MENU

विद्युतीय प्रविधिमा तरकारी खेती

patan-college

माया अधिकारी शनिवार, पुस २९, २०७४ 718 पटक पढिएको

Share This

635-x-85

 

कुस्मा : कुस्मा नगरपालिका ३ आम्बोटमा पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले यो वर्ष ४५ लाख रुपैयाँ आम्दानी गरेका छन् । १५ रोपनी जग्गा भाडामा लिएर नमुना अर्गानिक फार्म चलाएका हरिजनले गत वर्ष ३५ लाख रुपैयाँ आम्दानी गरेका थिए । उनको बारीका टनेलमा बाह्रैमास गोलभेंडा फल्छ । मौसम अनुसारका तरकारी, काँक्रा, घिरौंला, बोडी, सिमी, खुर्सानी, साग, काउलीलगायत फलिरहेको हुन्छ । फार्ममा उनले माछापालेका छन्, केरा लगाएका छन् अनि कुखुरा पनि पालेका छन्।

गोलभेंडाको एउटै बोटबाट २० किलोसम्म उत्पादन हुने गरेको सगर्वले बताए । ‘नयाँँ प्रविधि प्रयोग गर्दा उत्पादन बढ्दो रहेछ’, कृषि व्यवसायी हरिजनले भने । उनले पर्वतमै पहिलोपटक विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक’ भित्याएका हुन् । यो प्रविधिमा बिरुवालाई चाहिने खाद्य तत्व पानीमा मिलाएर सिँचाइ गरिन्छ । हरिजनले दुईवटा फलामे स्ट्यान्डको सहारामा ३ मिटर लम्बाइ, ३ इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गरेका हुन् ।

एउटा स्ट्यान्डमा परीक्षण सफल भएपछि हरिजनलगत्तै करिब दुई रोपनी जमिनमा यस्तै स्ट्यान्ड बढाउने सोचमा छन् । सात तलाको स्ट्यान्डको दुईतर्फ तरकारी रोप्न सकिने भएकाले सामान्यभन्दा सात गुणा बढी उत्पादन लिन सकिने उनले बताए । थोरै जमिन हुने र बजारमा करेसाबारी नहुनेका लागि यो प्रविधि तरकारी उत्पादनका लागि प्रभावकारी हुने कृषि प्राविधिकको भनाइ छ । ‘विकसित मुलुकमा यो प्रविधि धेरै पहिलादेखि व्यावसायिक बनेको छ’, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘हामीकहाँ भर्खर परीक्षण हुँदै छ । करेसाबारी नहुनेले छतमा तरकारी लगाउन यो प्रविधिको खेती उत्तम हुन्छ ।’

करिब डेढ मिटर उचाइको स्ट्यान्डमा दुवैतर्फ ३–३ वटा पीभीसी पाइप अड्याएर ३० इन्चको फरकमा पारेको प्वालमा प्लास्टिक कपको पिँध चिरेर तरकारीको बिरुवा रोपिन्छ । सोलारमा जडित सानो मोटरले ड्रममा खाद्यतत्व मि िश्रत पानी पाइपमार्फत बिरुवाको फेदसम्म पुर्‍याउँछ । बढी भएको पानी प्रत्येक बिरुवामा घुम्दै ड्रममै फर्किन्छ । दैनिक दुई घन्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने सिस्टम बनाइएको हुन्छ ।

हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुस्मा बजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला कास्कीको पोखरामा समेत बिक्री हुने गरेको छ । पोखरा–बागलुङ राजमार्गको छेवैमा रहेको उक्त फार्ममा उत्पादित कृषीजन्य वस्तु ढुवानीमा कुनै समस्या छैन । उनको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । फार्ममा चक्रीय प्रणालीमा तरकारी लगाउने गरिएको छ ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2