MENU

मेला संरचनामा करोडौं फजुल खर्च

patan-college

लक्ष्मण पोखरेल शनिवार, पुस २९, २०७४ 218 पटक पढिएको

Share This

635-x-85

बुटवल : स्थायी संरचना नहुँदा रुपन्देहीमा हुने मेला महोत्सवको अस्थायी संरचना निर्माणमा बर्सेनि करिब सात करोड रुपैयाँ फजुल खर्च हुने गरेको छ। बुटवलसहित पाँच नगरमा हरेक वर्ष ठूला व्यापार मेला, महोत्सव हुने गरेका छन्। बुटवल मण्डपमा झन्डै एक दशकदेखि स्थायी संरचना निर्माण गर्ने योजना बनाइए पनि अहिलेसम्म गुरुयोजनासमेत बन्न सकेको छैन। बुटवल मण्डपमा मात्रै वर्षमा तीन वटा मेला हुने गरेका छन्। औद्योगिक प्रदर्शनी, कृषि मेला र व्यापार मेलामा बनाइने अस्थायी संरचना निर्माणमा करिब ३ करोड खर्च लाग्ने गरेको छ।

मेला आयोजना गर्ने एक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले सरकारले स्थायी प्रदर्शनी स्थलको काम अघि नबढाउँदा एउटा मेलाका लागि सवा एक करोड खर्च गर्न बाध्य भएको बताए। ‘हामीले धेरै पटक आग्रह गर्‍यौं तर प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बन्न सकेको छैन,। करोडौं रुपैयाँ फजुलमा खर्च हुनु विडम्बना हो', उनले भने।

०४५ सालमा राजधानीबाहिर पहिलो पटक मेला आयोजना गर्ने सहर हो बुटवल। यहाँ हुने मेलाको सिको गर्दै अहिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म मेला तथा महोत्सव हुने गरेका छन्। यसले उद्योग, व्यापार र पर्यटन प्रवद्र्धनका साथै कृषि उद्यमको विकासमा टेवा पुर्‍याएको विश्वास गरिएको छ। तीन दशकदेखि मेला हुँदै आएको बुटवलमा स्थायी संरचना भने अझैसम्म बन्न सकेको छैन। बुटवल मण्डपमा मेला गर्नुअघि सडक डिभिजन कार्यालय कम्पाउन्ड र बसपार्कमा मेला हुँदै आएका थिए।

जिल्लाका पाँच वटै नगरपालिकामा अहिले पनि बर्सेनि मेला महोत्सव सञ्चालन हुँदै आएका छन्। बुटवलमा मेलास्थल मण्डपलाई तोकिए पनि अन्य नगरमा निजी जमिनमा आयोजना हुने गरेको छ। तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेलले मेलाको अस्थायी संरचनामा करिब ९० लाख रुपैयाँ खर्च भएको बताए। ‘कृषि, पर्यटन, उद्योग व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना भएका छन्। सरकारले गर्ने काम हामी गरिरहेका छौं', उनले भने, ‘तैपनि स्थायी जमिन र संरचना बन्न सकेको छैन।'

सैनामैना, देवदह, सिद्धार्थनगरमा पनि उस्तै हालत छ। यी सबै नगरमा उद्योग वाणिज्य संघ, व्यापार संघ, उद्योग संघ र उद्योग व्यापार संगठनले मेला आयोजना गर्दै आएका छन्। करिब १० लाख दर्शक पुग्ने र एक अर्बको कारोबार गर्ने मेला अस्थायी संरचनाका भरमा धानिएका छन्। रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डेले गुरुयोजना मात्रै भए पनि सोहीबमोजिम उद्योगी व्यवसायीले संरचना निर्माण गर्ने बताए। ‘हरेक वर्ष केही रकम गुरुयोजनाअनुरुप संरचना निर्माणमा खर्च गर्न सकिने थियो। तर, गुरुयोजना नै बन्न सकेको छैन', उनले भने।

बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँग प्रदर्शनी स्थल निर्माणको योजना छ। सम्मेलन केन्द्रको पहिलो चरणको काम सुरु भए पनि प्रदर्शनी स्थलको गुरुयोजना अलपत्र छ। अत्याधुनिक गुरुयोजना निर्माण प्रक्रियामा रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ।

तिलोत्तमामा मेला सुरु

तिलोत्तमा व्यापार संघको आयोजनामा तिलोत्तमाको मणिग्राममा व्यापार मेला सुरु भएको छ। ‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः समृद्धि आर्थिक विकासका निम्ति व्यापार मेला' भन्ने नारासाथ सुरु भएको मेला माघ ९ गतेसम्म चल्नेछ। उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक विकास गर्दै देशभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यस क्षेत्रको उत्पादन, व्यापार र सेवालाई निकासी गर्ने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष जेपी कँडेलले बताए।

साढे तीन सय स्टल रहेको मेलामा कृषि, पर्यटन, व्यापार विषयमा गोष्ठी आयोजना गरिएको छ। यसले यस क्षेत्रको आर्थिक, सामाजिक एवं कृषि र पर्यटन क्षेत्रको सम्भावनाबारे आमउपभोक्तालाई जानकारी दिने आयोजकले जनाएका छन्। मेलामा नेपालसहित भारत, पाकिस्तान, भुटानका उत्पादनसमेत राखिएका छन्। अटो तथा आइटी प्रदर्शनीसँगै गायन प्रतियोगिता, डान्स आइडल, दोहोरी प्रतियोगिता पनि हुनेछन्। पर्यटकीय क्षेत्रको भ्रमणका लागि हेलिकोप्टर टुर प्याकेजको व्यवस्था पनि गरिएको छ। मेलामा कुस्ती, भलिबल र कराँते प्रतियोगितासमेत राखिएको छ।

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2