MENU

मेरो समयकी मेरी नायिका

patan-college

ध्रुवचन्द्र गौतम शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

धेरै वर्षअघि प्रारम्भिक युवावस्थामा म एक दिन न्युरोड गएँ। तिनताका न्युरोड गेटको भित्तामा विभिन्न पोस्टर टाँसिएका हुन्थे, कुनै सभालाई सफल पारौंदेखि आधा मोलमा च्यवनप्राससम्म। सिनेमाको त झन् कुरै भएन।

त्यो दिन न्युरोड जाँदा न्युरोड गेटको देब्रे भित्तामा एउटा ठूलो पोस्टर टाँसिएको थियो, एउटा हिन्दी सिनेमाको। त्यसमा हिरोइनलाई बसेको देखाइएको थियो। मुन्तिरमुन्तिर लेखिएको थियो- ए गर्ल अफ सेभेन्टिन...।

Dhruba-Chandra-Gautamमैले सोचेँ, यो नायिका मेरै उमेरको रहिछ। धेरै कालसम्म म यही धारणामा रहेँ। हालैमा उसले लेखेको आत्मकथा आएपछि मात्र ज्ञात भयो, ऊ मभन्दा वर्ष दिन चानचुन अघिकी रहिछे।

१२-१५ महिना समकालीनता नै हुन्छ। तर, हिरोइनको मामिलामा फरक हुन्छ। तर, त्यो दिन रमाइलै लाग्यो। मैले पहिलोपटक आफ्नो उमेरकी हिरोइन देखेको थिएँ वा देख्ने भएँ भन्ने सोचेको थिएँ। भएकोचाहिँ के थियो भने, त्यो फिल्म दुई वर्षअघि प्रदर्शित भएको रहेछ भारतमा। त्यसै बेलाको पोस्टर अहिले त्यो भित्तामा टाँसिएको थियो।

त्यतिखेर म मेरो दाइ ध.च. गोतामेकहाँ पढ्ने भनेर बसेको थिएँ। डुगमबहिलको एक घरमा। त्यसकारण पनि न्युरोड जान कार्यक्रमै बनाएर जान पर्दैनथ्यो। म गइरहन्थेँ। निस्किनासाथ न्युरोड आउँथ्यो।

एक दिन म डुगमबहिलको त्यही घरको बार्दलीमा घाम तापेर बसिरहेको थिएँ। दाइले फिल्म हेरेर आ भनेर पैसा दिए। रञ्जना हल नजिकै थियो, त्यहीँ जान भने। ‘रञ्जना’ एकदम वाकिङ डिस्टेन्स’मा थियो। एक सासमा भन्छौं हामी, जान सकिने।

पैसा पाएर म तीन प्रकारले खुसी भएँ। पहिलो त सिनेमा हेर्न पाउने भएँ। दोस्रो, दाजुसँग परिवारैसहित मैले धेरै सिनेमा हेरेँ पछि, उनैले टिकट काटेर। तैपनि त्यसरी पैसा दिएर, जा फलाना सिनेमा हेरेर आइज भनेको थाहा थिएन। त्यो पहिलो र अन्तिम थियो, त्यसरी पैसा पाएको। दाजुहरूको सिनेमाको रुचि पनि उच्च प्रकारको थियो, एकदम परिस्कृत। जस्तो पायो त्यस्तो सिनेमा रुचाउँदै नरुचाउने। त्यस्तैमा ‘यो सिनेमा हेर’ भनेर अह्राएपछि त जरुर रुचिपूर्ण हुन्छ त्यो प्रसन्नता। सबभन्दा बढी प्रसन्नता केमा थियो भने त्यो सिनेमा त्यही पोस्टरमा देखिएकी ‘गर्ल अफ सेभेन्टिन’को थियो। केटीको नाउँ थियो, आशा पारिख र फिल्मको नाउँ थियो, ‘दिल देके देखो।’

विजय भट्ट फिल्मका दिग्गज नै हुन्। आशामा कसरी देख्न सकेनन् ‘स्टार मेटेरियल’ ? आशा पारिखको फिल्म दर्शकले ब्ल्याकमा दोब्बर, तेब्बर पैसा तिरेर पनि हेरे। आशाका केही फिल्मबाहेक मैले सबै हेरेको छु र रमाइलो मानेको छु। ब्ल्याकमा पनि हेरेको छु, बम्बईमा।

अहिलेको जस्तो होइन, त्यो बेलामा हिन्दी फिल्म काठमाडौंमा ढिलै आउँथ्यो। त्यो पैसा लिएर म गएँ एक्लै। हेरेर फर्कंदा मेरो मुड फ्रेस थियो।

‘दिल देके देखो’ एउटा रोमान्टिक कमेडी रहेछ। ‘वेल मेड’ शम्मी कपुर नायक थिए। उनी केही समयअघि मात्र एक ‘बागी कलाकार’का रूपमा आएर अत्यन्त चर्चित बनेका थिए। आशा पारिखको यो नायिकाको रूपमा पहिलो फिल्म थियो, जसमा उनी एक इङ्ल्यान्ड रिटर्न केटी बनेर खेलेकी थिइन्। इङ्ल्यान्ड रिटर्न केटीको यो ‘ठप्पा’ उनीलाई लगातार धेरै फिल्ममा लाग्यो। यद्यपि त्यसमा उनले कुनै विदेश टेकेकी थिइनन्। त्यसबखत इङ्ल्यान्ड रिटर्न हुनु एक सम्मानजनक कुरो मानिन्थ्यो, सहज नहुनाले। आशा पारिखलाई त्यो ‘लुक’ सुहायो पनि। त्यसमा एकदम फिट देखिइन्, तब त उनी दोहोरिइरहिन्। ‘दिल देके देखो’ हिट मात्र होइन, आजको भाषामा सुपर हिट, ब्ल्क बस्टर, चार्ट बस्टर सब साबित भयो। त्यसबखत ‘जुब्ली फिल्म’ भनियो। आशा पारिखलाई त्यसपछि जब्ली स्टारको दर्जा प्राप्त भयो, जसरी नायकमा राजेन्द्रकुमारलाई भन्थे। आशा पारिखलाई त्यो दर्जा एउटै फिल्मले दिएको होइन। भनिन्छ, ‘दिल देके देखो’ पछिका लगातार आशा पारिखका १० फिल्ममा नौ फिल्म हिट भए, अनि जुब्ली स्टार किन नभनिनु ?

आशा पारिखको जीवनमा बाल्यकाल संघर्षमय रह्यो। तर, फिल्मी जीवनमा भने उनले एफर्टलेस कम्फर्ट पाउँदै गइन्। उनका धेरै फिल्मले गोल्डेन जुब्ली मनाएका छन्। त्यसैले उनलाई गोल्डेन गर्ल भनियो। फिल्म हिट हुनाले हिट गर्ल भनियो। (यसै शीर्षकमा उनको आत्मकथा प्रकाशित छ) मिदास टच, लक्की गर्ल आदि अनेक नाउँ दिइयो, आशा पारिखलाई।

यिनै आशा पारिखको नाउँ चिनामा जुरेअनुसार राखेको भए, कृष्ण वा गंगुदई हुन्थ्यो। आशाकी आमा मुस्लिम थिइन्, बाबु गुजराती थिए। प्रेमविवाहपछि आमा सलमाले धर्म परिवर्तन गरिन् र उनको नाउँ भयो— सुधा। पछि मोतीलाल र सुधाकी एकमात्र आशा मानेर उनको नाउँ रह्यो— आशा।

फिल्म खेल्न थाल्दा, राय दिलीपकुमारसँग पनि मागियो। उनले नाउँ राखिदिए— आशा परी। यसैको प्रभावसमेत लिएर नाउँ राखियो— आशा पारिख। यी आशा पारिख पहिलो फिल्मदेखि नै निर्माता÷निर्देशकको प्रथम च्वाइस बनिन् धेरै फिल्ममा।

आध्यात्मिक आस्था यिनमा प्रशस्त विद्यमान छ। अरूले देख्दा अन्धविश्वासी नै हुन्छ भनेजस्तो। चार वर्ष उमेरकी हुँदा यिनी एक दिन अर्धबोहोश भइन्। बेहोशी जस्तैमा यिनले आफ्नो पूर्वजन्म बताउन थालिन्— म एउटा दाउरेकी स्वास्नी हुँ। मेरो लोग्ने पातको लुगा लाउँछ, वनमा दाउरा काट्न जान्छ। हाम्रो मुस्किलले चल्छ... आदि। पछिपछि त उनका महिला नातेदारले भन्दा, होशमै पनि दाउरेकी स्वास्नीजस्तै घुम्टो ओढेर घरधन्दा गरेझैं गरेर देखाउँथिन्। पछि आमाले हप्काएपछि त्यसो गर्न छाडिन्। तर, आशा पारिखलाई भने अझ पनि लाग्छ, उनी पूर्वजन्ममा त्यही थिइन्।

 

यसको कारण के होला ? विभिन्न कुरा होलान्। मलाई भने यस्तो पनि हो कि जस्तो लाग्छ। आशा पारिख आफूलाई दाउरे अर्थात् लकडहाराकी स्वास्नी मान्थिन्। यिनकी आमा ‘लकडावाला’ थरकी हुन्। लकडावाला र लकडहारामा, द्वन्द्वात्मक मात्र होइन, अर्थात्मक साम्य पनि पर्याप्त छ। लकडावालाको इतिहास भने म जान्दिनँ। आशा पारिखको पूर्वजन्मको मान्यता र यी शब्दद्वारा केही साम्य खोज्न सकिन्छ।

स्कुलमा आशा ठीकै थिइन् पढ्नमा। तर, एउटा काममा भने एकदम सानैदेखि पोख्त थिइन्— नृत्य र नाट्यमा। माथि पूर्वजन्मको कथामा पनि त लकडहाराकी स्वास्नीको नक्कल नै उतार्थिन् नि ! उनी विभिन्न हाउभाउ साथीहरूबीच देखाउँथिन्। आफूकहाँ र साथीहरूकहाँ गएर नाच्थिन्। त्यस्तै गरी नाचिरहेको एकपटक प्रेमनाथले देखेर अत्यन्त प्रभावित भएछन्। उनले बिनाराय, निम्मी र मधुवालालाई पनि आशाको नृत्य देखाएछन्। सबैले मुग्ध भएर प्रशंसा गरे। यसरी आशाको कला फक्रिन थाल्यो। विभिन्न कार्यक्रममा नृत्य गर्न थालिन्। प्रेमनाथ भनेका त्यतिखेरका ठूला अभिनेता हुन्। उनी आशाबाट कति प्रभावित भएछन् भने एक समारोहमा प्रेमनाथलाई प्रमुख अतिथि बनाइयो। उनले सर्त राखे, आशाले डान्स गर्ने भए मात्र प्रमुख आतिथ्य गर्छु।

यही थियो आशा पारिखको प्रारम्भिक प्रस्तुति। यस्तै प्रस्तुतिबाट विम राय प्रभावित भएर उनलाई ‘माँ’ भन्ने फिल्ममा भूमिका दिए। ‘माँ’ सन् १९५२ मा प्रदर्शित भएको थियो। आशा पारिखको फिल्मी जीवन यहीँदेखि थालिन्छ। यही उनको फिल्मी डेब्यु थियो। आशाले त्यसै बखत एउटा फिल्ममा सय रुपियाँ पाएकी थिइन्। पछि हजारमा पाउन थालिन् पारि श्रमिक। अझ पछि लाखमा।

आशा पारिखले त्यस बखतका सबै नामी नायकसँग काम गरिन्। दिलीपकुमार, राजकपुर, अमिताभसँग चाहिँ नायिकाको रूपमा भने कुरा चलेर पनि मिलेन। त्यसैगरी एकपटक सत्यजित रायले पनि ‘अफर’ गरेका थिए, आशाको व्यस्तताले गर्दा मिलेन। त्यसको पछुताउ भने आशा पारिखलाई अझै छ, जस्तो दिलीपकुमारसँग ‘जबर्दस्त’मा साइन गरेर पनि, मुहूर्त भएर पनि खेल्न पाइनँ भन्ने छ उनलाई।

आशा पारिखको घर धर्मनिरपेक्ष भए पनि उनी पूजापाठ, मन्दिरमा विश्वास राख्छिन्।

स्टारडमको कुरा गर्ने हो भने आशा पारिखले आठ वर्षको उमेरमै कमाइसकेकी थिइन्, बाल नर्तकीका रूपमा।

देव आनन्दसँग ‘जब प्यार किसीसे होता है’, शशि कपुरसँग ‘प्यारका मौसम’, राजेश खन्ना, धर्मेन्द्र आदि त्यस बखतका टप अभिनेतासित खेलेर कैयौं हिट फिल्म दिएकी छन् यी हिट गर्लले। जय मुकर्जी, मनोजकुमार, प्रदीपकुमार पनि यिनका हिट नायक थिए। आफ्ना सबै नायकप्रति यिनले कृतज्ञता पनि जनाएकी छन्, यिनका बानीबेहोरा र यीसँग आफ्नो सम्बन्धबारे पनि खुलेरै बोल्छिन् यिनी। जस्तो हिन्दी फिल्म उद्योगमा शत्रुघ्न सिन्हालाई अलिक मोडल नै मानिन्थ्यो। एकपटक कसैले कुरा लाइदिएछ, आशा पारिखबारे। उनले त्यसको जवाफमा फिल्मफेयरलाई अन्तर्वार्ता दिँदा भने, ‘आशा पारिखसँग खेल्दा, प्रत्येक सट्पछि युडिकोलोनले हात धुन्छु।’ तर, पछि यो घटना दुवैले बिर्से। आशा पारिख एकपटक फिल्म सेन्सर बोर्डकी अध्यक्ष भएकी थिइन्। शत्रुले नै उनको सिफारिस गरेका थिए। त्यस बखतसम्म शत्रु राजनीतिमा आएर पावरफुल भइसकेका थिए।

मनोजकुमारले एकपटक सायद पहिलो भेटमा आशा पारिखको उपेक्षा गरेजस्तो यिनलाई लागेछ। मनोज दिलीपकुमारसित कुरा गरिरहेका थिए। आशालाई हेलो पनि नभनेर नचिनेजस्तो गरे। तर, पछि यिनले उनीसित फिल्म खेलिन मात्र होइन, जब मनोजले आफ्नो फिल्म ‘उपकार’ सुरु गरे, नायिका आशा पारिखलाई नै लिए।

यस्तो देखिन्छ, आशा पारिख कसैसित सम्बन्ध खल्लो हुँदा तनावमा हुन्छिन् र प्रायः कसैगरी त्यो खल्लोपन हटाउन, ‘प्याचअप’तर्फ नै लाग्छिन्। अर्थात् उनी सबैसित राम्रो गरेरै बस्न चाहन्छिन्। उनको व्यस्ततम र उच्चतम दिनहरूमा पनि उनले प्रायः सबैसित राम्रै सम्बन्ध राख्न खोजिन्। उनको ‘स्टार भ्याल्यु’ यति थियो कि उनलाई त्यति राम्रो अभिनेत्री नमान्नेहरूले पनि उनीसित फिल्म खेल्ने कामना गरे ती दिनमा। लक्की हिरोइनसित खेल्दा सफलताको ग्यारेन्टी हुन्थ्यो नि त।

एउटा दुर्घटना नभएको भए, आशा पारिखको पहिलो नायिका बनेको फिल्म ‘दिल देखो’ नभएर ‘गूँज उठी सहनाई’ हुन्थ्यो। आशाले बालकलारकारका रूपमा विजय भट्टको फिल्म ‘चैतन्य महाप्रभु’मा खेलेकी थिइन्। विजय भट्ट त्यसबाट प्रभावित थिए। पछि उनैले एउटा फिल्म बनाउन खोजे, ‘गूँज उठी सहनाई।’ त्यस बखतसम्म आशा पारिख शोड्षी भइसकेकी थिइन्। विजय भट्टले आशालाई नै नायिका बनाउने भए। पाँच दिनजति सुटिङ पनि गरिसकेकी थिइन्। त्यसैबीच भी शान्तारामजस्ता दिग्गज निर्देशकबाट अफर आयो, लगातार तीन फिल्ममा खेल्न अनुबन्ध गर्ने। ‘गूँज उठी सहनाई’मा खेल्ने कारणले उनले त्यो ‘अफर’ लिन सकिनन्। त्यसैको केही दिनपछि विजय भट्टले आशा पारिखकी आमालाई बोलाएर एक दिन भनिदिए, म तिम्री छोरीलाई फिल्मबाट हटाउँदै छु।’

- ‘के पर्यो त्यस्तो ? ’ आमाले सोधिन्। - ‘उनी स्टार मेटेरियल होइनन्, चल्दिनन् हिरोइनका रूपमा’, विजय भट्टले भने।

विजय भट्ट फिल्मका दिग्गज नै हुन्, कसरी देख्न सकेनन् उनमा ‘स्टार मेटेरियल’ ? तर, पछि आशा पारिखको फिल्म दर्शकले ब्ल्याकमा दोब्बर, तेब्बर पैसा तिरेर पनि हेरे। आशा पारिखका केही फिल्मबाहेक मैले सबै हेरेको छु र रमाइलो मानेको छु। ब्ल्याकमा पनि हेरेको छु, बम्बईमा। मलाई चाहिँ लाग्छ, उनको फिल्म चल्नमा उनको नृत्यको ठूलो हात छ, संगीतको पनि। आशा पारिखको फिल्ममा नृत्य-गीत राम्रो हुन्थ्यो, त्यो पक्का थियो। कथा त ‘ब्वाय मिट गर्ल’ नै हुन्थ्यो। प्रायः धनी केटी र मध्यम, निम्न मध्यम केटो हुन्थ्यो। जसरी मनमोहन देसाई फिल्मको फर्मुला थियो, ‘लस्ट एन्ड फाउन्ड’ त्यसैगरी नासिर हुसैनको फर्मुला ‘रिच गर्ल मिट्स ए पुअर ब्याय’ थियो। यो फर्मुलामा आशा पारिख एकदम फिट थिइन्।

ग्ल्यामर थियो, उनमा। जुन लुगा लगाए पनि सुहाउने, ट्राइबल ड्रेससमेत सुहाउँथ्यो। गाउँले ड्रेस लगाएर बर्खामा नायकसित नाचिरहेकी आशा पारिखलाई हेर्न दर्शक बारम्बार हलमा जान्थे। अवार्ड भने, उनले त्यसरी पाइनन्। ‘कटी पतंग’मा मात्र फिल्मफेयर अवार्ड पाइन्, जबकि कतिपय फिल्ममा उनी नामांकित भने भएकी थिइन्। आशा पारिख जसरी फिल्म हिट हुनु भाग्य मान्दछिन्, अवार्ड कम पाउनु पनि भाग्यकै खेल मान्दछिन्। जस्तो उनको एउटा स्मरणीय फिल्म छ, ‘मैं तुलसी तेरे आँगन कि’ जसका लागि उनले अवार्ड पाउनुपथ्र्यो भन्ने धारणा राखिएको थियो। पाइन नूतनले। उनको रोल राम्रो थियो, सहानुभूति पाउने खालको सहानुभूति त पाइन् पनि। महिलाहरूका चिठीको ओइरो नै लाग्यो उनलाई त्यसमा।

अभिनय पनि उनको राम्रै थियो, तर नूतन जति होइन, यो मलाई पनि लाग्छ। नूतन नहुँदा उनी ठीक छिन्, नूतन उनीसँग फ्रेममा आउँदा, नूतनले आशालाई खाइदिएकी छन्। उनको अभिनय जसमा उनले ‘फिल्मफेयर’ पाइन् ‘कटी पतंग’मा निकै राम्रो छ। ‘चिराग’मा पनि राम्रो छ, तर उनीजस्ती नायिकालाई अन्धो भएको दर्शकले रुचाएनन्। ‘दो बदन’ भने अत्यन्त ट्रेजिक भए पनि अत्यन्त रुचाइयो र त्यो ‘सुपर हिट’ साबित भयो। हामी त्यस फिल्मका गीतहरू ‘रहा गर्दिशो में’ र ‘नसीब मे’ भन्ने गीत तिनताक प्रायः साथीभाइका बीचमा गाउँदै हिँड्थ्यौं। म त्यति होइन, जति मोहन भन्ने एक साथी गाउँथे र निकै राम्रो गाउँथे ः

रहा गार्देशों में हरदम मेरे इश्क का सितारा कभी डगमगाई कस्ती कभी खो गया किनारा। यो गीत मैले मन पराउने सय गीतको लिस्ट बनाएँ भने माथिल्लो लहरमै पर्छ।

यो पंक्ति लेख्दालेख्दै म एकछिन अलमलिएँ। माथि उल्लिखित गीत, हामी ‘रहा गर्दिशों में’ हरदम भनेर गाउँथ्यौं। आशा पारिखले भने ‘रहा गार्दिशों में हमदम’ भनेर लेखेकी छन् आफ्नो आत्मकथामा। तर, गीतका अन्य शब्दले भने हरदम नै माग गर्छन्। मैले यो लेख्न रोकेर गीत फेरि सुनेँ, सुनेपछि आफैंलाई भनेँ, ‘आशा इज रङ।’ अनि त्यो गीत एकछिन आफैं पनि गुनगुनाएँ। प्रुफ मिस्टेक भएको रहेनछ भने त अशा पारिख नै अलमलिएकी हुन्, यो गीतमा भन्ने स्पष्ट छ।

जे होस्, सन् साठको दशककी उनी सबभन्दा लोकप्रिय दुईचार नायिकामा पर्छिन्। उनका गहना, उनका सारी कुर्ता सबको नक्कल गरिन्थ्यो। आशा स्टाइल नै चलेको थियो। हुँदाहुँदा सिनेमामै पनि उनले नक्कल गरियो। जस्तो ‘लभ इन टोकियो’मा उनले बाँधेको सारी त्यसैगरी बाँधेर पछि ‘ब्रह्मचारी’को प्रसिद्ध गीत ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जवान पर, सबको मालुम है और सबको खबर हो गई’मा मुमताजले नृत्य गरिन्। त्यो नृत्य गीत र साडी स्टाइल सब हिट भए।

यस्तो स्टारडम पाउन आशा पारिखले कम संघर्ष गरिनन् जीवनमा। ‘स्टारडम’ पाएपछि पनि उनले धेरैको भनाइ सुन्नु पर्योा। प्रायः भनाइमा उहिले ‘स्टार मेटेरियल होइन’ भनेझैं ‘अभिनय राम्रो छैन’ भन्ने खालका भनाइ। कहिले दिलीपकुमारलाई यसो भनी भनेर आउने, कहिले अमिताभबारे आशा पारिखको नराम्रो टिप्पणीको चर्चा बलिउडको हावामा उड्ने। तर, आशा पारिख यस्ता कुरा बोल्ने खालकी केटी भने थिइनन्।

पछिल्लो हल्ला थियो— पद्म श्री पाउन उनले अलि बढी नै प्रयास र दौडधुप गरिन् भन्ने। सन् १९९२ मा उनले भारतको एक सम्मानित अवार्ड पद्म श्री प्राप्त गरेकी हुन्। पाउनेलायक त उनी थिइन् नै, आकांक्षा पनि गरिन् त्यो पनि ठीक छ। तर, त्यसका लागि कतिसम्म प्रयत्नमा जाने भन्ने कुरा हो। तर, यो मापदण्ड कलाकार आफैंले तय गर्ने हो भन्ने पनि छ। आशाले दिन त आफ्नो पक्ष राम्रै दिएकी छन्।

आशा पारिख १५ वर्षको हुँदादेखि उनको बिहे गर्ने कुरो चलेको थियो, आज ७८-८० वर्षको हुँदासम्म भएन। अब गर्दिनन् पनि। एकजनासँग (जो प्रोफेसर थियो) उनको बिहा गर्ने पक्कापक्की भएको थियो। आशा पनि राजी भएकी थिइन् तर प्रोफेसरले एक दिन भनिदियो, ‘तिमीले मेरो अमेरिकन गर्लफ्रेन्डलाई पनि स्वीकार गर्न सक्नुपर्छ।’ त्यसपछि त्यो कुरो सेलाउँदै गयो।

आशा पारिखको धेरै ठूलो स्क्यान्डल आएन। शम्मी कपुरले बिहे गरे भन्ने हल्ला आएको थियो एकपटक। तर, त्यो होइन किनभने गीता वालि त उनलाई ‘एडप्ट’ गर्न चाहन्थिन्। उनैले आशाको पहिलो मेकअप गरिदिएकी थिइन्। त्यसै बखत गीताले भनेकी थिइन्, ‘अबदेखि हामीलाई चाचा-चाची भन्नु।’ शम्मीले त ‘चाचा’ भनाउन मानेनन्, गीता वालिलाई भने आशा पारिख सधैं चाचा नै भन्थिन्।

अन्य स्क्यान्डल किन चलेन भने सबलाई थाहा थियो। उनको र नासिर हुसेनको गहिरो सम्बन्ध छ, ‘लिभ इन’ बराबरको। त्यसैले अन्य स्टार उनीसित नजिकिन हच्किन्थे। एक दिन आमाले सोधिन्, ‘के तिमी उसित बिहे गछ्र्यौ ? ’ आशाले भनिन्, ‘गर्दिनँ।’

उनले गरिनन् पनि बिहे। तर, अर्को एक दिन उनकी आमाले सोधिन्, ‘के तिमी उसित प्रेम गछ्र्यौ ? ’

उनले भनिन्, ‘होइन ममी, यस्ता हल्लाप्रति ध्यान नदिनु।’

यहाँ आशाले लेखेको छन्- आई वाज लाइङ।

डाक्टर बन्ने सपना केटाकेटीदेखि नै पालेर हिँडेकी आशा पारिख डाक्टर नबने पनि उनले आफ्नो नाउँमा एउटा ठूलो अस्पताल खोलेकी छन्, ‘आशा पारिख हस्पिटल।’ त्यहाँ पनि उनी डाक्टरै डाक्टरको बीचमा हुन्छिन्। त्यो अस्पताल यति प्रसिद्ध छ कि त्यता गएर ‘यहाँ आशा पारिख कहाँ छ’ भनेर सोध्यो भने रिक्सावालाले आँखा चिम्लेर पुर्याहइदिन्छ।

मलाई आशा पारिखको अन्य बानीमध्ये सबभन्दा राम्रो लागेको बानी हो, उनी राम्रो पढैया रहिछन्। बाइरन, शेली, किट्स साथै काफ्का, अन सी शोरदेखि र फाउन्टेन हेडसम्म पढेकी। एकपटक त्यस्तो पढेको देख्दा भारतभूषणले हप्काइ पनि दिएका थिए रे— अहिले तिम्रो यस्तो पढ्ने बेला भएको छैन भनेर, किशोरावस्थामै। तर, फेरि विमल राय भने पढ्न प्रोत्साहन दिन्थे रे।

समाजसेवी, संवेदनशील, मानवीय, अध्ययनशील, असल, खराब कतिले मान्ने कतिले नमान्ने छन्। एउटै कुरा साराले आशा पारिखलाई मानेका छन्, जुन दुनियाँले मानेको छ, सन् ६० की आशा पारिख लक्की गर्ल, गोल्डेन गर्ल र हिट गर्ल हुन्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost