MENU

दूषित पानीकै भर

patan-college

लोकनाथ रिजाल आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

दमक : मोरङको मिक्लाजुङ गाउँपालिकावासीले खानेपानी अभाव झेलेको धेरै वर्ष भइसक्यो । उनीहरूको भाषामा स्वच्छ खानेपानीको उपभोग सपना बनिसक्यो । मिक्लुक खोलाको दूषित पानी सोझै मिक्लाजुङका घर-घरसम्म आइपुग्छ । दूषित पानीले भरथेग गरिरहेको स्थानीय गुनासो छ ।

‘यो ठाउँ पूर्वको दोस्रो धरान भनेर पनि चिनिन्छ । यहाँ सार्वजनिक धारा पनि बनाइएको छ तर पानी भने शुद्ध छैन’, स्थानीय गणेश भट्टराई भन्छन्, ‘हामी दूषित पानी प्रयोग गर्न बाध्य छौं ।’

उनका अनुसार वडा नम्बर १, २, ३, ४, ५ र ६ मा सबैभन्दा बढी खानेपानी समस्या छ । फागुन महिना सुरु भएसँगै समस्या चुलिने गरेको छ । बिहान भयो कि महिलाहरू डोकोमा गाग्री बोकेर पानी भर्न जानुपर्ने बाध्यता हुन्छ ।

वडा नम्बर ३ की कला गड्तौला र छिमेकीबीच पानीकै विषयमा बोलचाल छैन । ‘भएको धारामा पानी यसै त थोरै आउँछ, सबैलाई चाहिन्छ नै’, उनी भन्छिन्, ‘पालो मिचेर लैजान खोजेपछि छरछिमेकमा पनि ठाक्कठुक्क परिरहन्छ ।’ विवाह गरेर आएदेखि नै यहाँ खानेपानी समस्या झेल्नुपरेको उनी सुनाउँछिन् ।

‘गाउँमै सिंहदरबार ल्याइदिन्छौं’ भन्ने नेताले शुद्ध खानेपानीको व्यवस्था गरिदिनुपर्ने मनकुमारी मगरको भनाइ छ । ‘घरको पानी ट्यांकी एक महिनादेखि खाली छ’, उनी भन्छिन्, ‘हामीलाई अहिले त त्यही पानी नै ठूलो भयो नि !’

सुन्दरी चोकमा ५० परिवारको बसोबास छ । उनीहरू थोपा सिँचाइ आयोजनाले मिक्लुक खोलाबाट वितरण गरेको खानेपानी खान बाध्य छन् । बिहान-बेलुका खोलाको पानी प्रशोधन नगरी सिधै धारामा आउने गरेको छ । जस्तै भए पनि पानी थाप्नेको भीड लाग्ने गरेको छ । पानी अशुद्ध छ भन्ने थाहा भए पनि पिउनु बाध्यता रहेको स्थानीय कमला सिन्चिउरी बताउँछिन् । ‘खोलाको पानी सिधै खानुहुँदैन भन्ने त थाहा छ नि’, उनी भन्छिन्, ‘अब यही पानी पनि थापेन भने प्यास कसरी मेट्ने ? खाना कसरी बनाउने ? ’

शुद्ध खानेपानी वितरण गर्न भनेर सुरु गरेको लावा खोला खानेपानी आयोजना तीन वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । यो आयोजनाले समस्या समाधान गर्ने भए पनि बजेट अभावका कारण द्रुत गतिमा काम गर्न नसकेको आयोजनाका अध्यक्ष भगीरथ अर्याल बताउँछन् । विभिन्न स्थानमा डिप बोरिङको व्यवस्था गरे पनि अहिलेसम्म सञ्चालन भएको छैन ।

गाउँपालिकाका अध्यक्ष देवी आचार्य खानेपानी समस्या समाधान गर्न पहल गर्ने बताउँछन् । पानीको स्रोत सुक्दै गएकाले समस्या आएको उनको भनाइ छ । ‘स्रोत नै सुकेकाले भूमिगत पानी निकाल्नुपर्ने अवस्था छ’, उनी भन्छन् ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost