MENU

जाडोले कठ्यांग्रिँदै राउटे

patan-college

यज्ञराज थापा आइतवार, पुस ३०, २०७४ 239 पटक पढिएको

Share This

635-x-85

दैलेख : पुसको जाडो, जंगलको बास। पातला कपडा, यत्रतत्र छरिएको पालको बस्ती। दिउँसोपख घाममा सुस्ताए पनि साँझ परेपछि कठ्यांग्रिँदो जाडोले बेहाल बन्छ राउटे बस्ती। दिनभर खोजेका दाउरा बालेर रात कटाउनु जाडो छल्ने एउटा मात्रै उपाय बनेको छ राउटेका लागि। चिसोले राउटे बस्तीका महिला र बालबालिकाको जीवन अझ कष्टकर बनेको छ। ‘जाडोले भुराहरू कठ्यांग्रियो', राउटेका मुखिया सूर्यनारायण शाहीले भने, ‘बाक्ला लुगा छैन। आगो ताप्यो रात कटायो।'

कसैले लाउने लुगा र सुत्ने विस्तारा दिन्छन् कि भन्ने आशा राउटे समुदायमा छँदै छ। ‘जाडोमा आगोले जिउ तताउने र गर्मीमा किरा भगाएर जीवन चलाउनुपर्छ', मुखिया शाहीले भने, ‘कछाडले कसरी धान्ने हो पुसको जाडो।' २१ औं शताब्दीमा पनि जंगलका कन्दमूल र बाँदर सिकारबाट जीवन चलाउने राउटेहरू आजभोलि कन्दमूल र बाँदर सजिलै पाउन गाह्रो हुन थालेपछि भात नै खान थालेका छन्। पहिले भात खान ठूलो चाडपर्व पर्खनुपर्ने राउटे आजभोलि धेरैजसो भात खान्छन्।

यसपालिको माघी (माघे संक्रान्ति)मा सरकारले दिएको चामल र खसीका साथ रमाइलो गर्ने सोचमा छन् उनीहरू। राउटेका लागि माघी ठूलो चाड हो। माघीमा धेरै रमाउने राउटे समुदायलाई शिव आनन्द कल्याणकारी ट्रस्टले चाड मान्न चामल, दाललगायत विभिन्न खाद्यान्न र कपडा प्रदान गरेको छ। राउटेका मुखिया ५५ वर्षीय सूर्यनारायणले भने, ‘मलाई मोबाइल र हाम्लाई ओढ्न कम्बल पनि दिएको थियो तर रक्सी लिन जाँदा बेचिदिएँ।' राउटेलाई आमसञ्चारसँग जोड्न ट्रस्टका अध्यक्ष स्वामी शिवानन्दले शाहीलाई मोबाइल सेट उपलब्ध गराएका थिए।

ट्रस्टले मंसिरमा ४२ राउटे परिवारलाई एक÷एक वटा कम्बल वितरण गरेको थियो। तर, करिब दुई सय राउटेका लागि त्यो कम्बल पर्याप्त छैन। राउटेलाई खाद्यान्न वितरण गर्न कोहलपुर र दाङका केही व्यवसायीले पनि ट्रस्टमार्फत सहयोग गरेका थिए। ट्रस्टले राउटेका लागि दुई तीन स्थानमा स्थायी टहरा निर्माण गरिदिने र राउटेलाई एकीकृत सांस्कृतिक शैलीमा व्यवस्थित बस्ती बनाउने लक्ष्य लिएको अध्यक्ष शिवानन्दले बताए।

स्थायी बस्न मान्दैनन् राउटे

व्यवस्थित बस्तीमा बस्न राउटेहरू अझै मान्दैनन्। मुखियाको आदेश उनीहरूका लागि कडा कानुन हो। मुखिया समुदायले चुन्छ। उसैको आदेश र कमान्डमा दैनिकी चल्छ। मुखिया सबभन्दा ठूलो र त्यसपछि ठालु भन्ने पद तय हुन्छ। मुखियाले भनेको नमाने दण्डको भागिदार बन्नुपर्छ। आफ्नै रीतिथिति र परम्पराका आधारमा यो समुदाय चल्छ। राउटे ठकुरी वंशका हुन्। विवाह हुँदा अन्य जातिको जस्तै राउटेको पनि एउटै गोत्रभित्र विवाह हुँदैन। कुन ठाउँमा कति बस्ने भन्ने कुरा समुदायमा हुने घटनाक्रम र साधन-स्रोतअनुसार तय हुन्छ।

आफूलाई बोटको राजा मान्ने राउटे जंगल मास्नुलाई अपराध ठान्छन्। सरकारले कु-काठ भनी काट्न अनुमति दिएका काठबाहेक उनीहरू कुनै काठ काट्दैनन्। मौलिक हतियार कुटो, बन्चरो, खन्ती, बसुलाको प्रयोग गरी रूख काट्छन्। यही कु-काठबाट ठेकी, सन्दुस, बाकस, पिर्कालगायत सामग्री तयार गरी बेच्ने, अन्न, लुगाफाटा साट्ने गर्छन्।

 पढ्न चाहन्छन् राउटे बालबालिका

राउटे बालबालिकामा पढ्ने मोह देखिन्छ। तर, बुढापाकाको डर त्रासले पढ्ने रहर मनमै कुण्ठित छ उनीहरूको। राउटेका बालबालिका प्रायः आफ्नै बस्तीमा खेलेर दिन बिताउँछन्। राउटे मुखिया सूर्यनारायण भन्छन्, ‘भुराको पढ्न मन भई क्या अर्न्या , हाम्रो जातिले पढ्दैन। पढ्ने लेख्ने त तपाईं दुनियाँले हो, हामी राउटेले होइन। पुर्खाबाट नपढेकाले आफूहरू नपढ्ने।' राउटेका युवा रामदत्त भन्छन्, ‘हामी पढ्ने थियौं तर मुखिया बाबुआमा रिसाउँछन्।' पढ्ने रहर भए पनि संस्कारले पढ्न नपाएकोमा उनको दुखेसो छ।

पढ्न रहर भए पनि समुदायको संस्कार नपढ्ने भएकाले पढ्नु हुँदैन भनेकाले राउटेका केटाकेटी खेलेरै दिन बिताउँछन्। राजनीतिविहीन समुदायका राउटे नागरिकता लिन पनि मान्दैनन्। राजनीतिमा जान नचाहने राउटेले अहिलेसम्म भोट खसालेका छैनन्। राउटे समुदाय स्वार्थहीन तर परम्परामा कडा देखिन्छन्। यो समुदायमा एकआपसमा गोप्यता एवं धनसम्पत्ति कमाउने लोभ हुँदैन। जातीय विभेद एवं वर्गीय विभाजन छैन। राउटेले दक्षिण एसियामै फरक पहिचान बनाएका छन्।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2