MENU

मधेसी समाजको पछिल्लो तस्बिर

patan-college

रामदयाल राकेश आइतवार, पुस ३०, २०७४ 741 पटक पढिएको

Share This

635-x-85

समाज सञ्चरणशील र परिवर्तनशील हुन्छ। समाजमा उत्थान–पतन, उत्कर्ष–अपकर्ष, उन्नति–अवनति, हार–जित, विजय–पराजयको क्रम निरन्तर गतिमान हुन्छ। हरेक समाज मानिसको समवाय हो, समूह हो र यसमा मानिस आफ्नो सुरक्षाका लागि बस्न रुचाउँछन्। सृष्टिको उषाकालदेखि मानिस समूहमा बस्दै आएको छ। यसमा उसको निजी र निहित स्वार्थ हुन्छ भने उसको सबै आवश्यकता पनि परिपूर्ति हुने गर्छन्। समाज अभावमा मानव जीवन असम्भव नै हुन्छ। एकैपटक अभूतपूर्व परिवर्तन असम्भव हुन्छ। सामाजिक मानमर्यादा, मूल्यमान्यता तथा आदर्शमा परिवर्तन हुने गर्छ। प्राचीनकालीन सामाजिक मानमर्यादा यथावत् रहेन कुरो भएन। सामाजिक मूल्यमान्यता तथा आदर्शमा क्रमिक परिवर्तन हुँदै जान्छ। हिजोको मूल्य र मान्यता तथा आदर्श आजको सन्दर्भमा यथावत् रहन सक्दैन। एउटा पाश्चात्य विद्वान्को मतमा मानवीय मूल्य एउटा यस्तो भाँडोमा छ, जुन चुहिराखेको छ। यस अर्थ र सन्दर्भमा मधेसी समाजमा पनि परिवर्तनको लहर चल्दै आएको हामी पाउँछौं।

परिवर्तनको पछाडि माओवादीका क्रियाकलाप र गतिविधिको प्रमुख भूमिका छ। माओवादी आन्दोलन जबदेखि सुरु भयो तबदेखि मानवीय मूल्य र मान्यता तथा आदर्शमा खडेरी आयो। आदर्शको भव्य एवं दिव्य अट्टालिका भग्न हुन थालेको हामी पाउँछौं। प्राचीनकालका कुरा धेरै पुरातन भइसके, मध्यकालीन मूल्यमान्यता पनि मक्किँदै गएको स्पष्ट छ। जीवनका हरेक क्षेत्रमा परिवर्तनको लहर लहरिँदै गएको छ। शिक्षा, स्वास्थ्य, सञ्चार, धर्म, कर्म, सबै क्षेत्रमा परिवर्तनको अनुभूति सहजै देखा पर्न थालेको छ। प्राचीन सामाजिक व्यवस्था अहिले भताभुंग हुन थालेको छ। प्राचीन र मध्यकालीन समाजमा शिक्षा अभावले अन्धविश्वास थियो। सामाजिक क्षेत्रमा सती प्रथाको प्रचलन थियो। बालविवाह पनि उत्तिकै प्रचलित थियो। दाइजो प्रथा पनि समाजमा कुष्ठरोग जस्तै थियो। मधेसी समाजमा अहिले पनि दाइजो प्रथा उन्मूलन पूर्णरूपमा भएको छैन। आज पनि शिक्षित समाजमा दाइजो प्रथा कुनै न कुनै रूपमा व्याप्त छ, जुन चिन्तनीय विषय हो। दाइजोरूपी दानवले अझ पनि मधेसी समाजलाई तर्साएर, गाँजेर राखेको छ। बोक्साबोक्सी जस्तो अन्धविश्वासले पनि मधेसी समाजलाई कम दुःख दिएको छैन।

मधेसी समाजलाई सताइराख्ने अर्को समस्या थियो छुवाछूतको। एउटै पँधेरामा पानी लिन पाइँदैनथ्यो एक समय, तर अहिले यो समस्या छैन। पानी चल्ने र नचल्ने जातमा अब भिन्नता छैन। मधेसी समाजमा मानव मूल्यमान्यता, आदर्श र विश्वासमा ह्रास आइरहेको छ। मान्यवर र आदरणीय व्यक्तित्वप्रति आदरभाव दिनानुदिन घट्दै गएको छ। छोराले बाबुलाई नटेर्ने र वास्ता नगर्ने सामान्य भइसकेको छ। यसले मधेसी समाज कता गइरहेको छ भन्ने इंगित गर्छ।

मधेसका बहुसंख्यक गाउँ आज पनि दिसामुक्त हुन सकेका छैनन्। अहिले पनि मधेसीहरू लोटा लिएर खेतमा दिसा गर्न जाने प्रचलन छ। किनकि सबै गाउँमा शौचालयको व्यवस्था छैन। तैपनि विगतको तुलनामा गाउँलेमा यसप्रति जागरुकता भने बढ्दै गएको छ।

राजस्व (रेमिटेन्स) बाट मधेसको कायापलट हुने सम्भावना बढेको देखिन्छ। विगतमा मधेसमा धान काट्न छिमेकी भारतबाट मजदुर आउने गर्दथे तर अहिले ठीक यसको उल्टो भएको छ। पन्जाबमा गहुँखेती प्रसिद्ध भएकाले त्यो मौसममा मधेसी मजदुर उतै जाने गर्छन् र त्यसबाट राम्रो कमाइ गरिराखेका छन्। उनीहरूको जीवनस्तर मात्र होइन, जनचेतना पनि बढ्दै गएको छ। पन्जाबबाट यिनीहरू रेडियो, ट्रान्जिस्टर, मोबाइल, घडी आदि खरिद गरेर मात्र ल्याउँदैनन्, नगद पनि जम्मा गरेर ल्याउँछन्। जसबाट जग्गाजमिन खरिद गर्छन्। यसबाट उनीहरूको आर्थिक स्थितिमा सुधार भइराखेको छ। मधेसीहरू खाडी मुलुकमा गएर पनि राम्रो आम्दानी गरिरहेका छन्। मधेसीहरू कुशल मजदुर नभएर पनि परदेशमा गई राम्रो आम्दानी गरिरहेका छन्। त्यसैले त मधेसीको आर्थिक स्थितिमा निकै सुधार भइराखेको छ।

मधेसी समाज निर्माणका नाममा धेरै आन्दोलन भए, धेरै मधेसीले बलिदान दिए। मधेसको नाममा सिंगो राष्ट्र स्तब्ध भयो तर पछिल्लो मधेसी समाजको यो तस्बिर हेरिरहँदा मधेस कता जाँदैछ भन्ने सन्देश प्रवाह हुन्छ।

मधेसमा शिक्षा क्षेत्रमा जागरुकताको ज्योति फैलिएको छ। गाउँगाउँमा प्राथमिक विद्यालय खुलेका छन्। तर यी विद्यालयमा न शिक्षक हुन्छन् न त विद्यार्थी। यी विद्यालयमा राजनीतिक कार्यकर्ताको हालीमुहाली चल्छ। सरकारी अनुदान पनि यी झोले विद्यालयले पाउँछन्। सञ्चालक समितिमा चुनिन समेत लाखौं खर्च गरिन्छ। चुनाव जितेपछि अध्यक्षले विद्यालयमा शिक्षक भर्नाका लागि एउटा शिक्षकसित कम्तीमा लाख रुपैयाँ लिएर भर्ना गर्छन्। विशेषतः आफ्नै नातागोताका मानिस भर्ना गरिन्छ। एसईई परीक्षामा शिक्षक र अभिभावक मिलेर चिट चोराउने गर्छन्। पढाइलेखाइसित केही सरोकार नभएकाहरू एसईईको प्रमाणपत्र प्राप्त गरेपछि प्राथमिक विद्यालयमा शिक्षक हुन पाइन्छ भनेर त्यही खेतीमा लाग्छन्। त्यस्ता विद्यालयमा विद्यार्थी संख्या नगन्य हुन्छ।

अहिले गाउँगाउँमा निजी विद्यालय बढिरहेका छन्। निजी विद्यालयको मुख्य उद्देश्य आर्थिक लाभ मात्र हो। त्यसो त हुनेखानेका छोराछोरी मात्र पढ्ने गर्छन् निजी विद्यालयमा। अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावक यस्ता विद्यालयतिर आकर्षित हुन्छन्। तर एसईई परीक्षामा चिट चोराउने प्रवृत्ति सरकारीमा जस्तै हुन्छ निजीमा पनि। त्यसकारण पनि शिक्षाको स्तर दिनानुदिन खस्किँदै गएको छ। जिल्ला शिक्षा कार्यालय राजनीतिको केन्द्र हुने गर्छ र यी स्कुलमा पढाउने शिक्षक आआफ्ना स्कुलमा पढाउन नगएर जिल्ला शिक्षा कार्यालयमा अड्डा जमाएर बसेका हुन्छन्। यो अवस्था प्राथमिकदेखि माध्यमिकसम्म विद्यमान छ। शिक्षक कुनै न कुनै दलका दूतका रूपमा क्रियाशील हुन्छन्। यिनीहरूलाई चलाउने हैसियत कसैले राख्न सक्दैन। पढाए पनि नपढाए पनि मासिक तलब कसैले रोक्न सक्दैन। जिल्ला सदरमुकाममा बसेर राजनीति गरेपछि सबैथोक पुग्छ।

मधेसमा सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन प्रतिलक्षित हुन थालेको छ। पहिलापहिला गाउँलेको प्रमुख आकर्षणको केन्द्र हुन्थ्यो झिझिया, सामाचकेवा, जटजटिनको नयनभिराम नृत्य। तर विद्युतीय सञ्चारमाध्यमको प्रचारप्रसारले पुराना संस्कृति क्रमशः हराउँदै जान थालेको छ। अब दसैंमा दसै दिनसम्म लगातार नाच्ने झिझिया नाच विलुप्त भइसकेको स्थिति छ। रातिराति नाचिते लोकनृत्य सुरक्षाको दृष्टिले लोपोन्मुख हुन थालेको छ। पहिला–पहिला विभिन्न चाडपर्वको अवसरमा बजाइने लोकबाजा पनि लोपोन्मुख छन्। ढोल, पिपही तासा, बाँसुरी मृदंग, र सिंयाको स्वर सुनिँदैन।

तराई—मधेसमा सामाजिक परिवर्तन प्रत्यक्ष देख्न सकिन्छ। आफ्ना आदरणीय व्यक्तिप्रति उदासीनता उदांगो भएको छ। बुबाआमालाई छोराछोरीले वास्ता गर्न छोडिसकेका छन्। शिक्षित र नोकरीमा प्रवेश गरेका युवा गाउँ छोडेर सहरमा स्थापित हुन थालेका छन्। उनीहरूका बाबुआमासँग चाडपर्वमा मात्र भेट हुन्छ। सँगै बसेका छोराछोरीसमेत एकल परिवारतिर आकृष्ट हुन थालेका छन्। मधेसमा सबैभन्दा दयनीय स्थिति ज्येष्ठ नागरिकको छ। यिनीहरूलाई स्याहारसुसार गर्ने कोही पनि हुँदैन। गाउँघरमा समय काट्न गाह्रो भइरहेको छ। बुबाआमा भनेको धेरैले मान्न छोडेका छन्। आफूखुसी बिहे गर्ने चलन छ। अन्तर्जातीय विवाह सुरु भएको छ। प्रेम विवाह पनि हुन थालेको छ। पूर्व निर्धारित विवाह कम हुन थालेको छ, यसबाट दहेजको प्रथा कमजोर हुनुपर्ने थियो, तर अचेलका शिक्षित युवा जो नोकरीमा छन्। डाक्टर, इन्जिनियर र अन्य सेवामा रहेकाहरू पनि आफ्ना अभिभावकलाई बढीभन्दा बढी दाइजो लिन अभिप्रेरित गर्छन्। अभिभावक पनि आफ्ना छोरालाई पढाउनमा लागेको खर्च असुल्नतिर लागेको पाइन्छ, छोराको कमाइबाट नभई दाइजोबाट।

‘नारी स्वर’ पत्रिकाको आवरण लेखमा भनिएको छ, ‘मैथिली समाजमा महिला हिंसा व्यापक र त्यसमा पनि दाइजो सबैभन्दा डरलाग्दो समस्या हो भन्ने कुरा यहाँ प्रबुद्ध व्यक्तिलाई राम्ररी थाहा छ। यसको व्याख्या–विश्लेषण पनि उनीहरू राम्रोसँग गर्न सक्छन्। खासगरी दाइजोजस्तो अभिशापलाई तत्काल हटाउनुपर्छ भन्नेमा सैद्धान्तिक रूपमै सबै सहमत छन्।’

०६३ को अन्तरिम संविधानमा नेपाल धर्म निरपेक्ष राज्य घोषित भएपछि अहिले गाउँगाउँमा धर्म परिवर्तनको लहर चलेको छ। गरिब, बहिष्कृत र पिछडिएका समुदायमा धर्म परिवर्तन धेरै हुन थालेको छ र यसको प्रमुख आकर्षण आर्थिक हो। सबै धर्मावलम्बी स्वतन्त्र हुनुपर्ने र आआफ्नो धर्मअनुसार आचरण गर्नुपर्ने हो तर धर्म परिवर्तनका कारण मधेसी समाजमा विकृति र व्याप्त छ। तराई–मधेसमा हिन्दु धर्मावलम्बी अधिकतम संख्यामा थिए, तर धर्म परिवर्तनले गर्दा यो संख्या दिनानुदिन घट्दै गएको छ। मठमन्दिरमा मानिस कम जान थालेका छन्। पहिला अष्टयाम, एकाह र नवाह जस्ता धार्मिक अनुदान गाउँगाउँमा हुने गर्थे, तर अचेल यो सबै लोपोन्मुख छन्। पूजापाठको परम्परा नास हुन थालेको छ। मानिस धमाधम मांसाहारी हुन थालेका छन् र बलिप्रथाको बिगबिगी सहजै हेर्न सकिन्छ मधेसी समाजमा। मासु र मदिराको प्रयोग एवं प्रचलन प्रचुर मात्रामा हुन थालेको छ। समाजमा यसको नराम्रो प्रभाव पर्न थालेको छ। हत्या र हिंसा मात्र होइन, अपहरण, चन्दाआतंक र बलात्कारका घटना दिनानुदिन बढ्दै गएको छ।

जनकपुरजस्तो धार्मिक सहरमा वेश्यावृत्तिका घटना हुनु दुःखद हो। धार्मिक स्थलको संरक्षण र संवर्द्धनतिर कसैको ध्यान जान नसकेकै कारण धार्मिक क्रियाकलाप र गतिविधिमा ह्रास आउन थालेको छ। गाउँका मठमन्दिर पहिलापहिला भजनकीर्तनको आ श्रयस्थल हुन्थे, तर यी धार्मिक स्थलमा अहिले सन्नाटा छाएको छ। बिहान–बेलुकी आरती, प्रात सन्ध्या पूजन गरिन्थ्यो, तर अहिले यस्तो केही छैन। यसले पनि मधेसी समाजको तस्बिर झल्काउँछ। मधेसी समाज निर्माणका नाममा धेरै आन्दोलन भए, धेरै मधेसीले बलिदान दिए। मधेसको नाममा सिंगो राष्ट्र स्तब्ध भयो तर पछिल्लो मधेसी समाजको यो तस्बिर हेरिरहँदा मधेस कता जाँदैछ भन्ने सन्देश प्रवाह हुन्छ। माथि उल्लिखित मधेसका बेथितिको उपचार नेतृत्वबाट सम्भव छ ? मधेसको नाममा मात्र राजनीति गर्ने कि भत्किँदै गएको मधेसी समाज माथि उठाउन भूमिका निर्वाह गर्ने ?

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2