MENU

नानीबाबुसँग साहित्यकार ध्रुवचन्द्र गौतमका मनका कुरा

patan-college

अन्नपूर्ण आइतवार, माघ १४, २०७४

Share This

635-x-85_1

भाइबहिनीलाई झन्डै आफूूजत्रै झोला बोकेर विद्यालय जान हैरानी लाग्दो हो। विद्यालयमा पढाइ हुने विषय र गृृहकार्य सम्झेर हाउगुजी पनि लाग्दो हो। तर, त्यसो भनेर कहाँ धर पाइन्छ र ? औपचारिक शिक्षामा पाठ्यक्रम अनुसारकै पाठ्यसामग्री पढ्नैपर्ने हुन्छ। परीक्षामा राम्रो नतिजा हात पार्नैपर्छ। तर पनि त्यति पढाइले मात्र कहाँ पुग्छ र ? सानैदेखि वाह्य विषयवस्तुको समेत जानकारी राख्नु आवश्यक छ।

Image may contain: 1 person, smiling, closeupयस्तो पठन संस्कृतिले बोलीलाई तिखार्छ। लेखनलाई उजिल्याउँछ। त्यसकारण कोर्सका किताब, बाह्य किताब र अतिरिक्त क्रियाकलाप समेतलाई समयको व्यवस्थापन गर्दै जानुपर्छ। यसले पछिसम्म पनि जीवन सन्तुलनमा राख्न मद्दत गर्छ।

हाम्रो पालामा भन्दा अहिले समय धेरै फेरिएको छ। पढाइका अतिरिक्त प्रविधियुक्त धेरै कुरा बजारमा आएका छन्। कतिपय तिम्रा अभिभावकको चाहना छोराछोरी पढाइमा मात्र लागून्, अन्यत्र नबरालिऊन् भन्ने हुन्छ। तिमीहरूलाई पनि खेलूँ मात्र हुँदो हो। हामी पनि सानामा सिनेमा हेर्न वीरगन्जभन्दा पारि भारततिरका हलसम्म पनि चाहर्थौ। त्यो पनि हाम्रा अभिभावकलाई मन पर्दैनथ्यो। तर, असल सिनेमाले धेरै कुरा सिकाउँछ।

साहित्यले समय बुझाउँछ। नभोगेको जीवन पनि देखाउँछ। प्रश्न गर्न सिकाउँछ र आफैं उत्तर खोज्नसमेत सिकाउँछ। यसले तुलनात्मक अध्ययन गर्न मात्र सिकाउँदैन; सहनशीलता, धैर्यजस्ता जीवनमा नभई नहुने गुणहरूको समेत विकास गर्छ। असल साहित्यले दुःख र सुखका बारे तुलना गर्न सिकाउँछ। जीवनमा अन्य विषयसँग साहित्यको सम्बन्धबारे खोजी गर्ने बनाउँछ। हरेक कुराको सन्तुलन मिलाउन सिकाउँछ। अनि पढेको आदर्श जीवनमा उतार्न पे्ररणासमेत दिलाउँछ।

बिदाको दिन पुस्तकालय जाने बानी गर्नुपर्छ। सबै किताब आफैं किनेर साध्य हुँदैन। समूह बनाएर पढ्दा समयको पनि बचत हुन्छ। समयको महत्वबारे बुझ्नैपर्छ। फेरि यही समय र उमेर कहाँ पाइन्छ र ? त्यसैले राम्रो कामको थालनी आजैबाट सुरु गर्नैपर्छ।

लेख्ने बानीले मान्छेलाई जीवन्त राख्छ। कसैको पनि लेखाइ एकैपटक राम्रो र पूूर्ण हुँदैन। खेस्रालाई साफी गर्दै जानुपर्छ। त्यसैले भाइबहिनीलाई पनि देखेका, सुनेका कुरा लेख्ने बानी बसाल्न मेरो सुझाव छ।

म सानैदेखि गीत गाउँथेँ। सरस्वती पूजा मेरा लागि विशेष हुन्थ्यो। वीरगन्जको त्रिजुद्ध हाइस्कुलमा हामी सांस्कृतिक कार्यक्रमका लागि डेढ–दुई महिना अघिदेखि तयारी गथ्र्यौं। त्यहाँ मेरो प्रस्तुति पनि महत्वपूर्ण हुन्थ्यो। मेरा गीत सुन्न र हेर्न दर्शक श्रोता झुम्मिन्थे।

१६ वर्षको हुँदा म आफैं गीत लेख्ने र गाउने भइसकेको थिएँ। पुरस्कृत पनि हुन्थेँ। सुरुमा हिन्दी गीत गाउँथेँ, पछि नेपाली गाउन थालेँ। १० वर्षकै उमेरमा म कविता लेख्न र प्रतियोगितामा भाग लिन थालेको थिएँ। पछि गएर गद्य लेखनमा रुचि बढ्न थाल्यो। कथा र उपन्यास धेरै लेखेँ। मेरा ५० भन्दा बढी किताब प्रकाशित छन्।

स्कुल पढ्दा भविष्यमा नामी गायक बन्छु भन्ने सोचेको थिएँ। मेरो सारा ध्यान त्यसैमा कन्द्रित थियो। तर, सबै कुरा सोचेजस्तो हुँदो रहेनछ। समय हाम्रा वशमा कहाँ छ र ? समयले हामीलाई डोर्‍याउँदो रहेछ। पछिपछि दुगुर्न बाध्य पार्दो रहेछ। समयले नै रुचि बदल्ने सामथ्र्यसमेत राख्दो रहेछ। मेरा बा–आमा र दाजुहरूको प्रेरणाले म लेखक बन्न पुगेछु। लेखिरहेको छु, नयाँनयाँ कुरा सिकिरहेको छु।

भाइबहिनीले यो उमेरमा चौतर्फी बन्न सिक्नुपर्छ। काम सिकेर कहिल्यै सानो भइँदैन। सीप जहिल्यै काम लाग्न सक्छ। आफ्नो रुचि, क्षमता र सम्भावना समेतलाई ख्याल गरेर मात्र काममा हात हाल्नुपर्छ। आफूले गरेको काममा सन्तोष हुनु पनि जीवनको एउटा उपलब्धि हो।

(साहित्यकार गौतमसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost