MENU

नानीबाबुसँग शिक्षाविद् केदारभक्त माथेमाका मनका कुरा

patan-college

केदारभक्त माथेमा सोमवार, माघ ८, २०७४

Share This

635-x-85_1

किताबले कहिल्यै एक्लो हुन दिँदैन

शिक्षाले तिमीलाई म को हुँ भनेर चिनाउँछ। अरूलाई तिम्रो परिचय दिलाउँछ। यसले ज्ञानको दायरा अझ फराकिलो पार्छ। अनि हरेक कुराको तुलनात्मक अध्ययन गर्न सिकाउँछ। यसले तिम्रो सोचाइ र बोली बदल्ने सामथ्र्य पनि राख्छ। शिक्षाले नयाँनयाँ विचारको आविष्कार मात्र गराउँदैन, परिस्कृतसमेत गर्दै लान्छ।

kedar-bhakta-mathema810-768x682पढ्ने बानीले जीवनभर एक्लो महसुस गर्नुपर्दो रहेनछ। किताब साथी हुँदोरहेछ। आजकल म पनि किताबसँगै रमाउन थालेको छु। सानैमा पढेका र विश्वविद्यालयमा वर्षौं पढाएका किताबसमेत दोहोर्‍याइरहेको छु। विद्यालय तहमा पढेका किताबसमेत राख्ने बानी गर्नुपर्छ। मेरो पुस्तकालयमा स्कुले जीवनदेखि पुरस्कार पाएका थुप्रै किताबहरू छन्।

हामी नयाँनयाँ भाषा सिक्न बल गछौं। छिटोछिटो सिक्न नसकेकामा चिन्ता पनि लिन्छौं। आफ्नो मातृभाषालाई समय दिनै भ्याउँदैनौ, मन पनि गर्दैनौं। जबसम्म मातृभाषामा पकड राख्न सकिँदैन तबसम्म अरू भाषा राम्रोसँग सिक्न सकिँदैन। तिमीहरू पनि परिवारका सदस्यसँग मातृभाषा सिक्न र मातृभाषामै कुरा गर्न नहिच्किचाउनु है।

विदेशीहरू तीन महिना नेपाली सिकेर बोल्ने र लेख्ने हुन्छन्। यता हामी भने १५ वर्ष अंग्रेजी पढेर पनि जस्ताको तस्तै हुन्छौं। अंग्रेजी सिक्न बालसाहित्य, पत्रपत्रिका र यात्रा वृत्तान्त पढ्ने बानी गर्नुपर्छ। पठन सामग्री छान्दा बढो सचेत हुनुपर्छ। छापिए जति सबै किताब असल हुँदैनन् नि। यसका लागि अभिभावक वा शिक्षकको सहायता चाहिन्छ।

साथीलाई उछिन्न उनीहरूको भन्दा दोब्बर समय पढाइमा खर्चिने निर्णय गरेँ। उनीहरू दैनिक पाँच घन्टा पढ्छन् भने म दस घन्टा पढ्छु भन्ने संकल्प गरेँ। त्यसले मलाई आजसम्म पनि सहयोग गरिरहेकै छ।

तिमीहरूले पढ्ने सामाजिक शिक्षाको महत्व धेरै छ। सामाजिक शिक्षाले सामाजिक संस्था, मूूल्य मान्यता, प्रथा–परम्परा, रीतिरिवाज आदिबारे जानकारी गराउँछ। समानता र न्यायबारे सिकाउँछ। यसबाट इतिहास, भूूगोल, राजनीतिजस्ता समग्र पक्षको जानकारी लिन सकिन्छ। सामाजिक शिक्षाले तिमीलाई सामाजिक मात्र बनाउँदैन, सचेत नागरिक उत्पादनमा समेत सहयोग गर्छ। त्यसकारण सामाजिक विषय पढ्नुपर्छ।

आफूलाई लागेको कुरा प्रष्टसँग भन्ने गर्नुपर्छ। चित्त नबुझेका कुरा गुम्सिएर बसे भने पटक्कै फाइदा गर्दैन। कुनै पनि कुरामा जिज्ञासा भए त्यसको समाधान खोजी हाल्नुपर्छ। यसले लहैलहैमा हिँडेर समय बर्बाद गर्नेलाई आफ्नै लयमा फर्किन सहयोग गर्छ।

नयाँ कुरा सिक्न किताब मात्र पर्याप्त हुँदैन। जीवनमा बाहिरी ज्ञानको पनि उत्तिकै महत्व हुन्छ। प्रकृतिबाट धेरै कुरा सिक्न सकिन्छ। फुर्सदको समयमा घरबाहिर जाने गर्नुपर्छ। घुमफिर गर्ने बानी बसाल्नु पर्छ। गाउँघर, जात्रा र पर्वहरूको भ्रमण गर्नुपर्छ। फरक संस्कृतिमा हुर्केका साथीभाइको संगत गर्नुपर्छ।

तिमीहरू कहिलेकाहीँ बिना योजना अन्धाधुन्ध पढिरहेका हुन्छौं। हिँड्दैछ पाइला मेट्दैछ भने झैं हुन्छौ। परीक्षाको समयमा मात्रै पढेको अरूबेला काम नलाग्न सक्छ। जति पढिन्छ, ध्यान दिएर पढ्नुपर्छ। मेहनत नगरेको कुराले खासै प्रतिफल दिँदैन।

सानो छँदा मेरो पढाइ सामान्य मात्रै थियो। मेरो पढाइको स्तरले बुवालाई पिरोलिरहन्थ्यो। म माध्यमिक तहमा पुगेँ। बीचमा एक वर्ष घरैमा बसेर पढेँ। कक्षा ८ मा पुगेपछि धेरै नै मेहनत गर्न थालेँ। २०१५ सालमा एसएलसी दिँदा मेरो पढाइ निकै राम्रो भएको थियो।

त्रिचन्द्र कलेजमा भर्ना भएँ। आफूलाई कमजोर नै महसुस गरिरहेँ। त्यहाँ दार्जिलिङ र बेलायतबाट पढेर आएर विद्यार्थीहरू पनि थिए। उनीहरू हामीभन्दा धेरै सिपालु थिए। त्यसपछि मैले आफ्नो पढाइको शैली बदल्ने अठोट गरेँ। आफूभन्दा जान्नेलाई उछिन्न उनीहरूको भन्दा दोब्बर समय पढाइमा खर्चिने निर्णय गरेँ। उनीहरू दैनिक पाँच घन्टा पढ्छन् भने म दस घन्टा पढ्छु भन्ने संकल्प परेँ। त्यसले मलाई आजसम्म पनि सहयोग गरिरहेको छ।

 

(शिक्षााविद् माथेमासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost