MENU

सुरुवात एउटा मान्छेको सपनाबाट हुन्छ

patan-college

विजय कुमार शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

मिडिया हेर्दा कहिलेकाहीँ लाग्छ– समाजमा खराबै मात्र भइरहेछ। सबै खराब छन्, राम्रो केही छैन, कोही छैनन्। ३० औं वर्षअघि पनि जब मेरो पुस्ता पत्रकारितामा पस्यो, त्यसबखत पनि यस्तै सुनिन्थ्यो– सब नास भो, सब खत्तम भो, सबै खराब छन्।

अब आउने सयौं वर्षपछि पनि सम्भवतः यो गनगन जारी नै रहनेछ। अर्थयुक्त र अर्थहीन, दुवैथरी टिप्पणी समाजका अभिभाज्य अंग हुन्। आखिर, मिडिया पनि त समाजभित्रै बसेको हुन्छ, न कि मिडियाभित्र समाज।

नकारात्मक समाचारले मिडियामा धेरै हेडलाइन पायो भन्दैमा यो जरुरी छैन कि समाजमा पनि नकारात्मकता त्यही अनुपातमा धेरै छ, जति मिडियामा छ। पूर्वअमेरिकी विदेशमन्त्री कोन्डोलिजा राइसको महावाक्य छ– ‘आजका हेडलाइन र इतिहासका निर्णय विरलै मात्रै (एउटै) प्रमाणित भएका छन्। हेडलाइनहरूमा मात्र बढ्ता ध्यान दिए, इतिहासको प्रवाह बुझ्ने अवसरबाट हामी वञ्चित हुन सक्छौं।’

हामीलाई थाहा छ, समाजमा कैयौं हुनु नपर्ने घटना घटिरहेका छन्। तर, कोलाहलबीच हामीले बेलाबखत आफैंलाई यो सम्झाउन पनि जरुरी छ, कैयौं राम्रा काम पनि भएका छन्। हामीसित कैयौं यस्ता मानिस र संस्था छन्, जसमाथि हामीले सन्तोष गर्न सक्छौं। तीमध्ये केही यस्ता होलान्, जसलाई आज दुनियाँले चिनेका होलान्। अनगिन्ति यस्ता होलान्, जसमाथि मिडियाको टर्चलाइट अझसम्म नपरेको होला; जो चुपचाप, गुमनाम, गुनासोरहित भावले, फगत सेवा भावले आआफ्नो क्षेत्रमा योगदान गर्दै छन्।

कैयौं क्षेत्रमा नेपालमा गर्व गर्न लायक काम भएका छन्। जस्तै, आज तिलगंगा आंखा अस्पताल नेत्र चिकित्साको क्षेत्रमा नेपालकै सबैभन्दा सशक्त हस्ताक्षर बनेको छ। यसका सूत्राधार डा. सन्दुक रुइतको नामसँग दुनियाँ परिचित छ। केही वर्षअघि अस्ट्रेलियाका विख्यात टेलिभिजन पत्रकार रे मार्टिनको उपस्थितिमा डा. सन्दुक रुइतसँगै डिनरमा भेटको मौका जुरेको थियो। रे मार्टिनसँग मेरो एउटा प्रश्न यो आलेखको गर्भकथा बन्न पुग्यो ।

‘डा. रुइत कति सरल मानिस हुनुहुन्छ है मार्टिन ?'

‘तिम्रो कुरामा सही थप्न पनि सकिन्छ, नथप्न पनि सकिन्छ। रुइतको सरलता उसले बिताएको जीवनको जटिलता, दुःख, मिहिनेत र करुणाको परिणाम पनि हो। विजय के तिमीलाई थाहा छ, उसको बाल्यकाल कस्तो थियो ? आज ऊ जुन शिखरमा छ, त्यहाँसम्म पुग्न उसले कति उकालो उक्लिनु पर्‍यो ? नेपालमा केही हुँदैन, गर्न सकिन्न भन्नेहरू धेरै छन्। यस्तो ठाउँमा पनि उसले यति ठूला उपलब्धिहरू कसरी हासिल गर्‍यो ? कुनै दिन लेख्यौं वा टेलिभिजन गर्यौं भने एउटा यस्तो रेखाचित्र तयार गर्ने कोसिस गर्नू, जसले गर्दा सबैले डा. सन्दुक रुइतलाई अलि सजिलोसँग बुझून्। मानिसको रूपमा र डाक्टरको रूपमा र तिलगंगा आँखा अस्पतालजस्तो संस्थाको संस्थापकको रूपमा पनि ...’

त्यसपछिका वर्षहरूमा मैले डा. रुइतसँग अन्तर्वार्ताका लागि कैयौं अनुरोध गरें। उहाँले हमेशा मुस्कुराएर टारिदिनुभयो। यसैगरी वर्षौं बिते। तर, दुई महिनाअघि एक दिन एक्कासि ६२ वर्षीय डा. सन्दुक रुइतले आफ्नो विचार बदल्नुभयो।

नागपोखरीको एक कफी पसलमा आफ्नी छोरी सेरब्लालाई छेउमा राखेर डा. सन्दुक रुइतले बहिनी याङ्लाको असामयिक मृत्युबारे मलाई सुनाउँदा वातावरण धेरै गरुंगो भएर आयो। १५ वर्षको उमेरमा याङ्लाले शरीर छाड्दा, रुइतको उमेर १६ वर्ष थियो।

हो, बहिनी याङ्ला, जस्को बिछोड शोकले, ओलाङचुङगोलाको एक निम्नमध्यमवर्गीय युवकलाई डाक्टर बन्ने प्रेरणा दियो। डाक्टर पनि कस्तो डाक्टर ! नाम सुन्ने बित्तिकै मानिसहरूको मनबाट निस्कन्छ– अरे वाह !

मेरो व्यक्तिगत निराशका क्षणहरूमा जब–जब म सोच्छु– नेपालमा केही हुन्न, केही गर्न सकिन्न, तब–तब म आफ्नो मनको निराशालाई सन्दुक रुइतजस्ता मानिसको सम्झनाले पखाल्ने कोसिस गर्छु।

आउँदा दिनमा पनि केही यस्ता मानिसको रेखाचित्र कोर्न चाहन्छु, जो छन् र पो त संसार आफ्नो तमाम अन्धकारका बीच पनि उज्यालै छ।


सुरुवात त एउटै मान्छेको सपनाबाट हुन्छ

लुम्बिनीमा आयोजित आँखाशिविरमा थाइल्यान्डकी राजकुमारी महाचक्री सिरिन थोर्नसँग डा. रुइत।

धेरैले भन्छन्– नेपालमा केही गर्न सकिन्न। तर, गर्नेले गरेरै देखाएका उदाहरण पनि छन्। जस्तो तपार्ईं। म जान्न चाहन्छु, जसले केही गर्न सके। कसरी सके ?

मलाई लाग्छ, समस्यालाई विश्लेषण गर्न जरुरी छ। कुनै पनि ‘समस्या’ र ‘समाधान’का बीचमा दूरी हुन्छ। यो दूरी बाधा, अवरोध, अप्ठ्यारो, जटिलता आदि नामले चिनिन्छ। कतिपय मान्छे ‘बाधा’ देख्नेबितिकै काम गर्न छाड्छन्, पछि हट्छन् वा गर्नै सकिन्न भनेर मैदान छाड्छन्। यदि त्यसो नगर्ने हो भने, बाधा र अप्ठ्यारा पार गर्न हामीसँग ‘भिजन’ हुनुपर्छ, लजिस्टिक र साइन्टिफिक भिजन। नेपालमा काम गर्न सकिने ठाउँ धेरै छन्। तर, त्यसो गर्न कमिटमेन्ट चाहिन्छ। भिजन र कमिटमेन्ट भएपछि ‘टिम’ चाहिन्छ। टिम नभई अघि बढ्न सकिन्न। नेपालमा केही भएकै छैन, हुनै सक्दैन भन्ने कुरा साँचो होइन। मलाई त्यस्ता कुरामा पत्यार लाग्दैन। गर्न सकिन्छ भन्ने कुराको एक जीवन्त उदाहरण तिलगंगा आँखा हो।

कामको सुरुवातचाहिँ त्यो एउटै मान्छेबाट हुन्छ ?

हो, सुरुवात त एउटै मान्छेको सपनाबाट हुन्छ। तपाईं त्यसलाई नेता, प्रोजेक्ट लिडर, सूत्राधार वा स्वप्नद्रष्टा जे भने पनि हुन्छ। उससँग भिजन हुन्छ। उसँग कमिटमेन्ट हुन्छ। उसैले टिम निर्माण गर्छ। राम्रो, सुन्दर टिम भनेको संगीतको अर्केस्ट्रा जस्तै हो, जहाँ सयथरी बाजा भए पनि एउटै सुरताल हुन्छ, त्यो संगीतमा।

राम्रो, सुन्दर टिम भनेको संगीतको अर्केस्ट्रा जस्तै हो, जहाँ सयथरी बाजा भए पनि एउटै सुरताल हुन्छ, त्यो संगीतमा। ओलाङचुङगोलाको एक गरिब केटाका निम्ति डाक्टर बन्नु सजिलो कहाँ थियो र ? तैपनि मैले हिम्मत हारिनँ।

सपना देख्ने मानिसलाई के कुराले आफ्नो लक्ष्यतर्फ निरन्तर अघि बढ्न ऊर्जा दिइराखेको हुन्छ, डा. साब ? थकानबाट के तत्वले जोगाउँछ उसलाई ?

सपनाले कर्मतर्फ डोर्‍याउँछ। कर्म गरेपछि थोरबहुत नतिजा देखिन थाल्छन्। नतिजाले ऊर्जा थप्छ। ऊर्जा थपिएपछि सफलता मात्र बढ्दैन, चुनौती पनि बढ्छन्। म असफलता भन्नुभन्दा चुनौती शब्द रुचाउँछु। बुझ्नुभो ? सफलता र चुनौतीले नै सपना देख्ने मानिसलाई थकानबाट जोगाउँछ।

आजभोलिको जमानामा सबैलाई, तत्काल सफलता चाहिएको छ। धैरै बेर कुर्ने धैर्य छैन। यस्तो जमानामा राम्रो र टिकाउ टिमको निर्माण गर्न र त्यसलाई जोगाउन कति गाह्रो छ ?

राम्रो टिमबिना केही हुन्न। म नियतिमा पनि विश्वास गर्छु। कहिलेकाहीँ राम्रा मानिसहरू एकै ठाउँमा जम्मा भइदिन्छन्। राम्रो काम गर्नेको वरिपरि प्रभावकारी टिम जम्मा भएको खण्डमा काम गर्न धेरै सजिलो हुन्छ। राम्रो टिम लिडर त्यो हो जसले आफ्नो भिजनमा टिमलाई डोर्‍याउन सक्छ। लिडरको गुण उसले छान्ने मानिसको गुणस्तरबाट पनि नाप्न सकिन्छ।

तपाईंले प्रयोग गरेको डेस्टेनी (नियति) शब्दले तपाईंका निम्ति के अर्थ लाग्छ ?

म तपाईंलाई एउटा उदाहरण दिन्छु। मैले जीवनमा धेरै मान्छे भेटें। मैलै मेरो श्रीमतीलाई पनि त्यसै क्रममा भेटें। उनको साटो कोही अर्को पनि भेटिन सक्थ्यो। मेरो जीवनको निर्माणमा उनको ठूलो हात र प्रेरणा छ। नियतिको विषयमा कुरा गर्दा मलाई यो पनि लाग्छ, यदि कसैले समाजको हितका निम्ति काम गर्दै छ भने वातावरण विस्तारै उसका निम्ति सहज बन्दै जान्छ। हो, कहिले अलि चाँडो सहज बन्ला, कहिले अलि ढिलो सहज होला। तर, हुन्छ जरुर। यो मेरो विश्वास हो। जब मैले काम गर्दै गएँ, नतिजा आउँदै गए। त्यसले मेरो आत्मविश्वास बढाउँदै गयो। फेरि मान्छेसित कोरा आत्मविश्वास भएर मात्र पुग्दैन। त्यसका लागि ‘ड्राइभ’ पनि चाहिन्छ। एकचित्त भएर लागिरहने निरन्तरता। मलाई लाग्छ, म सही बाटोमा छु भने नियतिले पनि मलाई सघाउने छ।

आजसम्म तपाईंले कति जनाको आँखा अप्रेसन गर्नुभयो होला ?

ठ्याक्कै संख्या त सम्झन्नँ। तर, एक लाख त जरुर नाघ्यो होला।

के तपाईं आफूले गरेको पहिलो अप्रेसन सम्झनुहुन्छ ?

बिर्सने कुरै होइन। म डा. एनसी राईलाई सघाउँदै थिएँ, नेपाल आँखा अस्पतालमा।

बिरामी को थियो ?

काठमाडौंकै एक जना गरिब बिरामी थियो।

केही समय नेपाल आँखा अस्पतालमा काम गरेपछि, तपाईं त्यहाँको सुरक्षित वातावरण छाडेर निस्कनुभयो। तपाईंको त्यो निर्णयले कालान्तरमा तिलगंगा आँखा अस्पतालजस्तो विख्यात संस्था स्थापनाको जग बसाल्यो। यदि तपाईं पुरानै संस्थामा बसिरहेको भए ...?

यो एक धेरै महत्वपूर्ण प्रश्न हो, जुन मलाई सोधिँदैन। नेपाल आँखा अस्पतालमा काम गरिरहँदा म आफ्नो करिअरको महŒवपूर्ण स्थानमा पुगिसकेको थिएँ। कमी केही थिएन। भीआईपी र सर्वसाधारण दुवैखाले बिरामीको अप्रेसन गरिसकेको थिएँ। म बाँकी जीवन त्यहीँ सुरक्षित करिअरमा सजिलै बिताउन सक्थें। तर, मेरो सपना नेपाल आँखा अस्पतालको सुरक्षित वातावरणभित्र अटाउन सक्ने खालको थिएन। म मोतिबिन्दुको अप्रेसन सेवालाई गाउँघरसम्म पुर्‍याउन चाहन्थें, काठमाडौंकै स्तरमा। म त्यो सेवा अभियानलाई आत्मनिर्भर पनि बनाउन चाहन्थें। त्यसका लागि नेपाल आँखा अस्पतालको कम्पाउन्डबाहिर निस्कन जरुरी थियो।

म मोतिबिन्दुको अप्रेसन सेवालाई गाउँघरसम्म पुर्‍याउन चाहन्थें, काठमाडौंकै स्तरमा। म त्यो सेवा अभियानलाई आत्मनिर्भर पनि बनाउन चाहन्थें। त्यसका लागि नेपाल आँखा अस्पतालको कम्पाउन्डबाहिर निस्कन जरुरी थियो।

किन ?

त्यहाँ जस्तो प्रशासनतन्त्र थियो, त्यसभित्र बसेर मेरो सपना पूरा हन सक्दैनथ्यो। काम गर्ने ‘फ्री ह्यान्ड’ पाउँदैनथें। आफूले चाहेजस्तो टिम बनाउन सकिँदैन थियो त्यहाँ। मैले जोखिम लिएँ, किनभने म संसारलाई देखाउन चाहन्थें– शून्यबाट सुरु गरेर सिर्जना गर्न सकिन्छ। मेरो सपनाले मलाई जोखिम लिने शक्ति दियो। त्यसपछि साथीहरूसँग मिलेर टिम बनाएँ।

तपाईंलाई जोखिम लिन के कुराले प्रेरित गर्‍यो ? नेपाल आँखा अस्पतालमा तपाईंको जीवन आरामसँगै चल्दै थियो त ?

जुन नयाँ प्रविधिबाट म उपचार गर्न चाहन्थें, आँखामा लेन्स हालेर मोतिबिन्दुको उपचार गर्ने प्रविधि, त्यो प्रविधि त्यसबखतका लागि एकदमै नयाँ थियो। यो कसैले गरेको थिएन। म यो प्रविधिलाई गरिबभन्दा गरिबको पहुँचसम्म पुर्‍याउन चाहन्थें।

तपाईंले यो प्रविधि कहाँबाट पाउनुभयो ?

सुरुमा बेलायतमा एक जना डाक्टरले र पछि एक जना इजरायली डाक्टर यो प्रविधिमा काम गर्दै थिए। यही प्रविधिलाई मैले ‘मोडिफाई’ गरें, विकसित गरें। नयाँ सिस्टम बसालें। सुरुमा यो नयाँ कुरा थियो। तर, मलाई विश्वास थियो, सम्भव छ। जोखिम लिएँ, र गरें।

जोखिम लिने प्रेरणाको स्रोत के थियो ?

मैले के ठानें भने, तो प्रविधिको परिणाम र प्रभाव विशाल परिधिमा फैलनेछ। यसले लाखौं मानिसको जीवनमा ज्योति ल्याउन सघाउनेछ। जनस्वास्थको क्षेत्रका यो ठूलो फड्को हुनेछ भन्ने लाग्यो। त्यसैलाई प्रेरणा भनौं या जोखिमको स्रोत भनौं ...

जुन कुरा तपाईंले देख्नुभो, त्यही कुरा अन्य आँखा चिकित्सकले त्यसबेला वा त्यसभन्दा अघि किन देख्न सकेनन् होला ?

अरूका बारे मैले बोल्नु उचित हुँदैन। आफ्नो भन्छु। मेरो घाँटीमा एउटा पीडादायक गाँठो अड्किएको थियो। पुरानो प्रविधिअनुसार मोतिबिन्दुको उपचार गर्न समय धेरै लाग्थ्यो। गाउँघरका गरिबका निम्ति उपचार समयको अवधि र तत्कालीन उपचार पद्धति धेरै लामो थियो। म आफैं पहाडको गरिब परिवारबाट आएकाले पीडा बुझ्न सक्थें। विकट गाउँमा आँखाको महŒव सायद झनै बढी हुन्छ। एक कदम तलमाथिले मान्छे भीरबाट लड्न सक्छ। म रातदिन सोचिरहन्थें– अहिले चलेको भन्दा राम्रो, छिटो र सस्तो तरिकाले मोतिबिन्दु रोगको उपचार हुने कुनै पद्धति छ कि ...

तपाईंको पारिवारिक पृष्ठभूमि ?

दुर्गम। धेरै दुर्गम। ताप्लेजुङको ओलाङचुङगोला। दशौं हजार फिटमाथि रहेको सुन्दर गाउँ, जसको जीवन धेरै कठिन थियो। आमाबाबु सरल सीधा र असल। धेरै कठिन जीवनका बीच पनि मलाई राम्रो संस्कार दिनुभो। बुबाको सानो खेती र व्यापार थियो। व्यापार पनि के भनौं, बसिँबियालो भन्नुपर्छ। कुन्नि के सोचेर हो उहाँले मलाई शिक्षा दिने विचार गर्नुभयो।

एकदिन बिहान हामी बाउछोरा मेरो शिक्षाको निम्ति घरबाट निस्कियौं। म सात वर्षको थिएँ। धेरै हिड्न नसक्ने। पहिलो रात ओडारमा बास बस्यौं। म धेरै डराएको थिएँ। डरले गर्दा प्यान्टमै पिसाब गरेछु। पूरा १४ दिन लाग्यो दार्जिलिङ पुग्न। त्यहाँ म एउटा साधारण र सस्तो स्कुलमा भर्ना भएँ। बस्ने, खाने र पढ्ने त्यहीँ। बिदामा सबै साथी घर जान्थें, मबाहेक। कहिलेकाहीँ म दुई वर्षमा एक पटक मात्र बिदामा घर गएँ। मलाई लिन/पुर्‍याउन बुबालाई सजिलो थिएन भन्ने कुरा त मैले पछिमात्र बुझ्न थालेको हुँ। सुरुमा त मलाई धेरै रिस उठ्यो बुबासँग। लामो बिदामा जब सबै साथी घर जान्थे, स्कुल खाली हुन्थ्यो, म एक मात्र विद्यार्थी बाँकी हुन्थें। त्यसबखतको न्यास्रो सजिलो थिएन। तर, त्यसले गर्दा मेरो चरित्रमा स्वतन्त्रता, अटेरीपन, दुःखमा बाँच्न सक्ने, हार्डसिप फेस गर्न सक्ने गुणहरू विकसित भए। मलाई सानै उमेरमा थाहा भयो– मेरा निम्ति जीवन अरूका निम्तिजस्तो सजिलो बाटो लिएर आएको छैन।

स्कुलका सम्झनाहरू ?

मेरा प्रिन्सिपल फादर मिकीको मीठो सम्झना छ। म उनको मुस्कान सम्झन्छु। मलाई ‘एप्पल’ भनेर बोलाउँथे। मेरो गाला रातो–रातो थियो, त्यसैले। म सानो छँदै फादर मिकीले एकदिन भने, ‘यो संसारमा थोरै मानिसहरूसित धेरै कुरा छ। बाँकी धेरै मानिससित ज्यादै अभाव छ। तिमी भविष्यमा तिनका निम्ति काम गर, जोसित थोरै छ।’ यो कुरा मेरो मनमा धेरै गढेको थियो। अनि अर्को कुरा, म स्कुलमा फुटबल खेल्दा धेरै रमाउँथें।

मलाई आफूले गरिरहेको कामबाहेक अरू कुनै काम गर्न सक्छु भन्ने रत्तिभर विश्वास छैन।

सुखदुःखका क्षणहरू ?

सबैभन्दा दुःखको सम्झना भन्छु पहिला। एकपटक मेरो चाकमा पिलो आयो। पाक्यो। थामिनसक्नु भएपछि मलाई अस्पताल भर्ना गरियो। बाआमा १४ दिनको बाटो टाढा थिए। म उनीहरूलाई पुकारा मात्र गर्न सक्थें। फादर मिकी पनि आफ्नो देश जानुभएको थियो। अस्पतालको बेडमा म एक्लो बालक, पीडाले छटपटाएको सम्झँदा मलाई अझै पनि दुख्छ। भर्ना भएको चार दिनपछि मेरो अप्रेसन गरियो। अप्रेसनपछि १० दिन अरू म अस्पतालमा एक्लै बसें। मैले त्यस्तो एक्लोपन आजसम्म महसुस गरेको छैन।

अनि सुखका सम्झना ?

कक्षा ७ मा फाइनलको जाँच सकियो। सबै साथी घर गए, मबाहेक। अघिल्लो वर्ष पनि त्यस्तै भएको थियो। बिदाको बेला म स्कुलको झ्यालहरू पुछ्ने काम गर्थें। त्यसदिन पनि त्यही गर्दै थिएँ। मलाई लिन कोही आउँदैनन् भन्ने थाहा थियो। अचानक खबर आयो– ‘स्कुल अफिसमा आउनु’। म अफिस पुगें। खुसीले आफूलाई सम्हाल्न सकिनँ। मेरो बुबा मेरै अगाडि खडा थिए। मलाई लिन आएका रहेछन् ...बिर्सनै नसकिने सरप्राइज।

त्यसपछि ?

सन् १९६२ मा भारत–चीन युद्ध भयो। दार्जिलिङका सबै स्कुल बन्द भए। बुबाले मलाई काठमाडौं ल्याउनुभयो। बुबाले मलाई फर्पिङको बोर्डिङमा भर्ना गर्ने धेरै कोसिस गर्नुभयो। सक्नुभएन। अरू बोर्डिङ स्कुल हाम्रो आर्थिक अवस्थाले धान्न नसकिने थिए। त्यसपछि वनस्थलीमा मलाई भर्ना गरियो। त्यसबखत यो स्कुल धेरै सानो थियो। एसएलसीपछि म त्रिचन्द्रमा भर्ना भए।

तपाईं कस्तोखाले विद्यार्थी हुनुहुन्थ्यो ?

राम्रै थिएँ (लामो हासो)। राम्रो अंक ल्याउनेबाहेक ओलाङचुङगोलाको गरिब केटासित कुनै विकल्प थियो र ?

जीवनको कुन बिन्दुमा डाक्टर बन्छु भन्ने विचार आयो ?

म बहिनीसँग धेरै नजिक थिएँ। उनको नाम याङ्ला थियो। महेन्द्र भवनमा पढ्थिन्। हामी सँगै डेरामा बस्थ्यौं।। एक्कासि उनी दुब्लाउन थालिनँ। उनलाई टीबी भएको रहेछ। त्यसबखत नेपालमा टीबी धेरै ठूलो रोग मानिन्थ्यो। याङ्ला धेरै कमजोर भएपछि उनलाई बाआमाले लिएर गए। धनकुटाको हिलेमा। त्यसबखतसम्म उहाँहरू ओलाङचुङगोलाबाट हिले बसाइँ सरिसक्नुभएको थियो। जब उनी हामीलाई छाडेर जाँदै थिइन्, त्यसबखत उनको मुहार म बिर्सन सक्दिनँ। याङ्ला बितेको एक महिनासम्म मलाई होसै भएन। मैले आफूलाई सम्हाल्न निकै कोसिस गर्नुपर्‍यो। त्यसपछि मलाई लाग्यो– म डाक्टर बन्नुपर्छ। तर, लाग्दैमा कहाँ हुन्छ र ? त्यसबेला ओलाङचुङगोलाको एक गरिब केटाका निम्ति डाक्टर बन्नु सजिलो कहाँ थियो र ? तैपनि मैले हिम्मत हारिनँ। खुब मिहिनेत गरेर पढें। यसरी सोच्ने हो भने, मेरो प्रेरणाको स्रोत याङ्ला हो, जो हाम्रै आँखाअघि अल्पायुमै संसारबाट गइन् ...

त्यस पछि के भयो ?

मैले राम्रो नम्बरले आईएस्सी पास गरें। कोलम्बो प्लानअन्तर्गत लखनऊमा एमबीबीएस गरें। ओलाचुङगोलाको मान्छे, त्यत्रो सहरमा पुग्दा ट्वाल्ल पर्थें।

कुनै सम्झना लखनऊको ?

मेरो साथी राकेश र म बिदाको दिन, कहिलेकाहीँ हजरतगन्जको बजार डुल्थ्यौं। उसले १० र मैले पनि १० रुपैयाँ निकाल्थ्यौं। रिक्सा भाडा, हिन्दी सिनेमा, रातको खाना सबै त्यसैबाट। ‘हाउस जब’ समेत गरेर म ६ वर्ष लखनऊको किङ जर्ज मेडिकल कलेजमा बसें। र, डाक्टर भएर काठमाडौं फर्कें।

काठमाडौं फर्केपछि के भयो ?

वीर अस्पतालमा काम पाएँ। यो सन् १९७७ को कुरा हो। चीन–नेपाल बोर्डर कमिसन खडा भयो। त्यसमा डाक्टरको दरबन्दी थियो। उत्तरी सीमामा खटिनुपर्ने। डाक्टरहरू त्यो विकट यात्रामा जान धेरै गाह्रो मान्ने, वा नजाने। म गएँ। यस दौरानमा मैले आफ्नो देशलाई झन् व्यापक र नजिकबाट बुझ्न पाएँ। गरिबी, अशिक्षा, स्वास्थ्य क्षेत्रका समस्या मैले पढेर होइन, भोगेर जानेको विषय पनि हो। पछि गएर मैले आँखासम्बन्धी विषयमा दक्षता हासिल गरें। नेपाल आँखा अस्पतालमा केही समय काम गरें। ठूलो सपना बोकेर तिलगंगा आँखा अस्पतालको जग बसालें। जसबारे मेले सुरुमै तपाईंलाई भनिसकें विजयबाबु।

नेत्र चिकित्साको क्षेत्रमा तिलगंगा आज संसारमा चिनिएको संस्था भएको छ। तपाईंले कैयौं अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएको छ। यहाँ पुग्नुअघि बाधाहरू त आए होलान् नि !

किन नआउनु। धेरै आए। सबैभन्दा पहिला त आफ्नै क्षेत्रमा काम गर्ने बिरादरीबाट आए। कुनै पनि नयाँ काम गर्दा त्यस्तो हुन्छ। हामी पनि अपवाद भएनौं। नजिक ठानिएका एउटै पेसामा रहेका केही ‘नियर एन्ड डियर’ बाट पनि त्यस्तो भयो। अलिकति ईष्र्या र अलिकति अज्ञानताका कारणबाट त्यस्तो भयो। सुरुमा देशको प्रशासनले पनि बाधा दिन सक्छ। तर हामीसित कटिबद्ध टिम थियो। सबैभन्दा महŒवपूर्ण भनेकै टिम हो। टिम राम्रो भए, बाधा पार हुन्छन्।

प्रेमभन्दा पनि माथि कुनै शब्द छ भने त्यही शब्दले मात्र आफ्नो कामसँगको मेरो सम्बन्ध परिभाषित गर्न सक्छ।

सबैभन्दा महत्वपूर्ण टिम हो कि साधनस्रोत हो ?

टिम हो। सही उद्देश्य र राम्रो टिम भएपछि साधनस्रोत त ढिलोचाँडो पुगिहाल्छ।

प्रोफेसनल जेलसी (उही पेसाका मानिसको ईष्र्या) नेपालमा मात्रै हो कि अन्त पनि हुन्छ ?

अरू देशमा पनि हुन्छ। तर, नेपालमा त्यसको स्केल अलि धेरै छ। यसको कारण हामीमा भएको असुरक्षाको भावना जिम्मेवार छ। यसको कारण हामीकहाँ विभिन्न क्षेत्रमा विधिहरू स्थापित भइसकेका छैनन्। हामी संसारको विरलै देश होलाऔं, जहाँ मान्छेले आफ्नो आर्जनको ठूलो हिस्सा आफ्नो सन्तानको शिक्षामा खर्च गर्छ। ऋण गरेर भए पनि सन्तानलाई विदेशमा पढ्न पठाउने कारण पनि त्यही हो। मलाई लाग्छ शिक्षा र स्वास्थका क्षेत्रमा हाम्रा नीतिमा आधारभूत परिवर्तन गरिनुपर्छ। यदि यो दुश्चक्र तोड्ने हो भने।

टिमको निर्माण कसरी हुन्छ ? कसरी हुँदैन ?

मेरो विचारमा कुनै पनि नेता वा प्रोजेक्ट लिडरले सबैभन्दा पहिला आफूलाई पारदर्शी सिसाको बाकसभित्र राख्नुपर्छ। टिमका सहकर्मीले तपाईंलाई प्रस्ट देख्न सक्नुपर्छ। जब टिमले देख्छ, तपाईंका निर्णयहरू संस्थाको हितमा छन्, तब उस्को सहयोग स्वतः बढ्छ। टिमलाई नेताले आफ्नो बलियो र कमजोर पक्षबारे पारदर्शी रूपमा बताउनुपर्छ। तब टिमले आफ्नो लिडरलाई माया र इज्जत गर्न थाल्छ। त्यसपछि धेरै सजिलो हुन्छ। नेताले टिमसँग भिजन सेयर गर्नैपर्छ। आफू गर्न नसक्ने अयोग्य नेताले आफूमुनिको टिमबाट सहयोग पाउन सक्दैन। अयोग्य कुर्सीमा बस्न त सक्छ, तर उसले नेतृत्व दिन्छ भनेर सोच्नु मूर्खता हो।

तपाईंका निम्ति तपाईंको काम कुनै जागिर हो कि ? प्रोफेसन हो कि भगवान्ले दिएको दायित्व हो ?

जागिर त हुँदै होइन। मलाई आफूले गरिरहेको कामबाहेक अरू कुनै काम गर्न सक्छु भन्ने रत्तिभर विश्वास छैन। बुझ्नु भएन ? प्रेमभन्दा पनि माथि कुनै शब्द छ भने त्यही शब्दले मात्र आफ्नो कामसँगको मेरो सम्बन्ध परिभाषित गर्न सक्छ। नियति पनि होला सायद...। मैले आफ्ना बिरामीसँग बिताएको समय, सर्जरीमा बिताएको समय, अस्पतालहरू निर्माण गर्न लगाएको समय...। म धेरै भाग्यशाली छुजस्तो लाग्छ। मलाई लाग्छ– मैले आफ्नो समय खेर फाल्नै हुँदैन।

कति समय बिताउनुभयो नेत्र चिकित्साको सेरोफेरोमा आजसम्म ?

(ठूलो लामो हासो...) खोइ कति भनौं ! कहिलेकाहीँ सोच्छु, म आँखाको कामबाहेक के पो गर्न सक्छु र ? त्यो कामबाहेक म बेकारको मान्छे हुँ ! गुड फर नथिङ। जीवनमा अघि बढ्ने हो भने, मानिसले आफ्ना सीमितता पनि बुझ्नुपर्छ। मेरो कामको परिधि आँखामा सीमित छ। मैले जति आँखाहरूलाई जीवन दिँदै जान्छु, ती आँखाले मलाई त्योभन्दा धेरै दिएर जान्छन्।

जब कोही बिरामी मेरो अप्रेसन टेबुलमा हुन्छ, मलाई लाग्छ– मसित एउटा सुन्दर जिम्मेवारी छ। मैले त्यो जिम्मेवारी राम्रोसँग निभाएँ भने टेबुलमा पल्टिएको यो बिरामी मानिसको, उसको परिवारको र समाजको स्थितिमा योगदान हुनेछ। मेरो क्षमताले उसको जीवनमा परिवर्तन ल्याउन सक्छ भन्ने भाव मनमा आउँछन्। मेरा लागि हरेक आँखा एउटा जिन्दगी हो। र, त्यो एउटा जिन्दगीसँग धेरैथरी जीवन जोडिएका छन्।

बडा सुन्दर भन्नुभयो। हरेक आँखा एउटा जीवन हो। कुनै एक घटना सम्झन सक्नुहुन्छ ?

अनगिन्ती छन्। एउटा भन्छु। हामी नेपाल बाहिर पनि उपचार गर्छौं। कालिम्पोङको घटना हो। अधबैंशे देखिने, लुगा पनि राम्ररी नलगाएकी, मानसिक हालत ठीक नभएकी एक महिलालाई हाम्रो स्वास्थ शिविरमा ल्याइयो। मोतिबिन्दुले गर्दा दुवै आँखा बन्द थिए उनका। सडकमा सुत्थिन्। अर्धनग्न, बेसुर भएर हिँडिरहन्थिन्। केटाकेटीले उनलाई जिस्काउँथे, पत्थर हान्थे।

कहिलेको कुरा ? के नाम थियो उनको ?

यो सन् २००० को कुरा हो। उनको कुनै नाम थिएन। हामीले धेरै पटक सोध्यौं, तर जवाफ आएन।

त्यसपछि के भयो ?

हामीले उनको आँखा अप्रेसन गर्‍यौं। हामीले उनलाई नाम दियौं– सुशीला। केही वर्षपछि म फेरि कालिम्पोङ गएँ। सुशीलालाई खोजें। देख्दा पत्यार लागेन। हाम्रो अगाडि एउटा युवती उभिएकी थिइन्। सफा चिटिक्क लुगा लगाएकी, संस्कारयुक्त युवती। आँखामा ज्योति फर्केपछि उनको जीवनमा धेरैथोक फर्किसकेको रहेछ। उनी सानो दोकान गरेर आत्मनिर्भर भइसकेकी रहिछिन्।

सुशीलाले तपाईंलाई के भनिन् ?

केही भनिनन्। एकटक हेरिरहिन्। उनी रोइरहेकी थिइन्। जम्मा तीन शब्द बोलिन्– ‘नमस्कार डाक्टर साब’।

मलाई लाग्यो टाढा कतै आकाशमा याङ्ला मुस्कुराइरहेकी छिन्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost