MENU

वादी समुदायको स्पष्ट चित्र

patan-college

अन्नपूर्ण शनिवार, पुस २९, २०७४ 263 पटक पढिएको

Share This

635-x-85

वार्ता

‘ऐलानी’ विवेक ओझाको पहिलो उपन्यास हो। उपन्यासमा उनले कैलालीको मुढास्थित वादी समुदाय र अछामको मंगलसेनको परिवेश लेखेका छन्। उपन्यासमाथि ओझासँग गरिएको वार्ता–


पहिलो आख्यानका लागि वादीकै विषय किन छान्नुभयो ?      

त्यो एक दिमागी क्लिक थियो मेरा लागि। यहाँ पहिचानको मुद्दा जोरले चर्किरहेको थियो। धेरै टेबल बज्ने बहसमा समेत भाग लिइयो। मलाई लाग्यो टेबल ठोक्न नसक्ने, आफ्नो मुद्दा बोल्न नसक्ने समुदाय पनि छ। त्यस्तो समाजलाई मैले बचपनदेखि नजिकैबाट देखेको थिएँ। लाग्यो, मैले उनीहरूको पहिचानका लागि लेख्नुपर्छ, बोल्नुपर्छ। त्यो मेरै सुदूर गाउँसमाजको कथाव्यथा थियो, त्यही समाजको दृश्यलाई उभ्याउन खोजेँ। र, सरोकारवालालाई घचघच्याउन प्रयास गरेँ।

तपाईंले ‘ऐलानी’मा भन्नुभएअनुसार वादी समुदायको विषय त्यतिमात्र हो त ?      

कुनै पनि विषय पूर्ण लेख्न मान्छेलाई एक जुनी पनि कम हुन्छ। मैले त केवल एक टुक्रा पस्केको छु। यसलाई स्याम्पल भन्न सकिन्छ। उपन्यासले वादी समुदायको सम्पूर्ण स्वर पक्कै बोल्न सक्दैन।

उपन्यासमा एक वादी युवतीले ६ कक्षासम्म मात्र अध्ययन गरेकी छ। तर, त्यति अध्ययनको आधारमा उसले दिएको गम्भीर धार्मिक प्रवचन सम्भव हुन्छ ?      

पीडा, तनाव र विचलन नै हरेक चीजको मुहान हो। चाहे त्यो प्रेमको मुहान नै किन नहोस्। जन्म पीडाको परिणाम हो। ती युवतीको जो पीडा छ, जुन फ्रस्टेसन छ त्यो उसको ज्ञानको मुहान हो। थप कुरा, युवतीमा अधिक पुस्तकमोह छ। उन्नाइस वर्षकी वसन्ती घरमै बसेर पढ्ने मोह पूरा गर्छे तर स्कुल जान सकेकी छैन। यो उसको बाध्यता हो। उनीहरूले छुन नमिल्ने भनेर समाजले तोकेका पर्खाल विरुद्धमा उभिएर ऊ महाभारतसमेत पढ्छे। यो उसको अहम् एवं विद्रोह हो। फेरि उनीहरूले गाउँघरमा गाउँदै हिँड्ने गीतहरूमा महाभारत र रामायणका कथाहरू मिसिएका हुन्थे, जुन कुराहरू दर्शनसँगै जोडिएका छन्। यी कुराहरू बहुविम्बित छन्। गुजुल्टिएका छन्। ऊ देहव्यापारबाट भाग्न खोजिरहँदा पनि कसरी समाजको गुरुत्वले उसलाई खिचेको छ। त्यो प्रस्टसँग देखिन्छ। यसरी उसलाई सम्भावनाको एक प्रतीक बनाइएको छ र कसरी सम्भावनाहरू नफुल्दै झरिरहेका छन्, त्यो औंल्याइएको छ।

उपन्यास लेखिसकेपछि तपाईं आफूलाई सफल आख्यानकार मान्नुहुन्छ ?      

सर्वप्रथम त विनम्रताका साथ भन्न चाहन्छु, यो मेरो पहिलो आख्यान हो। परीक्षा सुरु भइसकेको छ। यसले कस्तो प्रभाव देखाउँछ त्यसले नै सफलताको मापन गर्ने हो। आफैंले मानेर वा कुनै झुण्डले मानेर तत्वमा खासै अर्थ राख्दैन। वास्तवमा भन्नुपर्दा म आख्यानकारका रूपमा उभिन खोजेको हुँ। ‘सफल आख्यानकार ? ’ यो त धेरै दूर छ।

‘ऐलानी’ किन पढ्ने ?      

 ‘ऐलानी’ जीवन बदल्ने पुस्तक होइन। यसरी प्रचार गर्ने हिम्मत पनि मसँग छैन। यो त समाजको एक छोपिएका अस्पष्ट चित्र हो जसलाई मैले स्पष्ट पार्ने प्रयास गरेको छु। समाज जो राज्यबाट हेपिएको छ चेपिएको छ त्यसको कथा हो ‘ऐलानी’। एक अलग्गै दुनियाँजस्तो लाग्ने यो यही समाजको कथा हो। जसले वादी समुदायबारे सुनेकै छैन उसलाई त यो यथार्थ अनौठो लाग्नेछ, विश्वास लाग्ने छैन। मान्छे भएर मान्छेजस्तो जिन्दगी नहुनु। समाजमा रहेर समाजभन्दा अलग रहनु। वास्तवमै दुःखद् छ। विभेदको पर्खालसँगै जोडिएर अनेकन गाथाहरूको संयोजन हो, ‘ऐलानी’।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2