MENU

पुरुरवा–उर्वशी : एक वियोगान्त प्रेमकथा

patan-college

राम लोहनी शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

मिथक

पौराणिक आर्यावर्तमा दुई वंश थिए— चन्द्र वंश र सूर्य वंश। चन्द्रपुत्र बुधले स्थापना गरेको चन्द्रवंश र सूर्यपुत्र वैवस्वत मनुले स्थापना गरेको सूर्यवंश। चन्द्रमाले देवगुरु वृहस्पतिकी पत्नी तारासँग राखेको अवैध सम्बन्धबाट बुधको जन्म भएको थियो। वैवस्वत मनुका १० पुत्र र एक पुत्री थिए। पुत्रीको नाम इला थियो। बुध र इलाको विवाह भयो र उनीहरूका एक सन्तान भए पुरुरवा।

पुरुरवाको वीरता र सौर्य चारैतिर फैलिएको थियो। एक दिन धर्म, अर्थ र काम तीन पुरुषार्थ पुरुरवाको परीक्षा लिने हेतुले मानव रूप धारण गरेर यिनीसमक्ष आए। पुरुरवाले पनि यथोचित सम्मान गरेर उपहारहरू प्रदान गरे। अर्थ र कामलाई दिएका उपहार धर्मलाई दिएभन्दा आधा थियो। धर्मको भन्दा आफूहरूलाई कम महŒव दिएको देखेर अर्थ र कामलाई चित्त बुझेन। अर्थले पुरुरवालाई दरिद्र हुने श्राप दियो भने कामले स्त्रीवियोगको पीडा सहनु पर्ने श्राप दियो। धर्मले चाहिँ पुरुरवालाई दीर्घकालसम्म पृथ्वीको शासन गर्ने र उत्तराधिकारीहरूको निरन्तरताको वरदान दिए।

पुरुरवा बेलाबेला स्वर्गका राजा इन्द्रलाई असुर विरुद्धको लडाइँमा साथ दिन स्वर्ग पनि पुग्थे। यस्तै एउटा युद्धमा पुरुरवाले इन्द्रलाई विजय दिलाए। इन्द्रले पनि पुरुरवाको सम्मानमा स्वर्गमा नाचगानको आयोजना गरे। नाचगानकी प्रमुख नायिका उर्वशी थिइन्। उर्वशी अप्सराहरूमध्येकै सर्व श्रेष्ठ थिइन्। कसोकसो उर्वशी र पुरुरवाको आँखा जुध्यो। दुवै कामपीडित भए। नाचपछि पुरुरवा मत्र्यलोक फर्के भने उर्वशी स्वर्गमै रहिन्। पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन्। त्यस्तै एउटा भ्रमणको मौकामा उर्वशी केशी नामको असुरबाट अपहरणमा परिन्। उर्वशीको आर्तनाद पुरुरवाले सुने र केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे। केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो। यता पुरुरवा पनि उर्वशीलाई मनबाट हटाउन सकिरहेका थिएनन्।

स्वर्गमा आमोद प्रमोदको लागि नियमित नाचगान र नाटक खेलाइन्थ्यो। उर्वशी ती सबै कार्यक्रममा नायिकाको भूमिकामा हुन्थिन्। एक दिन नाट्यऋषि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए। लक्ष्मीको भूमिकामा उर्वशी नै थिइन्। एउटा संवाद थियो— नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने। उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो। नारायणको नाम लिने ठाउँमा मरणशील मनुष्यको नाम लिएकोमा भरत रिसले आगो भए। ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा विचरण गर्ने श्राप दिए। पुरुरवासँग प्रेममा पागल भए पनि उर्वशी स्वर्गबाट सदाका लागि बिदा हुन चाहन्नथिन्। इन्द्र पनि उर्वशीलाई गुमाउन चाहँदैनथे। त्यसैले, इन्द्रले उर्वशीको श्राप घटाइदिए। मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो। विवाह गरेर उनीहरू गन्धमादन पर्वतमा गए र भोगविलासमा रम्न थाले।

उर्वशी नरनारायणको उरु अर्थात् तिघ्राबाट पैदा भएकी अप्सरा थिइन्। नरनारायण बद्रकीा श्रममा गहिरो तपस्यामा लीन थिए। इन्द्रलाई नरनारायणको तपस्या भंग गर्ने मनसुवा भयो। इन्द्रले स्वर्गकी सबैभन्दा सुन्दरी अप्सराहरूलाई नरनारायणको सामुन्ने गई तपस्या भंग गर्न प्रेरित गरे। अप्सराहरू तपस्यारत नरनारायणका सम्मुख रहेर विभिन्न हावभावसहित कामुक अभिनय गर्न थाले। त्यस्ता भावभंगिमाले नरनारायणलाई प्रभाव पारेन। नरनारायणलाई इन्द्रको नियत थाहा भयो। त्यसैले उनले आफ्नै तिघ्राबाट एउटी सुन्दरीको उत्पत्ति गरे। तिघ्राबाट पैदा भएकी त्यस सुन्दरीको अगाडि स्वर्गका अप्सराहरूको रूपराशि फिक्का भयो। लज्जा र संकोचले अप्सराहरू इन्द्रको शरणमा पुगे। इन्द्रलाई पनि नरनारायणको शरणमा जानु नै उत्तम उपाय हो भन्ने ज्ञान भयो। शरणागत भएका इन्द्रलाई नरनारायणले माफी मात्र दिएनन्, आफ्नो उरुबाट उत्पन्न भएकी सर्वसुन्दरी उर्वशी पनि दिए। इन्द्रले पनि उर्वशीलाई अप्सराहरूमाझ उच्च स्थान दिएर सम्मान गरे।

उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन्। तर, विवाह गर्नुअगाडि भने उनका केही सर्त थिए। उर्वशीले ती सर्त पूरा गर्ने भए मात्र आफू पुरुरवासँग विवाह गर्न राजी भएको खुलस्त पारिन्। पुरुरवा चक्रवर्ती राजा थिए, उर्वशीका जुनसुकै सर्त पूरा गर्न तत्पर भइहाले। उर्वशी पुरुरवाकहाँ आउँदा साथमा भेडाका दुइटा पाठा पनि ल्याएकी थिइन्। उनको पहिलो सर्त तिनै पाठासँग सम्बन्धित थियो। भनिन्, ‘मलाई भेडाका यी पाठा औधी प्रिय छन्। यिनको संरक्षण गर्ने जिम्मा लिनुहुन्छ भने म विवाह गर्न राजी छु। जुन दिन यी पाठा मबाट फुत्किन्छन्, त्यो दिन हाम्रो सम्बन्ध समाप्त हुन्छ।’ पुरुरवाजस्तो शक्तिशाली राजालाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन। तुरुन्तै सहमति जनाइहाले। उर्वशीले दोस्रो सर्त भनिन्, ‘हजुरलाई सहबास अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस्। जुन दिन मैले हजुरलाई असमयमा नांगो देख्छु, त्यो दिन हाम्रो सम्बन्ध टुंगिन्छ।’ यो सर्त पनि पुरुरवालाई मञ्जुर भयो।

पुरुरवा र उर्वशी संसारका सारा सुख भोग गरेर मस्तीमा थिए। तर, उता स्वर्गमा इन्द्रलाई उर्वशीको अनुपस्थिति खड्किरहेको थियो। स्वर्गमा हुने नाचगान र नाटक आदि उत्सवमा उर्वशीको अभाव महसुस हुने गथ्र्याे। इन्द्रले गन्धर्वहरूसँग उर्वशीलाई स्वर्ग फर्काउनेबारे सल्लाह गर्न थाले। उर्वशीले पुरुरवासँग गरेको सम्झौता उनीहरूलाई थाहा थियो। गन्धर्वहरूले रातको समयमा उर्वशीका भेडाका पाठा चोरेर भाग्ने सल्लाह गरे। भेडाका पाठा खोज्दै पुरुरवा वस्त्रविहीन नै पछिपछि आउनेछन् भन्ने उनीहरूको अनुमान थियो। त्यही समयमा इन्द्रले बिजुली चम्काइदिएर उज्यालो पारिदिने योजना पनि बन्यो। बिजुलीको उज्यालोमा उर्वशीले पुरुरवालाई निर्वस्त्र देखेमा उर्वशीको पुरुरवासँगको करार समाप्त हुनेछ भन्ने उनीहरूको सोचाइ थियो।

भयो पनि त्यस्तै। भेडाका पाठा चोरेर लैजाने क्रममा गन्धर्वहरूको आवाजबाट उर्वशी ब्यूँझिइन्। आफ्ना प्रिय भेडाको चोरी हुँदै गरेको बुझेर उर्वशीले पुरुरवालाई ब्यूँझाइन् र भनिन्, ‘महाराज ! मेरा प्रिय वस्तुको अपहरण भइसक्यो। हजुरचाहिँ अझै निद्रामै हुनुहुन्छ ? मेरा भेडाको संरक्षण गर्छु भन्नुभएको होइन ? ती भेडा फेला परेनन् भने हाम्रो सम्बन्ध अहिल्यै समाप्त हुन्छ।’ पुरुरवा उर्वशीलाई गुमाउन चाहँदैनथे। कडा सुरक्षामा राखिएको भेडा कसले चोर्‍यो होला भनेर पुरुरवालाई रिस पनि उठ्यो। (भेडाहरू उनीहरू सुतेकै पलङको खुट्टामा बाँधिएको थियो पनि भनिन्छ।) हतारमा बिनावस्त्र नै चोरको पछिपछि दौडिन थाले पुरुरवा। उर्वशी पनि विलाप गर्दै पुरुरवाको पछि लागिन्। पुरुरवाले केही पर गन्धर्वहरूलाई भेडासहित पक्राउ पनि गरे। तर त्यही बेला इन्द्रले आकाशमा बिजुली चम्काइदिए। बिजुलीको उज्यालोमा अलि पछाडि रहेकी उर्वशीले पुरुरवालाई नग्न देखिन्। करार समाप्त भयो। उर्वशी अन्तध्र्यान भएर स्वर्ग फर्किन्।

उर्वशीको वियोगमा पुरुरवा विक्षिप्तजस्तै बने। पागलजसरी भौतारिँदै गरेको देखेर उर्वशीलाई आफ्नो प्रियतमको माया पनि लाग्यो। उर्वशी त्यो बेला गर्भवती थिइन्। बौलाहा जसरी हिँडिरहेका पुरुरवालाई भेट्न उर्वशी फेरि आइन्। त्यो भेटमा पुरुरवाले उर्वशीसँग आफूलाई सन्तान पनि नदिईकन फर्केकोमा गुनासो गरे। उर्वशीले उक्त सन्तान यथासमय पुरुरवालाई दिने वाचा गरिन्। तर, पुरुरवाको चित्त बुझ्दै बुझेन। उर्वशी आफू अप्सरा भएकाले मत्र्यलोकमा निरन्तर बसिरहन नसक्ने जिकिर गर्दै थिइन्। पुरुरवा मरणशील जीव भएकाले अप्सरासँग स्थायी सम्बन्ध कायम हुन नसक्ने कुरा पनि उर्वशीले सम्झाइन्। तर, पुरुरवालाई त्यसको मतलब थिएन। पुरुरवा उर्वशीको वियोगमा प्राणै त्याग्ने स्थितिमा पुगे। अनि उर्वशीले वर्षको अन्तमा एक दिन आफू स्वर्गबाट पुरुरवाको लागि मत्र्यलोकमा झर्ने वचन दिइन्। पुरुरवा त्यो एक दिनको भेटको लागि वर्षभरि कुर्न तयार भए।

ऋग्वेदको कथा

ऋग्वेदको दसौं मण्डल, पन्चान्नब्बेऔं सुक्तको अठार ऋचामा पुरुरवा र उर्वशी बीचको संवाद छ। त्यागेर जान लागेकी पत्नी उर्वशीलाई सम्झाउन खोज्ने पुरुरवा र कुनै पनि सर्तमा पुरुरवासँग बस्न नसक्ने उर्वशीको सवालजवाफ छन् यी ऋचामा। पुरुरवा उर्वशीलाई फकाउने, सम्झाउने, भावनाको दोहन गर्ने धेरै उपाय गर्छन् तर उर्वशी एकपटक भाँचिएको स्त्री मन पुनः नजोडिने बरु जतिसुकै कठोर पनि हुनसक्ने हठ गर्छिन्। पुरुरवा संवादबाट समस्या हल गर्ने चाहना देखाउँछन्। तर उर्वशीका अनुसार त्यो अवसर फुत्किसक्यो। पुरुरवा सन्तानको लागि भए पनि नछुट्टिने तर्क गर्छन्, तर उर्वशी सन्तान पनि आफूले नराख्ने र साथमा कुनै हालतमा नबस्ने तर्क गर्छिन्।

चार वर्षसम्म तिमीसँग रात बिताएको छु। कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु। यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दैछु।

पुरुरवा सम्भावित एक्लो जीवनको भयले ग्रस्त छ, उर्वशी पुत्रको रूपमा पुरुरवाकै अर्को अवतार आफूले जन्माइदिएकाले चिन्ता नगर्न ढाडस दिन्छे। पुरुरवा उर्वशीको यौन आवश्यकताका लागि पनि पतिको साथ नछोड्न सल्लाह दिन्छ, उर्वशी आफूले पर्याप्त भोग गरिसकेकाले थप भोग गर्ने लालसा नभएको तर्क गर्छे। पुरुरवा अरू स्त्रीहरूको प्रसंग देखाएर उर्वशीमा ईष्या जगाउन खोज्छ, उर्वशीलाई त्यो मिथ्या ईष्र्याले पनि छुँदैन। लाग्छ, पुरुरवाले ठूलै चोट पुर्‍याएको छ उर्वशीलाई, जुन घाउ कसै गरे पनि पुरिनेवाला छैन। पुरुरवालाई उर्वशीको कुनै सल्लाह, चेतावनीले छुँदैन। जब उर्वशीले उसलाई त्याग्ने निश्चित भयो, अनि मात्र उसको आँखा खुल्छ। तर, धेरै ढिलो भइसकेको थियो।

पुरुरवा उर्वशीको यो वियोगान्त कथाको पूर्वपक्ष अर्थात् विवादको कारण ऋग्वेदमा छैन। पछिका ग्रन्थहरू शतपथ ब्राह्मण र विभिन्न पुराणहरूले अगाडिका कथाहरू कल्पना गरेका हुन्। कालीदासले विक्रमोर्वशीय नाटक नै लेखे। प्रस्तुत कथालाई आधार मानेर पछि पनि प्रशस्त साहित्य रचिएका छन्।

ऋग्वेदमा भएको संवाद विशुद्ध सामाजिक समस्याको रूपमा देखिन्छ। तर पुराणहरूमा थपिएका तŒवहरूको सोझो व्याख्या गाह्रो छ। उदाहरणका लागि उर्वशी भेडा लिएर आएकी छ र उसलाई भेडा सबैभन्दा प्रिय छ। त्यस्तै उर्वशी पतिलाई समागम अवस्थाभन्दा बाहेक अरू समय निर्वस्त्र देख्न चाहन्न। इन्द्रले आकाशमा मेघ गर्जनसहित बिजुली चम्काइदिन्छन्, आदि त्यादि। यी प्रसंगको प्रतीकात्मक अर्थहरू खोजिनुपर्छ।

संवाद

पुरुरवा : हे जाया ! हे निष्ठुरी ! तिमी मेरो मनको नजिकै बस, कतै नजाऊ। सँगै बसेर हामी मीठामीठा वार्ता गरौं। मनका यी कुरा आज पनि भन्न सकिएन भने भोलिका दिनमा यिनले सुख दिनेछैनन्।

उर्वशी : हे पुरुरवा ! तिम्रा यी कुरा सुनेर मैले के गर्न सक्छु ? उषाले बिहानीको साथ छोडेजस्तै मैले पनि तिम्रो साथ छोडिसकेकी छु। अब तिमी निष्फिक्री भएर घर फर्क। जसरी गतिवान् वायु कसैको हुँदैन, त्यसै गरी म पनि तिमीलाई अप्राप्य छु।

पुरुरवा : हे स्त्री ! तिम्रो अनुपस्थितिमा म युद्ध पनि गर्न सक्दिनँ। मेरा ठोक्राबाट वाण पनि निस्कँदैनन्। जति शक्तिशाली भए पनि शत्रुसँग गाई र ऐश्वर्य हरण गरेर ल्याउन पनि म सक्दिनँ। तिमीबिना मेरो राज्य नै लथालिंग हुन्छ। रणसंग्राममा शत्रुलाई आतंकित पार्ने सिंहनाद गर्ने हुति पनि मसँग रहनेछैन।

उर्वशी : ससुराको भलो चिताउने यो उर्वशी जब पतिमिलनको इच्छा गर्थी, पतिको शयनकक्षमा पुग्थी। पति शयनकक्ष उसको असाध्यै मन पर्ने ठाउँ थियो, जहाँ ऊ दिनभर बस्न रुचाउँथी र पतिको साथमा पूर्ण भोग गर्थी। हे पुरुरवा ! तिमी दिनको तीनपटक मसँग समागम गथ्र्याै। तिम्रा अन्य पत्नीसँग मेरो कुनै द्वेष थिएन। तिमी मेरै अनुकूल थियौ, मलाई सन्तुष्ट राख्थ्यौ। तिमीकहाँ आउनुको मेरो उद्देश्य पनि त्यही थियो। हे वीर ! तिमी मेरो शरीरको स्वामी थियौ।

पुरुरवा : तिम्रो साथ पाउन थालेपछि सुजूर्णि आदि कमलनयना अप्सराहरू शृंगारपटार गरेर मेरासामु आउन छाडेका थिए। बाच्छालाई देख्दा रमाउने गाईजस्तो आवाज निकाल्दै ती अब मकहाँ आउँदैनन्।

उर्वशी : हाम्रो पुत्र जन्मने बेला देव स्त्रीहरू हेर्न आएका थिए। स्वयं सामथ्र्यवान् नदीहरूले उसलाई शक्ति दिएका थिए। महासंग्राममा विजयी हुन र शत्रुदमन गर्नका लागि देवताले तिमीलाई शक्तिसम्पन्न गराएका छन्।

पुरुरवा : मनुष्यको रूपमा जब पुरुरवा अप्सराहरूको नगिच जान्थ्यो, अप्सराहरू व्याधासँग डराएका हरिण भागेजसरी अथवा रथमा नारिएका घोडा दगुरेजसरी बेपत्ता हुन्थे। जब मनुष्य देहधारी पुरुरवा देवलोकवासी अप्सराहरूसँग बातचित गर्न र उनीहरूसँग संसर्ग गर्न नजिक जान्थ्यो, उनीहरू अन्तध्र्यान भइहाल्थे। लगाम चबाउँदै क्रीडामा रमाउने घोडा भागेजसरी उनीहरू बेपत्ता भइजान्थे। मेघ गर्जनबाट पैदा भएर वेगसाथ पृथ्वीतिर झर्ने बिजुलीको जस्तो उज्ज्वल वर्ण धारण गरेकी उर्वशीको गर्भबाट मनुष्य मात्रको कल्याणकारी पुत्रको जन्म भएको छ। उर्वशीले यस पुत्रलाई पोषण प्रदान गरोस्।

उर्वशी : हे पुरुरवा ! पृथ्वीको रक्षापालन गर्नका लागि तिमी नै पुत्र रूपमा मेरो कोखबाट जन्मेका हौ। तिमीले नै मेरो शरीरमा गर्भ स्थापना गरेका हौ। यो सब कुराको जानकार मैले तिमीलाई सबै कुरा बताएकै थिएँ। तर, तिमीले मलाई सुनेनौ, मेरो कुरा खाएनौ। पहिले प्रतिज्ञा भंग गर्‍यौ, अहिले शोक गरेर के पाउँछौ ?

पुरुरवा : तिम्रो पुत्रले कहिले मलाई पिताको रूपमा स्वीकार्छ ? मलाई चिनेर मकहाँ आइसकेपछि तिमीलाई सम्झेर उसले विलाप गर्दैन ? त्यस्तो कुन पुत्र होला जो प्रगाढ प्रेममा रहेका मातापिताको वियोग होस् भन्ने चाहन्छ ? तिम्रो यो तेजरूपी सन्तानले तिम्रो ससुराको घरमा कहिले उज्यालो ल्याउला ?

उर्वशी : तिम्रा प्रश्नको उत्तर सुन। जब यो बच्चा रुन्छ, म यसको कल्याणको लागि कामना गर्छु। बच्चा रुन बन्द गर्नेछ। तिम्रो बच्चा म तिमीकहाँ पठाउँछु। अब तिमी आफ्नो घर फर्क। हे मूर्ख, अब मलाई फेरि प्राप्त गर्न सक्नेछैनौ।

पुरुरवा : पुरुरवा तिम्रो प्रेमी हो। यो शरीर आजै ढल्नेछ र कहिल्यै उठ्नेछैन। म आजै टाढा जानेछु र कहिल्यै फर्कनेछैन। विपत्तिले घेरिएरै मेरो चोला उठ्नेछ। जंगली हिंस्रक जन्तुहरूले मलाई आहारा बनाउनेछन्।

उर्वशी : हे पुरुरवा ! धरतीमा नढल, मर्ने कुरा गर्दै नगर। कुनै जंगली हिंस्रक जीवले तिमीलाई आहार बनाउन नपाऊन् ! ध्यान दिएर सुन। स्त्रीहरूसँगको मैत्री कहिल्यै स्थायी हुँदैन। स्त्रीहरूको मन हिंस्रक जन्तुको जस्तै निष्ठुर हुन्छ (तिमी त्यसको सिकार भइसकेका छौ)। विविध रूप धारण गरेर म मनुष्यको बीचमा बसेको छु। चार वर्षसम्म तिमीसँग रात बिताएको छु। कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु। यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दैछु।

पुरुरवा : अन्तरिक्षलाई पूर्णता दिने र पानीको उत्पत्ति गर्ने उर्वशीलाई रक्षा गर्न पुरुरवा सक्षम छ। म उसलाई वशमा राख्न सक्छु। उत्तम कर्मदाता यो पुरुरवा तिमीलाई प्राप्त होओस् ! तिम्रो वियोगले मेरो हृदय सन्तप्त भएको छ। प्रिय ! अब त फर्क।

उर्वशी : हे इलापुत्र पुरुरवा ! तिमी मृत्युले बाँधिएका छौ भनेर सारा देवताले तिमीलाई बताइरहेका छन्। यसैले आफू योग्य देवतालाई हवि अर्पण गर्दै गर र मृत्युपरान्त स्वर्गको सुखभोग गर।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost