MENU

मुढाले तीनसयलार्इ रोजगारी

patan-college

सुब्रत न्यौपाने शनिवार, पुस २९, २०७४ 257 पटक पढिएको

Share This

635-x-85

विर्तामोड : झापाको अर्जुनधारा-१०, कालीझोडाका बासिन्दाले मुढा उत्पादनलाई जीविकोपार्जनको माध्यम बनाएका छन्। कम लगानीमा आम्दानी गर्न सकिने भएपछि स्थानीयले व्यावसायिक रूपमै मुढा उत्पादन थालेका हुन्।

कालीझोडाका तीन सयभन्दा बढी घरपरिवार मुढा उत्पादन गरेर बसेका छन्। हरेक घरमा व्यावसायिक रूपमा मुढा उत्पादन हुन्छ। त्यसैबाट आएको आम्दानीले उनीहरू गुजारा चलाउँछन्। ‘कालीझोडामा कोही पनि बेरोजगार बस्नुपरेको छैन', स्थानीय निशा राईले भनिन्, ‘सबैलाई मुढा बनाउन भ्याइनभ्याई छ।' सबैले मुढा व्यवसाय सुरु गरेपछि धेरैले कालीझोडालाई ‘मुढा गाउँ' का रुपमा चिन्छन्। मुढा बनाउन चाहिने बाँस गाउँमै उत्पादन हुन्छ। गाउँका अधिकांश महिला, वृद्धवृद्धा र बालबालिका बिहान उठेदेखि अबेरसम्म मुढा बनाउनमै व्यस्त हुन्छन्। स्कुले विद्यार्थी पनि मुढा बनाएरै खर्च जुटाउँछन्।

२०४५ सालदेखि कालीझोडाको बस्तीमा फाट्टफुट्ट रूपमा मुढा बनाउन थालिएको थियो। केही वर्षयता त्यसले व्यावसायिक रूप लिएको स्थानीय दिलीप राई बताउँछन्। ‘मैले यसरी मुढा बनाउन थालेको २० वर्षभन्दा बढी भयो', ६४ वर्षीय राईले भने, ‘कालीझोडामा यस्तो कुनै घर छैन्, जहाँ मुढा उत्पादन नभएको होस्।'


गाउँका अधिकांश महिला, वृद्धवृद्धा र बालबालिका बिहान उठेदेखि अबेरसम्म मुढा बनाउनमै व्यस्त हुन्छन्।

भैंसीको छालाको व्यापार गर्दा जेल परेका कालीझोडाका खड्गबहादुर गच्छामले पहिलोपटक स्थानीयलाई मुढा बनाउने सीप सिकाएका हुन्। ‘उनले जेलमा सिकेको सीप गाउँमा आएर सिकाए', राईले भने, ‘मैले पनि उनैबाट सिकेर यो पेसा अँगालेको हुँ।'

गच्छामेको सीपबाट प्रभावित भएका राई केरा व्यापार छोडेर मुढा उत्पादनमा लागेका हुन्। अहिले राईको परिवारका ११ जना सदस्य मुढा व्यवसायमा सक्रिय छन्। ‘ठूलाले त बनाउने भइगए, केटाकेटी पनि सकेको काम गर्छन्', उनले भने। कालीझोडामा उत्पादन भएको मुढा नारायणघाट, पोखरा, बुटवल, काठमाडौँ र खासासम्म निर्यात हुने गरेको छ। सरदर प्रतिगोटा दुई सय रुपैयाँका दरले मुढा बिक्री हुन्छ। कतिपयले सहकारीमा खाता खोलेर बचत पनि गरेका छन्।

गाउँमा उत्पादन भएको मुढा स्थानीय व्यवसायी आफैँले खरिद गर्छन्। ‘बजार नपाइएला भनेर अहिलेसम्म चिन्ता गर्नु परेको छैन', १५ वर्षदेखि मुडा उत्पादन गर्दै आएकी कुमारी राई भन्छिन्, ‘खरिदकर्ता आफैँ गाउँमा आएर मुढा लैजान्छन्।' १४ वर्षदेखि मुढा व्यापार गर्दै आएकी पुष्पादेवी थापा मगर कालीझोडामै बनेका मुढा बेचेर गुजारा चलाउँछिन्। उनी मुढा बनाउन भारतबाट सामान ल्याएर गाउँलेलाई दिन्छिन्। मुढा बनाउन चाहिने बाँसको सिन्का, धागो, टायर, रिङ सबै उनले दिने गरेकी छन्।

‘एकपटकमा छ सय जति मुढा पठाउँछु', उनले भनिन्, ‘सबै खर्च कटाएर महिनामा ४५ हजार जति बच्छ।' त्यही आम्दानीले उनको पाँच जनाको परिवार पालिएको छ। गत जेठमा श्रीमान् बितेपछि परिवारको सबै जिम्मेवारी उनको काँधमा छ। स्थानीयका अनुसार एक जनाले दिनमा १२ बटासम्म मुढा बनाउन सक्छ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2