MENU

ग्लुमी सन्डेको कथा

patan-college

किरण दहाल शुक्रवार, माघ २६, २०७४

Share This

635-x-85_1

प्रेममाथि संसारभरि नै अनेक विमर्श चल्छन्। प्रेममाथि लेखिएको एउटा यस्तो गीत छ, जसले संसारका धेरै मानिसलाई आत्महत्या गर्न प्ररित गर्‍यो। त्यो गीत हो– ग्लुमी सन्डे।

‘ग्लुमी सन्डे’ सम्भवतः अहिलेसम्मकै सबैभन्दा निराश गीत (डिप्रेसिङ सङ) हो। भनिन्छ, २०औं शताब्दीमा आत्महत्याको दर बढाउन यो गीतले निकै ठूलो भूमिका खेल्यो। ‘हंगेरियन सुसाइड सङ’को उपमा पाएको ग्लुमी सन्डेलाई रेज्सो सेरेस र लाज्लो जेभोरले रचना गरेका थिए।

संसारमा धेरै ‘स्याड सङ’ छन्। केही गीतले तपाईंलाई भावुक बनाउँछ, रुवाउँछ। यस्ता गीत पनि छन्, जसले तपाईंलाई ‘रोमान्टिक’ बनाउँछ। गीत अरु पनि छन्, तपाईंलाई सुन्नेबित्तिकै नाच्न मन लाग्छ। थोरै गीत छन्, जसले तपाईंलाई आत्महत्या गर्न प्रेरित गर्छ। ‘ग्लुमी सन्डे’ थोरै त्यस्ता गीतमध्ये एक हो।

१९३६ मा एक चर्मकार जोसेफ केलरले हंगेरीको बुढापेस्ट सहरमा आत्महत्या गरे। उनको आत्महत्यामाथि अनुसन्धान गर्ने क्रममा पुलिसले उनको सुसाइड नोट भेट्टायो। त्यसमा ग्लुमी सन्डेका केही हरफ थिए। सन् १९३० मा टाइम्स म्याग्जिन र न्युयोर्क टाइम्स दुवैले ग्लुमी सन्डे र मृत्युको सम्बन्धलाई जोडेर लामो रिपोर्ट तयार पारेका थिए। टाइम्सले त गीतको कारण मृत्यु हुनेको लिस्ट नै तयार पारिदिएको थियो।म्युजिकले मान्छेको दिमाग र भावनालाई प्रभाव पार्न सक्ने हैसियत राख्छ। तर, एउटा गीत सयौं मान्छेको मृत्युको कारण बन्न सक्छ ? हो, यही एउटा छोटो गीत जसले धेरैलाई मृत्युप्रेमी बनाएको आरोप खेपेको छ। मान्छेले रोजेको आत्महत्यापछाडि ग्लुमी सन्डेलाई दोष दिइन्छ। यसका लागि प्रमाण पनि छन्– मान्छेको सुसाइड नोटमा ग्लुमी सन्डेका शब्दहरू भेटिनु।

गीतले मान्छेलाई मृत्युउन्मुख बनाएको भन्दै बीबीसीले सन् २००२ सम्म यो गीत नै बजाएन।

भियनामा, एक टिनेजर युवतीले आत्महत्या गरिन्। उनको हातमा एउटा कागज थियो र त्यसमा ग्लुमी सन्डे गीत लेखिएको थियो। लन्डनमा एक महिलाले पर्खालबाट हामफालेर आत्महत्या गरिन्। आश्चर्य त के थियो भने उनको छेउमा यसै गीत लेखिएको कागजको टुक्रा भेटियो। आश्चर्य त के छ भने स्वयं ग्लुमी सन्डेका कम्पोजर सेरेशले पनि आत्महत्या गरे।

ग्लुमी सन्डे सुनेर कञ्चटमा गोली ठोकेका, नदीमा कैयौं उदाहरण छन्। यस गीत पहिलोपटक सन् १९३३ को ‘स्प्रिङ’मा बजाइएको थियो। हंगेरीको राजधानी बुढापेस्टस्थित एक क्याफेमा बसेका अधबैंसेले सेरेशको यो गीत सुन्न रहर गरे। अर्केस्ट्रा सकियो र उनी सीधै घरतिर लागे। आफूले बिलकुल नयाँ र भावनात्मक गीत सुनेर आएको उनले परिवारलाई बताएका थिए। एउटा यस्तो म्युजिक जसलाई दिमागबाट निकाल्नै नसकिने भन्दै उनले तत्काल आफ्नो कञ्चटमा गोली ठोके।

यही घटनाको एक हप्तापछि बुढापेस्टमै एक महिलालाई आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटियो। पुलिसले उनको मृत्युमाथि अनुसन्धान गर्‍यो। उनको ओछ्यानमा पुलिसले कागजको एउटा टुक्रा फेला पार्‍यो, छोपिएको अवस्थामा। भेटिएको सुसाइड नोटमा लेखिएको थियो, ग्लुमी सन्डे।

न्युयोर्कमा एक टाइपिस्टले हानिकारक ग्यास सुँघेर आत्महत्या गरिन्। उनको सुसाइड नोटमा भनिएको थियो– मेरो मृत्यु संस्कारमा ग्लुमी सन्डे बजाइदिनु।

सन् १९३५ तिर हंगेरीका पपगायक पल कार्लमरले ग्लुमी सन्डेमा आवाज दिए। त्यसपछि आत्महत्या गर्नेहरूको सूची लम्बिँदै जान थाल्यो। आत्महत्या गर्नेहरू बढ्दै जानु र प्रत्येकको सुसाइड नोटमा ग्लुमी सन्डेका हरफ भेटिनुले हंगेरियन सरकारलाई गीतको बारेमा सोच्न बाध्य बनायो। त्यसपछि सार्वजनिक स्थलमा ग्लुमी सन्डे बजाउनै प्रतिबन्ध लगाइयोे। अनुसन्धानले के भन्छन् भने हंगेरीमा हरेक वर्ष प्रत्येक एक लाखमा ४६ जनाले आत्महत्या गरे।

हंगेरीमा चर्चित भएको यो गीत सन् १९४१ मा विली होलिडेले अंग्रेजी ‘भर्सन’ मा गाएपछि ग्लुमी सन्डे विश्वभरि नै चर्चित हुन पुग्यो। त्यसपछि विभिन्न भाषामा यो गीत बज्न सुरु भयो– जापानी, चिनियाँ, स्विडिस आदिआदि।

अहिलेको विश्वमा मान्छे र म्युजिकलाई छुट्ट्याउन सकिएला ? पक्कै गाह्रो छ। म्युजिकबिनाको जिन्दगी सायदै कल्पना गर्न सकिएला। मनोविद्हरूले भन्ने गरेका छन्, म्युजिकले मान्छेलाई ‘रिल्याक्स’ गराउनुका साथै तनावबाट पनि मुक्त गराउँछ। मनोविज्ञानको यो सिद्धान्त सेरेशको गीत ‘भेगे अ भिलागंक’ (ग्लुमी सन्डे÷द वल्र्ड इज इन्डिङ)मा भने लागू हुँदैन। म्युजिकले मान्छेलाई यतिसम्म निराश बनाउन सक्छ भन्ने उदाहरण सेरेसले प्रमाणित गरिदिए।

हंगेरियन कम्पोजर रेज्सो सेरेशले १९३२ मा ग्लुमी सन्डेको ‘मेलोडी’ तयार पारे। डिसेम्बरको एक आइतबारका दिन आकाश धुम्म थियो। बेलुकीपखको समय, आफ्नै कोठामा बसेर उनी झ्यालबाहिर चियाइरहेका थिए। कालो बादलले मौसम नै उदास बनाएको थियो। घाम हराएर पानी पर्ला–पर्ला जस्तो भएको थियो। पे्रमिकासँग भर्खरै ब्रेकअप भएर निराश देखिएका सेरेशले आफैंसँग भने– ह्वाट अ ग्लुमी सन्डे।

हंगेरियन कम्पोजर रेज्सो सेरेशले १९३२ मा ग्लुमी सन्डेको ‘मेलोडी’ तयार पारे। डिसेम्बरको एक आइतबारका दिन आकाश धुम्म थियो। कालो बादलले मौसम उदास थियो। प्रेमिकासँग भर्खरै ब्रेकअपपछि निराश थिए सेरेश।

पियानोवादक सेरेसले पियानो बजाउँदै गर्दा एउटा धुन निस्कियो, जसमा प्रेमिका र मौसमको अनौठो संयोग थियो। ‘वाउ, ग्लुमी सन्डे ! यो मेरो नयाँ गीत हुनेछ,’ उनको खुसीको सीमा रहेन। गीतलाई एउटा पुरानो पोस्टकार्डमा लेखे। उनले ३० मिनेटभित्रै गीत तयार पारे। भयानक निराशाजनक त्यो म्युजिक उनलाई खुबै मनपर्‍यो। आफ्नो सिर्जना उनले कवि साथी जेभोरलाई सुनाए। आफ्नी प्रेमिकाको बिछोडमा जेभोर पनि निकै पीडामा थिए। यही वातावरणमा जेभोरले सेरेशको म्युजिकमा शब्द भरेको मानिन्छ।

तर, यो गीतलाई बजारमा ल्याउन कुनै पनि सांगीतिक संस्था तयार देखिएनन्। गीत अत्यधिक निराश भएकाले यसले श्रोतालाई भावनात्मक चोट पुर्‍याउने संगीत कम्पनीका मालिकको बुझाइ थियो।

केही कम्पनीले नमान्दैमा गीतै रेकर्डिङ हुन किन छाड्थ्यो र ! आखिर, बजारमा ‘ग्लुमी सन्डे’ घन्किन थाल्यो।

यो गीत सुरुमा ‘भेगे अ भिलागनाक’ (द इन्ड अफ द वल्र्ड) नाममा हेगेंरियन भाषामा रिलिज गरिएको थियो। पछि फेरि ‘जोमोरु भाषार्नाप’ (ग्लुमी सन्डे) नामबाट बजारमा बजारमा ल्याइयो।

ग्लुमी सन्डेका शब्दहरू जेभोरको नभएर सेरेसकै हो भन्ने पनि छन्। सेरेशले नै पहिला हंगेरियन भाषामा यो गीतका शब्द लेखेको र पछि विश्वयुद्धताका त्यो हराएको मानिन्छ।

बिछोडको यो संयोगमा दुवैजना मिलेर हंगेरियन गीत तयार पारे– जोमोरु भासार्नाप (ग्लुमी सन्डे)। गीतमा प्रेमिका प्रतिको अगाध प्रेम छल्किन्छ। गीतको शब्द र म्युजिक नै यति भावनात्मक भइदियो कि धेरैलाई यो गीतले बेचैन बनाइदियो। बेलायतले त ४० को दशकमा यो गीतलाई ‘ब्यान्ड’ नै गरिदिएको थियो। अमेरिकाले भने संस्थागत रूपमा यो गीत बज्न रोकेन।

सेरेसले आफ्नो ‘बर्थ डे’ मनाएको केही दिनपछि १३ जनवरी १९६८ मा आत्महत्या गरे। हिउँमा अनुहार गाडिएको अवस्थामा उनको ‘डेथ बडी’ भेटिएको थियो। हंगेरीको बुढापेस्टस्थित आफ्नै अपार्टमेन्टको झ्यालबाट हामफालेर उनले आत्महत्या गरेका थिए। उनको सुसाइड नोटमा भनिएको थियो, ‘आई स्टान्ड इन द मिड्स्ट अफ दिस डेड्ली सक्सेस एज एन अक्युज्ड म्यान। दिस फ्याटल फेम हर्टस् मि, आई क्राइड अल अफ द डिसेपोइनमेन्ट अफ माई हर्ट इन टु दिस सङ, एन्ड इट सिम्स द्याट अदर्स विथ फिलिङलाइक माइन ह्याभ फाउन्ड लियर वन हर्ट इन इट।’

उनको ओबिच्युरीमा ‘न्युयोर्क टाइम्स’ले लेखेको छ– ग्लुमी सन्डेले सेरेसलाई सधैं उदास बनाइदियो। किनकि यसभन्दा अर्काे कुनै चर्चित गीत उनले कहिल्यै लेखेनन्।

बजारमा ग्लुमी सन्डेले निकै चर्चा कमाइसकेपछि सेरेस पूर्वप्रेमिकासँग सम्बन्ध राख्न चाहन्थे। पूर्वप्रेमिकासँग मिलन हुन्छ कि भन्ने आशा पनि थियो उनमा। उनीहरूले एकअर्कालाई भेटेका पनि थिए। तर, सबै असफल। एकदिन उनले यस्तो खबर सुने– पूर्वप्रेमिकाले विष खाएर आत्महत्या गरिन् र उनको छेउमा ग्लुमी सन्डेका शब्द लेखिएको कागजको टुक्रा छ।

यस गीतका कारण मान्छेले आत्महत्या गरेका हुन् भन्ने विचारसँग असन्तुष्टि राख्नेहरू पनि छन्। विश्वयुद्ध, आर्र्थिक मन्दी, सम्बन्धबिच्छेदजस्ता घटनाका कारण मान्छेले मृत्यु रोजको तर्क राख्छन् धेरै। गीत र आत्महत्याको खास सम्बन्ध छैन। यो हल्ला मात्र हो भन्नेहरूको कमी छैन। तर, सुसाइड नोटमा ग्लुमी सन्डेको पंक्ति भेटिनुले मृत्युको कारण गीत नै हो भन्ने तर्क पनि कम गहकिलो छैन। –एजेन्सीको सहयोगमा


उदास आइतबार

उदास छ आइतबार

अनिँदा छन् मेरा प्रहरहरू

बाँचेको छु म

असंख्य प्यारा छायाहरूसँग

पीडाको कालो बग्गीले

तिमीलाई जहाँ पुर्‍याएको छ

त्यहाँ साना–साना सेता फूलहरूले

अब ब्युँताउने छैनन् तिमीलाई

देवदूतहरूले तिमीलाई फर्काउनेबारे

सोचेकै छैनन्

तिम्रो साथमा रहन चाहेँ भने म

उनीहरू रिसाउने त छैनन् ?

उदास आइतबार

 

उदास छ, आइतबार

 

मैले भोगेका छायाँहरूलाई

मेरो हृदय र मैले

समाप्त गर्ने निधो गरेका छौं

मलाई थाहा छ–

अब छिट्टै नै बालिनेछन् मैनबत्तीहरू

गरिनेछन् प्रार्थनाहरू

तर नरोऊन् कोई

जानुन् तिनले कि

म खुसीसाथ जाँदैछु यो धर्तीबाट

मृत्यु कुनै सपना होइन

म तिमीलाई मृत्युमा

स्पर्श गरिरहेको हुनेछु।

(अंग्रेजी संस्करणको ‘उदास आइतबार’का रचयिता बिल्ली होलिडे हुन्।)

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost