MENU

ट्याक्सी मिटरमै चलाउने सहमति

patan-college

केशवशरण लामिछाने शनिवार, पुस २९, २०७४ 449 पटक पढिएको

Share This

635-x-85

 

पोखरा : ट्याक्सीमा मिटरका आधारमा भाडा लगाउने सहमति भएको छ । ट्याक्सीलगायत यातायात व्यवसायी र जिल्ला प्रशासन तथा प्रहरीले शुक्रबार यससम्बन्धी सहमति गरेका हुन् । मिटरका आधारमा ट्याक्सी भाडा नलिएको आरोपमा मंगलबार १८ जना चालक पक्राउ परेपछि व्यवसायी तथा चालक आन्दोलित थिए ।

महानगरको चल्तीको चोक पृथ्वीचोकमा बुधबार सडक जाम गरेर हडताल गरेका ट्याक्सी चालकविरुद्ध प्रहरी खरो उत्रिएपछि अरू सार्वजनिक यातायात व्यवसायीले समेत सेवा अवरुद्ध गरेका थिए । त्यस विषयमा बिहीबार र शुक्रबार दुई चरणमा वार्ता भएको थियो । शुक्रबारको वार्तामा तत्कालै ट्याक्सीको भाडा मिटर सिस्टमकै आधारमा लागू गर्ने र प्रशासनले भाडा समायोजनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गर्ने सहमति जुटेको हो ।

मिटर सिस्टम लागू गराउने भन्दै ट्याक्सीचालक तथा व्यवसायीको आन्दोलन विफल पार्न आफैं फिल्डमा उत्रिएका कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले मिटरमा नचलाए कारबाही गर्ने बताएका छन् । ‘हाम्रो काम कानुन पालना गराउने हो । त्यही गरेका थियौं र गर्छाैं’, उनले भने, ‘फेरि पनि ट्याक्सी मिटरमा नचलाए कारबाही हुन्छ ।’

सरकारले तोकेको भाडादरमै ट्याक्सी चलाउने र भाडा समायोजनका लागि सिफारिस गर्ने सहमति बनेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए । अहिले ट्याक्सी चढ्नासाथ १४ रुपैयाँ र प्रतिकिलोमिटर ३७ रुपैयाँ लाग्ने गरी सरकारले भाडा निर्धारण गरेको छ । व्यवसायीले भने पाँच वर्षदेखि भाडा समायोजन नभएको भन्दै त्यतिमा यात्रु ओसारपसार गर्न नसकिने बताउँदै आएका थिए ।

पोखरा ट्याक्सी व्यवसायी समितिका सचिव तुलसी दाहालले प्रशासनले बल प्रयोग गरेर मिटर सिस्टम लागू गर्न बाध्य पारेको प्रतिक्रिया दिएका छन् । व्यवसायीले पोखरामा धेरै कच्ची बाटो रहेको र भनेको बेला भनेको ठाउँमा यात्रु पनि नपाइने हुँदा मिटरका आधारमा सेवा दिँदा घाटा हुने बताएका छन् । ०६९ सालदेखि भाडा समायोजन नभएको यातायात व्यवसायीको गुनासो छ । ‘त्यसयता पार्टपुर्जाको भाउ बढेको छ, महँगी बढेको छ’, समितिका अध्यक्ष प्रकाश तिवारी भन्छन्, ‘प्रत्येक असार मसान्तमा भाडा समायोजन गर्ने भनेको सहमति कार्यान्वयन भएको छैन ।’

ट्याक्सी व्यवसायीले पोखरामा नगर बसको भाडा प्रतियात्रु न्यूनतम १४ रुपैयाँ रहेकोमा ट्याक्सी पनि चढ्नेबित्तिकै त्यति रुपैयाँ मात्रै लिनुपर्ने अवस्था रहेकोमा गुनासो गरेका छन् । ‘१४ रुपैयाँ तिरेर ४ यात्रु चढ्न मिल्छ’, समिति सचिव दाहाल भन्छन्, ‘बसभन्दा ट्याक्सी सस्तो भएको छ ।’

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2