MENU

माघी कोलाज

patan-college

इन्दु थारू शनिवार, पुस २९, २०७४ 280 पटक पढिएको

Share This

635-x-85

माघ १ गतेको महान् पर्वलाई जान्ने, बुझ्ने र रमाउने अवसर जुराइदिएन राज्यले।

थारू समुदायले ‘माघ’ मनाउने गर्छन्, ‘माघी’ होइन। भलै पूर्वी तराईका थारूहरूले माघ १ गतेलाई माघी भन्ने गरेका छन्, कसैले माघे संक्रान्ति भन्छन्। पश्चिम तराईका थारू समुदायमा भने ‘माघ’ नै भन्ने चलन छ। पश्चिम नेपालको थारू गाउँघरमा मनाइने ‘माघ’ अहिले अपभ्रंश भएर ‘माघी’ पर्व बनेको छ। यो पर्व मनाउने चलन राजधानीमा अझै व्यापक बन्दै गएको छ।

माघ नजिकिँदै गर्दा त्योसँग जोडिएको स्मृति ताजा भएर आउँछ। सबेरै उठेर नुहाएपछि आँगनमा दनदनी बलेको आगो छेउछाउ सबैजना बस्थ्यौं। घरमा पाहुनाहरू आउनेजाने क्रम चलिरहन्थ्यो। हजुरआमा हजुरबुवालाई ढोग्न र आशीर्वाद लिन छिमेकी र विशेषगरी ‘गोटियार’हरू आउँथे। आगो ताप्दै सबैजना सँगै बसेर ‘ढिक्री’ खान्थ्यौं। सानो छँदा मैले मनाएको माघको सम्झना यति हो मेरो।

स्कुलमा दसैं र तिहारबारे निबन्ध लेख्न सिकाइन्थ्यो। परीक्षामा पनि त्यही लेख्नुपर्थ्यो। तर, किताबको कोर्समा लेखिएजस्तो पर्व मनाउने चलन मेरो समुदायमा थिएन। सेलरोटीसहित थरीथरीको रोटी कहिल्यै देखेको थिइनँ। न त सुनेको नै थिएँ। परीक्षामा राम्रो अंक ल्याउन मैले त्यसबारे पढ्नुपर्थ्यो।

‘माघ’ पर्व घोंघीका लागि पनि चिनिन्छ। तर, आफूले खाँदै आएको घोंघी भने खान छाड्नु पर्‍यो। किनभने घोंघी खाँदा घिनलाग्दो शंखेकीरा खायो भनेर हेपिनु पर्थ्यो। खान छोडेँ। तर, हेपिन छाडेन। त्यसपछि यसै हेपिनु छ, उसै हेपिनु छ भन्दै फेरि घोंघी खान थालेँ।

देशमा थरीथरीका मानिस बसोबास गर्छन् र ती सबैको आआफ्नै महान् पर्व छ। तर, थारू पर्वबारे कहिल्यै स्कुलमा पढेको सम्झना छैन मलाई। आफ्नो समुदायको महान् पर्वका बारेमा कहिल्यै निबन्ध लेख्न भनिएन। त्यस बेला सिकाएको भए म ‘माघ’को बारेमा राम्रो लेख्थेँ हुँला।

पहिले र अहिले मनाइने ‘माघ’मा धेरै फरक भइसक्यो। माघलाई बुझ्ने, बुझाइने, मनाउने र प्रचार गर्ने शैली पनि निकै भिन्न भइसक्यो। माघलाई ढिक्री खाने, सेवा लाग्ने (ढोग गरी आशीर्वाद लिने) विशेष दिनका रूपमा र उकुवार भेट गर्ने (एकले अर्कोलाई अँगालोमा हाल्ने जस्तै) मनाइन्छ भन्ने कुराको चर्चा प्रायः कमै गरिन्छ। तर, माघलाई ‘माघको गुरी गुरी जाँर’ भन्दै बुझिने र प्रचार गरिने गरेको पर्याप्त मात्रामा पाइन्छ। माघलाई जिता मार्ने र सुँगुरको मासु खाने, ढिक्री र उकुवार भेटसँग जोडेर किन हेरिँदैन ? बहस गर्ने ठाउँ प्रशस्त छ। माघमा डफ (डम्फु) बजाउँदै धमार गाएको कतै सुनिँदैन। त्यो अब दुर्लभजस्तै भइसक्यो।

अहिलेको पुस्ता संस्कृति जोगाउने नाममा असली संस्कृति नै बुझ्न सकिरहेका छैनन्। जसको कारण ‘माघ’को असली स्वरूप जीवन मरणको दोसाँधमा पुगिसक्यो। अहिले ‘माघ’ पर्वले राजधानी बस्ने पूर्व झापादेखि पश्चिम कञ्चनपुर सम्मका थारू समुदायलाई एकापसमा जोड्ने काम गरेको छ। मलेसिया, कतार, अमेरिकालगायत प्रवासमा बस्ने थारूहरूले ‘माघ’ पर्व सामूहिक ढंगले मनाउन थालेका छन्। तर, ती केवल खानपिनमै सीमित छन्। प्रत्येक थारू गाउँमा गरिने वार्षिक समीक्षाको असल उदाहरण सहर नछिरेको देख्दा उदेक लाग्छ।

अन्तमा माघ १ गते हाम्रो महान् पर्वलाई जान्ने, बुझ्ने अनि रमाउने अवसरसमेत जुराइदिएन राज्यले। पुसको अन्तिम दिन थारू समुदायका निम्ति अति नै महत्वपूर्ण हुन्छ। तर, यस दिनको महत्व राज्यले बुझ्नै चाहेन।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2