MENU

सपनाको देशमा सपना बुन्नेहरू

patan-college

रामकला खड्का शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

यात्रा

अस्ट्रेलिया, धेरै नेपाली विद्यार्थीको शैक्षिक हब बनेको छ। घुम्न रुचाउनेहरूले पनि जीवनमा एक पटक अस्ट्रेलिया पुग्न पाए हुन्थ्यो भन्ने सपना सँगालेकै हुन्छन्। अस्ट्रेलिया अवार्ड्स पाएर सिड्नी विश्वविद्यालयमा अध्ययनरत बहिनी कोकिलाको निमन्त्रणामा भिजिट भिसामा त्यहाँ पुगेकी म र बहिनीकी छोरी कृतिकालाई छोटो अवधिमा धेरै ठाउँ घुमौं भन्ने रहरले सधैँ धपेडी भइरह्यो। यद्यपि प्रत्येक दिन नयाँ ठाउँ घुमेर घर फर्कंदा ज्यान फतक्कै गले पनि मनमा भने भोलि कहाँ घुम्ने होला भन्ने उमंग र उत्साह जागिरहन्थ्यो। करिब दुई साता अगाडि अस्ट्रेलिया यात्राको क्रममा मैले विश्वमै उत्कृष्टमध्येका सहर मेलबर्न, एड्लेड र सिड्नीलाई नजिकबाट नियाल्न पाएँ।

विश्वकै उत्कृष्ट सहरमा दुई रात

विश्वमै बस्न लायक उत्कृष्ट सहरहरूमध्येमा पहिलो स्थानमा पर्छ मेलबर्न। द इकोनोमिस्टले गत अगस्टमा गरेको एक सर्वेक्षणअनुसार मेलबर्न लगातार सातौं वर्षमा पनि विश्वकै उत्कृष्ट बस्नयोग्य सहरमा परेको छ। मेलबर्नको विभिन्न भौतिक संरचनाले पनि विश्वका जोसुकैलाई चकित पार्छ। यसको एउटा सानो उदाहरण हो, युरेका स्काई डेक। तीन सय मिटरको उचाइमा रहेको ९२ तल्लाको उक्त भवन हेर्न हामी पनि गयौं। आँखा झिमिक्क नपार्दै तीव्र गतिमा चल्ने इलभेटर रहेको युरेका टावरको ८८ तल्लासम्मको यात्रा जम्मा ३८ सेकेन्डमै पार गरियो। त्यहाँ रहेका विभिन्न ३० वटा ठाउँमा राखिएका दूरबिनबाट मेलबर्न सहरलाई ३६० डिग्रीको भ्युबाट नजिकबाट नियाल्न सकिन्थ्यो। सहरको बीच भागबाट बगिरहेको यार्रा खोलाको दृश्य निकै सुन्दर देखिन्थ्यो भने मेलबर्न क्रिकेट ग्राउन्ड, अस्ट्रेलियन ओपन हुने मेलबर्न पार्क, फेडेरेसन स्क्वायर, फ्लिन्डर्स स्ट्रिट स्टेसनलगायतका ठाउँ पनि लोभलाग्दो देखिन्थ्यो।

युरेका डेकको सबैभन्दा माथिल्लो १० तल्लामा सिसामा २४ क्यारेट सुनको जलप लगाइएको छ। यसले सहरको जुनसुकै कुनाबाट हेर्दा पनि भवनको उक्त माथिल्लो भाग जहिले धपक्कै बलेको आगोको रापजस्तै चम्किलो देखिन्छ। उक्त भवनमा तीन हजार ६ सय ८० भर्‍याङका सिँढी छन्। प्रत्येक वर्ष ती सिँढी चढ्ने प्रतियोगिता नै आयोजना हुने गरेको रहेछ।

सिड्नीको फायरवर्क्स

सिड्नी अधिकांश नेपालीको सपनाको सहर। पढाइका लागि सिड्नी गएर त्यहीँ पीआर लिने र जमेर बस्नेको संख्या पनि उत्तिकै छ। त्यसैले सिड्नीका सडक, ट्रेन स्टेसनदेखि समुद्रकिनारा होस् या ठूल्ठूला सपिङ मलहरूमा नेपाली नभेटिने ठाउँ नै छैनन्। ‘यति धेरै नेपाली बसोबास गर्ने भएकाले पनि होला, चाडबाड बरु नेपालमा खल्लो हुन थाल्यो, यता धेरै रमाइलो हुन्छ दिदी,’ मेरा ज्वार्इं उमेश केसीले माघेसंक्रान्तिका दिन भनेका थिए।

न्यु साउथ वेल्स प्रदेशको प्रादेशिक राजधानी सिड्नी विश्वमै सबैभन्दा बढी भ्रमण गरिने १५औं सहरमध्येमा पर्छ। यहाँको ओपेरा हाउस सन् २००७ मा विश्व सम्पदा सूचीमा परेको छ। सिड्नी पुगेको भनेर प्रमाणित गर्न पनि प्रायःले ओपेरा हाउस अगाडि बसेर एक पटक फोटो खिचाउने रहेछन्। धेरै अगाडिदेखि मनमा सँगालेको यो रहर मैले पनि पूरा गरेँ।

नयाँ वर्षको पूर्वसन्ध्यामा गरिने सिड्नीको ‘फायरवक्र्स’ आतिसबाजीलाई विश्वमै चर्चित मानिन्छ। यही फायरवक्र्स हेर्ने ठूलो रहर भएकाले भिसा लागेको तीन दिनभित्रै अस्ट्रेलियाको यात्रा तय गर्न म तम्सिएको थिएँ। त्यहाँ पुगेको भोलिपल्टै सिड्नीको मिल्सन्स प्वाइन्टमा गएर फायरवक्र्स हेर्ने कुराले म निकै उत्साहित थिएँ। पहिले हाम्रो योजना ओपेरा हाउसको हातामा बसेर फायरवक्र्स हेर्ने थियो। तर राति १२ बजेको आतिसबाजी हेर्न बिहान सबेरै गएर त्यहाँ ठाउँ कुर्नुपर्दो रहेछ। घरमा साना केटाकेटी पनि भएका, साथीभाइ र आफन्तको समूह मिलाउनुपर्ने भएकाले हामी सबेरै त्यहाँ जान भ्याएनौं। करिब ३ बजे मिल्सन्स प्वाइन्टमा ओर्लेर हार्बर ब्रिजको नजिकै पुग्दा त्यहाँको चौर पूरै भरिसकेको थियो। तैपनि धेरैबेर भौंतारिएपछि भिरालो ठाउँमा भए पनि एउटा तन्ना ओछ्याएर हामीले ठाउँ कब्जा गर्‍यौं। अब हामीलाई रातिको आतिसबाजी कुर्नुभन्दा अरू उपाय थिएन।

रातको करिब ८ बजेतिर एउटा सानो आतिसबाजीबाट कार्यक्रम सुरु भयो। त्यसपछि ९ बजे अर्को आतिसबाजी र रात १२ बजे मुख्य आतिसबाजी भयो। त्यहाँ करिब आठ टन बारुदलाई विभिन्न रङ र प्रकाशमा करिब एक लाखभन्दा बढी तरिकाबाट आकाशमा पड्काइएको थियो। विश्वप्रसिद्ध संरचना हार्बर ब्रिजबाट विभिन्न रङको बारुदको झरना बगेको दृश्यले विश्वभरबाट त्यहाँ आएका पर्यटकलाई केहीबेर त स्तब्ध पारिदिएको थियो। स्विडेनकी एक युवती आतिसबाजी हेरेर फर्कंदै गर्दा निकै खुसी भएर भन्दै थिइन्, ‘आजसम्म मैले यस्तो दृश्य कहीँ देखेको थिइनँ।’

विश्वका धेरै ठाउँमा नयाँ वर्षताका प्रायः जाडो मौसम हुन्छ। तर अस्ट्रेलिया महादेशमा यही समयमा गर्मी हुने भएकाले मध्यरातसम्म पनि पातलो लुगा लगाएर चिसो हावा खानुको आनन्द बेग्लै हुन्थ्यो। दिनमा तापक्रम ४० भन्दा माथि नै पुगे पनि त्यहाँका समुद्री किनारहरूमा बग्ने चिसो हावाले गर्मीको अनुभव खासै थिएन। साँझ ढिलैसम्म पनि झलमल्ल घाम लागिरहने हुनाले पनि कति बेला दिन बित्यो पत्तै नपाइँदो रहेछ। अस्ट्रेलियाको एउटा सहरबाट अर्को सहरको दूरी निकै टाढा हुने भएकाले पनि होला, कतै आठ त कतै नौ बजिसक्दा पनि उज्यालै हुँदो रहेछ।

यहाँ सिंहदरबार, संसद् भवन छिर्न सजिलो छैन। अस्ट्रेलियाको राजधानी क्यानबेराको संसद् भवन भने निर्धक्कसँग घुम्न पाइन्छ। सभासद्का कुर्सीमा बसेर विभिन्न पोजमा फोटो खिचाउँदासमेत कसैले आपत्ति गर्दैनन्।

अद्भुत समुद्र

पहाड र हिमाल देखेर हुर्केका हामी समुद्र किनारामा पुग्दा नरमाउने कुरै भएन। सिड्नीको चर्चित समुद्री किनारामध्ये बोन्डाईबीच पनि एक हो। घरजत्तिकै अग्ला समुद्री छालहरू उर्लिएर आएको दृश्य यस बीचबाट हेर्दा समुद्र नजिक पुग्ने र यसलाई अघाइन्जेल हेर्ने रहर पूरा भएको थियो। क्रोनुला बीच, कायमा बीचलगायतका ठाउँमा पुग्दा पनि समुद्रलाई नजिकबाट महसुस गर्ने अवसर जुर्‍यो। कायमा बीचमा रहेको ब्लोहोलले प्रकृतिको अनुपम सौन्दर्यलाई झल्काउनुका साथै विज्ञानलाई समेत चुनौती दिएको जस्तो देखिन्छ। समुद्रको पानीले पहाडका चट्टानलाई छेडेर एउटा दुलोभित्र पसेपछि त्यहाँ उत्पादन हुने चापका कारणले चट्टानको चेपबाट पानीका फोहरा निकै माथिसम्म उर्लिएर आउने दृश्यलाई धेरैले आँखै नझिम्काई हेरिरहेका देखिन्थे।

अस्ट्रेलियामा पनि समुद्रको किनारा, सडक, प्लाटफर्मदेखि खुला मैदानमा माग्नेहरू देख्दा छक्क परेँ। तर नेपाल र उताका माग्नेमा फरक के देखियो भने धेरैजसोले आफ्नो सीप देखाएर माग्दा रहेछन्। कान्छी बहिनी रुबिनाले खाना खान बोलाएकाले हामी ऊ बसेको ठाउँ सिड्नीको स्ट्राटफिल्ड गयौं। त्यहाँ एक भारतिय नागरिकले नृत्य देखाउँदै माग्ने तरिका रोचक थियो। सिड्नीको सेन्ट्रल स्टेसन न्यु साउथ वेल्सकै सबैभन्दा ठूलो र व्यस्त रेल्वे स्टेसन हो। यहाँ पनि धेरै माग्ने भेटिए।

काममा कलिला अनुहार

घरबाट बाहिर घुम्न निस्कँदा प्रायः फास्टफुड खानुपर्ने बाध्यता हामीलाई थियो। कहिले म्याक डोलान्ड त कहिले केएफसी, कहिले हंग्री ज्याक्सको बर्गर र फ्राइज हाम्रो रोजाइमा पर्थ्यो। खाजाका लागि ती पसलहरूमा जाँदा प्रायः निकै कलिला अनुहारहरू मात्रै देखिन्थे। त्यहाँ स्कुल पढ्दै गरेका भर्खरका १४/१५ वर्षका किशोरकिशोरीहरूले काम गरिरहेको देखिन्थे। अस्ट्रेलियामा बस्ने आफन्तहरूले भनेअनुसार यी पसलहरूमा प्रायः २० वर्ष मुनिकालाई मात्रै काम दिने गरिन्छ। हाम्रा देशमा भए १८ मुनिकालाई काममा लगाए बाल श्रम भयो भन्दै थुप्रै संघसंस्था उर्लिने गरेको देखिन्छ। तर त्यहाँ १८ वर्षपछि त बाबुआमालाई छाडेर आत्मनिर्भर हुनुपर्ने बाध्यताले पनि होला, किशोरकिशोरी आफ्नो वास्तविक उमेरभन्दा उमेर बढाएर यस्ता पसलमा काम गर्न आउँदा रहेछन्।

बरोसा भ्यालीको अंगुर खेती

साउथ अस्ट्रेलिया प्रान्तमा पर्ने एड्लेडको बरोसा भ्याली अंगुर खेतीको लागि विश्वमै चर्चित मानिन्छ। अस्ट्रेलियाकै सबैभन्दा ठूलो वाइन ब्रान्ड ज्याकोब्स क्रिकको अंगुरको बगैँचामा पुग्दा त्यहाँ लटरम्मै फलेका अंगुर टपक्कै टिपेर खाने रहर मात्रै होइन, अंगुरको झुप्पालाई अँगालेर फोटो खिच्ने धोको पनि पूरा भएको थियो। वाइन बनाएर विश्व बजारमा बिक्री गर्ने करिव एक सय ६० वर्ष पुरानो इतिहास बनाएको यो कम्पनीका संस्थापक जोन ग्राम्पले सन् १८४७ मा पहिलो पटक बरोसा भ्यालीमा अंगुर खेती सुरु गरेका थिए। १४ थरी अंगुर पाइने ज्याकोब्स क्रिकको अंगुर बगैंचामा धित मरुन्जेल घुमियो। यहाँ विभिन्न स्वादका वाइनहरू पर्यटकलाई चखाउने व्यवस्था पनि गरिएको रहेछ।

संसद् भवनदेखि वार मेमोरियलसम्म

यहाँ सिंहदरबार छिर्न सजिलो छैन। संसद् भवनमा त पास भएका पत्रकार, सभासद् र केही विशिष्ट व्यक्तिबाहेक अरूलाई प्रवेश सम्भव नै छैन। तर अस्ट्रेलियाको राजधानी क्यानबेरा पुग्ने जुनसुकै पर्यटक भ्याएसम्म त्यहाँको संसद् भवन घुम्न छुटाउँदैनन्। संसद् भवन भित्र छिर्ने मात्रै होइन, सभासद्का कुर्सीमा बसेर विभिन्न पोजमा फोटो खिचाउँदासमेत कसैले आपत्ति गर्दैनन्। बाहिर सुरक्षा जाँच गराएर भित्र पसेपछि त्यहाँका सम्पूर्ण ठाउँहरू घुमेर अस्ट्रेलियाको राजनीतिक इतिहासको बारेमा पनि थुप्रै जानकारी बटुल्न सकिन्छ। संसद् भवनभित्र हालसम्म भएका प्रधानमन्त्रीका तस्बिरहरूदेखि भवनको भुइँ र भित्तामा प्रयोग गरिएका टायल र अन्य सामग्रीको बारेमा बनाइएको संग्रहालय पनि त्यहाँ छ।

क्यानबेरा पुगेपछि छुटाउनै नहुने अर्को गन्तप्य वार मेमोरियल संग्रहालय। त्यहाँ पुगेपछि पहिलो र दोस्रो विश्वयुद्धका बारेमा धेरै जानकारी बटुल्न पाइन्छ। युद्धताका विभिन्न देशका जल, स्थल र हवाईसेनाले के कस्ता सामग्रीको प्रयोग गरेर कसरी लडेका थिए भन्ने अभिलेख पनि संग्रहालयमा सुरक्षित छ।

सधैंको हतारो

अस्ट्रेलियामा प्रायःको जीवन सधैँ हतारोमै बित्छ। एक सेकेन्डमात्रै ढिला गर्दा पनि रेल छुट्ने डरले प्लेटफर्ममा सधैं दौडधुप नै देखिन्छ। मेलबर्नबाट सिड्नी फर्कने क्रममा हामीले करिब साढे एघार घन्टा रेलको यात्रा गरेका थियौं। करिब आधा जति बाटो कटेपछि झन्डै ७० नाघेकी एक वृद्धा रेलमा चढिन्। उनको झोला पनि निकै गह्रुंगो देखिन्थ्यो। पत्रिका, उपन्यास पढ्नेदेखि ऊन निकालेर रुमाल बुन्नेसम्मको काम गरी स्टेसन आउने करिव चार घन्टाको अवधिसम्म उनी निरन्तर कुनै न कुनै काममा सक्रिय रहिन्। यसरी जीवनभर व्यस्त रहने अजीहरूको बुढ्यौलीका दिनहरू भने एज्ड केयरमा बित्छ।

नर्सिङ होम र एज्ड केयरहरूमा काम गर्ने नेपाली नर्सका भनाइअनुसार त्यहाँ पनि वृद्धवृद्धाको अवस्था निकै नाजुक छ। बुढ्यौलीको त्यो एक्लोपन देख्दा परदेशको मोह हटेर आफ्नै देश प्यारो लाग्न थालेको सिड्नीकै नर्सिङ होममा काम गर्ने एक बहिनीले भनेकी थिइन्। यति मात्रै होइन, आफ्ना नातिनातिनी स्याहार्न त्यहाँ पुगेका नेपाली आमाबाबुहरू पनि पट्यारलाग्दा दिनहरू एक्लै बिताउनुपर्दाको पीडा त्यहाँको विभिन्न पार्कहरूमा पुगेर पोख्ने गरेको पाइयो।

सिड्नीको एक पार्कलाई त नेपालीले वेदना पार्क नै नामकरण गरिदिएका रहेछन्। यता पढाइका लागि अस्ट्रेलिया पुगेका युवायुवती भने पढाइ सकाएर कहिले पीआर पाउने र एउटा घर जोड्ने भन्ने सपना बुन्दै दिन बिताइरहेका देखिन्छन्।     

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost