MENU

जाडो बिदा सुरु भयो, अब के गर्ने

patan-college

नरेन्द्रकुमार नगरकोटी आइतवार, पुस ३०, २०७४

Share This

635-x-85_1

 

जाडो बढेर घरबाहिर निस्कन पनि मन नलाग्ने भएको छ । केही स्कुलहरूले लामो छुट्टी दिइसके । केही छुट्टी दिने तर्खरमा छन् । जाडो बिदाको टन्नै होमवर्क बोकेर नानीबाबुहरू घर फर्कंदै गर्दा आपसमा सोध्छन्, ‘टिचर्सलाई चाहिँ के हुन्छ होला है बिदाको होमवर्क? ’

यो पंक्तिकार कुनै समय शिक्षक थियो । लामो बिदामा बालबालिकालाई किताब पढ्ने सल्लाह दिन्थ्यो । किताबहरूको एउटा सूची प्रिन्ट गरेर दिन्थ्यो र भन्थ्यो, ‘सम्भव भए जति पढ्नू ।’ आफू विद्यार्थी छँदा नै थाहा थियो नियमित गरिआएका काम होमवर्क भनेर गर्नु बिदाको समयमा बोझिलो नै लाग्छ।

बिदामा सबैको आआफ्नै योजना हुन्छन् । बालबालिकाको पनि हुन सक्छ । रुचिअनुसारको योजना बनाएका हुन सक्छन् । बिदाका लागि भनेर दिइने होमवर्कको भारले योजना थिचिन पनि सक्छ । पाँचखाल, जिरोकिलोको इन्द्रेणी विद्यामन्दिरले गएको गर्मी बिदामा एउटा सूचना जारी गर्‍यो । सूचनाअनुसार बिदामा आफ्नै कुनै योजना छन् भने लिखित रूपमा भन्नुपर्ने थियो । आफ्नै योजनाअनुसार काम गर्न चाहनेलाई अरू होमवर्क गर्नुपर्ने बाध्यता थिएन । ‘नियमित दिनहरूमा बालबालिकाको प्रतिभालाई स्थान दिइरहेकै छौं । व्यक्तिगत रुचि र क्षमतालाई बिदाको समयमा पनि प्रोत्साहन गर्न यसो गरेका हौं ।’ विद्यालयका प्रिन्सिपल राममणि सापकोटा भन्छन्, ‘बिदा सुरु हुनुभन्दा दुई दिनअघि सूचना गरेका थियौं । त्यसैले २० जनाले मात्र आफ्ना सिर्जनात्मक योजना बुझाए । हामीलाई लागेको छ कि परम्परागत शैलीले अबको सिकाइ सम्भव छैन । बालबालिकाको रुचिसँग जोडेर काम गराउँदा सिकाइसँग केन्द्रित हुन्छ ।’

सोही स्कुलको कक्षा ९ मा अध्ययनरत सरिता पराजुली भन्छिन्, ‘अरूले ड्राइभ गरेको ठाउँमा भन्दा सेल्फ ड्राइभ गरेर पुगेको ठाउँमा बढी आनन्द मिल्छ । रुचि लागेको काम गर्दा आफ्नो मालिक आफू स्वयम् हुने हुँदा बोझिलो लाग्दैन । काम बिग्रेला भन्ने डर पनि हुँदैन । कसैको गाली खाने सम्भावना रहन्न ।’ १४ वर्षकी उनले गएको गर्मी बिदामा सात कथा र तीन निबन्ध लेखिन् । उनी भन्छिन्, ‘उपन्यास लेख्दैछु । जाडो बिदामा सक्छु होला ।’ उनलाई लाग्छ, लेखेर जीवन जिउने र सत्कर्म गर्ने प्रेरणा दिन सकिन्छ । भविष्यमा लेखक बन्ने उनको सपना छ ।

भौतिकशास्त्रको वैज्ञानिक बन्ने सोच बोकेका समीर भट्टराईले भने सोलार कार बनाए । ‘यसरी काम गर्दा सिर्जनशीलता बढ्छ । लेखपढ त जहिल्यै गरेकै छौं ।’ कार गुडाउँदै उनी भन्छन्, ‘यो बिदामा पनि हामीले लेख्ने पढ्ने काम गरेकै छौं । हामीलाई स्कुल-घर दुवैको सहयोग र थप काम गर्ने हौसला चाहिन्छ ।’ इलेक्ट्रिक ब्याटल ट्यांकजस्ता वैज्ञानिक आविष्कारका नमुना बनाएका १५ वर्षीय समीर कक्षा ९ मा नै अध्ययनरत छन् ।

आशिष गुप्ता कक्षा ८ मा अध्ययन गर्छन् । उनको उमेर १५ वर्ष हो । स्कुलमा आविष्कारसम्बन्धी कुरा चलिहाले उनकै नाम आउँछ । ‘थोमस अल्बा एडिसनले एक हजार आविष्कार गरे भने हामी एक सय आविष्कार गर्न किन नसक्ने ? ’ आशिषको प्रश्न छ । उनले खेलौना कार, रोबोट र एटीएम मेसिनको नमुना बनाइसकेका छन् । बचाएको ‘पकेट मनी’बाट सामान किनेर यस्ता काम सुरु गरेको बताउने आशिषले युट्युब भिडियो हेरेर आफैं सिक्ने गरेका छन् । ‘गर्मी बिदामा इलेक्ट्रिक एटीएम मेसिन बनाएँ । सकेसम्म खेर जाने सामग्रीको प्रयोग गरेर काम गर्छु ।’ आशिष भन्छन्, ‘सोचेको काम गर्न पाइयो । बुबाआमाको सहयोग पनि पाएको छु । खुसी छु ।’

बालबालिकाले मेहनत नगरे होमवर्क जस्तो दिए पनि केही फरक पर्दैन । यसैले बालबालिकाले आफ्नो योजना आफैं बनाएर काम गर्नु उत्तम हुन्छ । आफू आफूजस्तो बन्न मौलिक काम गर्नुपर्छ । मौलिक काम गर्दा परिचित हुनुका साथै आनन्द पनि आउने बालबालिकाको अनुभव छ ।

कुशादेवी माध्यमिक विद्यालय, पनौती, कुशादेवीमा सञ्चालित नमुना कक्षा कार्यक्रमकी सहइन्चार्ज बिना हुमागाईं भन्छिन्, ‘बालबालिकालाई भार नपर्ने गरी होमवर्क दिएका छौं । साना बालबालिकाको लेख्ने पढ्ने बानी नछुटोस् भनेर यसो गरेका हौं ।’ उनी थप्छिन्, ‘जंक फुड खाने पैसा जम्मा गरेर पुस्तक, पत्रिका किन्न भनेको छु । पढेका कुरा कक्षामा सेयर गर्न लगाउँछु ।’ यसो गर्दा बालबालिकाको पढ्ने बानी बस्ने उनको विश्वास छ ।

होमवर्क दिने कि नदिने ? दिए कस्तो दिने ? भन्ने सवालमा एकमत पाइन्न । पूर्वशिक्षक अमृत अधिकारीको मत छ, ‘बिदामा बालकले ‘इन्जोय’ गर्न सकून् । जहाँ गए पनि गर्न मिल्ने खालको काम दिन सकौं । होमवर्कका नाममा बालबालिकालाई बोझ थोपर्नु हुँदैन ।’

विद्यालय निरीक्षक देवीराम आचार्य भन्छन्, ‘कृषकका छोराछोरीलाई खेतबारीमा पठाइदिउँ । बा-आमाले के गर्छन्, हेरून् र जानून् । व्यापारीका छोराछोरीलाई पनि व्यापार गर्ने ठाउँतिरै पठाइदिऊँ । अनि शनिबारीय शिविर बनाऔं, एकअर्काका कुरा सेयर गराऔं । फेरि साटफेर गरौं, व्यापारीका छोराछोरी खेतमा, कृषकका छोराछोरी पसलमा । अनि फेरि सेयर गराऔं ।’ यसरी जीवनसँग जोडिएका क्षेत्रमा अनुभव गरेर सिक्न पाएमा प्रभावकारी सिकाइ हुने आचार्यको विचार छ ।

शिक्षाकर्मी राजन सापकोटाको विचारमा बालबालिका जे कुरामा संलग्न हुन्छन्, त्यही विषयसँग सम्बन्धित काम गर्ने गरी होमवर्क दिनुपर्छ । ‘घुमेको ठाउँको विषयमा लेखौं । चाडपर्व मनाएको विषयमा क्रिटिकल्ली अध्ययन गरौं र लेखौं । आफ्ना अनुभव सिर्जनामा उतारौं । रोटेपिङ खेल्दा त्यसको गणित र विज्ञान खोजौं । हामीले खाने खानेकुरा कत्तिको स्वस्थकर छन् भनेर रिसर्च गरौं । हामी बसेको गाउँ वा सहरको संस्कृति, ज्ञान र विज्ञानको अध्ययन गरौं ।’ सापकोटा भन्छन्, ‘लेख्दा जुन फम्र्याटमा लेखे पनि हुन्छ । कविता, कथा, निबन्ध, संस्मरण, अनुच्छेद, चित्र, डायरी, चार्ट जुन तरिकाबाट भने पनि आफ्नो कुरा भन्ने हो ।’ यसरी काम गर्दा होमवर्क बोझिलो नभएर रसिलो हुने र तोकिएको पाठ्यक्रमको उद्देश्य पनि पूरा हुने सापकोटाको विश्वास छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost