MENU

जयपुरको जात्रा : स्लो मोसनमा एक अनुभूति

patan-college

युग पाठक शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

बहस

समानान्तर रेखाहरूको मिलन कहिल्यै हुँदैन भन्ने रेखागणितको मान्यता छ। रक्सौलबाट रेल चढेदेखि नै समानान्तर हिँड्ने रेलको लिकले दिमाग बिथोलिरहन्छ। भलै लिकका दुई धर्का समानान्तर हिँडुन्, पुग्न त एउटै स्टेसनमा पुगिरहेका छन् नि, होइन र ? साहित्यको समानान्तर उत्सवचाहिँ एकै ठाउँमा पुग्छ कि फरक गन्तव्य ताकेर हिँड्छ त ? लिकभन्दा ठूलो सवाल त यो न छ।

जयपुरमा आयोजित छ— समानान्तर साहित्य उत्सव। त्यसो त यही बेला (जनवरीको अन्तिम साता) केही वर्षदेखि नियमित आयोजना गरिने जयपुर लिटरेचर फेस्टिभल (जेएलएफ) पनि चल्दैछ। यसैको समानान्तरमा प्रगतिशील लेखक संघ, राजस्थानले आयोजना गरेको हो— प्यारलल लिटरेचर फेस्टिभल अर्थात् पीएलएफ। त्यही उत्सवमा भाग लिन समानान्तर लिकमा जयपुरतिर गुडिरहेको नेपाली डेलिगेसनमा छन्— उषा तितिक्षु, सरिता तिवारी, अभय श्रेष्ठ, रोहेज खतिवडा र कृष्ण बोहोरा यात्रीसहित यो पंक्तिकार।

बजारले साहित्य–कलालाई बिकाउ माल बनाइदियो। लोक जीवनको उच्छवास किनारमा छाडेर हल्काफुल्का मनोरञ्जनको तलाउमा हाम्फाल्न साहित्यकारहरू उत्ताउला हुँदैछन्। साहित्य उत्सवहरू पनि कुनै आमहाटबजार वा मेलाभन्दा फरक भएनन्। मिडिया बजारले बनाएका तथाकथित सेलिब्रिटीहरूको ठट्टामजाकमा साहित्य मेलाहरू तितरबितर भइरहेका छन्। मुद्दा पनि यिनै हुन्, गुनासो पनि। नेपालमा यस्ता आवाज उठ्ने गरेकै छन्, भारतको समुद्रबाट पनि यिनै कुराको छाल हुत्तिएर आइरहेको थियो। रेलको झ्यालबाट देखिने बडेबडे खेत–खलिहान र गाउँ–कस्बाहरूलाई गतिमान दृश्यमा तैरिन दिएर म पनि यही छालमा डुबुल्की लगाइरहेछु।

त्यसो त ठीक छ। बजारको आक्रमणबाट साहित्यलाई जोगाउने कुरा त सैद्धान्तिक तहमा मानिएकै पनि छ। तर, जेएलएफको दबदबाबाट आक्रान्त साहित्यकर्मीले आयोजना गरेको उत्सवको नाम समानान्तर नै किन ? जानेमानेका कवि विष्णु खरेको हातमा अडिएको चियाको कपमा मैले यो प्रश्न खुत्रुक्क खसाइदिएँ। खरे भर्खरै उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लल्कारेर बाहिर आएका थिए। उमेरको लठ्ठी टेकेर मुस्किलले उभिने यी कविले बुलन्द आवाजमा भनेका थिए, ‘साहित्यकारहरू राजनीतिमा आउन जरुरी भइसक्यो। मोदीसँग किन डराइरहेका छौं हामी ? को हो त्यो मोदी ? ’

खरेले चियाको कपबाट मेरो सवाल झिकेर टक्टक्याए र भने, ‘कुरो सही हो।’ मौकामा चौका ठीक ठहर्छ। मैले थपिहालेँ— समानान्तर हिँड्ने हो भने उनीहरू जहाँ पुग्छन्, हामी पनि त्यहीँ पुग्नेछौं। पुँजीवादले सौन्दर्य चेतलाई सोकेसमा सजाएर बजारमा राखेको धेरै भइसक्यो। प्रतिरोधको आवाज त विपरीत चल्छ, बक्रमा चल्छ र छलाङको चालमा पुरानो लिकलाई नाघेर हिँड्छ। फ्रेडरिख ऐंगेल्सले आफ्नो पुस्तक ‘डायलेक्टिक्स अफ नेचर’ (प्रकृतिको द्वन्द्ववाद)मा समानान्तर रेखाहरू पनि एउटा दूरीमा पुगेर मिल्ने गणितीय तर्क पेस गरेका छन्। खरेले खरो ढंगले घोषणा गरे, ‘अर्को साल म यो समानान्तर शब्द नै हटाइदिन्छु।’

तैपनि युथ होस्टेलको चौरमा भइरहेको साहित्य उत्सव, डिग्गी प्यालेस होटलमा चलिरहेको अर्को उत्सवकै समानान्तर एकैपटक एउटै सहरमा चली नै रह्यो। उता ठूला कर्पोरेट घरानाको प्रायोजन छ, यता १०/१० हजार उठाएर उत्सव गर्ने स्थानीय लेखकहरूको जाँगर। उता मुम्बई फिल्म इन्डस्ट्रीदेखि अनेक ठाउँका सेलिब्रिटीको आवतजावत छ, यता प्रगतिशील साहित्य, कलामा नाम चलेका लेखकहरूको जमघट। उता सुरक्षाको कडा बन्दोबस्त छ, यता हामी नुक्कड–नुक्कड (गल्लीका चोक) चिया सुक्र्याउँदै हिँडेका छौं। उता फाइभ स्टार होटलको रमझम छ, यता चौरमा लामबद्ध लेखक, कलाकारहरू उभिई उभिई खाना खाँदै गफिइरहेका छन्।

यो तुलनाको मजाचाहिँ दुवै उत्सव समान दिनमा समानान्तर चलेकै हुनाले मिलेको हो।

जूनको टेढो मुख

कारखाना–अहाते के उस पार

धूम्र मुख चिमनियोँ के उँचे–उँचे

उद्गार–चिह्नाकार–मीनार

मीनारों के बीचों–बीच

चाँद का है टेढा मुँह !!

मुक्तिबोध

धुवाँ ओकलिरहेका कारखानाका चिम्नीहरू लस्करै धरहराजस्ता देखिन्छन्। ती धरहराहरूको बीचमा झुल्किने जूनको मुख पनि टेढो भइसकेको छ। परम्परागत चेतनाले जूनको सौन्दर्यलाई जसरी चिन्छ र चिनाउँछ, मुक्तिबोधको यो कविताले त्यसलाई उल्ट्याइदिन्छ। कामको तेजले आँखा तिर्मिराएका करोडौं मानिसको आँखामा जूनको मुख टेढै देखिन्छ।

जयपुरलाई पिंक सिटी भनेर पर्यटन साहित्यले प्रचार गर्छ। पिंक सिटी अर्थात् गुलाबी सहर। तर, जयपुर आफैंचाहिँ गुलाबी रङको मोहबाट बाहिर उछिट्टिसकेझैं लाग्छ। संघसंस्था र कम्पनीहरूले चाहिँ ‘पिंक सिटी’ शब्दावलिको खुब प्रयोग गर्दा रहेछन्। जम्माजम्मी चार दिनको बसाइका क्रममा जयपुरलाई सकेजति आँखाले नापिहालौं भन्ने हाम्रो तिर्सना छ।

एउटा नुक्कडको चिया दोकानमा भेटिएका दौंतरी कठपुतली कलाकारहरूका लागि पनि जूनको मुख टेढै छ। सत्तरीको उमेरमा यो दौंतरी आफूले देखाउने गरेको कठपुतलीको नृत्य लोप हुँदै गएको कथा भन्न तँछाडमछाड गरिरहेको छ। हरेक औंलामा तीन–तीन धागो हुन्छ रे, हरेक धागोमा कठपुततीको फरकफरक अंग नचाउने खुबी हुन्छ रे। थाहा छ ? कठपुतली गायब भइसक्यो रे ! तर मान्छेको दुनियाँबाट कठपुतलीको नाच गायब भएको छैन। फरक यत्ति हो, यी बूढाहरूको औंलाबाट धागो अरू नै कसैको औंलामा पुगिसकेको छ।

‘दक्षिण एसियाको सांस्कृतिक संकट’ शीर्षक प्यानल बहसमा म छु। दिल्लीका प्रख्यात चिन्तक प्रा. रामशरण जोशी र श्रीलंकाका डा. डीपी सिंह पनि प्यानलमा छन्। जयपुरका वरिष्ठ नाट्यकर्मी रवि चतुर्वेदी विषयको घान हाल्दै दक्षिण एसियामा मौलाइरहेको असहिष्णुतातिर ध्यान आकर्षित गर्छन्। पछिल्ला केही वर्षमा भारत र नेपालमा उसैगरी अन्ध राष्ट्रवादको खेती फस्टाइरहेको छ। भारतमा त झन् हिन्दु राष्ट्रवाद मोदीको अनुहार लिएर सत्तामै पुगेको छ। यसबीच भारतमा आलोचनात्मक चेत राख्ने लेखक, पत्रकारहरूको हत्या नै भइसकेको छ।

हाम्रो यात्राकै क्रममा २६ जनवरी अर्थात् गणतन्त्र दिवसको माहोल थियो। हाम्रो टिम कमान्डर उषाले पटकपटक सम्झाएकी थिइन्— यात्रामा भेटिने अपरिचित मान्छेसँग पाकिस्तानको कुरा नगर्नू, मोदीको हिन्दुत्वको आलोचना नगर्नू आदि। दिल्ली रेल्वे स्टेसनमा तैनाथ सुरक्षाकर्मीहरूको रजगज हेर्दा पनि भारतमा चलिरहेको डरको राजनीति थाहा पाइन्थ्यो। मोदीको डरको खेतीलाई समानान्तर साहित्य उत्सवले विधिपूर्वक नै चुनौती दिइरहेको थियो। हाम्रो प्यानल बहसमा पनि दक्षिण एसियाका कुटिल नेताहरूको प्रसंग उठ्यो। सांस्कृतिक, भाषिक तथा जातीय विविधताले भरिएको दक्षिण एसियाका देशहरूले आफैंभित्र र आपसमा सहअस्तित्वको खोजी कसरी गर्ने ? सहिष्णुताको नाममा असहिष्णुताको खेती गर्न अन्धराष्ट्रवाद कसरी प्रयोग गरिएको छ ?

दक्षिण एसियाका हरेक मुलुकमा सत्तासीन वर्गले चलाइरहेको आन्तरिक उपनिवेश र भारतले यस क्षेत्रका मुलुकमा अभ्यास गरिरहेको छद्म उपनिवेशी रणनीतिको चर्चा मैले गर्नैपथ्र्यो। एकातिर हरेक मुलुकभित्र सीमान्तकृत समुदाय र किसान/मजदुरमाथि थोपरिएको औपनिवेशिक स्तरको उत्पीडन र अर्कोतिर भारतको ठूल्दाइ प्रवृत्तिले दक्षिण एसियालाई आक्रान्त पारेको छ। बेलायती उपनिवेशवादको अन्त्य भएको सत्तरी वर्षपछि बेलायतीले नै सिकाएको युरोपेली मोडेलको अन्धराष्ट्रवाद यहाँका शासकले उपयोग गरिरहेका छन्। यस्तो राजनीतिक अभ्यासले सिर्जना गरेको सांस्कृतिक संकट छँदैछ। अर्कोतिर पुँजीवाद र उच्च जातीय अहंकारको अनौठो घोलले मोदीजस्ता फासीवादी नेताको उदय भइरहेको छ।

अनि जूनको अनुहार टेढो नहोस् पनि किन ! ?

हावा महलअगाडि 

जयपुरलाई पिंक सिटी भनेर पर्यटन साहित्यले प्रचार गर्छ। पिंक सिटी अर्थात् गुलाबी सहर। तर, जयपुर आफैंचाहिँ गुलाबी रङको मोहबाट बाहिर उछिट्टिसकेझैं लाग्छ। संघसंस्था र कम्पनीहरूले चाहिँ ‘पिंक सिटी’ शब्दावलीको खुब प्रयोग गर्दा रहेछन्। जम्माजम्मी चार दिनको बसाइका क्रममा जयपुरलाई सकेजति आँखाले नापिहालौं भन्ने हाम्रो तिर्सना छ।

पहिलो दिन नै ‘बजारको होहल्लामा साहित्य’ र ‘स्त्री–लेखन : आयतन र व्याप्ति’ जस्ता गहकिला विषयमा बहस सुनिसकेका छौं। उपन्यासकार मैत्रेयी पुष्पा, कवि कात्यायनी र ‘माई गड इज अ अुमन’जस्तो शक्तिशाली पुस्तककी लेखक नूर जहिरजस्ता साहित्यकारले स्त्री–लेखन केवल स्त्रीको विषयमा मात्र नभएर मानव समाजका अनेक विषयमा हकका साथ फैलिनुपर्ने दमदार बहस पस्किसकेका थिए। उस्ताद अहमद हुसैन र मोहम्मद हुसैनको गजलले राति अबेरसम्म मञ्च गुञ्जायमान पारिरहेकै थियो। राति अबेर बिछ्यौनामा पुगेका हामी भोलिपल्ट सबेरै हावा महल घुम्न जाने योजना बुनेर सुत्यौं।

जयपुर राजा र महलहरूको पनि सहर हो। अहिले पनि यहाँका महलमा राजाहरू छन्, भलै तिनको शासन बाँकी छैन। कतिपय त पार्टी राजनीतिमा शक्तिशाली नै छन्। राजस्थान सिंगमरमरको खानी भएकाले यहाँका महलहरूमा प्रशस्त सिंगमरमर प्रयोग हुनु अनौठो भएन। हावा महलचाहिँ स्थापत्य कलाको हिसाबले बेजोड नै मानिँदो रहेछ। मौरीको चाका जस्तो शैलीमा बनाइएको महलको पछिल्लो भाग नै आकर्षणको केन्द्र हो। सडकमा जोडिएको यही भाग देखिने गरेर फोटो खिच्नेको घुइँचो हुँदो रहेछ। सबैले महलको मुखाकार ठान्ने गरेको यही पछिल्लो भागमा ९५३ वटा झरोखा (झ्याल)हरू छन्। सडकको गतिविधि र उत्सवहरू हेर्नका लागि हावादार झरोखाहरू बनाइएका छन्। खास गरेर रानीहरूको सुविधाका लागि बनाइएकाले बाहिरबाट भित्र नदेखिने, तर भित्रबाट सडकको गतिविधि देखिने गरी हावा महलका झरोखाहरूको डिजाइन गरिएको रहेछ।

झिसमिसेमै हामी पुगिसक्छौं हावा महलको हावा सुम्सुम्याउन। जयपुरमा हिउँदले आफ्नो सामान बाँधेर हिँड्न सुर कसेजस्तो लाग्छ, खासै जाडो छैन। चोकमा मेट्रो रेलको स्टेसन बनाउने काम धमाधम चलिरहेको छ। एक कुनामा चियाको ठेला पनि जम्जमाइसकेको छ। हावा महलको गुलाबी झरोखाहरूमा झुल्के घामको चमक उजेलिने पल उम्कनेवाला छैन। चिया पिउँदा ठीकै होला, कि कसो ? हिउँदको झिस्मिसेमा चियाको चुस्की कसले पो अस्वीकार गर्ला र। चियाको ठेलासम्म पुग्न कुनै जाँगर चाहिएको पनि छैन, लोसेलोसे पाराले गए भैगो।

के दक्षिण एसियाको प्रगतिशील साहित्यिक आन्दोलनले आममान्छे देखिरहेको छ ? आममान्छेले दैनिक जीवनमा उत्पादन गर्ने ससाना क्रान्तिहरू लेखिरहेको छ ? अथवा भनौं आमजीवनको संघर्षबाट पलपल जन्मिरहेको परिवर्तनकारी ऊर्जालाई श्रव्यदृश्यमा उतारिरहेको छ ?

तर, उषाका निम्ति भने जाँगर जोगाइदिएर उग्राइरहेका दृश्य कति कति। ऊ अघि नै तम्तयार, आफ्नो सदाबहार फूर्तिका साथ क्यामराको लेन्सबाट हावा महलको छेउछाउमा ब्यूँझेको जीवनका दृश्य खोज्न। मेट्रो निर्माणस्थलमा सखारै काममा जुटेका मजदुरहरू छन्, उषाको क्यामराले छुटाउने कुरै भएन। गल्लीका कुनामा सुतेका गरिब जिन्दगीको दृश्यकथा होस्, उषाको दृश्यडायरीमा सुटुक्क लेखिइसक्यो। चिया पकाइरहेका ठेलावाल, ऊ नअटाउने झन् के कुरा। हामी चियाको चुस्कीमा अल्झिऊँला, उषालाई हतार छ जीवनका उहापोहहरू छायांकन गर्न।

झुल्के घाम हावा महलमा गुलाबी चम्किन्छ। उषा क्यामरा लिएर यसरी तम्तयार छ मानौं कुनै वैज्ञानिक टेलिस्कोपको सामुन्ने बसेर अन्तरिक्षको कुनै रहस्यमय दृश्य रेकर्ड गर्न ध्यानमग्न होस्। दूधवाला साइकलमा क्यान झुन्ड्याएर आइरहेका छन्, उषाको क्यामरा क्लिक्... क्लिक्... क्लिक्... सक्रिय हुन्छ। अनि दूधवाला रोकिन्छन्, अपरिचितसँग भलाकुसारी गर्न तुरुन्तै तत्पर हुने कला पनि छ उषासँग। अनि मूलाको चाङ लिएर गइरहेको रिक्सा र मुस्कुराउँदै उषाको सम्बोधनलाई जवाफ दिइरहेको रिक्सावाला। क्लिक्... क्लिक्... क्लिक्...। अनि साइकल चढेर आइपुग्छन् दुई विद्यार्थी। साइकलयात्री पनि हो उषा, साइकल चढेर आइरहेको वा गइरहेको कोही उसको क्यामराबाट छुट्यो कि उसको मुखबाट उद्गार छुट्छ— हत्तेरिका ! केही बेरमा फोहोर संकलन गर्ने गाडी सुस्तरी जान्छ। अनि एउटी महिला आउँछिन् लामो परम्परागत माला बेच्दै। उषासँग एकैछिनमा तिनले आफ्नो परिवारको सारा कहानी सुनाइहालिन्।

उषाको उपस्थितिले मानौं हावा महल अगाडिका एकएक दृश्य स्लो मोसनमा चलिरहेका छन्। परबाट हुत्तिएर आइरहेका गाडी, साइकल, अटोरिक्सा, रिक्सा, ठेला, अनि थरीथरीका मान्छेहरू सबै उषाको नजर पर्नासाथ एकाएक स्लो मोसनमा चल्न थाल्छन्। एउटा पर्यटकका रूपमा हामी हुन्थ्यौं भने हावामहल हुन्थ्यो, सेल्फीमा आफैं हुन्थ्यौं, दुईचार पोजमा फोटो खिचिन्थ्यो। तर ती सारा दृश्य आँखै अघिल्तिरबाट बगेर गइसक्थे, छुटिसक्थे, तर हामी नदेख्न सक्थ्यौं। वास्तवमा जीवनकै छेउछाउबाट गुज्रने धेरै दृश्य, आकांक्षा, आदर्श नदेखेरै गुमाइरहेका हुन्छौं हामी।

प्रगतिशील सांस्कृतिक आन्दोलन भनेको आखिर त्यही नजरको रेकर्ड त हो जो इतिहासबाट छुटे, छुटिरहेका छन्, तिनै मानिसहरू देख्नु। आममानिसका आकांक्षा, उत्पीडनका श्रव्यदृश्य, संघर्षका चलचित्र, समाज बदल्ने विद्रोह, त्यहीँबाट जन्मने क्रान्तिका गीतहरू देख्नु। देख्नु, अनि मानिसहरूसँग बाँड्नु। त्यसरी बाँड्नु कि आकांक्षा, संघर्ष र विद्रोहको तुमुल ध्वनि त्यहाँबाट पैदा होस्। के दक्षिण एसियाको प्रगतिशील साहित्यिक आन्दोलनले आममान्छे देखिरहेको छ ? आममान्छेले दैनिक जीवनमा उत्पादन गर्ने ससाना क्रान्तिहरू लेखिरहेको छ ? अथवा भनौं आमजीवनको संघर्षबाट पलपल जन्मिरहेको परिवर्तनकारी ऊर्जालाई श्रव्यदृश्यमा उतारिरहेको छ ? कवितामा स्वर दिइरहेको छ ? गीतमा ती तिर्सनाहरू धुनबद्ध गरिरहेको छ जो दिनहुँ यत्रतत्र गुञ्जिरहेका छन् ? अर्थात् आमजनजीवनलाई स्लो मोसनमा छानबिन गरिरहेको छ ? लोकतन्त्रमा सबै खुल्ला छ, तर...

हजारों ख्वाहिशेँ ऐसी कि हर ख्वाहिश पर दम निकले

बहुत निकले मेरी अरमान लेकिन फिर भी कम निकले

        – गालिब

अरमान माने आशा/आकांक्षा। मेरो ओठबाट यसै फुत्किन्छ— देखो भैया, लोगों के अरमान इर्दगिर्द बिखरे पडे हैं। अर्थात्, जनताका आशाहरू यत्रतत्र छरिएका छन्। अटोरिक्साका चालकले खासै ध्यान दिँदैनन्। रोहेज र कृष्णचाहिँ अल्छी नजरले सडक किनारतिर हेर्छन्। साटिँदै गइरहेका दृश्यपिच्छे म थप्दै जान्छु। देखो उधर, लोग अरमानों में पेट्रोल भर रहे हैँ। लोग, अपने अपने अरमानों को चाय पिला रहे हैं। अनि अटोरिक्सा चालक हाँस्छन्। यसै टुटेफुटेको हिन्दीमा हामी गफ गरिरहन्छौं, हाँस्ने बहाना खोज्छौं। अचानक चालक बोल्छन्— लोगोंके अरमान दूध पि रही है।

माहोल कविताको छ, यस्तोमा मान्छेका आशाहरूले दूध पिउनु गजब कुरा हो। हामी हतारिएका छौं, नेपालका कविहरूको कविता वाचन हुनेवाला छ। उत्सवी रौनकमा उत्सुक दर्शक भेला हुन्छन्। उषाले भूमिका बाँधेर माइक दिएपछि सरिताको पालो आउँछ। नेपालको कवितामा पछिल्लो समय उर्लेर आइरहेको सीमान्तकृत स्वरका बारेमा उनी व्याख्यान दिन्छिन्। अनि कविताको सरगम बज्न थाल्छ। सरिताको नारी–हुँकार सर्सराउँछ— तिमीले मलाई आविष्कार गरेका होइनौ। अभयको शंकाले त्यही कवितामाथि पनि शंका गर्न चुनौती दिन्छ जुन कविता शंकाकै बारेमा लेखिएको छ। जर्नेलको त्यो जुत्तालाई औंला ठड्याउँछ रोहेजको कविताले जुन जुत्ता एउटा प्रश्नवाचक युवाको आवाज दबाउन फ्याँकिएको हुन्छ। उषा जनयुद्धको त्यो आँसु देखाउँछिन् जो विस्फोटक भइरहेको छ।

दर्जनौं आशंका र निराशाका बाबजुद हामी हजार आशा बोकेर लोकतन्त्रको बाटो हिँडिरहेका छौं। गालिबले भत्किँदै गरेको मुगल साम्राज्यको अन्तिम धड्कन आफ्ना चिठीहरूमा सँगालेझैं हाम्रा कविहरूले पनि आफ्नो समयको सरगम सँगालिराखेका छन्। समानान्तर साहित्य उत्सव पनि त्यस्तै एउटा आशा सँगाल्ने मेला थियो। हामी पनि त्यो उत्सवमार्फत जगाइएको आशालाई विचार र कलाको दूध पिलाएर फर्कियौं। फेरि पनि कैयौं प्रश्न बाँकी रहे। उत्सवका मुख्य समन्वयक ईशमधु तलवारसँग अन्तिम दिन हामीले छलफल पनि चलायौं।

त्यसो त प्रश्न सकिएको घडी समयको पदचाप नै चुप लाग्छ। प्रगतिशील लेखक संघ, राजस्थानको यो पहलकदमीलाई सर्वप्रथम त साधुवाद दिनैपर्छ। जेएलएफले साहित्य उत्सवलाई बजारु विषय बनाइदिएको र अंग्रेजी भाषाको एकछत्र प्रयोगमार्फत स्थानीय भाषा, तिनका साहित्य र साहित्यकारलाई उपेक्षा गरेको आरोप पेस गर्दै प्रलेसले समानान्तर साहित्य उत्सव गर्ने हिम्मत ग¥यो। उत्सवमा राजस्थानी, पञ्जाबी र उर्दु भाषामा प्यानल छलफल आयोजित थियो भने नेपालका कविले आफ्नै भाषामा कविता पाठ गरे। जनपक्षीय साहित्यका अभियन्ताको यो दाबीलाई ऐतिहासिक मान्नैपर्छ।

कवि कात्यायनीले जेएलएफ र पीएलएफमा ओहोरदोहोर गर्ने केही वरिष्ठ लेखकप्रति कटाक्ष गर्दै फेसबुकमा लेखिन्— साहित्यलाई बजारको कब्जामा पर्न नदिने र जनताको कलात्मक स्वरलाई बुलन्द गर्ने सवालमा समानान्तर साहित्य उत्सव एक कोसेढुंगा साबित भयो। पक्का हो। तर, युवा लेखकलाई मञ्चमा सीमित मात्र स्थान दिइनु र कार्यक्रममा पनि युवाहरूको उल्लेख्य उपस्थिति नहुनुले सँगसँगै प्रश्न गर्ने ठाउँ पनि राखेको थियो। मिडिया व्यवस्थापन पनि चुस्त देखिएन। प्रलेसको तौरतरिका नेपालमा जस्तै भारतमा पनि उत्साहजनक देखिएन।

साहित्य उत्सवहरू केही वर्षयता नेपालमा पनि भइरहेका छन्। सुरुमा काठमाडौंमा र पछिल्लो समय पोखरामा आयोजना हुने नेपाल लिटरेचर फेस्टिभल र झापाको काँकडभिट्टामा गरिने कलासाहित्य उत्सव नेपालका दुई ठूला साहित्य उत्सव हुन्। यी उत्सव पनि आजकल फिकाफिका लाग्न थालेका छन्। समानान्तर साहित्य उत्सवमा विषय अनेक बान्कीका थिए। सिनेमा, मिडिया, साहित्यमा दलित चेतनाजस्ता विषयमा छलफल त थिए नै, दैनिक सांगीतिक प्रस्तुति पनि राखिएको थियो। लेखकसँग भेट, कविता वाचन, नाटक मञ्चन आदि पनि दैनिक चलिरहेकै थिए। नेपालका साहित्य उत्सवमा यति धेरै भेराइटी हुँदैन। अर्कोतिर विषय र प्रस्तुतिको एकरसताले दर्शकको ध्यान आकृष्ट गर्न वा समाजमा बहस निर्माण गर्न सकिरहेको छैन।

भन्नलाई लोकतन्त्रमा सबै खुला हुन्छ भनिन्छ। विचारको बहसमा छेकबार हुँदैन भन्ने सिद्धान्त पाठ गरिन्छ। तर, यथार्थमा विचारका धेरै झ्यालढोका बन्द राख्ने गरिन्छ। पुँजीवादको विकाससँगै विभिन्न खालका उत्सव आयोजना गर्ने चलन विश्वभरि चलेको छ। संगीत फेस्टिभल, ज्याज फेस्टिभल, फिल्म फेस्टिभल, चित्रकला फेस्टिभल, गिटार फेस्टिभल आदि। ब्रिटिस इतिहासकार एरिक हब्सबमले आफ्नो पुस्तक ‘फ्र्याक्चर्ड टाइम्स’मा भनेका छन्— पहिलापहिला राजामहाराजा हुन्थे अनेक फेस्टिभलका संरक्षक, आज ठूला कर्पोरेट घराना प्रायोजक भइरहेका छन्।

यो कुनै अनौठो कुरा होइन। कलाकार र साहित्यकारहरूको संगम गराउने फेस्टिभलहरू विश्वव्यापी रूपमा आयोजित भइरहने पक्का छ। जरुरी पनि छ। तर, विचारको बहसमा बन्देज लगाइन्छ वा लोकतन्त्रको स्वतन्त्रता उपयोग गर्दै सजिला र परम्परागत चीजबीज मात्र पस्किइन्छ भने यस्ता फेस्टिभल स्वतः प्रभावहीन हुनेछन्। समाजलाई तरंगित गर्न नसक्ने चाड वास्तवमा चाड हुँदैन, उत्सव पनि उत्सव हुँदैन।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost