MENU

राधाको विश्वयात्रा

patan-college

महेश पौड्याल शनिवार, पुस २९, २०७४ 310 पटक पढिएको

Share This

635-x-85

अनुवादक दृष्टि

उत्तरसंरचनावादी चिन्तक याक्स डेरिडाले आफ्नो ‘पोलिटिक्स अफ फ्रेन्डसिप’ पुस्तकमा ‘टेल्योपोएसिस्’ भन्ने एउटा अवधारणाको कुरा गरेका छन्। यसको अर्थ हुन्छ, साझा मानवीय चिन्तनको जगमा उभिएका कतिपय कुराहरू समान हुन्छन्, मुलुकहरूको दूरी जति टाढा नै किन नहोस्।

हामीले संसार तथा मानव जातिको उत्पत्तिका कथाहरूको संकलन र अध्ययन गर्‍यौं भने विश्वका दुई धु्रुवमा रहेका समुदायका जनविश्वासबीच पनि गज्जबको समानता पाउँछौं। उदाहरणका लागि दक्षिण अमेरिकी सभ्यताका मानिस र नेपालका कतिपय समुदायका मानिसबीच मान्छेको सृष्टि कसरी भयो भन्ने सवालमा समान अद्यचिन्तन रहेको पाइन्छ। कार्ल गुस्ताभ युङले भन्ने गरेको ‘साझा सम्झना’को दायरा कुनै एक समुदाय वा मुलुकभन्दा माथि हुन्छ र पर पनि हुन्छ। अर्थात्, जीवन र जगत्का बारेमा सबै मुलुकका मान्छेको आदिम चिन्तन उस्तैउस्तै हुन्छ।

मान्छेको आदिम चिन्तनमध्ये एक उसको मिथक हो। मिथक मान्छेको कौतूहलको उपज अथवा घटेका सामान्य घटनाको असामान्य अतिशयोक्तिको उपज पनि हो। विज्ञानका सूत्र र व्याख्याको जन्मभन्दा पनि पुरानो हो मान्छेको कौतूहलता। जीवन, जगत्, प्रकृति, प्राकृतिक घटना–परिघटना, सृष्टिका रहस्यहरूका बारेमा पनि सायद आदिमानवसँग प्रश्न थिए, चासो थिए, कौतूहलता थिए। तर, ज्ञान र विज्ञानको अभावमा आदिमानवले उक्त कौतूहलताको वस्तुगत, सम्यक् र वैज्ञानिक निरूपण गर्न अवश्यै सकेन सायद। त्यसैले मान्छेले कथाको अविष्कार ग¥यो र तिनै कथामार्फत आफ्ना कौतूहलताको सम्बोधन ग¥यो। ती कथा पिँढीबाट अर्कोमा सर्दै जाँदा किंवदन्ती भए, लोककथा र गाथा भए, परिकथा भए, दन्त्यकथा भए, शास्त्रीय कथा पनि भए र समग्रमा मिथक भए।

मिथकको सैद्धान्तिक पक्षमा चासो राख्ने चिन्तकहरू कार्ल गुस्ताभ युङ, जोसेफ मेकपर्सन, रोला बार्थ, लेभी स्ट्रस, नोर्थोप फ्राईहरू यस कुरामा एकमत छन् कि मिथकहरूले कुनै पनि समाजको चिन्तनपद्धतिको प्रतिनिधित्व गर्छन् र समाजको साझा अवचेतन अर्थात् ‘कलेक्टिभ अन्कन्सस’को जानकारी गराउँछन्।

गत २२ पुस २०७४ का दिन अमेरिकाको राजधानी वासिङ्टनमा ‘राधा’को अंग्रेजी अनुवादको विमोचन भयो। एक्सलाइब्रिस प्रकाशनले छापेको यो पुस्तक आज विश्वभरि बिक्री भइरहेको छ।

उत्तरवर्ती साहित्यमा विश्वभरि नै चलेको एउटा लहर ‘मिथोपोएटिक राइटिङ’को हो। यसको अर्थ मिथकहरूको जगमा, अथवा त्यसबाट टिपिएको पटकथाको जगमा आजको मुद्दाको अन्तर्घुलन। यस्तो साहित्य निकै लोकप्रिय पनि भएको छ। मोयानले चीनमा, डेरेक वाल्कोटले वेस्ट इन्डिजमा, मार्खेजले कालुम्बियामा, ओर्हान पामुखले टर्कीमा, एन्ड्रिन रिचले अमेरिकामा, वोले सोइङ्काले नाइजेरियामा, शशि थरुरले भारतमा, मदनमणि दीक्षित, कृष्ण धरावासी, नीलम कार्की निहारिका, नवराज लम्साल र गोविन्दराज विनोदीहरूले नेपालमा सबै नभए पनि आफ्ना केही रचनामा मिथक अथवा लोकविश्वासको विषयलाई टिपे र आजको समयको मुद्दासँग त्यसको अन्तर्घुलन गरे। यो मिथोपोएटिक प्रक्रिया हो। र, अघि माथि डेरिडाले भनेजस्तो यस्तो विषयमा वैश्विक स्पर्श क्षमता रहन्छ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको चिन्ता नयाँ होइन। महाकवि लक्ष्मीप्रसाद देवकोटाले तास्केन्खमा आयोजित अफ्रोएसियाली लेखक सम्मेलनमै यो चिन्ता व्यक्त गरेका थिए। त्यसपछि आधा शताब्दीभन्दा बढी समय बितिसक्दा पनि यस दिशामा खासै उल्लेखनीय कार्य भएजस्तो लाग्दैन। लेखकहरूले भ्रमण खूब गरे तर नेपालबाहिर पनि आप्रवासी नेपालीहरूकै बीचमा रचना सुनाएर फर्किए। थोरैले जो अनुवाद गराए, त्यो नेपालतिर छापियो र विश्वबजारमा प्रवेशै पाएन। केही लेखक जसको कृति अन्तर्राष्ट्रिय बजारमा गयो, उनीहरूको नामबाहेक केही ‘नेपाली’ रहेन, कृतिभित्र। त्यसैले बदलिएका विश्वसाहित्य परिवेशबाट नेपालले केही फाइदा उठाउन सक्छ, यदि नेपाली लेखकहरूले अंग्रेजी लगायतका विश्वभाषामा सीधै लेख्ने अथवा अनुवाद गराउने र अन्तर्राष्ट्रिय प्रकाशनगृहहरूबाट प्रकाशन गरेर विश्वबजारमा ती कृतिको व्यावसायिक प्रवर्द्धन गर्ने काम गरे भने। यस दिशामा बिस्तारै प्रक्रियाहरू सुरु भएका छन् र यो सुखद सुरुआत हो।                           

कृष्ण धरावासीको मदन पुरस्कार विजेता कृति ‘राधा’को भर्खरै अंग्रेजी अनुवाद भएको छ। धरावासीलाई एकपल्ट एउटा कार्यक्रमका लागि मोटरसाइकलमा हालेर त्रिभुवन विश्वविद्यालयतिर लाँदै गर्दा बाटोमा हामीले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको विषयमा कुरा गर्‍यों। उहाँले हृदयतः नै सोध्नुभयो, ‘म पनि मेरा केही कृति अनुवाद गराउनेमा छु। कुनचाहिँ गरौं।’ त्यो यस्तो बेला थियो, जब म विश्वसाहित्यको केन्द्र अब बेलायत र अमेरिकाभन्दा अन्यत्रतिरै सरिरहेको छ भनेर सार्वजनिक सभासमारोहहरूमा तर्क गरिरहेको थिएँ। मैले अलिकति पनि नसोची भनेँ, ‘पहिले राधा, अनि त्यसपछि शरणार्थी।’ मसँग मेरो प्रस्तावलाई पुष्टि गर्ने ओठे तर्क छँदै थिए। अन्ततः हामीले ‘राधा’बाटै यो काम थाल्ने सहमति बनायौं र काम भयो। गत २२ पुस २०७४ का दिन अमेरिकाको राजधानी वासिङ्टनमा ‘राधा’को अंग्रेजी अनुवादको विमोचन भयो। एक्सलाइब्रिस प्रकाशनले छापेको यो पुस्तक आज विश्वभरि बिकिरहेको छ।

के छ ‘राधा’को अनुवादको औचित्य ? यो प्रश्न मलाई र धरावासीलाई पनि सोधिँदैछ आजभोलि। ‘राधा’लाई धेरैले नारीवादी उपन्यास भनेर एउटा कित्तामा उभ्याइदिए। तर, यसका अरू पनि धेरै आयाम छन्। नारीवादी नै हो भने पनि यसले एउटा वैकल्पित नारीवादको कुरा गर्छ, जो पश्चिमा समीकरणमा विकास गरिएको नारीवादभन्दा फरक छ र एउटा पृथक् र नयाँ पूर्वेली नारीवादको बुनियाद खडा गर्छ। कृष्णको कथा एकजना नारीको दृष्टिबिन्दुबाट भनिनु, पारम्परित सत्यापनका भ्रमपूर्ण संकथनहरूको विनिर्माणको प्रयास हो। त्यसैले मलाई लाग्छ, नारीवादी कोणसँगसँगै विनिर्माणवादी कोणबाट ‘राधा’को पुनर्पठन जरुरी छ।

यो नवऐतिहासिक पुनर्पठन अथवा विपठनका लागि पनि उपयुक्त कृति हो। फेरि, समाख्याताको दृष्टिबिन्दु फेरिएसँगै शाश्वत भनिएको ‘सत्य’को पनि रङ फेरिन्छ। कृष्णले आफ्नो कोणबाट अथवा कृष्णका अन्धभक्त भाटहरूले उनीहरूको दृष्टिबिन्दुबाट तयार गरेको कृष्णचरित्र, राधाको दृष्टिकोणबाट हेर्दा मिथ्याहरू र पुरुषवादी संकथनहरूको सँगालो हुन्छ। दृष्टिकोणको परिवर्तनसँगै फेरिने सत्य तथा शाश्वत भनिएका तथ्यमाथिको बहस एउटा लीलावादी दृष्टिकोण पनि हो। त्यसैले, ‘राधा’ले लीला अवधारणाको प्रयोगपक्षलाई पनि मूर्त रूप दिएको छ। राधाको दृष्टिकोणबाट हेर्दा, वर्षौंवर्षपछि पनि आफूलाई भेट्ने समय मिलाउन नसक्नु तर त्यसैबीचमा सातवटी अन्य रानीलाई भिœयाउनु निश्चित रूपमा आपित्तजनक विषय देखिन्छ।

उता, कृष्णको दृष्टिकोणबाट हेर्दा उनको राजनीतिक व्यस्तता, द्वारिका नगरीको स्थापना, महाभारतको युद्ध तथा उनले कुन बाध्यताहरूमा ती रानीहरूलाई स्वीकार गर्नुपर्‍यो भन्ने कुराको विश्लेषण हेर्ने हो भने दुवैका दलील जायज लाग्छन्। यी दलीलहरूले स्थापना गरेको एउटा सत्य साझा छ। सो के भने, हामी कहिल्यै सत्यको गर्भमा पुग्न सक्दैनौं। धेरैजसो सत्यहरू आंशिक हुन्छन्, सत्ता–निर्मित र व्याख्यातीत हुन्छन्, शाश्वत भनिए पनि वास्तवमा शाश्वत हुँदैनन्, सापेक्षित मात्रै हुन्छन्। यो एउटा लीलावादी सोच हो, एउटा उत्तरवर्ती सोच हो। डेरिडाले भनेजस्तो यस्ता सत्यहरू विलोपनका भागी हुन्छन् र उल्टिन पनि सक्छन्।

त्यसैले राधाले कृष्णको जीवनचरित्रलाई पढ्ने एउटा वैकल्पित आधारबिन्दु प्रस्तुत गरेको छ। पूर्वमा सायद सबैभन्दा लोकप्रिय मिथकीय पात्र कृष्ण हुन्। बच्चाकाहरूका लागि प्रिय मक्खनचोर, आमाहरूका लाल, प्रेमिकाहरूका रास–रसैया, सुदामाहरूका लागि आदर्श साथी, राजनीतिज्ञहरूका लागि महाभारतका किङमेकर, योगीहरूका लागि कर्मयोगका प्रवर्तक योगेश्वर, अध्यात्मवादीहरूका लागि ‘गीता’ का रचयिता।

दक्षिण एसियामा आज पनि कृष्णको जस्तो लोकप्रियता सायदै कुनै अर्को महामानव अथवा भगवान्को होला। त्यसैले समाजको सबै तप्काले कुनै न कुनै मानेमा देवत्वकरण गरेको, मिथकको सर्वाधिक लोकप्रिय पात्रमाथि, त्यो पनि व्यतिरेकी दृष्टिबिन्दुबाट लेख्नु आफैंमा एउटा सांस्कृतिक र धार्मिक जोखिम पनि हो, जो धरावासीले ‘राधा’मा उठाएका छन्। नेपालभित्र प्रकाशनको समय २०६२ देखि नै लोकप्रियता कमाएको यस कृतिले नेपालबाहिर पनि कृष्णचरित्रमाथि चासो राख्ने अथवा साहित्यमा चासो राख्नेहरूले धरावासीको यस जोखिमलाई अनुमोदन गर्छन् कि गर्दैनन्, अथवा यस आँटलाई कसरी हेर्छन् भन्ने प्रश्न अहम् र कौतूहलपूर्ण छ नै। त्यसैले, विश्व साहित्यमै पनि राधाले एउटा विशिष्ट स्थान राख्ने निश्चितप्रायः देखिन्छ।

मलाई लाग्छ, यस पुस्तकको अंग्रेजी अनुवादले धेरै सैद्धान्तिक र साहित्यक उपादेयता राख्तछ र एउटा बहस सुरु गर्नेछ कि कृष्णजस्तो अत्यन्त लोकप्रिय पात्र र भगवान्को श्रेणी प्राप्त व्यक्तिलाई सम्पूर्ण मानवीय कमजोरीका साथ एउटा सामान्य मान्छेको तहमा उतार्नुको मज्जा वा जोखिम कस्तो होला ?

उपन्यासले कृष्णलाई आजको सामाजिक र नैतिक अदालतमा खडा गरेको छ र नारीविरोधी क्रियापकलाप, युद्धको आचारसंहिता विरोधी गतिविधि र विवाहसम्बन्धी सामाजिक नियमको उल्लंघनका मुद्दा कृष्णका विरुद्ध छन्। यस अर्थमा ‘राधा’लाई एकैचोटि नारीवादी, नवइतिहासवादी, विनिर्माणवादी र लीलावादी दृष्टिकोणबाट पढ्न सकिने हुनाले पनि यस कृतिको महत्ता ठूलो छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2