MENU

सोचुङ् है कविजी !

patan-college

राजन मुकारुङ शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

विमर्श

पुसको अन्तिम हप्ता, हुस्सु लाग्या लाग्यै छ। दिउँसो २ बजेदेखि मात्रै थोरै घाम देख्न पाइन्छ, त्यो पनि न्यानोविहीन। ठिहीले लेख्नलाई सहज गराउने कुरै भएन। सिरकभित्र गुम्सिएर ‘यस्तो लेख्छु, उस्तो लेख्छु’ भनेर सोच्ने मात्रै भइएको छ।

कवि सुवास राई क्याप्टेनको निवास, प्रिय मान्छेहरूसित बस्दा उसै सुख हुन्छ। सुख भएपछि अरू के चाहियो ? लेख्ने जाँगर छैन, हुँदैन। अघिल्लो साँझमा रुस्लान भोड्काले दिएको ‘ह्याङ ओभर’ फन्फनी भइरहेकै हुन्छ। ‘आ, अब भोलि लेख्छु’, अल्छेका लागि सुखद बहाना आइहाल्छ। यस्तै भइरहेछ भनौं।

हो, तिमी

जुलुसको अघिअघि फहराउँछौ विजयको झन्डा

सहिदमञ्च, पार्टी कार्यालय र जन्मोत्सवहरूमा गाउँछौ गीत

कोदालो, बेल्चा

र आफ्नै हात–पाउ, शिर–शरीरलाई बनाउँछु झन्डा

भीर, पहरा, खेत खलियान

र आफ्नै असामयिक मृत्युमा गाउँछु जीवनको गीत।

- ‘फरक’– सुवास राई क्याप्टेन

सुवास यही कविता लेखेर नेपाल प्रज्ञा–प्रतिष्ठानले गरेको ‘राष्ट्रिय कविता महोत्सव’मा दोस्रा भए। यही हिउँदमा राष्ट्रपतिबाट उनले यो कविताको पुरस्कार लिए। उनको रचनाले पहिल्यैदेखि तानेको हो मलाई। मन भित्रैबाट छोएको हो। उनले बुन्ने गाउँले विम्बहरूले मलाई सधैं तानिरहन्छन्। संयोगले नै म उनैको निवासमा छु। हो, यो हिउँदभर आछुछुमा म ‘छु’ भइरहेको छु। तरै, छोरी सुनियाङले स्कुलबाट फर्कनासाथ ‘राजन देवा, के गर्नु हुँदैछ ? ’ भनेर सोधिरहँदा भने म बुद्दु बडा बाउलाई ‘लेखिरहेछु’ भन्न पाए भन्ने थकथक लागिरहन्छ।

धरानबाट तरहरा पुग्दाको पहिलो ‘बस–स्टेसन’मा देखिने पीपलबोट, त्यसैको छहारीमा रहेको गंगा होटल, होटलका प्रोप्राइटर मनि खिम्दुङ र त्यहाँ पाइने न्यानो माया, साँच्चिकै प्रिय लाग्छ। उसै, कविहरू हेमन यात्री, नवराज मैनाली, विवेक विवश रेग्मी, किरण शिवाहरू थपिएपछि सुरु भइहाल्छ रुस्लानी साँझ। अनि हुन्छन् काव्यिक विमर्श। अहो ! यसैले पो लेखाउँछ होला, ‘आफ्नै असामयिक मृत्युमा गाउँछु जीवनको गीत’जस्तो विम्बात्मक कविता।

नाम्धिंगो निम्तो

दिउँसोको २ बजेतिर तरहराको आँपगाछी स्टेसनमा उभिएको छु। चौंसट्ठी बिघाको रास ताल घुम्न जाने योजना छ, टेम्पो पर्खंदै छु। अचानक गोजीको मोबाइलमा घन्टी बज्न थाल्छ। मोबाइल झिकेर स्क्रिनमा हेर्छु, नचिनेको नम्बर उठाउँदिनँ। आफैं बन्द हुन्छ। फेरि बज्न थाल्छ र उठाउँछु। ‘हेलो’ भन्न नपाई उतैबाट भन्न थालिहाल्छ, ‘हाउ, दाजु सेवारो। म पान्थरबाट मधु केरुङ। फोन उठाउन गाह्रो गर्नुभो। मेन्छ्याहरूको डरले पो कि ? हेहेहे।’

मेन्छ्याहरू अर्थात् युवतीहरू, ठाडो भाषामा तरुनीहरू ! म ‘मेन्छ्या–फोबिया’ले कति ग्रसित छु भन्ने मधुलाई के थाहा ? तर, ऊसित कुनै प्रतिवाद गर्दिनँ।

मधुसित हाम्रो भेट भएकौ छैन, बोलेको नि छैन कहिल्यै। मधुको यो पाराले उसै आत्मीय बनाइहाल्छ। मानूँ कि उहिल्यै सबै चिनेजानेजस्तो। उसको यो मन जिताइले अरू उत्साहित गराउँछ। कवि प्रकाश थाम्सुहाङको ‘एकल कविता वाचन’ हुने रहेछ। हँसिमजाक र ठट्टासँगै मधुले भन्छ, ‘हाउ दाजु, लु नाम्धिंगोमा निम्तो छ। माघ ६ गते भेटुङ। पान्थरमा तपाईंको विशेष भाषण सुन्ने हुङ हामी।’

भाषण त म के गरूलाँ ? तर, नाम्धिंगो अर्थात् इन्द्रेणी साँझको निम्तोमा पान्थर जानलाई ‘डन’ गरिदिन्छु म।

पहिचानको पैरवी

यति बेलै आङ्काजी शेर्पाहरूले पृथ्वीनारायण शाहको नाम लेख्दै ‘थुक्ने अभियान’ चलाएको ‘भिडियो भाइरल’ छ। सामाजिक सञ्जाल यसैको दाउपेचमा छ। म यो हाउगुजीबाट मुक्त छैन।

‘हाउ दाइ, फिदिममा लोकल कुखुरा खाने कि लोकल माछा ? ’ विवश बेनामले म्यासेजमा सोध्छ।

‘किनामा र सिद्राको अचार भए पुग्छ मुलाङ।’ मैले जवाफ पठाउने पारा यही हो।

‘हेहे, दाइको पहिचानी कुरा। सबै पूरा हुन्छ है। जोहो भइसको।’ यति भनेर बेनाम ‘अफलाइन’ भइहाल्छ।

मैले पठाउने भनेको फेसबुके ‘लाइक’ बूढीऔंलाको चिह्न न हो, बेनामलाई म त्यही पठाइदिन्छु।

‘लुहै काका, पहिचान पुरस्कार भुइयाँलाई दिने निर्णय भयो।’ नरेश काङमाङले म्यासेज पठाइसकेका रहेछन्। नरेश यो पुरस्कारका संस्थापक हुन्, आधिकारिक हुने भइगयो। ‘युद्ध–साहित्य’का अभियन्तामध्ये यी एक पहिचानको आन्दोलनमा सोलोडोलो लागेका व्यक्ति हुन्। म पूर्वविजेता हुनाको अर्थले होला, मिडियामा सार्वजनिक हुनुअघि नै कोषको निर्णय उनले मेरो फेसबुकको ‘म्यासेज बक्स’मा पठाए। मैले नरेशतिर ध्यानै दिइनँ। सीधै ‘भुइयाँ’का लेखक यज्ञशलाई फोन गरेर बधाइ दिएँ। अनि मात्र नरेशलाई जवाफ पठाएँ, ‘धन्यवाद ! सारै राम्रो निर्णय भयो।’

संयोगले त्यही हप्ता दुई राष्ट्रिय दैनिकमा दुई वाम विद्वान् झलक सुवेदी र उज्ज्वल प्रसाईका राजनीतिक टिप्पणी आएका थिए। प्रसाईले ‘पहिचान राजनीतिका संकट’ शीर्षक दिएर नियास्रो सार खिचेका थिए। सुवेदीले ‘राई, महतो, चौधरी र मनाङ्गे’ शीर्षकमा अशोक राईको पराजयलाई समुदायकै अस्वीकृतिको निष्कर्ष निकालिदिएका थिए। मैले ती दुवै लेखलाई फेसबुकमा सेयर गरेँ। यसको अर्थ ती लेख औधी रुचाएर भन्ने होइन, बरु ती लेखमा अभिव्यक्त सारले पहिचानवादी नेता, कार्यकर्ता वा बुद्धिजीवीहरूलाई झसंग बनाई पो हाल्छ कि भन्ने थियो।

दुवै विद्वान्को राजनीतिक स्कुल माक्र्सवाद हो। दुवैको हेर्ने दृष्टि एकै हो, दुवैले आजसम्म गर्दै आएको बहस–पैरवीको अर्थभूमि एउटै हो। यस मानेमा ती दुवै टिप्पणीले खास अर्थ राख्छ। किनभने, यति बेला मुलुक पूरै वाममय भएको छ र हाम्रोमा पहिचानको आन्दोलन थाक्यो भन्ने भ्रम छ। जस्तो कि प्रसाईले नाओमी क्लिनको ‘नो लोगो’ नामक पुस्तकको हवाला दिए।

उनले क्लिनको ‘यो भूमण्डलीकृत अवस्थामा, पहिचान आन्दोलनहरूको विजय हुनु भनेको सिंगो घर जलेकोमा पर्वाह नगरी घरभित्रका फर्निचर ठीकठाक पारेर मिलाउनमा रमाउनु हो’ भन्ने तर्कलाई अगाडि सारे। प्रसाईको उक्त लेखमा क्लिनको भनाइ मात्रै ‘हाइलाइट’ गरेर पढ्ने हो भने पहिचानवादीहरूले उत्साहित हुने कुरै आउँदैन। सत्य हो, पहिचानको मुद्दा थलामा पर्‍यो कि भन्ने चिन्ता त जोसुकैलाई छ तर जसले यो मुद्दालाई दिमागले मात्रै होइन; हृदय, भावना, आवेग, प्रतिरोध र प्रतिशोधले नै किन नहोस् ? जिन्दगीको कसम खाएर, शिरमाथि बोकेर हिँडेका छन्, तिनका लागि त खिसिटिउरी पो लाग्दो रहेछ। यस्तो ‘बाम हेजोमोनी’ अलि हजमको नलाग्दो नै रहेछ।

प्रसाईले पहिचानको राजनीतिलाई भ्रष्टीकरणको खेती कम्युनिस्टहरूबाटै गराइएको भनेका छन् र पहिचानका अध्येताहरूका लागि गम्भीर हुन आग्रह गरेका छन्। सुवेदीको चिन्ता व्यक्तिगत अशोक राईमा बढी छ। हो, व्यक्तिगत जीवनमा अब अशोक राईलाई पहिचान चाहिएको छैन। उनी आफैं यो लडाइँका विम्ब भइसके। उनले त लडिदिने मात्रै हो।

खास पहिचान त उनीहरूलाई चाहिएको छ, जसले आफ्नो पहिचान के हो भन्नेसमेत बुझेका छैनन्। जसले आजसम्म राज्यले दिने नागरिकता लिनसमेत आवश्यक ठान्दैनन्। किनभने, उनीहरूलाई नागरिकता पछारेर यो राज्यको सेवा–सुविधालाई दोहन गर्नु छैन। हो, तिनै भुइँमान्छेहरूको सफा चित्र हो ‘भुइयाँ’। अबको पहिचानको मुद्दा यही तहबाट उठ्नुपर्छ। चुरो कुरो यही हो तर सम्पूर्ण आन्दोलनको ‘सेन्टर’ आफूलाई मात्र सोच्ने र सीमान्तकृतहरूलाई ताउको तेलमा एक फिर्को तिल डढाउने मनशायले भने पहिचानको आन्दोलनलाई बल पुग्दैन। न त मैले विवश बेनामलाई भनेको ‘किनामा र सिद्राको अचार’ मात्रै पहिचान हो।

यज्ञशको ‘भुइयाँ’ले यही पैरवी गर्छ। हो, अबको पहिचानको आन्दोलनले यहीँबाट गति लिनुपर्छ। आङ्काजीहरूको ‘थुक्ने अभियान’ले त झनै कित्ता न भित्ताको बनाइहाल्छ।

पान्थरमा पालाम

नाम्धिंगो साँझ साँच्चै इन्द्रेणीमय भयो। कवि सुन्दर कुरूप, बेकामे इन्द्र र मुनाराज शेर्माहरू साहित्यिक साक्षी छँदै थिए, राजनीतिक साक्षी पूर्वराज्यमन्त्री तथा लेखक श्रीप्रसाद जबेगू। लिम्बू चलचित्रकर्मी सङ्घले आयोजना गरेको इन्द्रेणी साँझमा प्रकाश थाम्सुहाङले सातै रङका कविता सुनाए।

दशकअघि नै प्रकाशले ‘पालामको मूच्र्छना’ कविता–कृति निकालेको हो। उबेला गिज्याएको थिएँ, ‘हौ मुलाङ, तिम्रो कवितामा न पालाम छ, न मूच्र्छना नै।’ ऊ फिस्स हाँसेको मात्र थियो। मलाई थाहा छ— ऊ प्रतिरोधी कहिल्यै भएन, चाहँदैन। उग्रतालाई उसले पहिल्यै निफनेको हो। ऊ सधैं शान्त कविताको पक्षपाती रह्यो। पछिल्लो समय त झनै शालीन कविताहरू लेखेछ। शान्त र जीवन्त लाग्दा। पालामसहितको, जीवनको मूच्र्छनासहितको। जस्तो कि ‘हरियो ग्रह’मा यस्तो पंक्ति छ—

झ्याप्प सडकको निभ्यो बत्ती

जहीँको तहीँ रोकिए सवारीहरू

डिस्कोथेकमा कर्कश संगीत बन्द भो

स्तब्ध भयो समय

मूर्तिवत् भए मानिसहरू

शासकहरू कुनै अर्को षड्यन्त्रका लागि

गोप्य बैठकमा सामेल भए

ओ सृष्टिको प्रथम मान्छे

तिम्रो नांगो पैतालाको हस्तक्षेपले

एकाएक यो सहरको गति ठप्प भयो।

अनि त ठप्प र स्तब्ध हुन कर लागिहाल्छ। पान्थर उसै पालाममय भइहाल्छ। कविताका लागि त धान नाच्नु बराबरै हो, लाग्छ। सोल्टिनीहरूको स्वरमै कविता, बोलीमै काव्य। सोल्टीहरूको लवजमै प्रतीक, ख्यालठट्टामै विम्ब। यस्तै लाग्छ। बैरागी काइँलादेखि अहिले कान्छो पुस्ताका कवि विवश बेनामले समेत ढाडसिलो धाक गर्ने साहित्यिक जमिन हो पान्थर। अचेल ‘कुकुर कविता’ या ‘चामलवाद’ जे जे भनिए पनि कविताको आन्दोलन गर्ने थलो हो पान्थर। अहिले विवश बेनाम, संगम सुहाङहरू ‘कुकुर कविता’ लेख्दै फौदारी गर्दैछन् तर यो फौदारीले इन्चीभर बिगारेको छैन। बरु अझ कविताको क्षितिजलाई फराकिलो र उज्यालो बनाउँदै ल्याइरहेकै लाग्छ।

मधु केरुङ इनर्जेटिक युवा छ। लिम्बू भाषामा फरर बोल्छ। सुन्दै जाँदा त उसै कविताजस्तो पो लाग्छ, कुनै साम्बाले मुन्धुम फलाकिरहेको जस्तो। लिम्बू भाषा नबुझ्ने नै किन नहोस् ? उसको ‘बडी ल्यांग्वेज’ सहजै बुझ्छ र त्यसै लयात्मक भइहाल्छ। ऊ ‘स्या (चामल)वादी’ तर्क गर्छ। संसारमा चामलकै लागि सबथोक भइरहेको भन्ने उसको विश्वास छ। चामल र मुन्धुमको सम्बन्धबारे जोसुकैसँग ऊ घन्टौं बहस गर्न तयार छ। पालामको पान्थरमा एक मीठो लय हो मधु। आफैंमा पालाम हो ऊ।

फरक आयाम

इलाम भएरै पान्थर जाने हो, यहीँबाट बाटो पर्छ। जाँदा भेट भएको हो, फर्कंदाचाहिँ बाटो छल्ने कुरै भएन। उसै पनि इलाममा ‘फरक आयाम’ छ।

‘साहित्यमा फरक किसिमले सोचौं, समयलाई फरक किसिमले अनुभव गरौं। जीवन र जगत्लाई फरक आयामले बोध गरौं।’ यसो भन्दै छ इलामको वर्तमान पुस्ता। जितेन मुस्कानको अगुवाइ छ। अन्वेश थुलुङ, सुमन लोहागुन, महेन्द्र विरही, युवीर चेम्जोङहरूको ठूलो हूल छ। यो हूललाई प्रकाश थाम्सुहाङदेखि अग्रज कवि विमल वैद्यले समेत साथ दिएका छन्। फस्टाउँदै, झ्याँगिँदै आइरहेको लाग्छ।

इलाममा कविताबारे छलफल त भइहाल्छ। योपल्ट राजनीतिलाई अलि बढी समय दिइएको हो। विद्यार्थी राजनीतिमा होमिएका र त्यसैमा भविष्य देखेका युवाहरूसितको भेट उसै ओझिलो हुने भइहाल्यो।

‘अबको निकास : आर्थिक विकास’ भन्ने नाराले स्थानीय चुनावमै चर्चा पाएको हो। परिणाममा भने खोलो तर्‍यो, लौरो बिस्र्यो भयो। बाबुराम भट्टराईको नाराले खासै प्रभाव छाडेन। यता वाम गठबन्धनले यही नारालाई अस्ति भर्खरैको चुनावमा घनिभूत उराल्यो र सफलता हात पार्‍यो। तर, तल सिमाना मिचियो भनेर मिडिया लेख्छ, मुख्य समाचार नै बनेका छन्। चुनावअघिसम्मको त्यो रापिलो राष्ट्रवाद ‘ट्विट’ गर्न पनि कसैको निर्देशन पर्खेर पो बसिरहेको छ कि ? ‘आयो युवा पुस्ता’ भन्ने कांग्रेसी युवाजन त सलहले खाएको वनकै फेसबुकमा पुरानो पुस्तालाई सत्तोसराप मात्रै गरिरहेको छ। विवेकशील साझा कता छ ? नयाँ शक्ति कता शक्तिहीन भइरहेछ ? यस्तै जिज्ञासा र प्रश्नहरूबीच ‘फरक आयाम’सित फरक पाराकै विमर्श भयो।

प्राइभेट कम्पनीका मालिकहरू राज्यभन्दा चौबर धनी भइसके। तिनकै स्वार्थ पूरा गर्नसक्ने पार्टी या नेताहरूले जिते। अझ तिनीहरू नै पो राजनीतिमा हावी हुन थाले र तिनलाई जिताउने टोले गुन्डा–ग्याङले नै पार्टीलाई निर्देशन दिन थाल्यो अब। नहुनुपर्ने हो तर भइरहेछ त कसो गर्ने ? यस्तो स्थितिमा त बँचेखुचेका कथित कम्युनिस्ट कित्ताहरू पनि धर्मराउँदा रहेछन् कि ? रत्नकुमार बान्तवाले बलिदान दिएको भूमि हो इलाम। दुर्भाग्य, तिनकै पुस्ता अगम बान्तवा यसपल्ट अल्पसंख्यक समुदायबाट राष्ट्रिय सभाका सांसद मनोनयन गरिए। जब कि बान्तवाहरू अल्पसंख्यक हुँदै होइनन्। योभन्दा क्रूर हँसिमजाक अरू के नै हुन सक्छ र ?

‘फरक आयाम’ले यही हँसिमजाकमाथि सोधोस्, ‘अगम बान्तवाहरूलाई अल्पसंख्यकको काट्टो खाने किन बनाउछौ कामरेड ? ’

बाँसझ्याङमा राता कविता

दमक मेरा लागि सधैं प्रिय ठाउँ हो। यहाँ बिरु वनेम (स्वामी), सुन्दर कुरूप, बेकामे इन्द्र, मेची पुत्र र विराट किरातीहरूले एक पारिवारिक दाजुको व्यवहार गर्छन्। कस्तै हतोत्साह किन नहोस् ? मलाई सदा उत्साही बनाउन जोडबल गर्छन्। अझ अग्रज कवि प्रकाश बुढाथोकीको नेतृत्वमा ‘लिटरेरी ग्रुप’ स्थापना भएको छ। प्रकाश दाइकै मायाका साथ यो ग्रुपले आफूलाई स्थापित गरिसकेको छ।

अहिले दमकमा नयाँ होटेल खोलिएको छ। लिङ्देन मिनी मार्केटको गेटबाट पस्दापस्दै बाँसका भाटाहरूले खिपेर बनाइएको चिटिक्कको घर देखिन्छ। एकतले घरको छानो जस्तापाताको छ। ढोकाअगाडिको बायाँपट्टि ‘होटेल बाँसझ्याङ’ लेखिएको फ्लेक्स प्रिन्ट छ। होटेलमा मदिरा र चुरोट निषेध छ। मासुका परिकारमा भने सुँगुरको खुट्टाको सुप र याङ्बरेक विशेष लाग्छ। खास त हरियो चिया पिउँदै बस्नु यहाँ आनन्द लाग्छ। लाग्छ— यस ठाउँमा दिनभर बस्दा कम्तीमा आयु बढेर (मद्यपान र धूमपान निषेध भएकाले) अरू दुःखहरूको आमन्त्रण गरिरहिएको छ। होटेलका प्रोप्राइटर रुद्रेश्वर राई हुन्। कला र साहित्यप्रति उनको विशेष सम्मान छ।

पछिल्लो समय नेपाली साहित्य निकै बलियो गर्जन गरिरहेको पुस्ता हो, ‘उन्मुक्त पुस्ता’। यिनै उन्मुक्त पुस्ताका एक अभियन्ता कवि प्रकाश गुरागाईं आइपुगे दमक। लिटरेरी ग्रुपले किन छाड्थ्यो ? उनलाई होटल बाँसझ्याङमा ‘हरियो चियासँग कविता’ नाउ दिएर उभ्याइहाले। कविता भन्न बाध्य पारिहाले। प्रकाशका कविताहरू उसै शक्तिशाली लाग्छन्, छन्। उनले आधा दर्जन कविता सुनाए। सुन्नेहरू सबैले हरियो चिया पिइरहेका थिए तर प्रकाशका कविताहरू भने एकदमै राता लाग्थे। उनले सबैको मन, मस्तिष्कलाई रातो बनाए। यसरी—      

हजुरका जुत्ता काला बनाउँदा बनाउँदै

मेरा दारी र कपाल सेता भइसके

मैले झारेको जुत्ताको धुलो मैमाथि खनिएर

फुस्रा भइसके हातखुट्टा...

हजुरजस्तै भाग्यमानी छन् यी जुत्ता

घर पुग्नेबित्तिकै हजुरसँगै भित्रै जान्छन्

मैसापले आफ्नै हातले जतनसाथ खोलिदिनुहुन्छ

र मिलाएर राखिदिनुहुन्छ र्‍याकमाथि

जहाँ पालिस बोकेको मान्छे पनि पुग्न सक्तैन

माफ गर्नुहोला हजुर

धेरै वर्षपछि आज मलाई

यो कालो पालिस

हजुरकै अनुहारमा पोत्न मन लागेको छ

- ‘हजुरको बुट’बाट

र अन्त्यमा :

कतारबाट रेगिस्तानी कवि तीर्थ संगम राई आएका छन्। उसो त उनले कतारबाट जहिल्यै सम्झिरहन्छन्। उनको फोन आएको आयै गरेपछि बिर्तामोड नपुगी धरै भएन। सुखदुःख कुराकानी भए। तर, यसपल्ट हामीले साहित्यबारे बोलेनौं। रचना सुनाउने र सुन्ने काम भएन। बरु मिडियामा आएको मेरो पारिवारिक जीवनको सम्बन्धलाई लिएर ऊ बढी नै भावुक भयो। उसै पनि उसले बीस वर्षको कतार बसाइमा दर्जन साथीहरूको घरबार भत्केको देखेको छ। त्यो दुःखलाई नजिकबाट अनुभव गरेको छ। छुट्ने बेला पनि ऊ चिन्तित भयो। मैले ‘जिन्दगी हो, अन्यथा लिनुहुन्न, भोग्दै जानुपर्छ’ भनिदिएँ।

अघिल्लो पल्ट आउँदा तीर्थलाई मण्डला थिएटरमा कविता भन्न लगाएको थिएँ। उनले डढ दर्जन रेगिस्तानी दुःखका कविताहरू सुनाएका थिए। यो पल्ट यिनको कविता सुन्नलाई कुन स्थान छान्नुपर्ने हो ? सोच्दो छु।

भर्खरै सहिद दिवस सकिएको छ। सहिदबारे त व्याकरणमै विवाद छ हाम्रोमा। ‘शहीद’ कि ‘सहिद’को रोइलो छ। राजनीतिक दलका त आ–आफ्नै हुने भइहाले। म बबुरो भने ‘गलत अर्थ लाग्दैन भने पातलो या मोटो दुवै चलाऔं, तिनको उच्च सम्मान गरौं’ भन्छु। यता अन्वेश राई थुलुङले ‘रुस्लान सहिद दिवस’ शीर्षकको कवितामा यस्तो लेखिसकेका रहेछन्—

सालिकको हात काटिएको छ

र धसाइएको छ कंक्रिटमा

जसरी सालिकलाई नै छल्ने गरी

धसाइएका छन् फलामे जोर पिलर

र फिँजाइएको छ रुस्लान भोड्काको होर्डिङ बोर्ड

तब—

सालिकसँग सेल्फी लिएर

ब्याकग्राउन्डमा रुस्लानको राष्ट्रभक्ति खिचिएपछि

मनाइएको छ सहिद दिवस।

अब यति भन्छु— प्रिय कविजीहरू, सहिद दिवसको फलकमा रुस्लानका साँझहरू साटेर कतै हामीले आफ्नै असामयिक मृत्युको घोषणा पो गर्दै छौं कि ? सोचुङ् है सोचुङ्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost