MENU

बस्ती विस्तारले उजाड बन्दै चुरे

patan-college

मनिका झा शनिवार, पुस २९, २०७४ 186 पटक पढिएको

Share This

635-x-85

जनकपुरधाम : चुरे संरक्षणका लागि विभिन्न अभियान चलाइए पनि जंगल फँडानी गरी बस्ती विस्तार बढ्दै जाँदा चुरे वन क्षेत्र उजाड बन्दै गएको छ। कुनै बेला विभिन्न जडीबुटीले हराभरा र घना जंगल रहेको चुरे क्षेत्र संरक्षण अभावमा उजाड बन्दै गएको हो। चुरे संरक्षणका लागि चार वर्षदेखि राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम लागू भए पनि वन अतिक्रमण गरी बसोवास गर्दै आएकाहरू मुख्य समस्याका रूपमा रहेका छन्।

जैविक विविधताले भरिपूर्ण चुरे वनजंगल दिनानुदिन मासिँदै जाँदा यस क्षेत्रमा बाढी, पहिरो र भूक्षयले बर्सेनि तराईका हजारांै बिघा उर्वरभूमि मरुभूमि बन्दै गएको हो। वन क्षेत्र मासिएको कारण यस क्षेत्रमा हिउँदमै खानेपानी, सिँचाइ र वस्तुभाउलाई खुवाउने पानीको समस्या उत्पन्न हुने गरेको चुरे क्षेत्रअन्तर्गत पर्ने मिथिला नगरपालिका ११ तुलसी निवासी इन्दिरा बस्नेतले बताइन्।

चुरे क्षेत्रका डाँडा अतिक्रमणका कारण मासिँदै गएपछि यस क्षेत्रमा खेतीपाती गर्न निकै गाह्रो हुने गरेको र १२ औं महिना खानेपानीको हाहाकार हुने गरेको स्थानीय बताउँछन्। मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालय हेटौंडाका अनुसार चितवनदेखि धनुषासम्मका ८ वटा जिल्लामा रहेका ७ लाख २३ हजार ८ यस ४२ हेक्टर चुरे वन क्षेत्रमध्ये ११ हजार ३ सय ६८ हेक्टर वन अतिक्रमणको चपेटामा परेको छ। अतिक्रमित क्षेत्रमा १० हजारभन्दा बढी घरपरिवारको बसोवासका साथै खेतीपाती हुँदै आएको छ।

बिजुली, पानी, सडक, विद्यालय, स्वास्थ्यचौकीलगायत पूर्वाधार निर्माण गरिदिएकाले स्रेस्ता र प्रमाणबिनै वन क्षेत्रको घरजग्गा कपाली तमसुकका भरमा लाखौं रुपैयाँमा किनबेचसमेत हुँदै आएको छ। सबैको सहयोग भए मात्र अतिक्रमण हटाउन सकिने जिल्ला वन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्मा बताउँछन्। वन क्षेत्र अतिक्रमण गरी घर बनाउनेहरूलाई विभिन्न दलबाट राजनीतिक संरक्षण प्राप्त भएको हुँदा खाली गराउन निकै गाह्रो भएको शर्माले बताए। जिल्ला वन कार्यालयसँग स्रोतसाधन अभाव भएको हुँदासमेत अतिक्रमणकारीलाई हटाउन नसकिएको उनको भनाइ छ।

देशमा तीन तहको निर्वाचन सम्पन्न भएर राजनीतिक संक्रमण सकिएको हुनाले अब चुरेको अतिक्रमण हटाउन छिट्टै कार्ययोजना ल्याई काम अघि बढाइने शर्माले बताए। वन क्षेत्रलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला वन क्षेत्र अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलसमेत रहेको छ। तर, हालसम्म यस कार्यदलले वन क्षेत्र अतिक्रमण गर्नेलाई कारबाहीका लागि कुनै कदम चालेको छैन। मानवबस्ती विस्तारसँगै चुरे क्षेत्रको वनविनाश, चरिचरन, खोरिया फँडानी, ढुंगा, गिट्टी र बालुवा निकासीजस्ता अवैध कार्य प्राकृतिक विपत्तिको कारक बन्दै गए पनि यसको रोकथामका लागि स्थानीय निकायले पनि अहिलेसम्म कुनै ठोस काम गर्न सकेको छैन।

 

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2