MENU

खेतमा अम्ल वर्षा

patan-college

भूपिन शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

टिप्पणी

कोही आधुनिक प्लेटोले ‘पोयट्री मस्ट वी व्यानिस्ड’ भनिहालेको त छैन, तर कवितामाथि प्रहार जारी छ। धेरै लेखिने तर कम पढिने, नबिक्ने, नबुझिनेजस्ता पुराना आरोप जारी छन्। कविता-संस्कृति निर्माण नगरेका आमपाठकले यस्तो सोच्नुलाई स्वाभाविक लाग्छ। तर कविता-संस्कृति निर्माण गरेका मात्रै नभएर बलियोसमेत भएका सर्जकहरूबाटै अन्य आरोप पनि थपिएका छन्। कविता नारा भए, सरलताको नाममा वर्णमाला भए, बढी कस्मेटिक भए, पुराना कविहरूको नक्से कदममाचले, क्लिसे भए, नवीन सिक्नेचर बनाउन सकेन, कविता कविताभन्दा बढी पर्फर्मिङ आर्ट भयो आदि। कतिपय आरोप सत्य छन्। तर, अब फलेको हाँगामा नै झटारो हानिन्छ भनेर विषयबाट पन्छिरहनु ठीक छैन। यावत् विषयले गम्भीर छलफलको माग गरेका छन्।

भूपिको भाषामा आमाहरूले केवल लाहुरेहरू जन्माउने देश नेपालमा लाहुरे डाँडाहरू धेरै छन्, साथसाथमा बाहुनडाँडा पनि छन्, कामीडाँडा पनि छन्। डाँडाहरू कम भएको चितवनमा कविडाँडा छ, जहाँ अघिल्लो हप्ता गम्भीर काव्य विमर्श आयोजना भयो। संस्थाका अध्यक्ष एलबी क्षेत्रीको अगुवाइ, प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यता, काव्य विभाग प्रमुख अमर गिरी र नेपाली काव्य क्षेत्रका विशिष्ट सर्जकहरू विमल निभा, श्यामल, राजवलगायत शार्दुल भट्टराई, भीष्म उप्रेती, टंक उप्रेती, मनु मन्जिल, निमेष निखिल, नवराज लम्साल, सरिता तिवारी, हेमन यात्री, प्रसन्न, बीना तामाङ र समीक्षकहरू लक्ष्मणप्रसाद गौतम, महेश पौड्याल, कुमार कोइराला, ताराकान्त पाण्डे र ऋिषिराम शर्माले कविता विषयक विविध कार्यपत्र, थिम पेपर र छलफलमा भाग लिए। कवि दिनेश अधिकारी, पुरुषोत्तम सुवेदी र शारदा शर्मालाई सम्मान गरियो। सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका कविहरूको कविता वाचन भयो। डाँडा नै नभएको ‘कविडाँडा’ साँच्चै कवितामय भयो।

सत्य हो— असुन्दरलाई छोडिदिने हो भने समकालीन नेपाली कविता सुन्दर छ। केही दुर्गन्धलाई बिर्सिदिने हो भने विविध रङ, शील्प र शैलीले समकालीन कविताको बगैंचा सुगन्धित छ। के कविता विषयक समीक्षाहरू सुन्दर र सुगन्धित छन् ?

अग्रज कवि सरुभक्तले अन्नपूर्ण पोस्ट्को ‘फुर्सद’मा ‘के मर्दैछन् नेपाली कविता ? ’ लेखेपछि र कवि विप्लव ढकालले प्रतिउत्तरमा लामो फेसबुक स्टाटस लेखेपछि एलबी क्षेत्रीको मनमा कवितामाथि छलफल गर्ने जुनुन सवार भएको थियो। सरुभक्तको वाक्य ‘तिमीले कविलाई बाटोमा भेट्यौ भने हत्या गरिदिनू !’ प्रति कवि विप्लवको आपत्ति थियो। आशय प्रतीकात्मक र अझ राम्रा र सार्थक कविताको पक्षमा भए पनि सरुभक्त दाइले डा. सेल्डन वी कोप र झेन गुरुहरूको रेफरेन्स दिएर लेख्नुभएको वाक्यले म पनि स्तब्ध भएको थिएँ। डा. सेल्डनले भनेका रहेछन्, ‘इफ यु मिट बुद्ध अन दी रोड, किल हिम !’ कवि विप्लव कविता मर्छ कि भन्ने सरुभक्तियन डर र प्रश्नप्रति असहमत हुनुहुन्थ्यो। मेरो अपेक्षा थियो कि कवि विप्लवबाट विस्तारमा केही कुरा आउलान्। बहस त अत्यावश्यक थियो।

हालै कवि सुनिता खनालको कवितासंग्रह विमोचन कार्यक्रममा अग्रज कवि श्यामल र श्रवण मुकारुङले व्यक्त गरेका कविता विषयक चर्चाले म फेरि तानिएँ। मित्र दीपक सापकोटाले अन्नपूर्ण पोस्ट्मा लेख्नुभएको रिपोर्टिङले मलाई फेरि तरंगित पारिदियो। मलाई लाग्यो, एलबी सरको आग्रह स्वीकार गर्दै म पनि केही बोलुँ। पहिला नै स्पष्ट पार्न चाहन्छु— यहाँ म न कवि सरुभक्तको, न त कवि श्यामल र श्रवणका टिप्पणीमाथि प्रतिटिप्पणी राख्दैछु।

म यहाँ समकालीन कविताबारे मेरा नितान्त निजी अवजर्वेसन, अध्ययन र अनुभव राख्नेछु। के कुरा पनि यहीँनेर स्पष्ट पारूँ भने मेरो यो लेख समीक्षकप्रति लक्षित छैन। मलाई लाग्दैछ— कवितालाई समीक्षकहरूबाट जत्तिकै प्रेम र खतरा कविहरूबाट पनि छ। समीक्षकका समीक्षात्मक कमजोरीबारे धेरै कुरा उठेका छन्, कविका समीक्षात्मक कमजोरीबारे कम। ‘कविताको विरुद्धमा बोल्नुपर्‍यो भने मलाई सम्झिनू’ भनेर गर्वबोध गर्ने समीक्षकहरू छोडेर म यहाँ कविहरूमा मात्रै केन्द्रित हुन इच्छुक छु।

संक्रमणकालको अविरल झरी

व्यवस्था परिवर्तन गर्न भएका चेतनागत तीव्र परिवर्तन, आन्दोलन, युद्ध र नयाँ व्यवस्थाको स्थापनासँगै संविधान कार्यान्वयनको चरणमा छ देश। संघीय गणतन्त्रात्मक संविधान जारी भएर महत्वपूर्ण स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनहरू सम्पन्न भइसकेका छन्।

नेताहरूले उहिल्यैदेखि भनेका भन्यै छन्— संक्रमणकाल छ देशमा। यस्तो लाग्छ उनीहरूले भनिरहेका हुन्, ‘विकास, समृद्धि, आर्थिक उन्नति त संक्रमणकाल सकिएपछि थाती राखेका छौं। ती काम अहिले गरे पाप लाग्छ। हामी शुभ साइत पर्खिरहेछौं, तिमीहरूले समय पर्ख।’

आफूलाई जायज लागेका मागहरू पूरा गर्न पार्टीहरूको खिचातानी खुब चल्यो संक्रमणकालमा। नयाँ व्यवस्थामा आफ्नो बलियो अस्तित्व स्थापनाका लागि पार्टीहरूबीच स्वाभाविक र अस्वाभाविक आरोप-प्रत्यारोप र दन्तबझानहरू भए संक्रमणकालमा। पत्याउनै नसकिने गठबन्धन भए संक्रमणकालमा। स्वाभाविक र अस्वाभाविक नयाँनयाँ माग र आवाजहरू सुनिए संक्रमणकालमा।

संक्रमणकालमा राजनीतिक किताबमा भारी जार्गनहरू थपिए, प्रयोग भए। असहिष्णुता र निषेधका तुफानहरू चले। कविहरू पनि प्रभावित भयौं। प्रभाव ठाडो-तेर्सो दुवै पर्‍यो। एकथरी ‘चलिरहेको नेपाल’ पूर्णतः ठीक, अर्कोथरी ‘चलिरहेको नेपाल’ पूर्णतः बेठीक। हामीहरूले एकफेर कविहरूको सर्वस्व पार्टी हेडक्वार्टरहरूमा समेत बुझाइदियौं र एकर्काका विचारप्रति पार्टीहरूझैं असहिष्णु बन्न थाल्यौं। फरक मतलाई निषेध गर्न थाल्यौं।

अतिहरू अरू पनि थपिए। एकथरी कविहरू उत्तरवर्ती काल (विशेषतः लोकतन्त्रको स्थापनापछि) कविता नै छैनन् भन्ने अतिवादी सोचले ग्रसित भयौं। अर्कोथरी कवि, समालोचकहरू कविता त अहिले मात्र छन्जस्तो भ्रममा रह्यौं। यसको वस्तुगत निरुपणतिर भन्दा हल्काफुल्का टिकाटिप्पणीमा अल्मलियौं हामी। यसैको क्रमभंगता गरिदियो, सरुभक्त दाइको लेखले। पछिल्लो कविता लेखनप्रति परोक्ष असन्तुष्टि र केही गम्भीर प्रश्न उठायो लेखले।

सक्षम कविहरू सक्षम समालोचक पनि हुन् भनी स्वीकार गर्ने हो भने कविहरूबाट हुने कवितामाथिको टिप्पणी र बहसको वैधानिकतालाई पनि स्वीकार गरिनुपर्छ। कवितामाथिको कविहरूको आक्रमण, निन्दा वा प्रशंसाको वैधानिकतालाई पनि गम्भीर रूपमा लिनुपर्ने हुन्छ। टिप्पणी र बहसमा गम्भीर हुन सकिएन भने नेपाली कविताले स्वच्छ काव्यिक पर्यावरण पाउनेछैन। खडेरीमा वर्षात पर्खेका कविताका किसानहरूले अम्ल वर्षा चाहेका होइनन्। न चाहेका हुन्- अविरल झरी। अम्ल वर्षाले त बालीनाली मात्रै होइन, मानव स्वास्थ्यलाई पनि प्रतिकूल असर पार्छ। अविरल झरीले भने बाढी निम्त्याउँछ। बाढीले पहिरो र डुबान।कविहरूलाई मेरो पहिलो प्रश्न छ— के हामी यो गम्भीर विषयमा गम्भीर छौं ?

कवितामा छुवाछूत

‘दुनियाँमा अभ्यास भएको सबैभन्दा कुरूप विभेद के हो ? ’ मलाई कसैले यस्तो प्रश्न सोध्यो भने मेरो जवाफ हुन्छ, ‘छुवाछूत।’जनावर छूत, मानिस अछूत। यस्तो कुरा पहिलोपटक सुन्दा अर्को विश्वका बच्चाहरूलाई पत्याउन कति मुस्किल पर्दो हो ? सोचेर हैरान हुन्छु।

छुवाछूतको विरोध गर्ने हामी कविहरू के कवितामा छुवाछूतमुक्त हुन सकेका छौं ? कतै बलियोसँग निर्माण नभएका अधकल्चा विचार, रंगभेद, आग्रह, पूर्वाग्रह र दुराग्रहले कवितामा वर्णभेद खडा गरिदिएका त छैनौं हामीले ? ‘शिरबाट बनेकाले म उपल्लो जातको, पैताला तल भएकाले तँ दलित।’ यस्तै घिनलाग्दो परम्पराको निरन्तरतास्वरूप कविताको शक्तिको आधारमा भन्दा पनि पार्टी, आस्था, गुट, कविला, सम्प्रदाय, जात र धर्मका आधारमा हामीले कविताको समीक्षा गरिरहेका त छैनौं ? कविताको इतिहास साक्षी छ— प्रयोगको लागि मलिलो जग्गा मानिएको कवितामा तपाईं हामीले अस्वीकार गर्ने, तपाईंहाम्रा रुचि, आस्था, विचार, शैलीबाहिरका कविता पनि जन्मिन्छन्। मूल कुरा मानव कल्याण एवं सामाजिक र सांस्कृतिक समृद्धिलाई सघाउने कविता लेखियो कि लेखिएन भन्ने हो। कविताले आवश्यक परिवर्तन र सामाजिक न्यायलाई सघाउने विचार बोक्यो कि बोकेन भन्ने हो।

सार्थक कविलाई यावत् कुराहरूले फरक नपार्ला तर सम्भावनासहित संघर्ष गरिरहेका कैयौं कविलाई यस्तो विशाक्त पर्यावरणले सधैं हतोत्साहित गर्नेछ।

सामाजिक सञ्जालमा कविता

हालै साउदी अरब सरकारले रोबट सुन्दरी सोफियालाई नागरिकता दिएको सनसनीपूर्ण खबरले दुनियाँभरका पत्रपत्रिका भरिए। थप अचम्मलाग्दो सन्दर्भचाहिँ के भने, पत्रकार सम्मेलनमा सोफियाले भनिन्, ‘म मेरो जीवन मानव कल्याणमा समर्पित गर्न चाहन्छु।’ कविलाई कविता लेखेबापत दुःख दिने देश पनि त्यही, प्रविधिलाई यसरी स्वीकार गर्ने देश पनि त्यही। निबन्धकार रोशन शेरचन लेख्छन्, ‘अहिले विश्वमा दुईखाले मानिस छन्, फेसबुक अकाउन्ट खोलेका र नखोलेका।’

जतिसुकै चर्को रूपमा समयबोधका कुरा गरे पनि हामीहरू परिवर्तनलाई सुरुमा खिसिटिउरी गर्न मजा मान्छौं। अचेल फेसबुकतिर कविता पोस्ट् गर्ने प्रचलन छ। एकथरी कविहरूद्वारा त्यस्ता कविहरूलाई ‘फेसबुके कवि’ भनेर होच्याइन्छ। उनीहरूलाई लाग्छ— फेसबुकमा कविता पोस्ट् गर्नु महान् काव्यिक-अपराध हो। सत्य हो— साइबर स्पेसको दुनियाँ हतारको दुनियाँ हो। हतारमा कविता पोस्ट् गर्ने र हतारहतारमा ‘वाहवाह’ गर्नेहरूले कवितालाई सस्तो बनाइरहेका छौं। तर, बलियो कवित्व भएर पनि कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, मधुपर्क, गरिमा आदि पत्रिकामा ठाउँ नपाएका वा तिनीहरूलाई नपर्खिने पुस्ताका कविले सामाजिक सञ्जाल, युट्युब, ब्लग आदिमा कविता सेयर गर्न पाउनु एक अवसरका रूपमा लिनुपर्ने हो।

‘हाम्रा पालामा पत्रिकामा छापिएपछि मात्र कवि भइन्थ्यो, अहिले पनि यसै हुनुपर्छ’ भन्ने धारणा अब मिति गुज्रेको ओखतीजस्तो बनाइदियो प्रविधिले। दूरदराजका कवि प्रतिभालाई यस्तो वैकल्पिक मिडियाले धेरै फाइदा भएको छ। उनीहरू फेसबुकमार्फत आफ्ना पाठकहरू बनाइरहेछन्। गम्भीरतामा पो सम्झौता गर्नु भएन, नत्र राम्रो कविता जहाँ छापे पनि हुन्छ। जहाँ राखे पनि हुन्छ। माध्यम त बदलिइरहन्छन्। प्रविधि विकासको रफ्तार थामिनसक्ने गरी चलिरहेछ। समयबोधका कुरा पनि गर्ने र प्रविधिको प्रयोगलाई खिसिटिउरी गर्ने धारणा विरोधाभाषपूर्ण छन्।

कवितामा सेन्सेस्नालिजम

राजनीतिमा ‘सेन्सेस्नालिजम’ हावी छ। ‘माले, मसाले र मण्डले एकै हुन्’ देखि लिएर ‘पृथ्वीजयन्ती थुकेर मनाउनुपर्छ’ सम्म।

सेन्सेस्नालिजमले तर्क र प्रमाणलाई वास्ता गर्दैन। सम्भावनासँग यसको सरोकार हुन्न। कुनै अनुसन्धान गर्ने झन्झट बेसाउन्न। आफूलाई मन लाग्यो, भनिदियो। बाँकी सब देखा जाएगा।

सहमत होऊँ वा नहोऊँ— सामाजिक सञ्जाल, पत्रकारिता, राजनीति, कला र लेखनमा प्रायः हामी ‘सेन्सेस्नल’ बढी छौं र गम्भीर कम। चर्चामुखी बढी छौं र सिर्जनात्मक कम। हार्डकोर क्रान्तिकारिता, राष्ट्रवाद, पुरस्कार र विज्ञापनको बजारमा जे बिक्छ, त्यही बनिदिन्छौं हामी। बजार जे भन्छ, त्यही सत्य मानिदिन्छौं। हामी सायद ‘सनसनी’को आगोमा आकर्षित पुतली, ‘हाहाहुहु-फ्रेन्डी’ भएर सतही चिन्तनको बत्तीमा प्वाँख डढालिरहेछौं। उड्न खोज्छौं डढेका प्वाँखहरू लिएर। हामी हार्डकोर- बजारले प्रयोग गर्ने सबैभन्दा भरपर्दो वस्तु बनेका छौं र चिन्तनको गहिराइमा पौडिएको भ्रममा मख्ख छौं।

मिडिया सेन्सेस्नालिजम त चर्को छ हाम्रोमा। समयको घुम्तीमा तिनीहरूसँग दिनदिनै देखभेट, कुराकानी र धक्काधक्की हुन्छ हाम्रो। कतिपय अनलाइन पोर्टलका समाचार पढ्दा लाग्छ, यो देशमा जे लेखे पनि हुन्छ। यस्तो लाग्छ— जति नै साइबर क्राइम र कानुनका गफ दिए पनि तिनीहरूलाई कारबाही गर्ने निकाय अझै जन्मिसकेको छैन देशमा।

के सेन्सेस्नालिजम बाट कविता र कवि चोखा छौं ?

केही उदाहरण हेरौं—

१. गद्य कविता फुटेको बाँसुरीबाट निस्किएको धुन हो।

२. म दुई क ले बिग्रिएँ, कविता र कम्युनिस्ट।

३. नेपालको झन्डा चुच्चो हुनुमा चुच्चानाकेहरूको षड्यन्त्र छ।

४. कविले कर्णालीको दुःख लेख्नु हिन्दुत्व र बाहुन क्षेत्रीको वकालत हो। किनभने कर्णालीमा बाहुनक्षेत्री बस्छन् र ती हिन्दु हुन्।

५. उनान्सय प्रतिशत पुरुष महिलाविरोधी छन् तर आमाका कविता लेख्छन्।

६. गजल बिग्रिए कविता बन्छ। कविता सप्रेर पनि गजल बन्दैन।

७. गजल वनमारा झार हो। आदि।

शासनमा प्रभुत्व जमाएर जातीय वर्गीकरण र वर्णव्यवस्थालाई मलजल गर्नेहरूले बनाएका घाउले दुखेको दुख्यै छ देश। घाउ गहिरागहिरा छन्। जात, वर्ण, रङ, धर्म, सम्प्रदाय आदिको आधारमा आफूलाई सुपेरिएर र अन्य जातकालाई नीच सोच्ने विषाक्त खेती चलाए उनीहरूले। पुरुषलाई सबल र महिलालाई निर्बलको रूपमा व्याख्या गरिए। तर, स्थिति कति भयावह छ भने बधुशिक्षाबारे प्रश्न गर्नु अपराध अझै। पुराना कवितालाई नयाँ सिद्धान्तको कसौटीले जाँच्नै नहुने अझै। यो दुःखद तथ्य हो।

ईश्वरवल्लभको प्रख्यात कवितासंग्रह ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’को पहिलो कविता छ— कगराको चपरीमा। त्यस कवितामा अश्पृष्यतालाई स्वीकार गरिएको पाएर म स्तब्ध भएको थिएँ।

‘रजस्वला’ एक विशिष्ट प्राकृतिक फेनोमेना। जसरी प्रजनन, जन्म, जीवन र मृत्यु। जसरी जाडो, गर्मी, बाढी, आँधी, हिमपात या मरुभूमीकरण। प्राकृतिक फेनोमेनाप्रति मानव जिज्ञासाको तुक होला, मानव गुनासोको कुनै तुक छैन। ‘गराको चपरीमा’मा कवि ईश्वरवल्लभ लेख्छन्—

तर आकाश टाढा बस्छ

आकाशले सायद बुझ्छ—

पृथ्वीको नयाँ सन्तान अझै,

अझै पृथ्वीजस्तै गन्हाउँछ

पृथ्वी अस्पृश्य छ

यो धरती अशुद्ध छ।

नेपाली साहित्यमा सर्वथा नवीन र आधुनिक मानिएको ‘तेस्रो आयामेली’ लेखनका एक खम्बा ईश्वरवल्लभले समेत कसरी रजस्वलालाई अशुद्ध देखे ? अश्पृष्यतालाई स्वीकार गरे ? परोक्ष, उनी ‘छाउपडी’का समर्थक भए भनेर समयले किन प्रश्न नगर्ने ? प्राकृतिक भएकाले रजस्वला गुनासो बाहिर छ भन्ने किन बुझ्न सकेनन् उनले ? १५ देखि ४९ को टाइम फ्रेममा महिला रजस्वला नभए नो फर्टिलिटी, नो फिकन्ड। मेरो लागि, नेपाली कविता र निबन्धका उनी मानक नै हुन्। तर, के मानकहरू प्रश्नबाहिर छन् ?

दुर्भाग्यवश हाम्रा उक्तिहरू, काव्यहरू र लेखनमा समेत प्रशस्त होचोहेलोका कुराहरू आएकै हुन्। के तिनीहरू प्रश्नबाहिर छन् ?

तर प्रश्नको पनि पर्सनालिटी हुन्छ। प्रश्न उत्तर र समाधानका लागि कि भड्काउका लागि ? सेन्सेस्नालिजमको विशेषता यही हो कि यसले पब्लिकको रुचि र उत्तेजनालाई ध्यान दिन्छ। भड्काउ यसको मित्र र गम्भीरता यसको दुस्मन। कवितालाई सही ट्र्याकमा हिँडाउन कविहरू यस विषयमा थप गम्भीर हुनु जरुरी देख्छु।

क्लिशे

कवितलाई लाग्ने अर्को आरोप हो— क्लिशे। अग्रज कविले प्रयोग गरेका विम्बहरू नै बारम्बार दोहोरिइरहने प्रवृत्ति। चोखा विम्बहरूको निर्माण सहज कार्य होइन। कवि एन्ड्रु मार्बलले ‘टु हिज कोय मिस्ट्रेस’ मा सम्भवतः पहिलोपटक तरकारीझैं मौसमी हुने प्रेमलाई ‘भेजिटेवल लव’भन्ने उत्कृष्ट विम्ब दिए, हामीले ‘शाकाहारी प्रेम’ भनेर अनुवाद गर्‍यौं। अलिक बदलेर ‘मांसाहारी प्रेम’ त कति लेख्यौं लेख्यौं ? विम्बवादी कवि एज्रा पाउन्ड कविको सफलता एउटै भए पनि सार्थक विम्ब निर्माण गर्नुलाई मान्छन्। हामीले कति विम्ब मौलिक लेख्यौं ? शैली कति निजी बनायौं ? अग्रजका कति विम्बहरूलाई दोहोर्‍यायौं, तेहेर्‍यायौं ? एकपटक फर्किएर निर्मम समीक्षा गर्नु छ। काव्यमा चलिरहेका विम्बहरू मात्र दोहोर्‍याइरहँदा ‘सेकेन्ड ह्यान्ड कवि’ बनिन्छ, ‘फस्र्ट ह्यान्ड कवि’ बन्न सकिँदैन। सेकेन्ड ह्यान्ड कविताले परम्परा धान्छ मात्र, कवितालाई नयाँ उचाइको आरोही बनाउँदैन। हरेक देशको झैं नेपाली कविता पनि ‘फस्र्ट ह्यान्ड’ कविहरूको उपस्थितिले मात्र व्यापक बन्छ र विश्वका अरू कवितासँग प्रतिस्पर्धी पनि।

हामीले कविता परम्परा धानिरहेका मात्र छौं कि कीर्तिमानी नयाँ आरोहण पनि थालेका छौं ? यसतर्फ पनि कविहरूले अब गम्भीरतापूर्वक घोत्लिनु जरुरी छ।

प्रस्थानविन्दु

शंका छैन, हरेक कवि आफ्नो छुट्टै सिग्नेचर निर्माण गर्न चाहन्छ। कोही अग्रज नबोलेको मौलिक शैली र शील्पले चिनिन चाहन्छ। ट्रेन्ड सेटर बन्न चाहन्छ। कसैले प्रयोग नगरेका चोखा विम्ब र शैलीमा ऊ बोल्न चाहन्छ। तर, कम कविहरूलाई यस्तो अवसर प्राप्त हुन्छ।

डिपार्चरका लागि नयाँ बाटो, सडक वा एअरपोर्ट निर्माण हुनु जरुरी हुन्छ। के नेपाली कविहरूले नयाँ बाटो, सडक वा एअरपोर्ट निर्माण गर्न साँच्नै नसकेकै हुन् ? कि हाम्रा विश्लेषण र समीक्षा प्रणालीले ‘नयाँ’ देख्न कन्जुस्याइँ गरिरहेका छन् ?

नेपाली कविताको युनिभर्सल सेटमा रिमाल एक सवसेट। भूपि अर्को सव सेट। काइँला अर्को सवसेट। वल्लभ अर्को सवसेट।

हरेक सवसेटमा युनिभर्सल सेटका इलिमेन्टस् निहित छन्, तर हरेक सवसेटका आफ्ना मौलिक इलिमेन्टस् पनि छन्, केही साझा इलिमेन्टस् पनि छन्। तुलनात्मक रूपमा कविताको लामो इतिहास नहुनुको कारण हाम्रा कवितामा विदेशी कवि लेखकका प्रभाव छन्। स्वभावतः ती काव्य परम्पराबाट प्रभावित धेरै साझा इिलमेन्टस् पनि छन्। तर, कथ्य र शैलीमा कहीँकतै ओभरल्याप हुँदाहुँदै पनि हाम्रा कवितामा फरक सवसेटहरू उपस्थित छन्। सवसेटका यिनै विविधताले नेपाली कविताको युनिभर्सल सेट अझ व्यापक र फराकिलो हुने हो। तिनीहरूलाई पर्गेल्नु अब ढिला भइसक्यो। यसका लागि पनि बहसको गम्भीरतालाई बढाउँदै लानु अनिवार्य छ। स्तुतिले हैन, आलोचनात्मक चेतले।

सिद्धान्त र कविता

कलाले साहित्यलाई सिद्धान्त दिएर गुन महत्वपूर्ण गुन लगाएको छ। कला साहित्यले सिद्धान्तहरू जन्माएका उदाहरणहरू प्रशस्त छन्। के हाम्रा कविताले कुनै नवीन सिद्धान्त प्रतिपादन गरेका छन् ? प्रश्न महत्वाकांक्षी सुनिएला तर हामीले यतातिर पनि सोच्नुपर्छ।

नेपालमा सिद्धान्तअनुसार बग्रेल्ती कविता लेखिएका छन्। कतिपय बलिया र सार्थक पनि। मानवतावादी सिद्धान्तको हकमा म हरेक यस्ता कविताको प्रशंसक हुँ। तर, हामीले कविताअनुसार सिद्धान्त जन्मिएको पनि हेर्न पाउनुपर्छ। राजनीतिमा एक गम्भीर प्रश्नमाथि छलफल चलाएका थिए प्रख्यात कम्युनिस्ट नेता मदन भण्डारीले, ‘सिद्धान्तका लागि राजनीति कि जीवनका लागि राजनीति ? ’ अब यसलाई कवितासँग पनि जोडेर हेरौं। सिद्धान्तका लागि कविता कि जीवनका लागि कविता ? सिद्धान्तका लागि मात्र कविता हुँदा कविता जड बनिदिने खतरा हुन्छ। एक डोग्मा। कविताको समग्रता खतरामा पर्छ। वासु शशीले कविता लेखेकै छन्, ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ।’ पर्खाल अप्रिय आवश्यकता होला तर कविताको फूलबारीमा एकथरी फूलमात्र देखिने गरी पर्खाल ठड्याउनु र यही मात्र सबै फूलबारी हो भनी मान्नु कविताप्रतिको क्रूर ठट्टा मात्र हो। कविताको फूलबारीमा अनेक थरी रङरूपका फूलहरू छन्, यसलाई अलिक उदार हृदयले स्वीकारौं।

अन्त्यमा

१९६७ मा फ्रेन्च समीक्षक रोनाल्ड बार्थले ‘लेखकको मृत्यु’ लेखेपछि मृत्यु शृंखला चलेको चल्यै छ। इतिहासको मृत्यु, महाआख्यानको मृत्यु, माक्र्सवादको मृत्यु, पुँजीवादको मृत्यु आदि। विश्व बजारमा ‘मृत्यु’ बडा फेसनेबल शब्दका रूपमा चलिरहेको छ। तर्कसहित प्रस्तुत गरिएकाले कतिपय मृत्यु सत्य लाग्छन् तर मृत्यु लेखिदिँदैमा मृत्यु भइहाल्दैन कतिपय कुराको। ‘समकालीन नेपाली कविताको मृत्यु’ लेख्दैमा समकालीन कविता मरिहाल्ने होइन। अग्रज सरुभक्तले त नेपाली कविता विषयमा गम्भीर विमर्शको आह्वान गरेका हुन्। यसलाई अन्यथा लिनु हुँदैन।

हरेक देशमा झैँ नेपालमा पनि स्वस्थ र कमजोर दुवैथरी कविता लेखिएका छन्। सत्य हो— असुन्दरलाई छोडिदिने हो भने समकालीन नेपाली कविता सुन्दर छ। केही दुर्गन्धलाई बिर्सिदिने हो भने विविध रङ, शील्प र शैलीले समकालीन कविताको बगैंचा सुगन्धित छ। के कविता विषयक समीक्षाहरू सुन्दर र सुगन्धित छन् ?

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost