MENU

फलफूल नर्सरीबाट लाखौं आम्दानी

patan-college

भगीरथ अवस्थी शनिवार, पुस २९, २०७४ 272 पटक पढिएको

Share This

635-x-85

बैतडी : सुक्खा पाखो जमिनमा आजभन्दा करिब ३० वर्ष अघिसम्म जिल्लाको दशरथचन्द नगरपालिका १ का नागरिकलाई परिवार पाल्न भारतकै भर पर्नुपथ्र्यो। सीमावर्ती भारतीय बजार झुलाघाटबाट सामान ल्याएर गाउँगाउँमा बिक्री गरी परिवार पाल्नुपथ्र्यो।

तर सुक्खा फलफूल विकास केन्द्र (तत्कालीन वागवानी विकास केन्द्र) ले फलफूलका बिरुवा उत्पादन गर्ने सीप दिएपछि यहाँका किसान व्यवसायिक रूपमै फलफूलका बोटविरुवा उत्पादनमा लागेका छन्।

परिवार पाल्न भारत जानुपर्ने बाध्यताबाट उनीहरू धेरै हदसम्म मुक्त भएका र अहिले फलफूल तथा नर्सरीबाट वार्षिक कम्तीमा पाँच लाख हाराहारीमा आम्दानी गर्न सफल भएका छन्।

दशरथचन्द नगरपालिका १ गुरुखोला र सुर्नया गाउँपालिका २ बासुलिंगमा मात्रै अहिले २२ वटा फलफूलका निजी नर्सरी छन्। जिल्लाका यी दुई वटा वडाबाट मात्रै लाखौंका फलफूलका बिरुवा बिक्री हुने गरेको किसान देवदत्त भट्टले बताए। उनले भने, ‘अहिले हामी हिउँदे फलफूलका बिरुवा बिक्री गरिरहेका छौं। देशका विभिन्न स्थानबाट फलफूलका बिरुवाको माग भइरहेको छ। मागअनुसार हामीले बिरुवा उत्पादन गरी बिक्री गरिरहेका छौं।'

देवदत्त भट्टले १५ रोपनी जग्गामा नर्सरी लगाएका छन्। उनको नर्सरीमा अहिले हिउँदे र बर्से फलफूलका गरी करिब डेढ लाख बिरुवा छन्। ‘फलफूलका बोट बिरुवा मात्रै बिक्री गरेर वार्षिक पाँच लाखबढी कमाउँछु, उनले भने, ‘करिब ६० लाख हाराहारी मूल्यका बोटविरुवा उत्पादन गर्ने लक्ष्य लिएको छु। मेरो नर्सरीमा स्याउ, ओखर, खुर्पानी, आरुबखडाजस्ता हिउँदे फलफूलका बिरुवा र सुन्तला, जुनारलगायत अन्य अमिला बर्से फलफूलका विरुवा छन्।'

देवदत्त जस्तै दशरथचन्द नगरपालिका १ गुरुखोलाका गणेशदत्त भट्ट पनि फलफूलका बिरुवाबाटै वार्षिक तीन लाखबढी कमाउँछन्। उनले भने, ‘फलफूलका बिरुवा उत्पादन गरी बिक्री गर्नु हाम्रा लागि गतिलो आम्दानीको स्रोत बनेको छ। हामीले उत्पादन गरेका बिरुवा देशका सबै ठाउँमा बिक्री हुने गरेका छन्। यस वर्ष हिउँदे फलफूलका बिरुवाको माग धेरै आए पनि मागअनुसार पूर्ति गर्न भने सकेका छैनौं।'

यस्तै अर्का नर्सरी सञ्चालक जयबहादुर टेर पनि फलफूलका बिरुवाबाट परिवार चलाउन सजिलो भएको बताउँछन्। ‘हामी फलफूलका बोटविरुवा बिक्री गरेर वार्षिक तीन लाखबढी कमाउँछौं। यसवर्ष पनि दुई लाखबढी बिरुवा बिक्री होला भन्ने अपेक्षा छ,' उनले भने।

यस्ताखाले फलफूलका बोटबिरुवा भएका निजी नर्सरी सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीमा मात्रै रहेको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुनबहादुर खड्काले बताए। उनले भने, ‘सुक्खा फलफूल विकास केन्द्रले स्थानीयले तालिम दिएपछि निजी नर्सरीमा किसानहरूको आकर्षण बढेको हो। बैतडीबाट वार्षिक डेढ लाख हाराहारीमा बोटबिरुवा निर्यात हुने गरेको र यसमा निजी नर्सरी सञ्चालकहरूको योगदान सबैभन्दा बढी छ।'

हिउँदे तथा बर्से फलफूलका नर्सरीबाट घर चलाइरहेको वीरबहादुर टेर भन्छन्, ‘फलफूलका बिरुवाले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याएको छ। कृषि पेसाबाटै घरपरिवार चलाउन सकिएको छ।'

फलफूलका बिरुवा उत्पादनमा लागेका किसानलाई तालिम तथा बजार व्यवस्थापनका लागि सुक्खा फलफूल विकास केन्द्रले पनि सहयोग गरिरहेको उक्त केन्द्र सतबाँझका प्रमुख लक्ष्मीदत्त पाण्डेले बताए। उनले भने, ‘सुक्खा फलफूल केन्द्रको पनि आफ्नै नर्सरी छ। त्यो नर्सरीले मात्रै माग धान्न सक्दैन, हामीले निजी नर्सरी सञ्चालकहरूका बोटबिरुवाको बजारीकरणमा सहयोग गर्दै आएका छौं।'

२०१९ सालमा सतबाँझमा वागवानी विकास केन्द्र स्थापना भएको हो। त्यसपछि सुक्खा फलफूल विकास केन्द्रको नामले कार्यालयको नाम राखिएपछि किसानहरूलाई फलफूलका नर्सरी बनाउने तालिम दिन सुरु गरिएको हो। फलफूलका नर्सरी बनाउने तालिम पाएदेखि नै आफूहरू नर्सरी निर्माणको काममा लागेको र यसले सफलतासमेत दिलाएको किसान देवदत्त भट्टले बताए।

गुरुखोलाका निजी नर्सरी सञ्चालकहरूले आफ्ना नर्सरीमा बोटविरुवा उमार्नेदेखि काँटछाँटसम्म आफैं गर्ने गर्छन्। आफ्नै माटोमा पाखुरी बजाएर आम्दानी गर्न पाउँदा निकै खुसी लागेको नर्सरी सञ्चालक वीरबहादुर टेरले बताए। उनले भने, ‘हामीले युवा अवस्था छँदै फलफूलका बिरुवा उत्पादन गर्न थालेका हौं। गाउँका बेरोजगार युवाले पनि यो पेसा अपनाए आर्थिक उन्नति हुनेमा दुई मत छैन।'

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2