MENU

अनशन बसिरहेको धरान

patan-college

राजन मुकारुङ शनिवार, पुस २९, २०७४ 636 पटक पढिएको

Share This

635-x-85

सहर

कला–संगीतको सागर, अरुण सुसाउँदै सप्तकोसीको बाँध फुटेर कताकता भँगालाहरू छुटे ? यसको इतिहास लेख्ने विद्वान्हरू कुन क्याम्पसमा हाई काढ्दै छन् ? काव्यमा आगो अर्थात् क्रान्तिको खेती गथ्र्यो धरान। कठै ! कसरी निभ्यो त्यो आगो ?

ठीक यति बेला

भानुभक्तको सालिकदेखि ठीक बायाँपट्टि त्रिपाल टाँगिएको छ। त्रिपालमुनिको भित्तोमा ‘धरान प्रदेश नं. १ को राजधानी बनाऔं अभियान’ लेखिएको ठूलो फ्लेक्स छ। धरानकै केन्द्रबिन्दु मानिने भानुचोक वरपरका भित्ताहरू, बारहरू वा रेलिङहरू यस्ता फ्लेक्सहरूले झिलिमिली नै छ, विभिन्न संस्थाहरूको नामले भरिभराउ छ। एक प्रकारले उत्सवमय लाग्छ धरान।

‘पूर्णेको जूनजस्तै तिमी ममा छायौ

खुसीको बहार ल्यायौ, यो मेरो जीवनमा

बसैको हरन

घुम्न जाऊँ धरान।’

पुसको जाडो, हुस्सु लागेको बिहान, बिहानैदेखि यो गीत बज्न थाल्छ भानुचोकमा। राजेशपायल राईको स्वरमा उसै जादु छँदै छ, जोकोही एकपल्ट टक्क रोकिएर गीत सुन्छन्। अनि ‘धरानको बजारैमा, माया बस्यो एकै नजर’मा बज्छ। बज्छन् धरानलाई सम्बोधन गर्ने गीतहरू। बीचबीचमा धरानलाई राजधानी बनाउनुपर्ने कारणसहितका ‘रेकर्डेड’ तर्कहरू बज्छन्। घरिघरि त यस्तो उद्घोषण पनि हुन्छ – ‘ओ दाइ, ए दिदी, हस्ताक्षर गरेर जानुस् ! पैसा लाग्दैन।’

साँझ ५ बजेसम्म चल्छ यस्तो रीत।

गज्जब त के छ भने विभिन्न पार्टी, पेसा र तह–तप्काका महोदयहरूले जनाउने ऐक्यबद्धताको भाषण झनै रोचक र घोचकका हुन्छन्। राजनीति गर्नेहरूका लागि त भोट जोगाउनै छ, चर्को बोल्नै प¥यो, बोलिहाल्ने भए। तर, ती जसलाई राजनीति गर्नु छैन, भोट जोगाउनु छैन, तिनले पनि आफ्नै उत्तेजनाले जे–जसरी बोल्छन्, त्यो भने घतलाग्दो लाग्छ। जस्तो कि एक वृद्धले भाषण गर्दागर्दै यस्तो बोलेका थिए, ‘विराटनगर र इटहरीमा जस्तो डुबाउ हुँदैन धरानमा। जति नै ठूलो पानी परे पनि एकैछिनमा फिलित्तै सुक्छ। जेन्टलमेनहरू हो, धरानमा त छेछेतीका देउताहरू छन्। त्यसैले धरानलाई राजधानी बनाउनैपर्छ।’

‘रिले अनशन’मा बसिरहेकाहरूलाई अझ जोश भरिदिन उनले यस्तो भाषण गरेका हुन्। हो, ती वृद्धको आशयमा प्रदेशको राजधानी इटहरी र विराटनगर पो बन्ने हो कि भन्नेप्रति तीव्र विरोध छ। माथि धनकुटावासीले सडक बन्द गरेर हैरानै गरिसके। कतै राजधानी उँभै पो हुने हो कि ? संशय पैदा भएको छ र आफ्नो सहर या ‘पायकमा हुनपर्छ’ भन्ने आवाज धरानका जनताहरूको हो। सीधा अर्थमा यति बेलाको धरानको मनोविज्ञान यही नै हो।

आगो उमार्ने सहर

भन ए तातो रगत भएका

जिउँदो मानव सन्तान हो

कसरी हेर्न सक्छु

आठै प्रहर

चौबीसै घन्टा

मेरै मृत्यु भइरहेको ?

लुटिएको,

निर्धो श्रमिक म

मैले चोला फेर्न

यहाँ आगो उमार्नै पर्छ।

आजभन्दा ठीक ४१ वर्षअघि ‘आगोको खेती’ शीर्षकमा लेखिएको कविता हो यो। उबेला कविको नाम दर्शन राई थियो। त्यो बेला उनको यो भूमिगत नाम थियो। मालेकालीन संगठनको एक क्रान्तिकारी विचारको नाम थियो। तीस सालमै ‘हाम्रो गीत, हाम्रो आवाज’ कृति निकालेर दर्शन राई माले पार्टीमा चर्चित थिए। धरान–धनकुटा मात्रै होइन, पूर्वका सबै जिल्लामा उनी नचिनिएका थिएनन्। एक जुझारु युवा, उनको लाल क्रान्तिकारिता सबैमा परिचित थियो। र, आम साथीभाइ बीचमा अर्का नाम पनि उसैगरी परिचित थिए— बम देवान। उनै दर्शन राई, उनै बम देवान, खासमा दुई व्यक्ति थिएनन्। एकै व्यक्ति थिए— बम देवान उर्फ दर्शन राई।

कवि वेणु आचार्य छन्, कृष्ण पाख्रिनको नाम उसै चर्चित थियो। गोविन्द विकल थिए र कुन्ता शर्माहरू अझै छन्। कुन्ता शर्माको ‘पोथी बास्नु हुँदैन’ शीर्षकको कविता यहीँ जन्म्यो र यो कविताले नेपाली कवितामै ऐतिहासिक तरंग ल्याइदिएको हो। विमल गुरुङले किशोर उमेरमै बेजोड कविता लेखेको यही धरानमा हो।

त्यसो त पन्ध्र वर्षअघिसम्म कवि उपेन्द्र सुब्बा धरानमै थिए। उनले जीवन्त गीतहरूको पोको यही धरानमा बाँधेका हुन्। उनका चर्चित कवितामध्ये ‘भेडेटारको पिकनिक’ र ‘साँल्दिज्यू, एक ट्वाक चढाऊँ कि ? ’ यही धरानले जन्माएको हो। यहीँ थिए कवि रक्ष राई। देश सुब्बाले ‘अपमान’जस्तो शक्तिशाली उपन्यास लेखेको यही धरानमा हो। प्रदीप मेयाङ्बो, देवान किराती, जनकऋषि राई, जस बेखर्ची, विमला तुम्खेवा, शकुन्तला जोशी, सुदीप पाख्रिनहरूको ठूलो हाँच थियो धरानमा।

हो, सिर्जनाको सहर थियो धरान। बम देवानको कविताजस्तै ‘आगो उमार्ने’ सहर थियो धरान।

कलाप्रतिको क्रेज

अहिले बेलायतमा रहेकी शशी थापा सुब्बा पुराना कुरा यसरी सम्झन्छिन्, ‘२०४० सालताका धरानका गीत–संगीतलाई माया गर्ने दाइहरू काजीमान लिम्बू, विजय राई र देवेन्द्र थापाहरूको पहलमा एउटा देउसे टोलीको निर्माण भयो। अम्रिता थापा, शारदा सुब्बा, तारा राई, पवित्र सुब्बा र शशी सुब्बा, सुनिल सुब्बा, दिलबहादुर गुरुङ, विनोद राई, भीषण थापा र विनोद थापालगायत थुप्रै युवकयुवतीको जमातले गीत र नृत्य प्रस्तुत गरेर देउसी खेल्यो ! उठेको पैसाले शारदा सुब्बाद्वारा लिखित ‘देउरालीमा एक थुंगा फूल’ नाटक मञ्चन गर्‍यो। सैनिक भवन सञ्चालन गरिरहनुभएका भूपू ब्रिटिस लाहुरेहरू प्रेम सुब्बा, प्रेम राई, इन्द्रहाङ लिम्बू लगायतले साथ दिनुभयो। पल्टनका अनुभवहरूका कारण मञ्च साजसज्जा र कलाकारहरूको रेखदेख गर्ने जिम्मा उहाँहरूकै थियो।

नाटकमा शोभा खजुम, सुनिल सुब्बा, पवित्र सुब्बा, दिलबहादुर गुरुङ, तारा राई, कला सुब्बा, शशी सुब्बा लगायतका कलाकारले अभिनय गरेका थिए ! यो नाटक झन्डै तीन हप्ता मज्जाले चलेको थियो। त्यसपछि राजकुमार मागेनको लेखन र निर्देशनमा ‘विवश आकास’को मञ्चन भयो। यो नाटकबाट नयाँ कलाकारहरू शारदा शाक्य, प्रेम सुब्बा, मिलन राई, राज थापाहरूको उदय भयो। यो नाटक पनि १५ दिन चल्यो। दर्शकहरूले टिकट काटेरै नाटक हेरे, टिकट बेच्न जानु नपर्ने भयो। त्यसपछि भने नवीन सुब्बाको आगमन भयो र ‘अनाम नाट्य जमात’को स्थापना २०४४ सालमा भयो।’

अहिले उनै नवीन सुब्बाले नेपाली चलचित्र क्षेत्रमा नवीन सौन्दर्य मात्र निर्माण गरेनन्, नयाँ विचारधाराको बहस पैरवी गरेर नयाँ मान्यता नै स्थापित गरिसकेका छन्। उनको पाइला पछ्याउँदै आउने नयाँ पुस्ताको लहर देख्दा लाग्छ, कलाका माध्यमबाट नै हामी बदल्न सक्छौं हाम्रो समाजलाई।

खोकु–छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा

मन सबको रुन्छ कि दुःख बिसाउँदा

किशोर थुलुङले यो गीत सबभन्दा बढी यही धरानमा गाएका छन् र धराने जनतालाई निरंकुशताविरुद्ध उत्रिन झक्झक्याएका हुन्।      

हो, कुनै बेला कन्सर्टको सहर थियो— धरान। माहोल ठूलो थियो, ठूल्ठूला सांगीतिक कन्सर्टहरू हुन्थे। सांगीतिक जीवन रोज्नेहरूको पहिलो सपना हुन्थ्यो— धरानको कुनै कन्सर्टमा गीत गाउने। धरानको स्टेजमा आफ्नो गला सुनाउने, कला देखाउने। हो, दीप श्रेष्ठले यहीँबाट आफ्नो सांगीतिक जीवन सुरु गरेका हुन्। गंगा वरदानले यहीँबाट ‘छपनीले छान छान’को मेलो थालेका हुन्। सबिन राईको ‘गुराँसको फेदमुनि...’ले यहीँबाट जीवन पाएको हो। पहिलो नेपाली तारा दीपक लिम्बूको गोरेटो यहीँबाट लम्बिएको हो। राजेशपायल राई हुन् या धीरज राई अथवा नवीन के भट्टराई नै किन नहुन् ? यिनलाई धरानकै कन्सर्टले आफ्नो सांगीतिक जीवनमा अरू ऊर्जा थपिदिएको सत्य हो।

हो, धरानमा कलाप्रतिको क्रेज साँच्चिकै लोभलाग्दो थियो। समुदायकै बीचबाट मात्रै पनि हाम्रा कला, सिर्जनाहरूले अगाध माया पाएका थिए। तंग्रिने, हुर्किने र फड्को मार्ने अवसर पाएका थिए।      

लाहुरे सहर

हो, धरानलाई लाहुरेहरूको सहर भनिन्थ्यो। अचेल अलि कम भनिन्छ, अवस्था त्यस्तै भएको छ।

घोपामा ब्रिटिसको क्याम्प थियो। ब्रिटिस–लाहुरे हुन चाहने युवाहरू सबैको अन्तिम खुड्किलो थियो धरान। ती युवाहरूले यहीँबाट आफ्नो भाग्य कोर्थे। लाहुर लाग्दालाग्दै पछिको ‘रिटायर्ड लाइफ’ यही धरानमा बिताउने संकल्प पलाइहाल्थ्यो।

तब– पल्टनमा छँदाछँदै घर–घडेरी जोड्न थालिन्थ्यो। फलतः तिनै लाहुरेहरूले विदेशमा देखेका डिजाइनका आधुनिक घरहरू बनाए, बस्ती बाक्लियो। आधुनिक भवन र बस्ती मात्रै होइन; तिनले विदेशमा जानेका नयाँ सीपहरू, संस्कृतिहरू पनि भित्र्याएका थिए। लवाइ, खुवाइमा त्यसको प्रभाव स्वतः छर्लंगै आइहाल्ने भयो, आइहाल्थ्यो। अरूहरूले पनि सिको गर्ने नै भए। बाँच्ने शैली र तरिकाहरूमा फरक आयो नै।

थोरै नै किन नहोस् ? आर्थिक सन्तुलन थियो नै। समाजसेवामा मात्रै होइन, धरानको आन्तरिक विकासमा पनि लाहुरेहरू पछि हटेनन्। अधिकांश भित्री सडकहरू जहाँ उनै लाहुरेहरू बस्थे, उनीहरूले सरकारी मुख ताकेनन्, आफ्नै बुतो र बर्कतमा चिल्ला बनाए। यसले धरान साँच्चिकै सफा सहर बन्यो। तब त लाहुरे सहरको पहिचान पायो धरानले।

थलामा पहिचान

लिम्बूवानले राजधानी दाबी गर्ने ठाउँ— धरान।

खम्बुवानले राजधानी दाबी गर्ने ठाउँ— धरान।

किरातले राजधानी दाबी गर्ने ठाउँ— धरान।

सबैको आ–आफ्नै दाबी गर्ने तर्क र तथ्यहरू छन्। बलियै लाग्छन्। आ–आफ्नै दम्भका निकै ठूल्ठूला आन्दोलन र शक्ति प्रदर्शनहरूसमेत भएका छन्।

पछिल्लो संविधानसभाको चुनावसम्म पूर्वमा पहिचानको राजनीति जे–जसरी उछालियो, धरान नै केन्द्रमा रहेको हो। ‘लाहुरेहरूकै आड–भरोसाका कारण यसो भएको हो’ भन्नलाई साँघुरो मन गर्नै पर्दैन। लाहुरे परिवारका विशेषतः आदिवासी– जनजातिहरूको बढी जनघनत्व हुनु र उनीहरूमा विकसित जातीय भावनाले यस्तो भएको पक्कै हो। तिनै समुदायका मान्छेलाई नेतृत्वका लागि अघि सार्नुपर्ने मनोविज्ञान व्याप्त भएकै हो। त्यसको तुष अझै छ, देखिन्छ। जस्तो कि भर्खरै सम्पन्न चुनावमा पनि लोकतान्त्रिक गठबन्धनले अशोक राई र वाम गठबन्धनले जयकुमार राईलाई उम्मेदवार नबनाई धरै भएन। यी दुई राईलाई एकआपसमा भिडाउनु केवल काकताली भन्नै मिल्दैन। यो त बाध्यता नै थियो। हिजो पञ्चायतकालदेखि नै यो क्रम यहाँ चलिरहेछ। जातीय संवेदनालाई भोट बैंक मान्ने गरिएकै छ। र प्रायः यहाँको परिणाममा उलटपुलट नै नभए पनि असर भने देखिने गरिएकै छ।

हो, अहिले ‘राजधानी’ मात्रैको सर्तमा छ— धरान। हिजोका एक्लाएक्लै, आपुंगी आन्दोलनहरूले थचारिएर पहिचानको मुद्दा त थला नै परेको छ। नेतृत्वले गम खाएकै छैन, न चेतेकै छ। अशोक राई हार्दा ‘आइसक्रिम (चुनावचिह्न मशाल)’ मात्रै हारेको ठानियो। जातिवादी मान्छे हारेको ठानियो। चुनावमा हार्नु र जित्नु स्वाभाविक भए कुन विचारधारा वा संघर्षको पोल हार्‍यो भन्ने महत्वपूर्ण कुरा हो। अशोक राई एक व्यक्ति मात्र थिएनन्, पहिचानको मुद्दाका साझा विम्ब पनि थिए। उनैले हार्दा उनलाई मत दिने धरानेहरूमा हारको धमिलो छाया गडिरहेकै छ। भुसको आगो भने जरुर सल्किरहेको छँदै छ।

रागको राजधानी

कुनै समय कोसी अञ्चलको सदरमुकाम धरानमै थियो। धरानमा रहेको क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारियो, राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर लगियो। प्रमाणपत्र तहसम्म अध्ययन हुने मेडिकल कलेज काठमाडौंको महाराजगन्ज गयो। नापतौल तथा गुण नियन्त्रण विभागको क्षेत्रीय कार्यालय विराटनगर सर्‍यो। क्षेत्रीय अस्पताल विराटनगरमै गाभियो। अञ्चल अदालत थियो, बहुदलपछि पुनरावेदन अदालत नामकरण भएर विराटनगरतिरै दगुर्‍यो। ब्रिटिस घोपा क्याम्प थियो, पोखरा हाँकियो। खाद्य प्रयोगशालाको क्षेत्रीय कार्यालय, कृषि विकासको क्षेत्रीय कार्यालय, विराटनगरतिरै पुर्‍याइयो। यातायात कार्यालय इटहरी झर्‍यो। पछिल्लो समय नेपाल टेलिकमको लेखा तथा प्रशासन फाँटले पनि इटहरीतिरै कुलेलम ठोक्यो। फुसे्रको जनरल कार्यालय खुम्चिएर विपत् व्यवस्थापन नामको सानो टुकडी भएको छ। सबभन्दा भयानक दुःखको कुरा त उनै लाहुरेहरू जो धरान छाडेर बेलायत गइसके। प्रश्न गर्न मन लागिहाल्छ— यत्रो भइन्जेलचाहिँ के हेरिबसेको नि ?

अब त बाँकी केवल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै छ जो प्रायः बन्द, हडताल, तालाबन्दी गर्दै धरमर गरिहेको हुन्छ। तब— जतिसुकै समृद्ध र सक्षम छौं भने पनि अब त सबै कुराले छाडिगएको राग मात्रै बाँकी छ, यथार्थ यही त हो धरानको।

अन्त्यमा

अब बीस रुपियाँको टिकट काट्नोस् ! भानुचोकमै उभिएको घन्टाघरमाथि चढेर हेर्नोस् ! तब देख्नुहुन्छ—

मध्य बजारको बीच सडकमा छ भानुभक्तको सालिक। त्यसैको पूर्वी किनारामा समयको सूचना दिँदै बज्ने घन्टाघरप्रति कसैलाई वास्ता छैन, रहँदैन। किनभने, सफारीवालाहरूको चिच्चाहट, टेम्पोचालकहरूको कर्कशता, ग्राहक कुरिरहेका भाडाका भेनहरू अनि साँगुरो बसपार्कमा अटेसमटेस गाडीहरू, यी सबैले थिलथिलो बनाइदिएको छ। यस्तरी कुरूप बनाइदिएको छ कि पहिलोपल्ट भानुचोकमा पाइला टेक्नेहरूका लागि ठूलो धोका हुनेछ धरानमा।

अहो ! त्यो कला–संगीतको सागर, अरुण सुसाउँदै सप्तकोसीको बाँध फुटेर कताकता भँगालाहरू छुटे ? यसको इतिहास लेख्ने विद्वान्हरू कुन क्याम्पसमा हाई काढ्दै छन् ? काव्यमा आगो अर्थात् क्रान्तिको खेती गथ्र्यो धरान। कठै ! कसरी निभ्यो त्यो आगो ? समालोचकहरू कुन वादको टाँगो टाङ्दै छन् ? के ‘विमल स्मृति पुस्तकालय’ले मात्रै धानिदिनुपर्ने हो र काव्य–गोष्ठी ? भित्री सडकहरू कालोपत्रे गरेको ६ महिनामै किन खस्रा हुन्छन् ? कसले खबरदारी गर्ने ? सरकारी मुख ताक्नेहरूको लाम मात्रै किन लामो हौ ? धरानको शैशवतामा सभ्यता सिकाउनेहरू उता बेलायतमा वृद्धभत्ता थापिरहेका छन्, तिनलाई फर्काउने के भाव छ धरानसित ? कुन बेला भुसभित्र बलिरहेको पहिचानको आगो ह्वार्रै बल्ने हो ? कुन विचारको वारुणयन्त्र छ धरानसित ?             

अन्यथा नलागोस् ! बूढा सुब्बाको आशिकले मात्रै धान्दैन, न त पिण्डेश्वरी, दन्तकालीहरूकै मात्र धाकरवाफले हुन्छ। बर्खामा तर्नै नसक्ने बाढी आउँछ— सेउती र सर्दुमा। हिउँदमा तिर्को पानी हुने होइन। किनारामा बस्ने बीसौं हजार सुकुमबासीहरूले कहिले पाउने धनीपुर्जा ? जसरी आउँछ बर्खे बाढी, अनि बगर मात्रै छाडिराख्छ हिउँदमा, त्यसै पो हुन्छ कि ‘राजधानी’ मागको आन्दोलन ?

अनि त भन्न मन लाग्छ— बित्थैमा अनशन बसिरहको छ धरान तर पनि बसिरहेकै छ त।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2