MENU

सुन्तला खेतीको नमुना गाउँ

patan-college

प्रेमनारायण आचार्य शनिवार, पुस २९, २०७४ 194 पटक पढिएको

Share This

635-x-85

सन्धिखर्क : भारतमा सिपाहीको जागिर छाडेर फर्किएका पणेनाका ७३ वर्षीय हुमनाथ पौडेल अहिले अर्घाखाँचीकै नमुना सुन्तला कृषक बनेका छन्। २०२७ सालमा भारतमा जागिर गर्दैगर्दा भारतीयले नेपालीप्रति गरेको घृणा सहन नसकी जागिर छाडेका पौडेलले नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने संकल्पका साथ सुन्तला खेती सुरु गरेका थिए।

उनले आफू मात्रै सुन्तला लगाएनन्, सारा गाउँलेलाई सुन्तला खेतीमा प्रेरित गरे। अभियानका साथ आफैँ डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा पुराए। पैसा हुनेलाई बिरुवा पैसोमा बेचे, नहुनेसँग श्रम साटेर भए पनि सुन्तलाका बिरुवा रोप्न प्रेरित गरे।

उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। उनको बगैँचामा अहिले झन्डै साढे ६ सय सुन्तलाका बिरुवा छन्। बारी, खेत, खर्क सबैमा सुन्तला खेती गरेका छन्।

एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको खेती अहिले पणेना र पोखराथोकको प्रमुख उत्पादन बनेको छ। पणेनामा दुई सय कृषकले सुन्तला खेतीबाट ५० हजारदेखि १२ लाखसम्म आम्दानी गरिरहेका छन्। पणेनाको सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि फर्किएर व्यावसायिक सुन्तला खेतीमा जुटेका छन्।

व्यावसायिक खेतीमा लागेका सिम्लेका रेवतीराज पौडेलको बगैँचामा झन्डै चार सय पचास सुन्तलाका रुख छन्। ती रुखबाट वार्षिक तीनदेखि पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ। सुन्तला बिक्रीका लागि पनि कुनै समस्या छैन। यहाँ उत्पादन भएको सुन्तला प्रतिकेजी ७५ देखि ९० रुपैयाँमा बुटवलको बजारमा बिक्री भइरहेको शिक्षकसमेत रहेका पौडेलले बताए।

उनले विभिन्न जातका सुन्तलाका बिरुवासमेत बिक्री गर्ने गरेका छन्। उनको बगैँचामा सुन्तला, कागती, जुनार इन्डियन, किन्नु, जापानिज उन्सु जातको सुन्तलाका बिरुबा बिक्रीका लागि राखिएका छन्।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2