MENU

ठेगाना पुस्तकालय

patan-college

किरण दहाल शनिवार, पुस २९, २०७४ 275 पटक पढिएको

Share This

635-x-85

हिजोआज दैनिक एक घन्टा जति यो ‘लाइब्रेरी’मा बिताउँछन् शिशिर। बोरा, कार्टुन, सुटकेशमा बुवाले सुरक्षित राखेका किताब निकालेर पल्टाउँछन्। कहिलेकाहीँ अचम्मअचम्मका किताब भेट्छन् र एक्लै हाँस्छन्।

भर्‍याङछेउकै कोठा बन्द छ। बन्द कोठा आफैंमा एक रहस्य हो। खुल्दा के देखिने हो वा को निस्कने हो ? हरेक बन्द ढोका हेर्दा यस्तो खुल्दुली हुन्छ। भेटघाटको सिलसिलामा आइपुगेको पुतलीसडकको यो वैद्य निवासको बन्द ढोकाले पनि यस्तै कौतुहल उत्पन्न गरेको थियो।

ढोका घर्‍याक्क खुल्छ, म झस्याङ्ग हुन्छु। अँध्यारो कोठाभित्र केही देखिँदैन। कोठाभित्र टाउको मात्र छिराएर चारैतिर हेर्छु। अहँ, केही देखिँदैन। एकदमै सुनसान, अन्धकार र चकमन्न छ। मसँगै उभिएका घरमुली शिशिर वैद्य केही नभनी भित्र छिर्छन् र अँध्यारोमा हराउँछन्। उनी विलुप्त भएको केही सेकेन्डमा ट्युबलाइट बल्छ।

दुधिलो प्रकाश कोठाभरि पोतिन्छ। भित्तामा झुन्डिएका मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओहरू अघिल्तिर प्रकट हुन्छन्। स्टालिनबाट अलि पर हटेर हो चि मिन्ह ठूलो फ्रेममा टाँसिएर बसेका छन्। एउटा कुनामा पत्रिकाको चाङ देखिन्छ। ठुलाठुला चारवटा र्‍याकमा किताबहरू मिलाएर राखिएका छन्। केही किताब भुइँमा थपक्क मिलेर बसेका छन्। यस्तो लाग्छ, म वर्षौं बिर्सिइएको कुनै कम्युनिस्ट पार्टीको कार्यालयमा छु।

शिशिर बताउँछन्, बुवाले संग्रह गरेका किताब हुन् यी। उनका बुवा निरञ्जनगोविन्द वैद्य हुन्। कम्युनिस्ट पार्टीका संस्थापकका केही नाम कुनै कुनै सन्दर्भमा लिनुपर्दा, निरञ्जनगोविन्द वैद्य छुट्दैनन्। तर, उनले गरेको योगदान, संग्रह गरेका सूचना र ज्ञानका यी पोथा भने वैद्य निवासको यो अँध्यारो कोठामा वर्षौंदेखि छुटेको छ।

पार्टीमा काम गर्नुका साथै वैद्यले भोटाहिटीमा पुस्तक पसल पनि सञ्चालन गरेका थिए। यो पसल बुवाले कहिले खोलेका थिए भन्ने हेक्का छैन शिशिरलाई। पसलमा ताला लागेको चाहिँ २०५० सालतिर हो। त्यसपछि, पसलमा भएका पुस्तक पनि यो पुस्तकालयमा थपिएका थिए। शिशिरले र्‍याकका किताब सुम्सुम्याउँदै भने, ‘बुवाले बाहिरबाट ल्याएर पढ्नु भएका पुस्तक हुन् यी। केही पुस्तक पसलबाट पनि ल्याइएको थियो।’

यहाँ कम्युनिस्ट पुस्तक धेरै छन्। त्यतिबेला विश्वका ‘लेफ्टिस्ट’ पार्टीहरू भित्रै पनि चीन र सोभियत संघलाई हेर्ने दृष्टिकोण फरकफरक थियो। चाइना ढल्कुवाहरू सोभियत संघप्रति रुष्ट थिए भने सोभियतवालाहरू चाइनाप्रति। वैद्यको चीन धुरीसँगको सान्निध्य बढी थियो भन्ने आकलन यहाँ भेला गरिएका पुस्तकबाट आकलन गर्न सकिन्छ। शिशिर भन्छन्, ‘सायद, बुवा चाइनालाई खुबै सम्मान गर्नु हुन्थ्यो।’

तर, रूसी किताब छँदै छैनन् भन्ने चाहिँ होइन। सहरको चर्चित पुस्तक पसलमा समेत नभेटिने स्टालिनका रचनाहरू यस पुस्तकालयमा सुरक्षित छन्। रूसी साहित्यका पुस्तक पनि थुप्रै छन्। चाइनाबाट निस्कने हिन्दी भाषाका पत्रिकाहरू बाँधेर एउटा कुनामा लडाइएको छ। गाता (कभर) च्यातिएका पुस्तक भुइँमा यताउता छरिएका छन्। देशविदेशका ‘म्यागेजिन’हरू छन्। पुस्तक र म्याग्जिनलाई एकै ठाउँमा कोचेर राखिएको छ। विदेशी भाषाका बाल साहित्यका पुस्तक पनि थुप्रै छन्। शिशिर भन्छन्, ‘बाल साहित्यका किताब नेपालीमा अनुवाद गर्न पाए हाम्रा नानीबाबुले साहित्यका विविध स्वाद चाख्न पाउँथे।’

‘मुनामदन’को पहिलो ‘इडिसन’ सुरक्षित छ शिशिर वैद्यको पुस्तकालयमा। पुष्पलाल श्रेष्ठले ‘पुष्पलाल नेपाली’को नामबाट अनुवाद गरेको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ एउटा पुरानो ‘कलेबर’सहित हाजिर छ।

सहरलाई हुरुक्क बनाएको धुलोले वैद्य पुस्तकालयलाई पनि छोडेको छैन। पुस्तकका खोलभरि धूलो टाँसिएको छ। नटक्टक्याइकन पत्रिकाका अक्षरहरू राम्रोसँग ठम्याउन सकिँदैन। भित्तामा टाँसिएका फोटाहरू धमिलो देखिन्छन्। ‘यसलाई सफा बनाउनु छ,’ शिशिर भन्छन्, ‘बोराबाट किताब निकालेर र्‍याकमा राख्दैछु। यति धेरै किताब छन् भन्ने कुरा मैले पनि भर्खरै थाहा पाएको हुँ।’

आफ्नै घरमा यति धेरै पुस्तक होलान् भन्ने उनलाई थाहै थिएन। केही समयअघि पुरानो घर भत्काएर नयाँ घर बनाए उनले। नयाँ घरमा पुराना सामान सार्दै गर्दा छोरा शिशिरले पहिलोपटक देखेका हुन्, आफ्नै घरमा त्यति धेरै किताब। बुवाको कोठामा कार्टुन–कार्टुन किताब थियो। पहिला–पहिला बुवा कोठामा एक्लै के गरेर बस्थे भन्ने कुरा बल्ल उनले थाहा पाए। अलिअलि पढेको देख्थे, तर वास्ता गर्थेनन्। पार्टीको काम गरेका होलान् भनेर खासै चासो दिएनन्। भन्छन्, ‘बुवा कोठाभित्र किताब हेरेर बस्नुहुँदो रहेछ क्यारे। के–के पढ्नु हुन्थ्यो भन्ने चाहिँ हामीले त्यतिबेला भेउ पाएनौं।’

हिजोआज दैनिक एक घन्टा जति यो ‘लाइब्रेरी’मा बिताउँछन् शिशिर। बोरा, कार्टुन, सुटकेशमा बुवाले सुरक्षित राखेका किताब निकालेर पल्टाउँछन्। कहिलेकाहीँ अचम्मअचम्मका किताब भेट्छन् र एक्लै हाँस्छन्। केही समयदेखि उनको दिनचर्या बनेको छ, किताब मिलाउने। भन्छन्, ‘अरू पनि काम गर्नुपर्‍यो। यहीँ मात्र बसेर भएन तर पनि हरेक दिन आएर किताब मिलाउने, पढ्ने गर्छु।’ धेरै किताब भएकाले कता, कसरी मिलाएर राख्ने भन्ने भेउ पाएका छैनन्। जथाभावी राख्दा खोजेको समयमा चाहिएको किताब भेटिँदैन। उनी आफैंले पहिले भेटेका किताब अहिले खोज्दा भेट्दैनन्।

यत्तिका किताबलाई कसरी जोगाएर राख्ने भन्नेमा चिन्तित छन्, शिशिर। २०७२ सालको भूकम्पले पनि किताबलाई छिन्नभिन्न बनाइदियो। केही किताब त त्यतिबेलै हराए। दुई वर्ष पहिले यही कोठामा पानी पसेर दुई बोरा किताब सत्यानास भयो, उनले मिल्काइदिए।

कार्टुनमा बाँकी रहेका किताब कहाँ राख्ने टुंगो छैन। र्‍याकहरू पनि भरिइसके। शिशिर भन्छन्, ‘बुवाले जम्मा गरेका किताब अर्कको कोठामा पनि छ। ती सबै कार्टुनमा छन्। पहिला यो मिलाउँछु अनि त्यसलाई मिलाउनु पर्ला।’ पुराना–पुराना रिपोर्टदेखि महत्वपूर्ण डकुमेन्टहरू भेटिने ठाउँमा मिलाएर राखिएको छैन। पत्रपत्रिकामा छापिएका महत्वपूर्ण लेखहरू फाइलमा राखिएको छ, तिनलाई पछि खोज्दा भेट्न मुस्किल हुन्छ। शिशिर भन्छन्, ‘यहाँ पढ्नुपर्ने कुराहरू धेरै छन् तर पढ्नै भ्याइँदैन।’ पढ्नमात्र हैन, भएको किताब भेट्न पनि गाह्रो छ यहाँ।

किताब मिलाएर राख्दै गर्दा उनले जिन्दगीमा कहिल्यै नदेखेका किताब भेटे। कार्टुनबाट निकालेर किताब मिलाउने क्रममा एक दिन उनले लक्ष्मीप्रसाद देवकोटा लिखित ‘पहाडी पुकार’ नामक किताब भेटे। देवकोटाले पहाडी पुकार पनि लेखेका छन् भन्ने उनलाई थाहै थिएन। गफ गरिरहँदा उनी ¥याकतिर केही खोज्न थाले। हाँस्दै एउटा पातलो किताब निकालेर देखाउँदै भने, ‘देवकोटाको यो पहाडी पुकारको चर्चा कतै सुनिँदैन। हामीले थाहा नपाएका यस्ता किताब कति छन् कति !’ त्यस्तै, उनले अमृतानन्दद्वारा लिखित ‘बुद्धकालीन राजपरिवार’ नामक पुस्तक निकाल्दै भने, ‘यो अहिले कतै पाइँदैन। पढ्नुपर्ने, भ्याइएको छैन।’

धेरैले मन पराएको देवकोटाकै ‘मुनामदन’ अहिले कतिऔैं संस्करण निस्कियो होला ? ३०, ४० वा अझै बढी ! यो पुस्तकको पहिलो ‘इडिसन’ छ शिशिरसँग। यतिमात्र होइन, लेखक खगेन्द्र संग्रौलाले नाटकसंग्रह प्रकाशित गरेका छन् भन्ने कुरा धेरैलाई थाहै नहुन सक्छ। संग्रौलाले पनि बिर्सिसके कि ! कतिपयले सुनेको तर नदेखेको हुन सक्छ। ‘भविष्यको खोजीमा’ नाटक संग्रहदेखि ‘हाँडीघोप्टेको जितबाजी’ कथा संग्रहसम्म छन् यहाँ। यस्ता पुस्तक अरू पनि छन्। पुष्पलाल श्रेष्ठले ‘पुष्पलाल नेपाली’को नामबाट अनुवाद गरेको कम्युनिस्ट पार्टीको घोषणापत्र एउटा पुरानो ‘कलेबर’सहित सुरक्षित छ यो कोठामा। मोटामोटा खोलका पुराना किताब थुप्रै छन्। यसै फुत्त कुनै किताब र्‍याकबाट तानेर हेर्दा, त्यही किताबले चकित बनाउन सक्ने काफी सम्भावना छ।

वैद्य लाइब्रेरीमा किताब खोज्दै कोही आइपुग्दैन। धेरैलाई त यहाँ यति धेरै र महत्वपूर्ण किताब छन् भन्ने पनि थाहा छैन। थाहा पाएर मान्छे आउन थाले, तिनलाई व्यवस्थित ढंगले पुस्तक दिने वा फोटोकपी गर्न दिने अवस्था पनि छैन। केही समयपहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ आइपुगेका थिए। शिशिरले उनलाई एक दुईवटा किताब दिए, उपहारस्वरूप। किताब लिएर गए। तर, फर्केर आएका छैनन्। हिजोआजका कम्युनिस्टले पुस्तक पढ्न छाडिसकेजस्तो लाग्छ शिशिरलाई। अध्ययनमा चासो हुने हो भने अलि पहिलेका मान्छेलाई त यहाँ किताब छन् भन्ने थाहा हुनुपर्ने हो !

‘मेरो किताब त्यहाँ छ रे, मसँग छैन। उपलब्ध गराइदिनु पर्‍यो’ भन्दै हिजो आज लेखकहरू फोन गर्छन् उनलाई। लेखक स्वयंसँग नभएको पुस्तक आफ्नो लाइब्रेरीमा सुरक्षित रहेकोमा मक्ख छन् उनी।

पढेर फर्काइदिन्छु भन्दै आउनेलाई पुस्तक दिन नसकिने शिशिर बताउँछन्। ऐतिहासिक महत्वका पुस्तक हराइदेलान् भन्ने डरले त्यसरी दिन नसकिने उनको तर्क छ। भन्छन्, ‘पुस्तक लेगेपछि फर्काउने चलन नै छैन यहाँ। हरायो भने बर्बाद हुन्छ।’

काठमाडौंमा गतिला पुस्तकालय छैनन्। भएका पुस्तकालय कोही भत्किएका छन् भने केही वर्षौं थुनिएर धुलिया लागेका किताब साँचेर बसेका छन्। सामान्य मान्छेका पहुँचमा पुग्ने गरी कसैले राम्रोसँग पुस्तकालय चलाए र दिएका किताब सम्हाल्ने विश्वास दिलाउन सके, शिशिर पनि किताब जिम्मा लगाउने मुडमा छन्। भन्छन्, ‘नेताज्यूहरूले राम्रो र व्यवस्थित पुस्तकालय खोल्छन् र सञ्चालन गर्ने कार्यक्रम ल्याउँलान् भन्नेमा मलाई शंका छ।’

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2