MENU

कविता : हरियो पासपोर्ट

patan-college

माया केसी शनिवार, पुस २९, २०७४ 321 पटक पढिएको

Share This

635-x-85

हरियो पासपोर्ट बोकेर

सपना साट्न मुग्लान पसेको पनि

अब त दस वर्ष पुगिसकेछ

 

यी बितेर गएका दस वर्षभरि

कतिकति बिहानहरू आएर गए

कतिकति साँझहरू आएर गए

तर, आउँदै गएका यी साँझ–बिहानहरू

जम्मैजम्मै एकै प्रहर लागिरहे

 

मुग्लान पसेको पहिलो वर्षभरि त

प्रत्येक बिहानहरूमा खोज्दो रहेछु

प्रियाका चुराका छुन्छुने भाकाहरू

नेपथ्यमा बाबाको ख्वाक्क–खुक्क

र आमाका मिर्मिरे आदेशहरू

 

तर यहाँ त मसित थियो

मिर्मिरेमा मेरा सपना बिथोल्न आउने

मोबाइलको चर्को आलर्म मात्रै

 

विस्तारै वर्षहरू छोडिँदै गए

सधैंको जस्तो हरेक बिहान घरमा गुञ्जने

प्रिय ध्वनिहरू छोपिँदै गए मनको नेपथ्यमा

बरु हमला गर्दै आए नयाँ ध्वनिहरू

फरक–फरक भाषामा

 

ती आवाजहरू सुन्नुअघि नै

मनले अन्दाज गरिसकेको हुँदो रहेछ

छिटो गर

छिटो गर

र छिटो गर मात्रै

 

यता प्रत्येक वर्ष थपिइरहे

हरियो पासपोर्टका पानाहरूमा

मिति फेरिएका रङबिरङका लेबलहरू

तर

पासपोर्टको मेरो तस्बिर भने कहिले बदलिएन― लेबलहरूजस्तो

बरु हाँसिरह्यो मुसुक्क उही पुरानो तस्बिर

र सजिइरह्यो सधैं टाई–काटेमा

जसरी म मुस्कुराएको थिएँ फोटो खिच्नुअघि

ऋखे दाइको फोटो स्टुडियोमा

 

यो दस वर्षमा

यो परदेशमा

नीलो रङको युनिफमले

मेरो मन पनि नीलै भइसकेको छ अहिले त

यो एक युगमा म पनि फेरिएँ युगझैँ― नीलै नीलो भएर

 

जब प्रत्येक शुक्रबारे बिदामा फेरिने आफ्नै सर्ट–पाइन्ट हेर्छु

लाग्छ म दसैंमा नयाँ लुगा लगाइरहेको छु

 

परदेसिएको यो दस वर्षपछिको एक बिहान

सिरानीमा बजेको मोबाइलको घन्टीले

बिहानै ब्यँझन्छु म―

तर सधैझैं सपना बिथोल्न आउने आलर्म थिएन त्यो

थियो त घरबाट प्रियाले छाडेको एउटा प्रिय आवाज―

‘अब त फर्केर सँगै बसे हँदैन ? ’

 

प्रियाको मधुरो आवाज

कानबाट बेगले दौडेर

मनसम्मै पुगेर खजमज्ज भएर बस्यो

सोचाइले थिचिएँ म आफैं

फेरि सम्झिएँ एकपटक

बिर्सिसकेको प्रियाका छुन्छुने धुनहरू

नेपथ्यमा बाबाको ख्वाक्क–खुक्क

र आमाका मिर्मिरे आदेशहरू

 

अहो !

हरियो पासपोर्ट बोकेर

सपना साट्न मुग्लान पसेको पनि

दस वर्ष पुगिसकेछ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2