मन्दिर र स्नानका लागि पोखरी निर्माण गरिए पनि सो क्षेत्रमा पर्यटक पनि आकर्षित हुने गरेका छन् । माघी मेलामा आएका दर्शकले पोखरीमा स्नान र मन्दिरमा पूजापाठ गर्दै आएको छापहिलेका स्थानीय रामबहादुर जिसीले जानकारी गराए । ‘यस क्षेत्रलाई वनभोज स्थलका रूपमा विकास गर्न सकिन्छ', उनले भने, ‘फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि भौतिक पूर्वाधार अभावले विकास हुन सकेको छैन ।'


धार्मिक र पर्यटकीयस्थलको प्रचार गरी स्थानीय कृषिजन्य उत्पादन बिक्री-वितरण गर्न लेखपोखरामा मेला आयोजना गरिँदै आएको छ ।

रोजगारका लागि कतार पुगेका गाउँका युवाले मन्दिर निर्माणका लागि करिब १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको उनले जानकारी गराए । यस क्षेत्रलाई ग्रामीण पर्यटनसँग जोडेर विकास गर्नुपर्ने उनको भनाइ छ । लेखपोखराको डाँडाबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रेलगायत हिमशृंखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । गुल्मीका अधिकांश गाउँसहित छिमेकी जिल्ला बागलुङ, पर्वत, प्युठान र अर्घाखाँचीका विभिन्न गाउँ पनि यहाँबाट दृश्यावलोकन गर्न सकिन्छ ।

 

चिम्टाले खनेको पोखरी

स्थानीय ७७ वर्षीय नरबहादुर खड्काका अनुसार लेखपोखरा क्षेत्र नजिकै रहेको उल्टेढुंगा (भ्युस्टोन) बाट पञ्चायतकालमा राजा चढ्ने घोडा लडेर भीरको पहरोमा टाँसिएको इतिहास छ । पहरोमा रहेको ढुंगामा घोडाको छाप टाँसिएजस्तो आकृति हेर्न पर्यटक पुग्ने गरेको उनले बताए । ऐतिहासिक र पुरातात्विक हिसाबले यो क्षेत्र महत्वपूर्ण रहेको बूढापाकाको भनाइ छ ।

रुरु गाउँपालिकास्थित बलेटक्सारका तपस्वी बालानन्द ज्ञवालीले तपस्या भ्रमणको सिसिलामा १७१२ सालमा लेखपोखरी निर्माण गरेको भनाइ छ । उक्त समयमा ज्ञवालीले जंगलमा बास बसी, कन्दमूल खाएर फलामको ‘चिम्टा'ले पोखरी निर्माण गरेको किम्वदन्ती छ । सुरुसुरुमा क्षेत्रमा कुस्ती, भजनकीर्तन र दोहोरी गाउने गरिए पनि हिजोआज त्यस्तो चलन छैन । पछिल्लो समय नयाँ पुस्ताको पहलमा मेला आयोजना गरिँदै आए पनि राज्यले ध्यान नदिँदा यस क्षेत्रको विकास हुन नसकेको स्थानीयको गुनासो छ ।

यस क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी छापहिले गाउँमा ‘होमस्टे' समेत सञ्चालन गर्न सकिने स्थानीय बताउँछन् । सालझण्डी-ढोरपाटन सडक नजिकै रहेको यस क्षेत्रमा पुग्न सडकको समेत सुविधा छ । माघीमेलामा जिल्लाको रुरुक्षेत्रधाम (रिडी) र लेखपोखरामा मात्र मेला लाग्छ । माघीमेलामा करिब सात हजार भक्तजन पुग्ने गरेको लेखपोखरा तिखाचुली पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष अशोककुमार खड्काले जानकारी दिए । ‘यस क्षेत्रको प्रवद्र्धन गर्न सके समग्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्छ', उनले भने, ‘जिल्लामा थुप्रै पर्यटकीय सम्भावना छन् । तर, राज्यको ध्यान नपुग्दा ओझेलमा परेका छन् ।'

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2