MENU

कुमारीका कथा

patan-college

रामकला खड्का आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

पाटनकी कुमारी युनिका वज्राचार्य विद्यालय जान थालेको झन्डै दुई साता भयो। पहिलो दिन त उनलाई लिन उनी पढ्ने विद्यालय भासारा सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल र शिक्षक घरमै आएका थिए। विद्यालयमा पुग्नेबित्तिकै पनि त्यहाँ रहेका आफ्ना साथीभाइ र अन्य विद्यार्थीले गरेका स्वागतले उनी निकै रमाएकी थिइन्। निकै शान्त र शालीन स्वभावकी युनिकाले त्यो दिन सम्झँदै भनिन्,‘ सबैले फूल दिएर ताली बजाएपछि मलाई अनौठो पनि लाग्यो अनि रमाइलो पनि।’

२०७० साल चैत २६ गते कुमारी नियुक्त भए यता उनलाई पढाउन दुई शिक्षकहरू बिहारमै आउँथे। तर अहिले विद्यालय जान थालेपछि उनी साथीभाइसँग घुलमिल हुनुका साथै बाहिरी दुनियाँमा पनि रमाउन थालेकी छिन्। विगत चार वर्षको अवधिभर वर्षमा पर्ने करिब १३ वटा चाडपर्वमा मात्रै उनी बाहिर निस्केर अरूलाई दर्शन दिन पाउँथिन्।

त्योबाहेकका समय भित्रै बस्नु पथ्र्यो। देवी बनेर कुमारीघरमा बस्दा कहिलेकाहीँ लामो पूजा हुँदा त घन्टौंसम्म पनि नबोली बस्नुपथ्र्यो उनलाई। सायद यही कारणले होला, अहिले पनि उनी हत्तपत्त कोहीसँग बोली हाल्दिनन्। अन्तर्वार्ताका क्रममा राखिएका केही प्रश्नमा पनि उनले मन्द मुस्कानका साथ मुन्टोमात्रै हल्लाइन्, मुखले जवाफ दिइनन्।

kumari-unik_1छोरी कुमारी नियुक्त भएपछि बिहान बेलुकीको नित्य पूजा गर्ने जिम्मेवारी उनकै बाबु रमेश वज्राचार्यको थियो। कुमारीको पहिरन र जन्तर लगाएर कुमारीको आसनमा बसेपछि कोहीसँग बोल्न पाइन्न। यसरी आसनमा बसेकी कुमारीलाई रमेशले बिहान ७ बजे नित्य पूजा र साँझ ७ बजे आरती गर्ने गर्थे। आरतीपछि भने कुमारीको दर्शन अरूले गर्न पाउँदैनन्।

यसरी सधैं आफूले पूजा गरेकी देवीलाई अब त्यो आसनमा देख्न नपाउँदा रमेशलाई केही नरमाइलो त लागेकै छ। सुखदुख मि िश्रत भाव पोख्दै उनले भने, ‘मेरी छोरी देउता भएर भित्र बसेको पनि देखेँ। अब बाहिरको जिन्दगीमा भिजेर आफ्नो पढाइ पूरा गर्नेछ भन्ने सोचेर खुसी पनि लागेको छ।’

आफू बसिरहेको ठाउँ अरूलाई छाड्नुपर्दा युनिकाको मनमा पनि कताकता नरमाइलो त लागेकै छ। तर पनि अब नयाँ दुनियाँमा गएर आफ्नो भविष्यको सपना बुन्न पाएकोमा उनी हौसिएकी पनि छन्। भाइ रशेशले पिराउँदा पनि चुपचाप बस्ने युनिका भने पढाइमा मेहेनती छन्। उनलाई विज्ञान र सामाजिक शिक्षा अलि गाह्रो लाग्छ। तर परीक्षामा भने समग्रमा सबै विषयमा राम्रै अंक ल्याउँछिन् उनी।

कुखुराको मासु र अन्डा कुमारीलाई चढाइँदैन। उनका पूजाका लागि हाँसको अन्डा, माछा, समयबजी, फलफूल, रोटीलगायतका राखेर भक्तजनले ल्याउने गर्छन्। ल्याएका खानेकुरा चोखो नभए कुमारीले नखाने र यसो गर्दा आँटेको काम सफल नहुने जनविश्वास छ। युनिका मासु त्यति खाँदिनन्। उनलाई आलुका परिकार मीठो लाग्छ। फुर्सदमा उनलाई चित्र कोर्न र टेलिभिजन हेर्न मन लाग्छ।

यही फागुन ५ गतेबाट नयाँ कुमारीमा पाटनकै पाँच वर्षीया निहिरा वज्राचार्यलाई पदस्थापना गराइनेछ। गत पुस ८ गतेदेखि नै युनिकालाई पनि कुमारीको रूपमा पूजा गर्न बन्द गरिसकिएको छ। उनी कुमारी नियुक्त भएयता गुठी संस्थान, नगरपालिका र कौसी शाखाबाट जम्मा १० हजार एक सय रुपैयाँ प्रतिमहिना उनले पाउने गरेकी थिइन्। यही पैसाले नृत्य पूजालगायतका कुमारीको खर्च जुटाइन्थ्यो। विद्यालयले भने उनलाई निःशुल्क पढाइरहेको उनका बाबु रमेशले बताए।

हिजोआज उनी बिहान ६ बजे नै उठ्छिन्। विद्यालयबाट दिइएको गृहकार्य सकाएर केही बेर पढेपछि विद्यालय जाने तयारी गर्छिन् युनिका। विद्यालयबाट आएपछि खाजा खाएर फेरि गृहकार्य गर्नु र पढ्नु नै उनको दिनचर्या बनेको छ। खासै बाहिर घुम्न नगए पनि आफ्ना फुपूहरू, ठूलोबुबालगायतका आफन्तकहाँ उनी गएकी छिन्। निकै राम्रा चित्र बनाउने युनिका भविष्यमा चित्रकार बन्न चाहन्छिन्। त्यसैगरी भायोलिन बजाउने र गीत गाउने पनि उनका सौख हुन्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost