MENU

थारू साहित्यको अब्बल अनुसन्धान

patan-college

यमबहादुर दुरा शनिवार, पुस २९, २०७४ 264 पटक पढिएको

Share This

635-x-85

किताब

कुनै समय तराईमा औलोलाई भयानक स्वास्थ्य–समस्याको रूपमा लिइन्थ्यो। पहाडका मनिस तराईमा एक रात बिताउन पनि डराउँथे भनेर विदेशी लेखकले लेखेका छन्। त्यही समय थारू समुदाय तराईमा निर्धक्कसँग बसेका थिए। त्यही सौर्यका कारण थारू समुदायलाई औलो पचाउने रैथाने जाति भनेर चिनिन्छ। तर, औलो पचाएका थारू समुदायका कतिपय सदस्य यति बेला ‘सिकल सेल एनिमिया’ नामक् असाध्य रोगबाट ग्रसित छन्।

तराईका रैथाने थारू समुदायले नागरिक अधिकारदेखि स्वास्थ्य–समस्या सम्मका तमाम मामिलामा अनेक उहापोह भोग्दै आएका छन्। यो समुदाय राजनीतिक तथा सामाजिक मामिलाका राप र तापमा तातिने र समयान्तरमा सेलाउने गरिरहेको छ। समयको कोखमा जन्मिएका यी अतीतदेखि वर्तमानसम्मका जनउभारसँग सम्बन्धित उच्छवासहरू समयका पानामा छताछुल्ल पोखिएका छन्। तिनै उच्छवास थारू साहित्यका रूपमा देखा परेका छन्, जुन धेरै हदसम्म अव्यवस्थित र असंगठित रूपमा छरिएका छन्।

भारोपेली भाषा परिवारअन्तर्गत पर्ने थारू भाषा नेपाली, मैथिली र भोजपुरी पछिको चौथो ठूलो जनबोली हो। २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा थारू समुदायको जनसंख्या १७ लाख ३७ हजार चार सय ७० छ, जुन नेपालको कुल जनसंख्याको ६.६ प्रतिशत हुन आउँछ। थारू जाति पूर्वी तराईदेखि पश्चिम तराईसम्म छरिएर रहेको ठूलो समुदाय भएकाले थारू भाषामा थुप्रै स्थानीय भेद छन्। हरेक १० कोशमा एउटै भाषामा पनि फरकपन भेटिन्छ भन्ने भाषा विज्ञानको मान्यता थारू भाषाको हकमा पनि पूरापूर लागू भएको पाइन्छ।

नेपाल सरकारले जनगणनाका क्रममा थारू भाषलाई डंगौरा र राना गरी दुई समूहमा विभाजन गरेको छ। थारू भाषामा भेटिने फराकिलो विविधतालाई हेर्दा यो विभाजन तर्कसंगत देखिँदैन। मन्त्रीसमेत रहेका अनुसन्धाता गोपाल दहितले थारू भाषालाई नौ भाषिकामा वर्गीकरण गरेका छन्, जुन एक हदसम्म तर्कसंगत देखिन्छ।

लेखकले थारू साहित्यको पहिचान र आफ्नो अस्तित्वको अनुभूति गराएका छन्। किताबले बहुसांस्कृतिक नेपालको बृहत्तर राष्ट्रिय पहिचानमा पनि योगदान दिएको छ।

थारू भाषामा विद्यमान स्थानीयपन र विविधताले मानक निर्धारणका सम्बन्धमा थारू समुदायभित्रै बेलाबखतमा मतभिन्नता देखा पर्छन्। धेरै विद्वान्ले थारू समुदायबारे लेख्दा ठाउँपिच्छे भेषभूषा, भाषा र जीवनशैली फरक पर्दै गएको जाति भनेर वर्णन गरेका छन्। यो विविधतालाई अर्को कोणबाट हेर्दा थारू भाषामा अन्तरनिहित विविधताले थारू समुदायमा इन्द्रधनुषी सौन्दर्य देख्न सकिन्छ।

थारू समुदायको पहिचानका यो बहुरंगी–बहुरूपी सम्पदाको अभिलेखीकरण आवश्यक छ तर यो काम सहज छैन। यसका लागि प्रशस्त अध्ययन–अनुसन्धान र स्थलगत भ्रमण आवश्यक छ। थारू भाषा–साहित्यका छरिएका थुंगालाई बटुलेर एउटै मालामा उनेका छन्, लेखक कृष्णराज सर्वहारीले। ‘थारू साहित्यको इतिहास’ किताबमार्पmत सर्वहारीले थारू साहित्यको विगतदेखि वर्तमानसम्मको विकासक्रमलाई लिपिबद्ध गर्ने चेष्टा गरेका छन्।

किताबको एउटा सुन्दर पक्ष के भने लेखनमा अनुसन्धान विधि अनुसरण गरिएको छ। शोध–पद्धतिअनुसार सूचनाको स्रोत उद्धरण गर्नेदेखि सन्दर्भ–सूची राख्ने काममा लेखकले ध्यान दिएका छन्। यसले उनको अनुसन्धानमुखी प्रवृत्तिको परिचयमात्र दिँदैन, किताबको आधिकारिकता पनि बढेको छ।

नेपालमा पुस्तक लेखन र प्रकाशनको ग्राफ उत्साहजनक किसिमले उकालो लागे पनि अनुसन्धानात्मक किताबहरूको ग्राफ तलै छ। विगतमा थारू भाषा र साहित्यका अरू आयामबारे पुस्तक नलेखिएका होइनन् तर थारू साहित्यबारे समष्टिगत अध्ययन गरेर पुस्तक प्रकाशन भएको पाइँदैन। हालसम्म भेटिएका प्रमाणअनुसार थारू साहित्यलाई समग्रमा विश्लेषण गरिएको यो पहिलो अनुसन्धानात्मक किताब हो।

थारू समुदायमा प्रचलित लोकसाहित्यदेखि साक्षर समाजको परिचायक मानिने ‘पपुलर लिट्रेचर’ सम्मका यावत् विषय किताबमा समेटिएका छन्। लोकगीत, लोककथा, कविता, मुक्तक, हाइकु, महाकाव्य, कथा, उपन्यास, निबन्ध, जीवनी, हास्यव्यंग्य, अनुवाद, चलचित्रजस्ता थारू साहित्यका धेरै आयाम समाविष्ट छन्। विषयवस्तुको उठान र किताब लेखनमा अपनाइएका अनुसन्धान पद्धतिले किताबको महŒव उँचो भएको छ।

लेखकले थारू साहित्यको कालविभाजन गरेका छन्। कालविभाजनसम्बन्धी विभिन्न शास्त्रीय मान्यतामा आधारित भएर थारू साहित्यको कालक्रम निर्धारण गरेका छन्। उनले २००७ साललाई उद्गम बिन्दु मानेर तीन खण्डमा कालविभाजन गरेका छन्। समयको निकटपूर्व समयलाई प्रस्थान बिन्दु मानेर यसप्रकारको कालविभाजनमा सबैले चित्त बुझाउँछन् भन्न सकिँदैन। २००७ सालभन्दा अघि थारू साहित्य शून्यमा थियो भन्न गाह्रो छ। अभिलेख नभेटिनु अलग कुरा हो। यद्यपि, यसबारे लेखकले आफ्नो तर्पmबाट स्पष्टीकरण दिइसकेका छन्, ‘थारू भाषाजस्तो लेख्य परम्परा उन्मुख भाषाको कालविभाजन वास्तवमै दुरूह कार्य हो (पृ. २७)।’

सर्वहारी आफैं पनि थारू साहित्यका हस्ती हुन्। उनले थारू साहित्यका विभिन्न आयामबारे दर्जनौं अनुसन्धानात्मक पुस्तक लेखेका छन्। थारू साहित्यबारे थुप्रै ‘मिनिरिसर्च’ गरेका छन्। प्रस्तुत किताब पढ्दै जाँदा ठाउँठाउँमा लेखक स्वयंले आफ्ना किताबत्वबारे चर्चा गरेका छन्। यस्तो देख्दा लेखक आत्ममोहमा रमाएका हुन् कि जस्तो पनि लाग्न सक्छ। यद्यपि, थारू साहित्यको अभिलेखीकरणका दृष्टिले यसलाई असहज मान्नुपर्ने कारण छैन।

लेखकले किताब लेख्ने क्रममा धेरै विषयमा सूक्ष्म किसिमले अनुसन्धान गरेको देखिन्छ। केन्द्रीय विषयवस्तुका अतिरिक्त थारू भाषामा प्रकाशित पुस्तक, स्मारिका र पत्रपत्रिकाको सूचीबाट पुस्तक सजिएको छ। थारू भाषामा प्रसारण हुने रेडियो कार्यक्रम र गीति एल्बम पनि सूचीबद्ध गरिएको छ। थारू पहिचान र वाङ्मयसम्बन्धी महत्वपूर्ण ऐतिहासिक घटनाका सूचीले पनि पुस्तकमा स्थान पाएको छ, जसले किताबलाई अर्थपूर्ण बन्न सघाएको छ।

किताबमा स्याबासी पाउनलायक थुप्रै विषय भए पनि केही खड्किने पक्ष पनि छन्। गहन विश्लेषणको अभाव किताबको मूल कमजोरी हो। धेरै ठाउँमा साहित्यिक घटनाक्रमको विवरण छ तर धीत मरुन्जेलको विश्लेषण छैन। थारू साहित्यलाई अन्य साहित्यसँग तुलना गर्न सकेको भए किताब धेरै उज्यालिने थियो। मैथिली, भोजपुरी, अवधी, लिम्बूजस्ता केही चुनिन्दा राष्ट्रिय भाषाका साहित्यसँग थारू साहित्यको ग्राफ भिडाएर तुलनात्मक अध्ययनको सानो झलक प्रस्तुत गर्न सकेको भए थारू साहित्यको क्षितिज अरू उघ्रिने थियो, किताब थप दृश्यमय हुने थियो। यो काम अनुसन्धानका दृष्टिले कष्टसाध्य भए पनि यसो गर्न सकेको भए पाठकले देशको साहित्यिक नक्सामा थारू साहित्यको अवस्थिति थाहा पाउने थिए।

थारू साहित्यकारका रचनामा भेटिने रैथानेपन, ‘एक भाषा, एक भेष’को पञ्चायतकालीन नीतिबाट थारू साहित्यमा परेको प्रभाव, थारू साहित्यमा सांस्कृतिक संक्रमण (अकल्चरेसन) को असर, थारू साहित्यमा ‘पपुलर लिट्रेचर’को संक्रमणजस्ता विषयमा व्यापक विचार–विमर्श हुन जरुरी थियो। यस्ता विषयलाई जरैबाट उधिन्न नसके पनि छेउछाउबाट भए पनि उधिन्नुपर्थ्यो। यसमा लेखक धेरै हदसम्म चुकेका छन्।

किताब लेखनमा अनुसन्धान–पद्धतिलाई शिरोपर गरे पनि उद्धरण गरिएका कतिपय सूचनाको स्रोत सन्दर्भ–सूचीमा फेला पर्दैनन्। पुस्तक सम्पादन र डिजाइनका दृष्टिले पनि किताबमा बिझाउने किसिमका कमजोरी देखिन्छन्। किताबमा दिइएको अनुसूचीलाई अझ व्यवस्थित किसिमले राख्न सकिने ठाउँ छ। भाषिक अशुद्धिले कतिपय ठाउँमा दाँतमा ढुंगा लागेजस्तो अनुभूति हुन्छ।

यति हुँदाहुँदै पनि सर्वहारीले थारू साहित्यको अभिलेखीकरणमा उठाएको कष्टलाई प्रशंसा गर्नैपर्छ। यहाँनेर अमेरिकी विकास मनोविश्लेषक इरिक इरिक्सन (सन् १९०२–१९९४) को भनाइ उद्धरणीय हुन आउँछ। उनले भनेका छन्, ‘मानव अस्तित्वको सामाजिक जंगलमा पहिचानको अनुभूति नहुने हो भने बाँच्नुको कुनै सार हुन्न।’

लेखकले किताबमार्पmत थारू साहित्यको पहिचान र आफ्नो अस्तित्वको अनुभूति गराएका छन्। किताबले बहुसांस्कृतिक नेपालको बृहत्तर राष्ट्रिय पहिचानमा पनि योगदान दिएको छ। प्रस्तुत किताबलाई नेपाली साहित्य र सांस्कृतिक खोज–अनुसन्धानमा एउटा फराकिलो प्रवेशद्वार मान्न सकिन्छ, जहाँबाट छिरेर भविष्यका जनकलाल शर्मा र डोरबहादुर विष्टहरूले विविधतापूर्ण नेपाली समाजसम्बन्धी माधुर्यपूर्ण कोसेली भेट्टाउन सफल हुनेछन् भन्ने आशा गर्न सकिन्छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2