MENU

मेरी गौरी  

patan-college

माधव घिमिरे शुक्रवार, माघ २६, २०७४

Share This

635-x-85_1

मेरी गौरी गरगहनाले झकिझकाउ हुन्थिन्। उनी के के लाउँथिन् के के ! कहिलेकाहीँ त सम्हाल्नै नसकेर फरिया लतार्दै हिँड्थिन्।

एउटा सत्य कथा म भन्छु, दुर्इटा प्रेमी थिए सुन्दर

मिल्दो दौंतर त्यो उमेर पनि त पाँचै थियो अन्तर

छाया क्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर

मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर

प्रेम प्रकट गर्ने तरिका त्यो बेलामा स्पष्ट थिएन। त्यसैले होला मैले आफ्नी पत्नी गौरीलाई सुरुमा प्रेम प्रकट गर्न सकिनँ। विवाह गरिसकेपछि उनलाई घरमै छाडेर म परदेश गएँ। त्यसबेला मात्रै पो बुझेँ प्रेमको महत्व।

विवाह हुनेबेला म १५ वर्षको थिएँ, उनी नौ वर्षकी। बाल्यकालमै विवाह भएकाले प्रेमको त्यति आभास भएन। विवाहपछि मात्रै माया पलाउन थाल्यो। तर, दुर्भाग्य माया झांगिन थालेको पाँच÷सात वर्षमै उनी मबाट सदाको लागि टाढा भइन्। दैवले मबाट सँगैका लागि चुँडेर लग्यो।

मैले विवाहअघि उनलाई देखेकै थिइनँ। त्यतिबेलाको जमानामा विवाहपूर्व मुख हेर्ने चलन नै थिएन। यस्तो कामलाई पवित्र मानिँदैनथियो। बाबु, आमा र समाजले विचार गरिसकेपछि मात्रै सम्बन्धमा बाँधिने चलन थियो।

हामीले एकअर्कालाई विवाहको जग्गेमा मात्रै देख्यौं। विवाहको त्यो जग्गे पुतली खेले जस्तो लाग्थ्यो। घुम्टोले छोपिएको थियो उनको अनुहार। गरगहना लगाएकी थिइन्। नजिते पनि पासा खेल्दा उनले जितिन् भनेर भनिन्थ्यो। पासा चाहिँ पातीको टुक्राको भए पनि हुन्थ्यो। विधि मात्रै पु¥याइएको थियो। अब हामी घर गृहस्थीमा बाँधिदै थियौं। पति भनेको के हो पत्नी भनेको के हो ? हामी दुवैजना अनविज्ञ थियौं। जग्गेमा भएको मन्त्रको उच्चारण हामी केही बुझ्दैनथियौं।

उनको रूप राम्रो थियो। अहिले लाग्छ, सौन्दर्य भनेको मनले हेर्नुपर्दो रहेछ। त्यसले मात्रै प्रेम प्रकट हँुदोरहेछ। त्यसबेला मैले उनलाई अञ्जानमै भित्री मनले हेरेछु। उनी झपक्क बलेकी थिइन्। भित्रैदेखि आफ्नो मान्छे भन्ने लाग्थ्यो। समर्पित भावना पलाउँथ्यो मनमा। गौरी कोरी बाटी सिंगारपटार गरेर चिटिक्क पर्थिन्। लाउने, खाने, गाउने, व्रत बस्ने, घर गृहस्थी सम्हाल्ने सबै गुण उनीसँग थियो। धनी परिवारकी केटी भएकाले सभ्य पनि थिइन्। छुच्ची स्वभाव थिएन उनको। सबैलाई माया गर्ने मायालु स्वभाव थियो। गरगहनाले झकिझकाउ हुन्थिन्। उनी के के लाउँथिन् के के ! कहिलेकाहीँ त सम्हाल्नै नसकेर फरिया लतार्दै हिँड्थिन्।

उनी विवाह गरेर भित्रिएपछि मेरो एकजना बालसखा पनि थपिएको थियो। हामी सँगै लुकामारी खेल्थ्यौं। अरू साथीको भीडमा मेरी पत्नी पनि साथी बनेर खेल्थिन्। परालको कुन्युमा हामी कति लुक्यौं कति।

दुई छाक राम्रोसँग खान पाउने घर थियो हाम्रो। घरमा जे पाक्थ्यो त्यही खान्थिन् उनी। उनी माइतीमा पहिलो नातिनी भएकाले सबैको प्यारी थिइन्। तर हाम्रो घरमा आएपछि पनि उनलाई मायामा कुनै कमी भएन। सबैले राम्रो दृष्टिकोणले हेर्थे।

त्यो प्रेम राम्रो र दिगो

प्रेम निकै पवित्र र महत्वपूर्ण कुरा हो। किनकि यसले दुईटा मानिसलाई जोड्ने काम गर्छ। यहाँ एउटा मानिस अर्को मानिसमा पूर्ण रूपमा समर्पित भई एउटा सन्तान जन्मिन्छ। तर त्यसलाई त्यही रूपमा लिन सकिएन भने करिबकरिब पशुकै श्रेणीको कामुकता मात्रै हुन्छ त्यहाँ प्रेम हुँदैन।

विवाह गरेपछि जीवन त बिताउनै पर्छ। विवाहको ६ महिनामै पारपाचुकेको अवस्था चाहिँ नआओस्। त्यसैले अहिलेका केटाकेटीले जति नै स्वतन्त्र भएर विवाह गर्न चाहे पनि एकपटक बाबुआमाको स्वीकृति लिनै पर्छ। हाम्रो पालामा बाबुआमाले केटालाई सोधेरै दिने गर्थे। केटी मागिदिने र विवाह गरिदिने चलन थियो। त्यसपछि मात्रै सहवासले प्रेम प्रकट हुन्थ्यो। सँगै बस्दै जाँदा प्रेम बढ्दै जान्थ्यो। विवाह भइसकेपछि मेरो पति हो भनेर पतिका रूपमा प्रेम प्रकट गर्ने गरिन्थ्यो।

पतिका रूपमा जिम्मेवारी पनि सम्हाल्नुपर्छ। अनि त्यो प्रेम राम्रो र दिगो हुन्छ। साथी मात्रै हो भने पाल्नु पर्दैन। गीत गाएर रमाइलो ग¥यो र पछि छाडिदियो। हाम्रो समाजमा रोदी बस्ने संस्कार पनि छ। यस किसिमको संस्कार बाहुन क्षेत्रीमा छैन। यहाँ भ्यालेन्टाइन दिवस मनाउने भनेको पनि विदेशी संस्कार मान्नु हो।

जीवनमा पहिलो प्रेमको महŒव धेरै हुन्छ। झन् अञ्जानमै प्रेम बस्यो भने त्यसको आनन्द अर्कै हुन्छ। मायामा समझदारी हुनुपर्छ। प्रेममा दुवैको महत्व आआफ्नै हुन्छ। एउटाले अर्कोलाई बुझ्नुपर्छ। दुवैले धैर्य राख्नुपर्छ। तर अहिले प्रेममा विकृति आएको छ। सीधै तलाख दिने गरेको देखेको छु। पहिले त्यस्तो थिएन। अहिले त प्रेम पनि सेकेन्ड ह्यान्ड, थर्ड ह्यान्ड रे।

गौरी सम्झना बारम्बार आउँछ। यो मानवीय कुरा हो। प्रेम दुवैमा थियो जानेर नजानेर। मनमा नभएको भए किन लेख्थेँ गौरी ? यिनको पनि मप्रति त्यो भावना थियो। यिनको सन्दर्भमा मेरो उमेर बढी भएकाले म संरक्षक जस्तो भएँ। पछि छोराछोरी जन्मिएपछि बराबरी नै भयो। अहिले त मभन्दा पनि बढी जिम्मेवार उनै छिन् घरमा। पहिले त बराबरीको हैसियत नभएर म ठूलो, उनी केटाकेटी जस्तो लाग्थ्यो। तर पछि छोराछोरी भएपछि जिम्मेवारी बढ्दै गयो र उनी पाको हुँदै गइन्। फरक केही लागेन।

पहिलेको चाहिँ नबुझेर प्रेम गरे जस्तो र अहिले बुझेर प्रेम गरे जस्तो लाग्छ। जे भए पनि दुवैको महŒव आ–आफ्नै ठाउँमा छ। आफ्नै श्रीमतीप्रति पनि दुई कुरामा ध्यान पु¥याउनुपर्छ। पहिलो उनीहरू आफ्नो माइतीघर छाडेर आएका हुन्छन्। उसले आफूलाई साथी जस्तो सम्झिन्छे भने आफूले पनि साथीको रूपमा सम्झनुपर्छ। सुरुसुरुमा आफैं ठूलो जस्तो सबैलाई लाग्छ। पछि सन्तान हुँदै जाँदा सबै घर उनैको हुन्छ। पछि हामीले आफू ठूलो हुँ भन्दाभन्दै पनि सन्तानले आमालाई नै ठूलो सम्झन्छन् र घर गृहस्थी सम्हाल्ने सबै काम उनकै हुन्छ।

प्रेम दिवसलाई प्रेम दिवसकै रूपमा मनाऔं। यसको पछाडि दुर्भावनाको कुरा ल्याउँदा प्रेममा खराबी आउँछ। लोकतन्त्रमा महिला र पुरुषको समान अधिकार हुन्छ। यसमा युवाहरूलाई संयमित हुन र युवतीहरूलाई शालिन हुन झन् कठिन हुन्छ। आफ्नो उत्तरदायित्व र संयमता भुल्नु हुँदैन।

(रामकला खड्कासँगको कुराकानीमा आधारित)

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost