MENU

सांस्कृतिक साधनामा अक्षर र अक्षता

patan-college

तेजेश्वरबाबु ग्वंगः शनिवार, पुस २९, २०७४ 184 पटक पढिएको

Share This

635-x-85

विमर्श

अक्षरलाई अक्षता ठानेँ, मानेँ। लाग्छ, यिनै सोचाइले जीवन जिइरहेछु यहाँसम्म। अक्षरलाई अक्षता तुल्याई आमसंस्कृतिका पुजारी महानुभावलाई पूजा गरेँ। नित्य अर्चना गर्ने रहरले आयु तानिएझैं सोचेँ। अक्षरलाई अक्षता तुल्याउँदा पाठकीय प्रेरणादायक हौस्याइसिवाय अरू के चिन्ता ? अक्षर अटुट निरन्तरता। निरन्तरता आयुकै लम्बाइ ! निरन्तरता आयु। आयुमा अझै दीर्घायु। दीर्घायु मन्त्र सिद्धि पाएको आयुर्वेदकै फल बन्छ, बनेको छ। चिरञ्जीवी बुटी मन्त्र आयुर्वेद। आयुलाई स्वस्थ राख्ने साधना तन्त्र बनेको छ— आयुर्वेद। आयुर्वेद चिरञ्जीवी मन्त्र आयुर्वेद। आयुर्वेद चिरञ्जीवी तन्त्र त्यसैले। तन्त्र त कार्यसाधनाको विद्या। सावधानीसाथ साधन गर्दै रहने पद्धति— साधना तन्त्र। विधिपूर्वक गरिने साधना–यन्त्र अक्षर बन्छ, बनेको छ। अक्षर उपासना गर्ने रहरले सलबलाउँदैछु।

सल्बलाउनु जीवन। जीवन सलबलाई नै रहनुपर्दो रहेछ। जीवन्त–सलबलाइ सुखद जीवन ! अक्षरका अक्षता अनमोल आनन्द–वस्तु–भाव ! भाविनु पर्दो रैछ अक्षर अक्षय आनन्दका साधना यन्त्र वस्तु बन्दो रहेछ। अचेलभरि म अक्षय अक्षर साधना मन्त्रमुग्ध रहने उपासना मार्गरत रहरका लहरमा तरंगिरहेझैं छु। भाविनु उपासना मार्गमा तरंगिने एकचित्त ध्यानमग्न चिन्तन रहे, बनेका हुन्। ध्यानमग्न चिन्तन मेरो भावुक उपासना मार्ग।

अक्षर साधनामा मन्त्रमुग्ध रहन सक्दा मानसिक चिन्तन चेतका क्षितिज उघ्रिँदो रैछ। मानसिक चिन्तनका क्षितिज उघ्रिँदा दैहिक दुर्वलतालाई लगाम कस्न सकिँदो रहेछ। आफैं अनुभूतिका आयाम खोल्दैछु यो क्षण। अनुभूति जीवन यथार्थका कथ्य इतिवृत्ति बन्छ, बनेको छ। कथ्य इतिवृति आग्रह, दुराग्रहका चाका हुन्न, बन्न हुन्न। मात्र स्वानुभूति– स्व+अनुभूति— स्वानुभूति। आफैंले अनुभव गरिएका अनुभूतिका राशि— भकारो हुन्। तिक्त अभिव्यक्ति चित्ताकर्षक नबन्न पनि सक्छन्। आसेपासेका ताली पिटाइ सबैका लागि अनुभूति गम्य नबनोइन सक्छ। यो यथार्थ हो। डम्फु बजाइ नमानियोस् ! अक्षर साधना तन्त्रको मन्त्र बनोस् ! जिउता भरका आफ्नै अनुभवका पोका फुकाइ यस्तै यस्ता रहून्। अक्षर साधना यन्त्ररत विद्याले अनुपोषण गरेका यी मेरा भरण पोषण मात्र ! लेखन साधना यिनै भरणपोषणमा जीवन गतिका नुवागी–योमरी उपहार बनून् ! उपहार दिँदा एउटा आनन्दको लहर तरंगिन थाल्छ। उपहारभित्रको आनन्द अनुपम रहन्छ। यस्ता अनुपम आनन्द अक्षर जत्तिकै अक्षय बन्छ।

अक्षर भन्नु नै अक्षय गुण, स्वभाव मण्डित मन्द गतिमा प्रवाहित रहने भाववाचक अक्सिजन/अम्लाजन तत्वसरह बनेका हुन्छन् अक्षर त्यसैले अविनाशी तत्वका ध्वन्यात्मक सांगीतिक रागका लय हुन्, छन्द हुन्। अक्षरका अविनाशी ध्वन्यात्मक सांगीतिक रागमा लय बन्ने चाहना मेरा अक्षरहरूका अनेक किसिमका यात्राहरूबीच मात्राका स्वाद चाख्दै गर्छन्। त्यहीँनिर त आनन्दी मनस्थिति बोध गर्छु। भन्न मन पराउँछु यस स्थितिलाई मनोविज्ञानका सूक्ष्म अनुभूतिगम्य विशुद्ध भावधारा ! अक्षरका आयाम भरिका क्षितिज उघार्दै गरूँगरूँ लाग्छ।

मनोविज्ञानको धरातलबाटै सांस्कृतिक साधनाका चिन्तन चेत तरंगित हुन थाल्छ; हुन्छ ! मनोविज्ञानको धरातलबाट सांस्कृतिक साधनाका चिन्तन चेत तरंगित हुनु त ज्ञानको टुसो चिचिल्याउनु हो। चिचिला विशाल वृक्षको प्राथमिक अवस्था रहेको छ सर्वत्र यताउता सबैतिर संसारभर ! ज्ञान विज्ञानको गर्भगृह हो। विज्ञान ज्ञानको मूर्त आविष्कार। ज्ञान अमूर्त रहन्छन्। अक्षर ज्ञानको ब्रह्म स्वरूप हुन्। अक्षर ज्ञानको ब्रह्म स्वरूप भएर दुवै ज्ञान र विज्ञानलाई व्याख्या विश्लेषण गर्न दुई हात, गोडा, आँखा, कानसरह विवेकी इन्द्रीय रहे, बनेका हुन्छन्।

अक्षर ब्रह्म कुनै लिपिमा किन नहोऊन् अक्षय प्रकृतिका स्वरूप बनिरहेका हुन्छन्। प्राचीन लिपिमा रचित अक्षरका ग्रन्थहरू हाम्रा आदिम चिन्तन चेतका ब्रह्म ज्ञानका आधार सम्पदा बनेका हुन्छन्। तिनको संरक्षण, सम्वर्द्धन गर्नु हाम्रो एकल तत्व थाप्लोको नाम्लो बन्नुको साटो पुरातात्विक दायित्व बोध बन्छ, बनाइनु पर्छ। यसप्रकारका यी र ती अक्षर ब्रह्मका सम्पदा सुरक्षण विधि ब्रह्माण्ड व्यापक सरोकार बन्छ; बन्नुपर्छ, बनाइनुपर्छ। हामी तिनै पक्षधर पथका बटुवा बनौं, यात्री रहौं। सदिच्छा गर्छु यिनै सदिच्छाका अन्तरिक्ष चहार्ने रहरमा लहराइहन सकौं। अक्षर ब्रह्मका दिप्त अन्तर ज्योति बलिरहनुपर्छ। बाली नै रहनुपर्छ निरन्तर ! हाम्रा मनभित्रका विवेकशील ब्रह्म अक्षर बनेर आकृति लिऊन् ! अक्षर–ब्रह्मका आकृति अक्षर–यामि चिन्तन–चेतका अन्तर रूप अक्षरका आकृति बनेर चिरञ्जीवी साधना गर्छन् !

विश्लेषण बिनाका लाञ्छनामा हामी मूर्छित छौं यस घडी। सांस्कृतिक साधनामा अक्षर र अक्षताका सन्दर्भ अगाडि पसार्ने जमर्को जमर्किन बिट मारेर नि मारिन्न।

अक्षर आकृतिका उपासना गर्ने रहरमा जीवन्त जीवनको अनुराग भर्ने रहर सदाबहार नबन्न पनि सक्छ। नियतिको नियमले सबैतिर सबैमा नियमन गरी नै रहन्छ। यो लीलामय विधिको लीला रहेको छ। विधिका लीलामय विधान विश्वका कुनै पनि संविधान उपरी छ। गीताले गेय गरेझैं न यसलाई शस्त्रले नै छिनाल्न सक्छ; न त आगोले नै डढाउन सक्छ; न हावाले बढार्न नै सक्छ; न त पानीले नै सेलाउन सक्छ ! अक्षर आकृतिमा उत्रेका ब्रह्म स्वरूप त्यसैले अविनाशी लागिरहन्छ सदा मन भित्रको चिन्तन चेतभरी। अक्षरलाई अक्षय अक्षता मान्नुको चैतन्य चिन्तन आफ्ना चेत विस्तार विस्तार आफैं अन्तर केन्द्रबाट आफूजस्तै अरूमा सार्दै निःसृत गर्ने प्रयत्नमा अडेको हुन्छ सदाबहार। यिनै यत्न र प्रयत्न साथ अक्षरले नैरन्तर्य पाउँछ, पाइरहन्छ।

अक्षरलाई निरन्तर राख्ने व्रत, लिइरहूँ रहूँ लाग्छ। उपासना मार्गमा पाइला चाल्दै यात्रा भरूँभरूँझैं पाइला चालिरहूँ रहूँका उत्कण्ठा जागिरहन्छ। किन्तु, यी अभौतिक तत्वमयी चिन्तन चेतमा बेलाबखत यिनै भौतिक देह आक्रान्त भइदिँदा मेरा चेत अकर्मण्य स्थल बन्छ पुग्छ। अभौतिक पारमार्थिक चिन्तन तत्व मैबाट टाढिदिँदा मेरा पाइलाहरू लरखरिन पुग्छन्। अकर्मण्य बन्छ कर्मशील चिन्तन चेत ढलमलिँदा। कल्पनाको कल्पनाशीलता होइनन् यी। हुन् भने केही बरु अनुभूतिगम्य आफ्नै भोगाइका भोग वाणी मात्र !

अक्षर ब्रह्मलाई चिन्ने प्रयास निरक्षर बालापनको पाँच वर्षको अक्षरारम्भ दिवस– श्रीपञ्चमीकै मुहूर्तमा गरेको झल्झलाकार लाग्छ। न अक्षर चिन्थेँ, न त लेख्नै आउँथ्यो अक्षर— अक्षय, न अक्षय अक्षर नै। अनभिज्ञताका मस्ती–मगन–मस्ती बालापन मेरो, सबै सबैको। बालापन भोलापन ! भोलापन भोलाभालापन ! भोलाभालापन निसंकोचपन।

जे जसो लाग्छ उस्तै बोल्ने अवस्था ! संकोच, संदेहको आशय हुँदै नहुने मेरो बालापन, भोलापन। दीगम्बर महादेवपन। महादेव प्रकृति पुरुष ! प्रकृतिको गर्भबाट निस्केको–अजन्मा ! सम्भवतः मेरो बालापनमा भोलापन त्यसैले छाइदियो कि दिगम्बरका नांगोपन प्रत्येक बालबालिकाको उदात्तपन ! लज्जाले नै लजाउनु पर्ने आम यथार्थ–उदांग माहोल ! बालापनसित उदांगपन मुर्छा पर्लान्। तर, बालापन कालानीला परोइन के पर्दै पर्दैन, पर्नै सक्दैन। मेरै बालापनको पुनरवलोकन स्मृतिका तख्तामा भेटाइरहेझैं विभोरी बनेछु— धवलागिरि शिरमा पहिरी। अहो ! अलि विचलन भन्नु चलनबाट विचलित हुन पुग्नु ! युगै विचलितहरूका समय संयन्त्र बनेपछि अदना बन्न कुनै बार चाहिँदो रहेनछ ! चकित भएर भन्नै पर्‍यो— विचलित म नि बनेछु। तैपनि सम्हाल्नैपर्छ— सति वियोगी दिगम्बरले झैं। दिगम्बर जसले दस दिक–दिग–दिशा नै आफ्ना अम्बर–पहिरन बनाए, माने तिनै दिगम्बर ! दिगम्बर भोलेबाबा–भोलेनाथ कहलिए झन्डै फकिर ! बालापन सबैका उस्तै हुन्। मात्र मेरो होइन निःसन्देह !

त्यही बेला मैले गुरु रिपुमञ्जनराज राजोपाध्यायका बैठक कक्षमा ‘ॐ नमः शिवायः नमो वागीश्वरायः’ मन्त्र सुने, श्रवण गरेँथेँ ! संस्कृति वाङ्मयमा स्वरबद्ध मन्त्र वाचन गर्नु सगरमाथा आरोहणझैं कठिन साध्य थियो। भाउ न साउ उसै खाउँ उखान आफैं बखान बनेथ्यो। न बुझ्नु न सुझ्नु कत्रो पहाड पार गर्नुझैं बनेथ्यो। अहिले तिनै सुझबुझ नभएका मन्त्र सुक्तिमाथि आफैं आयामिक सुझबुझ पस्काउन मनलाई गरूँगरूँ लाग्दो भइरहेछ। ॐ त विशिष्ट अर्थबोधक विन्यास रहेछ ! विशिष्ट ध्वनि विन्यास ! विशिष्ट मुद्रामय आकार विन्यास बनेको ॐ कार।

ॐ ध्वनि गुञ्जनलाई ठीक तवरले उच्चारण गर्दा भौतिक शरीरमा आयामिक असर उत्पन्न गर्छ। त्यस ध्वनि गुञ्जनले अद्भुत कण्ठनाद अनुरणन गर्दो हुन्छ ! अनुरणन खिरिलो स्वर/ध्वनि गुञ्जन रहे बनेका हुन्छन्। खिरिलो ध्वनि गुञ्जन्छ। एक आयाम यो। संयमित ॐ स्वर मुखरणले कानका श्रवण शक्ति प्रवद्र्धन गर्छ। ॐ कार ध्वनि गुञ्जन घन्किन्छ। तिनै अनुरणित गुञ्जनले कानको श्रवण इन्द्रीयका नसाहरूलाई ठीक दुरुस्त–तन्दुरुस्त पार्छ। यसरी ॐकार ध्वनि गुञ्जनले हाम्रा मुटुको धड्कन चाललाई पनि चलाएर गतिमान राख्न सूक्ष्म रूपले सहायता पुर्‍याउँछ। योग विद्या साथै आयुर्वेद तन्त्र–शास्त्रका अन्तर्य रहेका छन्। ॐ नमः शिवायः नमो वागीश्वरायः अक्षरारम्भका अनेक आयामिक कोण छन्।

नमोवागीश्वराय– यति सारै गहन छ। व्याख्याबिना सारगर्भ भेट्न हम्मे पर्छ। नमो = नमन गर्छु। वाग + ईश्वराय = वागीश्वरायः। वाग=वानीकी। ईश्वराय = ईश्वरलाई। पूर्वीय दर्शनले यो पार्थिव शरीरका अंग प्रत्यंगलाई नै ईश्वराय अंशको समूह ठानी मानी आएको उदाहरण बन्छ। पूर्व र पच्छिमका उदय साथैको विलय यस्तै रहेको छ। पूर्वीय जीवन दर्शनको मेलापाल गूढ र गहन तवरले जीवनको कमलो बाल्य चरित्र निर्माणका रहस्य उद्घाटन मेलासाथ श्रीगणेश हुन्छ। ॐ नमः शिवायः नमो वागीश्वराय मन्त्र बनेको छ। पच्छिमेली संस्कार गूढ र गहन दर्शनलाई प्रौढ अवस्थाजन्य पक्ष ठान्छ, मान्छ। उनका दार्शनिक पक्ष जीवनको कलिला उदयाचलका प्रकाशसित झल्कन्न। पूर्वीय प्रचलन यस्तो रहेकै कारण लाग्छ, मलाई अहिलेसम्मै कालजयी संस्कृतिका अनुरागी पथ गामी बन्न सघाएझैं। दृढसंकल्पित अनुरागका जरा बाल्य जीवनजगत्का खेल मैदानबाटै टुसाएको हुन्छ। अनुरागको राग लाग्छ ॐ नमःशिवायस्नमो वागीश्वरायसित नै चिचिलाएछ।

अक्षरलाई अक्षय आकारको प्रतीक भावेर समर्पित तरंग यस्तै रहे, बनेछ। यति नै खेर झसंगिएँ। सायद दुई साता अगाडितिर श्रीॐका रोदनसित बहसिएथेँ। स्वयम्भू हारती माँ कहाँ ‘किसली’ चढाएर पूजा अर्पेको वर्णन सुनेँ। ‘किसली’ अर्थ बोधि प्रश्नका पेटारो अगाडि सारेँ। दाइ आद्योपान्त त आउँदैन। माटाका पोलेको पालामा भरेको चामल। किसली दुई शब्द संयुक्त नेवारी/नेपाल भाषाका शब्दावली कि+सली=किसली। कि=अन्न। कि अगाडि उपसर्ग शब्द जोड्दा अन्नका विशेष कोटी/प्रकरण बन्छ। जा+कि=जाकि। जा=भात, भुजा। चो+कि=कनिका। ना=धान। वा+कि=आधाआधि धान र चामल मिसिएको वाकि–जाकि। रोदन भाइले त्यही बेला अक्षता शब्द प्रयोग गर्नु भएथ्यो। अक्षताको अन्तरले चस्कायो यो मनभित्रको चेतलाई। अक्षता धानको प्रजनन शक्ति क्षीण नभएको अन्न। अक्षता शब्दले धान्य पदार्थको मातृत्व दुरुस्त रहेको चामल किटान गर्छ। अक्षता शब्दले अचेलका पालिसदार चामललाई समेट्दैन। अक्षता मात्र भुस छुट्याइएको चामल। अक्षता धुटो नआफालिएको अवस्थाको चामल। अक्षता कनिकासहितको चामलको अवस्था। अक्षता मात्र बोक्रा फालिएको धानसरह प्रजनन शक्तियुक्त अन्न।

अक्षता धानको ब्याडमा छर्दा धानका बिरुवा टुसाउँछ। अक्षतामा धानमा भन्दा नि छिटो बिरुवा काढ्ने गुणशाली क्षमता अन्तरनिहित हुन्छ। अक्षता छालाविहीन अवस्थाका प्रजनन गुण नमासिएका भएर छिटै भिज्छ र टुसाउँदो हुन्छ। त्यसैले अक्षता विशुद्ध र शेरा चामल बन्छ, बनेको छ। हाम्रा आस्थापुञ्जभित्र थेग्रिएका यी विज्ञानसम्मत आस्था निष्ठावान् बनेको छ। वैज्ञानिक पूत पाएका धर्म चर्यालाई पूर्वीय पूर्वजहरूका जीवन दर्शन यस्तै रहे। विश्लेषणबिनाका लाञ्छनामा हामी मूर्छित छौं यस घडी। सांस्कृतिक साधनामा अक्षर र अक्षताका सन्दर्भ अगाडि पसार्ने जमर्को जमर्किन बिट मारेर नि मारिन्न हो...! यसले अझै अरू आयाम चहार्छ, चहार्दै गरोस् ! मनसुबा मेरो !

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2