MENU

टोखा, तुख्यः र चाकु

patan-college

सुरेश किरण शनिवार, पुस २९, २०७४ 208 पटक पढिएको

Share This

635-x-85

संस्कृति

लिच्छविकालमै टोखा एउटा व्यवस्थित सहर बनिसकेको प्रमाण भेटिएका छन्। चाकुका लागि चिनिने टोखालाई नेपालको ‘उत्तरी ढोका’ पनि भनिन्छ।

नेवारले मनाउने अनेक चाडपर्वमध्ये केही चाडपर्व यस्ता पनि छन् जसको नामै खानेकुराबाट राखिएका छन्। जस्तो योमरि पुन्हि, समय् पुन्हि, क्वाति पुन्हि, हलिमलि पुन्हि। त्यहीमध्ये एउटा हो घ्यःचाकु संल्हू। हरेक वर्ष माघ १ गते मनाइने ‘घ्यःचाकु संल्हू’ घिउ र चाकु दुई परिकार जोडेर बनाइएको नाम हो। चाकुको नाम लिनेबित्तिकै त्यो सँगसँगै चाकु बनाउने प्रसिद्ध स्थल टोखा पनि जोडिएर आउँछ।

भादगाउँको टोपी, खोकनाको तेल भनिएजस्तै टोखाको चाकु भनेपछि देशैभरि प्रख्यात छ। माघे संक्रान्ति आउनु महिना दिन अघिदेखि नै टोखा व्यस्त भइसकेको हुन्छ, चाकु बनाउने काममा। कुनै बेला त पूरा टोखा नगर नै चाकुको एउटा खुल्ला कारखानाजस्तै हुन्थ्यो।

चाकुका लागि टोखा नै किन प्रख्यात भयो ? यसको पछाडि भने टोखाको भौगोलिक अवस्थितिले काम गरेको छ। चाकु बनाउन चाहिने सबैभन्दा प्रमुख कच्चा पदार्थ हो उखु। उखुलाई पेलेर रस निकालिन्छ। त्यो रसलाई नेपालभाषामा ‘साखःति’ भनिन्छ। त्यही साखःतिलाई पकाएर चाकु बनाउने हो। उखु मूलतः गर्मी ठाउँमा फल्ने बली हो। तर, चिसो काठमाडौं उपत्यकामा पनि उखु फल्ने एउटै मात्र ठाउँ भनेको टोखा नै हो। आजभन्दा करिब सय वर्ष अघिसम्म पनि टोखाको हरेक घरको अगाडि उखु बारी हुन्थ्यो। उखुलाई नेपालभाषामा ‘तु’ अनि खुला ठाउँलाई ‘ख्यः’ भनिन्छ। उखु फल्ने खुला ठाउँ भएकाले यसलाई ‘तुख्यः’ भनिन थाल्यो। त्यही ‘तुख्यः’ शब्द अपभ्रंश हुँदै अहिलेको ‘टोखा’ बन्न पुग्यो।

उखु पेल्नेदेखि लिएर चाकु बनाउनेसम्मको एक पाख काम सिध्याउन एउटा चक्र नै पार गर्नुपर्छ। त्यो एउटा चक्र समाप्त भएको दिन भोज खुवाउने चलन पनि छ। यसरी उखु उत्पादनदेखि त्यसलाई पेलेर चाकु बनाउनेसम्मको सम्पूर्ण काम एउटै थलोमा हुने भएकाले पनि टोखा चाकुको पर्यायवाची हुन पुगेको हो।

हिमालतिर ट्रेकिङ जाने पर्यटकहरू प्रशस्त मात्रामा चकलेट बोकेर हिँड्ने त हामीले देखेकै हौंला। बाटोमा हिँड्दै गर्दा उनीहरू चकलेट पनि खाँदै गरिरहेका हुन्छन्। किनभने चकलेटले चिसोसँग लड्ने शक्ति दिन्छ। सयौं वर्षपहिले त्यस्तो चकलेट त बनेको थिएन। त्यसैले काठमाडौंका नेवारहरू चिसोसँग लड्न चाकु खान्थे। त्यसैले वर्षको एकै दिन मात्र भए पनि चाकु खानैपर्छ भनेर नेवारहरूले चाकु खाने पर्व बनाएका छन्— घ्यः चाकु संल्हू। माघको ठिहिर्‍याउने जाडोका दिन चाकु खाने गरिन्छ, त्यो पनि घिउसँग मिसाएर।

नेवार जातिको त्यो पर्व धान्ने काम भने टोखाले गर्दै आइरहेको छ। तर टोखाको महत्व यही एउटा कारणले मात्र उच्च रहेको भने होइन। टोखा आफैं पनि विभिन्न सांस्कृतिक पर्वहरूले भरिएको नगर हो। टोखालाई नेपाल जत्तिकै पुरानो ठाउँका रूपमा लिने गरिन्छ। लिच्छविकालमै टोखा एउटा व्यवस्थित सहर बनिसकेको प्रमाणहरू भेटिएका छन्। काठमाडौंका नेवार व्यापारीहरू चीनको तिब्बतसम्म हिँडेरै व्यापार गर्न जाँदा निस्कने एउटा मार्ग यो पनि थियो। त्यसैले टोखालाई नेपालको ‘उत्तरी ढोका’ पनि भनिन्छ।

हरेक वर्ष वैशाख १ गते मनाइने बिस्केटजात्रा भनेपछि प्रायः भक्तपुरको जात्रालाई सम्झिइन्छ। तर, बिस्केटजात्रा टोखामा पनि मनाइन्छ। वैशाख १ देखि ४ गतेसम्म पूरा टोखै उर्लने गरी यो पर्व मनाइन्छ। यही बेला टोखाको सपन तीर्थमा भव्य मेला लाग्छ, जहाँ नुहाएपछि कुष्ठरोग निको हुने कथन छ।

हरेक वर्ष स्वस्थानी कथा हाल्ने दिनदेखि एक महिनासम्म माधवनारायणको व्रत बसिन्छ। माधवनारायणको व्रत भनेपछि साँखुको शाली नदीमा बस्ने व्रतलाई मात्र सम्झने गरिन्छ। तर, यस्तो एकमहिने व्रत टोखामा पनि बस्ने गरिन्छ। हरमार पुन्हि भन्ने नाममा यहाँको चण्डेश्वरी मन्दिरमा एक महिना मेला लाग्छ। यो चण्डेश्वरी मन्दिरको अर्कै महत्व पनि छ। त्यो के भने नेपाललाई तेत्तीसकोटी देवीदेवताको देवभूमि भन्ने गरिन्छ। यो तेत्तीसकोटी देवताहरू बस्ने ठाउँचाहिँ टोखाको यही चण्डेश्वरी मन्दिर रहेछ।

यही महिनादेखि सुरु हुने स्वस्थानीको कथामा एउटा प्रसंग छ, सतीदेवीका पिता दक्ष प्रजापतिले ठूलो यज्ञको आयोजना गरेको, त्यही यज्ञमा आफ्ना श्रीमान् महादेवको अपमान गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको र सतीदेवीको त्यही प्राणान्त शरीर बोकेर महादेव पागल सरी हिँडेको। सतीदेवीको प्राण हरण भएको उक्त यज्ञ यही टोखा नगरमा आयोजना गरिएको विश्वास गरिन्छ।

कुमारी भनेपछि हामी काठमाडौंको कुमारीघरमा बस्ने कुमारीलाई सम्झन्छौं। तर, टोखा नगरमा आफ्नै कुमारी छिन्। त्यहाँ हुने विभिन्न जात्रापर्वमा टोखाकी कुमारी उपस्थित हुन्छिन्।

इन्द्रजात्रा काठमाडौंमा त धूमधामपूर्वक नै मनाइन्छ। टोखामा पाँच दिनसम्म मनाइन्छ तर त्यो मनाउने शैली भने बडो प्रेमपूर्ण छ। इन्द्रजात्राको यो पाँच दिनलाई एकआपसमा प्रेम प्रस्ताव हाल्ने अवसरका रूपमा पनि लिइने गरिन्छ। पाँच दिनसम्म नगरभित्रका विभिन्न मन्दिर घुम्ने, पूजा गर्ने, बत्ती दिने धार्मिक कार्यहरू गरिन्छन्। सामूहिक रूपमा गरिने यही कार्यहरूबीच कुनै केटा वा केटी आफूलाई मन पर्‍यो भने प्रेम प्रस्ताव राखिहाल्ने र मन मिले भागेर विवाह पनि गरिहाल्ने छुट यो पर्वमा दिइएको हुन्छ। अझ खासगरी यो पाँच दिन महिलाको तर्फबाट प्रेम प्रस्ताव राख्न विशेष छुट प्राप्त हुन्छ। यो अवधिमा आफूलाई मन परेको केटालाई बकैनाको गेडाले हानेर केटीले प्रेम प्रस्ताव राख्ने रहेछ। त्यसरी हान्दा केटा हाँस्यो भने प्रेम प्रस्ताव स्वीकार भएको ठहर्छ, रिसाए भने अस्वीकार। नेपाली समाजमा केटी अघि सरेर प्रेम प्रस्ताव राख्ने चलन छैन तर टोखाको यो परम्पराले महिलालाई पनि त्यस्तो अवसर भने जुराइदिएको छ। तथापि अहिले प्रेम प्रस्ताव राख्न टोखाका आधुनिक युवकयुवतीहरूले इन्द्रजात्रै पर्खन भने छोडिसकेका छन्।

सांस्कृतिक मात्र ऐतिहासिक दृष्टिले पनि टोखाको छुट्टै स्थान रहेको पाइन्छ। टोखा एउटा अलग्गै राज्य नभएको कारणले इतिहासमा यसको खासै उल्लेख भएको पाइँदैन। तर जति पनि यसको उल्लेख इतिहासमा भएको पाइन्छ त्यसबाट थाहा हुन्छ कि नेपालको इतिहासमा टोखाको भूमिका महत्वपूर्ण नै रहेको छ। तत्कालीन नेपालमण्डलका राजाहरूको यहाँ खासै गतिविधि नभए पनि दरबारमा कार्यरत विशिष्ट पदाधिकारीहरूले भने टोखालाई आफ्नो विविध कार्य गर्ने थलो बनाएको पाइन्छ। दरबारभित्र विद्रोह गर्ने कतिपय भारदारको शरणस्थलसमेत टोखा भएको पाइन्छ।

अहिले चर्चामा रहेको रानीपोखरीका निर्माता प्रताप मल्लको देहावसानपछि नेपालको राजनीति अत्यन्त अस्थिर हुन पुगेको थियो। प्रताप मल्लपछि राजगद्दीमा बस्न आएका उनका छोरा पार्थिवेन्द्र मल्लको पनि अचानक मृत्यु भयो। उनको मृत्यु विष सेवनबाट भएको थियो। पार्थिवेन्द्रको मृत्यु हुँदा उनका छोरा भूपालेन्द्र मल्ल केवल आठ वर्षका थिए। गद्दीमा आठ वर्षका राजालाई बसाएर शासन भने राजमाता ऋद्धिलक्ष्मीले सञ्चालन गर्न थालिन्। त्यसमा राजमातालाई साथ दिने काम चिकुटी, लक्ष्मीनारायण जोशीजस्ता भारदारहरूले गरेका थिए। भूपतेन्द्र मल्ल युवा उमेरले परिपक्व हुँदै गएपछि आफ्नो शासनमा आमा र अरू भारदारहरूको हस्तक्षेप उनलाई सह्य भएन। अतः उनले बुबालाई आफ्नै आमाले विष खुवाएको भन्न आरोप लगाई राजमाता ऋद्धिलक्ष्मीलाई राजदरबारबाट धपाए र यही टोखामा ल्याएर नजरबन्द गरे।

पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्नुअघि रणनीतिक हिसाबले महत्वपूर्ण देखिएका काठमाडौं छेउछाउका साना सहरहरू कब्जामा लिन थालेका थिए। तीमध्ये कीर्तिपुर लिन उनलाई साह्रै हम्मे परेको थियो। टोखा लिन भने कुनै गाह्रो भएन। उनको एकै आदेशमा टोखा नगर गोर्खा राज्यसँग मिल्न पुग्यो। पृथ्वीनारायण शाहले काठमाडौं जित्नुभन्दा तीन वर्षअघि नै टोखा नगर गोर्खा राज्यको एक अंग बन्न पुगिसकेको थियो।

यसरी विभिन्न दृष्टिकोणले महत्वपूर्ण देखिएको टोखालाई अहिले विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको छ। 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2