MENU

नानीबाबुसँग लोकेन्द्रबहादुर चन्दका मनका कुरा

patan-college

लोकेन्द्रबहादुर चन्द आइतवार, माघ २१, २०७४

Share This

635-x-85_1

हरेक काम निर्धारित समयमा गर्नुपर्छ

तिमीहरू अवसरै अवसरको युगमा हुर्किंदै छौ। तिमीहरूका अगाडि हरेक कुरामा विकल्पहरू पनि प्रशस्तै छन्। अचेल पढ्ने विषय, विद्यालय, शिक्षकहरू रोजी छाडी पाइन्छन्। त्यो तिम्रो रुचि र क्षमतामा निर्भर गर्ने कुरा पनि हो। गाउँमा पनि राम्राराम्रा स्कुलहरू खुल्न थालेका छन्। त्यहाँ त्यस्तै आधुनिक विषय पनि पढाइ हुन्छन्। यो ज्यादै खुसी र सन्तोषको कुरा हो।

हाम्रो पालामा कहाँ यस्तो सुविधा थियो र ? बैतडीमा तीनवटा मात्रै भाषा पाठशाला थिए। स्कुल खुल्न थालेकै थिएनन्। समूह बनाएर घरैमा गुरुसँग पढ्ने चलन थियो। त्यो पनि हुनेखानेले मात्र यो सुविधा पाउँथे। अधिकांश पढ्ने मन भएर पनि सुविधाबाट वञ्चित थिए।

मलाई १० वर्षको पनि नहुँदै अध्ययनका लागि भारतको पिथौरागढ पुर्‍याइएको थियो। पिथौरागढ हाम्रो घरबाट करिब दुई दिनको पैदल दूरीमा पर्छ। त्यति बेला गाडीको सुविधा थिएन। हामी घोडामा आवतजावत गथ्र्यौं। मसँगै गंगा सिंह नाम गरेका मानिस पनि पठाइएका थिए। उनी मेरा सहयोगी र अभिभावक दुवै भूमिका निर्वाह गर्थे। हामी बाहिरै डेरा गरेर बस्थ्यौं। खाना बनाउने, लुगा धुने आदि काम उनैले गर्थे। म त्यस बेला पढ्नमा भन्दा खेल्नमा औधी रुचि राख्थेँ। खाना खान बोलाउँदा जानु त परै जाओस्, खेल्न थालेपछि रात परेको समेत थाहा पाउँदिनथेँ।

दुईचारपटक खान बोलाउँदा समयमा नगएपछि उनले मेरा लागि खाना राख्नै छाडिदिए। म भोकभोकै पर्न थालेँ। पैसा उनकै जिम्मामा हुन्थ्यो। केही किनेर खाने उपाय पनि भएन। त्यही घटना दोहोरिन थालेपछि म बिरामी परेँ। त्यसपछि भने म जहाँ गए पनि समयमै फर्किन थालेँ।

म कक्षा ८ मा प्रथम भएँ। तर मेरो रुचि खेल्नमै बढी थियो। कक्षा १० को अन्तिम परीक्षाको तयारी बिदामा पनि म खेलिरहेकै हुन्थेँ। एक दिन खेलिरहेकै ठाउँमा आएर शिक्षकले भने, ‘तिमी यसरी पास हुँदैनौ। तिम्रो समय मात्र खेर जाने भयो। अझै पनि दिनको दुई घन्टा मात्रै ध्यान दिएर पढ्यौ भने तिमी सेकेन्ड डिभिजनसम्म ल्याउन सक्छौ।’ तर मैले त्यतातर्फ ध्यानै दिइनँ।

अन्ततः म हाइस्कुलको बोर्ड परीक्षामा फेल भएँ। दुई विषयमा फेल भएकाले मैले ग्रेस अंक पनि पाउन सकिनँ। यसबाट सप्लिमेन्ट्री परीक्षामा सामेल हुन पनि वञ्चित भएँ। अर्को साल सन् १९५५ मा मात्रै म पास भएँ।

यो घटनाले मेरो जीवनभर प्रभाव पारेको छ। प्रेरणा पनि मिलेको छ। यसर्थ कुनै पनि काम निर्धारित समयमा नै गर्नुपर्छ। यसबाट एकातर्फ समयको बचत हुन्छ भने अर्कोतर्फ काम पनि राम्रो हुन्छ। कुनै पनि कुरामा झन्झट हुँदैन। त्यसकारण तोकिएकै समयमा काम पूरा गर्न भाइबहिनीलाई मेरो सुझाव छ।

हिजोआज अधिकांश भाइबहिनी मोबाइल, कम्प्युटरमा भिडियो गेम खेलेर समय बिताएको देख्छु। सानै उमेरमा त्यसरी निरन्तर गेममा झुन्डिँदा स्वास्थ्यलाई फाइदा हुँदैन। यसले मौलिक क्षमता कमजोर बनाउँछ। यस्तो बानीले विदेशतिर बच्चाहरूलाई पुनस्र्थापना केन्द्रसम्म पुर्‍याउनु परेका उदाहरण प्रशस्तै भेटिन्छन्। यसबाट पनि सचेत रहन मेरो सुझाव छ।

खाली समयमा अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्छ। यसमा पनि समयको व्यवस्थापन महत्वपूर्ण हुन्छ। आफ्नो रुचि अनुसारका विषयहरू पढ्ने बानी गर्नुपर्छ। कोर्सकै मात्र किताब पढेर कत्ति पनि सिकिँदैन। हामीले जान्नैपर्ने, जानेर फाइदा हुने अथाह विषयहरू छन्।

भाइबहिनीलाई साहित्यिक गतिविधितर्फ पनि चासो राख्न मेरो सल्लाह छ। असल साहित्यले मानिसलाई सही बाटोमा डोर्‍याउँछ। यसले सामाजिक त्रुटिहरू पनि औंल्याउँछ र भोलिको आदर्श समाज निर्माण गर्न बाटोसमेत बाटो देखाउँछ। यसले जीवन र जगत्को बारेमा पनि बताउँछ।

हामीले कहिल्यै पनि अर्कालाई असर पर्ने काम गर्नु हुँदैन। सकेसम्म आफूूले गरेको कामबाट अरूलाई फाइदा होस् भन्ने सधैं मनमा राख्नुपर्छ। मलाई सानैदखि सामाजिक काममा रुचि थियो। गाउँमा अभिभावकहरूले अरूलाई सहयोग गरेको, सुझाव–सल्लाह दिएको देखेर म आकर्षित हुन्थेँ।

ठूलो भएपछि अरूलाई सहयोग पुग्ने काम गर्छु भन्ने चिताइरहन्थेँ। संयोग भनौं या के भनौं, देशकै उच्च कार्यकारी पदमा चारपटकसम्म पुगेर देश र जनताका लागि काम गर्ने अवसर मिल्यो। धेरै कुरा सिक्ने अवसर मिल्यो। अनुभवबाट पनि जीवनमा धेरै कुरा सिकिँदो रहेछ।

(पूर्वप्रधानमन्त्री चन्दसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost