MENU

कविता : अन्योल

patan-college

अविरल ओझेल शनिवार, पुस २९, २०७४ 288 पटक पढिएको

Share This

635-x-85

कविता

यहाँ

घोक्रै फुट्लाजस्तो गरेर

स्वयम् उस्तादले पनि

एकोहोरो बेसुरमा गाइरहेको बेला

भन्नुस्–

म कस्तो गीत गुनगुनाऊँ

 

गाउन त

देशद्रोहीले पनि

गाइरहेकै छन्, राष्ट्रिय गीत

 

यो घडीमा

कसरी जीवित रहन सक्छ

मभित्रको मेरो प्रिय गायक

 

भन्नुस्–

म कस्तो परिवर्तनको कथा लेखँ

जबकि

अझै पनि उस्तै छ

दिनदहाडै आँगनबाट चल्ला टिपिलाने

त्यो पापी चिलको बानी

हो, उस्तै छ

हाम्रा महाशयको

गद्दीको गन्धमात्रै सुँघिरहने बानी

 

फेरिनुको नाममा

बर्सेनि फेरिएको छ

फगत भित्ताको क्यालेन्डर

फेरिएको छ

पुरानो किताबको गाता

फेरिएको छ

यो नकचरो समयको नौटंकी अनुहार

 

तर,

कत्ति फेरिएको छैन

जति भारी बोके पनि नसुध्रिएको

गधाजस्तो भरिया जिन्दगी

जति हिँडे पनि कहीँ पुगेको छैन

एउटै अक्षरमा एकैनास घुमिरहेको

घट्टजस्तो मजदुर जिन्दगी

 

हेर्नुस् न–

यो बर्खेझरीमा पनि

बलेको बल्यै छ

मुस्कानको खरभीरमा लागिरहेको आगो

जसले गिज्याइरहेको छ

तापको स्वादै भुलिसकेको

शीतांग अँगेनोलाई

 

थाहा छैन

कसको आदेशमा बनाइएको होला

हामीलाई नै चोर औंला ठड्याइरहेको

महाराजको शालिक

 

अझै पनि

हाम्रै देब्रे छातिमाथि

किन पटकपटक परेड खेलिरहेको छ

पीरहरूको सिंगै पल्टन

 

म यस्तैयस्तै

अन्योलै अन्योलको गोलघरभित्र छु

 

अब भन्नुस्–

बाँसका खुट्टा हालेका

यी लम्बुहरूको भीडमा

किरा लागेको कटमारे चिन्तन बोकेर

म कस्तो कविता लेखँ

र सुनाऊँ सारा दुनियाँलाई ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2