MENU

५० वर्षे स्ट्राइकर

patan-college

एजेन्सी शनिवार, पुस २९, २०७४ 749 पटक पढिएको

Share This

635-x-85

टोकियो : कुनै पनि खेलाडी कुन उमेरसम्म फुटबल मैदानमा सक्रिय रहन सक्ला। यो प्रश्नको ठ्याक्कै एउटै जवाफ नआउन सक्छ। विश्व फुटबलका महान् ब्राजिलियन खेलाडी पेलेले केवल ३७ वर्षको उमेरमा व्यावसायिक खेल जीवनबाट बिदा लिएका थिए। अर्का महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले पनि ३७ वर्षकै उमेरमा खेल जीवनलाई टुंग्याएका थिए। पेले र म्याराडोना आफ्नो समयका अद्वितीय खेलाडी हुन्। विश्व फुटबलका समर्थकबीच अहिलेसम्म पनि यी दुईमध्ये को महान् भन्ने बहस जारी छ। तर, यहाँ चर्चा गर्न लागिएको विषय यो होइन।

यसैगरी आफ्नो समयका चर्चित फ्रान्सेली खेलाडी जिनेदिन जिदानले व्यावसायिक खेल जीवनबाट बिदा लिँदा उनको उमेर केवल ३४ वर्ष थियो। यद्यपि उनी यति बेला आफूले व्यावसायिक फुटबल खेलेकै स्पेनिस क्लब रियल म्याड्रिडमा प्रशिक्षकको भूमिकामा सक्रिय छन्। करिबकरिब जिदानकै समकक्षी हुन्, ब्राजिलियन फुटबलर रोनाल्डो नजारियो र इङ्ल्यान्डका फुटबल नायक डेभिड बेकह्याम। रोनाल्डोले खेलाडीको भूमिकाबाट विश्व फुटबललाई ‘बाईबाई’ गर्दा उनी ३५ वर्षका थिए भने बेकह्यामले पनि केवल ३८ वर्षको उमेरमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए।

तर, विश्व फुटबलमा एक यस्ता पात्र पनि छन्, जो उमेरले ५० काटेर ५१औं वर्षमा प्रवेश गर्न लागिसक्दा पनि व्यावसायिक फुटबलमा उत्तिकै जोश र जाँगरका साथ रमाइरहेका छन्, त्यो पनि स्ट्राइकरको भूमिकामा। यहाँ चर्चा गर्न लागिएका पात्र हुन्, सदाबहार जापानी फुटबलर ‘काजुयोसी मिउरा’। जापानको राष्ट्रिय टोलीबाट १० वर्षसम्म मैदानमा घम्साघम्सी गरेका मिउरा व्यावसायिक फुटबलमा भने अझै पनि सक्रिय छन्, उमेरले ५१औं वर्ष टेक्न लाग्दा पनि।

उनले आफ्नो व्यावसायिक खेल जीवनमा कहिल्यै पनि प्रभावशाली युरोपियन क्लबहरूबाट फुटबल खेलेनन्, त्यसैले धेरै फुटबलप्रेमीका लागि ‘मिउरा’ त्यति चर्चित नाम नहुन सक्छ। सन् १९८६ मा चर्चित ब्राजिलियन क्लब सान्तोषबाट सिनियर लेभलमा व्यावसायिक फुटबल खेल्न थालेका मिउराले त्योभन्दा निकै अघिदेखि विभिन्न क्लबबाट उमेरसमूहका प्रतियोगिताहरू खेलिसकेका थिए। सान्तोषबाट अर्को ब्राजिलियन क्लब पाल्मिरस हुँदै मिउराले केही समय इटालियन क्लब जेनोआ र क्रोएसियन क्लब डाइनामो जाग्रेबबाट पनि व्यावसायिक फुटबल खेल्न भ्याएका थिए।

विभिन्न राष्ट्रका थुप्रै क्लब चहारेका मिउरा पछिल्लो १३ वर्षदेखि भने आफ्नै राष्ट्रको चर्चित क्लब योकोहामामा आबद्ध छन्। सन् २००५ मा योकोहामामा आबद्ध भएपछि उनी एकपटक ‘लोन’मा अस्ट्रेलियाको सिड्नी फुटबल क्लब पनि पुगेका थिए। तर, सिड्नीबाट उनले चार खेलमात्र खेले, जसमा दुई गोल पनि गरेका थिए। आगामी फेब्रुअरी २६ मा ५१औं वर्षमा प्रवेश गर्न लागेका मिउराले व्यावसायिक फुटबल खेल्न बिहीबार मात्र आफ्नो क्लब योकोहामासँग सम्झौता नवीकरण गरेका छन्।

योकोहामा हाल जापानी लिगमा दोस्रो डिभिजनको क्लब हो। स्वस्थ शरीर र बलियो आत्मविश्वासका धनी मिउराले हालसम्म विभिन्न क्लबबाट ३२ सिजन लिग खेलिसकेका छन्। उनले आफ्नो खेलजीवनको ३३औं सिजन लिग खेल्न योकोहामासँग सम्झौता नवीकरण गरेका हुन्। अझ रमाइलो संयोग त के हो भने मिउरा व्यावसायिक फुटबलमा सक्रिय भएको निकै पछाडि सन् १९९९ मा मात्र योकोहामा क्लब स्थापना भएको हो। यस अर्थमा हाल मिउरा आबद्ध क्लब योकोहामा, उनको खेलजीवनभन्दा निकै कान्छो क्लब हो।

अघिल्लो सिजन मिउराले योकोहामाका लागि १२ खेल खेल्दै एक गोल गरेका थिए। त्यति बेला उनले जापानी लिगको इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीका रूपमा आफ्नै नाममा रहेको कीर्तिमानलाई तोडेका थिए। मिउराले गत वर्षको मार्च ५ मा विश्व फुटबलमै सबैभन्दा बढी उमेरमा व्यावसायिक लिग खेल्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए। मिउराको उमेर ५० वर्ष सात दिनको हुँदा उक्त कीर्तिमान उनको नाममा सरेको हो। त्यसअघिसम्म उक्त कीर्तिमान इङ्ल्यान्डका स्टानली म्याथ्युजको नाममा रहेको थियो। आफ्नो समयमा चर्चित खेलाडी म्याथ्युजको सन् २००० को फेब्रुअरीमा ८५ वर्षको उमेरमा निधन भइसकेको छ।

आफ्ना समर्थकमाझ ‘किङ काजु’ उपनामबाट परिचित मिउरा सन् १९९० देखि सन् २००० सम्म जापानको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य थिए। उनले जापानका लागि ८९ खेल खेल्दै ५५ गोल गरेका थिए। जापानलाई पहिलोपटक सन् १९९८ को विश्वकप फुटबलमा छनोट गराउन पनि मिउराको महŒवपूर्ण भूमिका थियो। विश्वकपको छनोट खेलमा उनी एक्लैले १४ गोल गरेका थिए। राष्ट्रिय टोलीबाट सन्न्यास लिँदा उनी जापानी फुटबलको इतिहासमै राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा थिए।

जापानी लिगको इतिहासमा पनि उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा सातौं स्थानमा छन्। घरेलु लिगमा उनले हालसम्म एक सय ३९ गोल गरेका छन्। मिउरा सानो छँदा विश्व फुटबलमा ब्राजिलको बेग्लै सान थियो। त्यसैले सन् १९८२ मा केवल १५ वर्षको उमेरमा उनी फुटबलमा भविष्य खोज्न ब्राजिलतर्फ हानिएका थिए। सन् १९८६ मा सान्तोषमा आबद्ध हुँदा उनी केवल १९ वर्षका थिए।

मिउराले सोही वर्ष पाल्मिरसमा आबद्ध हुन मिरान्डिन्हासँग मिलेर सान्तोष छाडेका थिए। आफ्नो समयका चर्चित खेलाडी मिरान्डिन्हा सन् १९८७ मा इङ्लिस क्लबबाट व्यावसायिक फुटबल खेल्ने पहिलो ब्राजिलियन खेलाडी पनि बनेका थिए। सन् १९९३ मा जापानी लिग सुरु भएको पहिलो वर्ष नै मिउरा सर्वाधिक गोलकर्ता र ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका थिए। ‘स्वस्थ शरीर र बलियो आत्मविश्वासमा नै मेरो खेलजीवन टिकेको छ’, मिउरा भन्छन्।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2