MENU

नानीबाबुसँग खिलराज रेग्मीका मनका कुरा

patan-college

खिलराज रेग्मी आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

मेरो बाल्यकालका दुईवटा घटना आजसम्म पनि स्मृतिमा ताजै छन्। मेरा दौंतरीहरू बिँडी पिउँथे। त्यतिबेला चुरोट पाइँदैनथ्यो। हाम्रो घरमा हजुरबुवाहरू तमाखु खानु हुन्थ्यो। हामी केटाकेटीलाई त्यसबाट टाढा रहन सचेत गराइन्थ्यो।

साथीहरूको लहलहैमा म पनि बिँडी तान्न थालेँछु। बिँडी खाएपछि धेरै गनाउँथ्यो। अभिभावकसँग परपरै हुनुपर्ने भयो। बिँडी लुकाउने भरपर्दो ठाउँ नभएपछि ठूूलै समस्या आइलाग्यो। लुकेर मात्र कति दिन खानु ? दुई दिन मात्र खाएर फेरि कहिल्यै नखाने संकल्प गरी मैले चटक्कै छाडिदिएँ। साथीहरूको बारेमा कसैलाई पनि भनिनँ। मैले नखाओ भन्दा उनीहरूले पनि सुनेनन्।

जीवनमा फेरि कहिल्यै चुरोट बिँडी खाने बानी पनि परेन। भाइबहिनीलाई मेरो के सुझाव छ भने साथीहरूको संगतले कहिलेकाहीँ कुलतमा फसिने सम्भावना हुन्छ। यसप्रति बहुत चनाखो हुनुपर्छ। खराब साथीको संगत छाड्दै अरू थप्दै जानुपर्छ।

न्यायको उद्देश्य असललाई प्रोत्साहन गर्ने र खराबलाई दण्ड दिएर समाजमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्नु हो।

एक पटक साथीहरूसँग समूहमा खेल्दाखेल्दै झगडा सुरु भयो। सबै दुई समूहमा विभाजित भए। म दुवैपट्टि लागिनँ। झगडाले उग्र रूप लियो। एउटा साथीले ढुंगो टिपेर हान्दा अर्कोलाई निधारमै लाग्यो। ह्वालह्वाली रगत बग्यो। म बीचमा बसेर उनीहरूलाई सम्झाउन थालेँ। तर, सकिनँ। नजिकै भएका अभिभावकलाई खबर गरेँ। उहाँहरू आएर मिलाउनु भयो। त्यहाँ ठूलो दुर्घटना टरेको थियो।

यस घटनाबाट मैले समूहमा खेल्दा ख्याल गर्नुपर्ने कुराहरू सिकेँ। अरूका घानमा कसरी परिन्छ भन्ने कुरा पनि थाहा पाएँ। हामीले रिस र आवेगलाई सानैदेखि नियन्त्रण गर्नुपर्छ। कसैप्रति पनि नकारात्मक भावना राख्नु हुन्न। गालीगलौज गर्नुहुन्न। सधैं सहनशील बन्नुपर्छ। यसलाई सानैदेखि अनुसरण गर्न सके जीवनभर काम लाग्ने रहेछ।

तिमीहरू सूचना र प्रविधिको युगमा छौ। घरैमा बसेर संसार घुम्न सक्छौ। प्रविधिसँग नजिक नहँदा अरूसँग प्रतिस्पर्धा गर्न सकिँदैन। अरूभन्दा कमजोर भइन्छ। तर यस्ता कुराको प्रयोगमा चनाखो हुनुपर्छ। अनावश्यक कुराले पढाइलाई असर गर्छ। समयको व्यवस्थापनमा पनि सचेत हुन जरुरी छ। यसमा अभिभावकको साथ र समर्थन सधैं आवश्यक हुन्छ।

हामी केटाकेटी हुँदाको समय ज्यादै फरक थियो। पढ्ने किताबसम्म पनि हुँदैनथे। मेरो प्रारम्भिक शिक्षा पाल्पाकै प्राथमिक स्कुलमा भयो। हाइस्कुल र आईएसम्मको अध्ययन बनारसमा गरेँ। त्यसपछि पाल्पामा बीए पढेँ। पछि पुनः कानुन विषय पढेर २०२८ सालमा न्यायसेवामा प्रवेश गरेँ। हिजोआज भाइबहिनीका अगाडि भएका सिक्ने अनि पढ्ने सामग्री देख्दा लोभ लागेर आउँछ।

हामीले खाली समय बिताउनु हुँदैन। समय र उमेर फेरि पाइँदैन। समयको सदुपयोग र व्यवस्थापनमा सानैदेखि ध्यान दिनुपर्छ। आफ्नो रुचिअनुसार सफलता र प्रेरणाका देशीविदेशी कथा पढ्नुपर्छ। समाजमा योगदान पु¥याएका संघर्षशील व्यक्तिका कथाव्यथाले हौस्याउँछ। केही गरौं भन्ने भावना बढाउँछ।

भाइबहिनीले सामाजिक गतिविधिको पनि ख्याल राख्नुपर्छ। समाजबाट धेरै कुरा सिकिन्छ। कला, साहित्य, संगीत संस्कृतिको थोरबहुत ज्ञान हुनैपर्छ। यी हाम्रा सम्पदा हुन्। हामीले हाम्रो पहिचान बुझ्न आवश्यक छ। यसले राष्ट्रिय भावनाको विकास गराउँछ। हामीले हाम्रा कर्तव्य र अधिकारको पनि ख्याल गर्नुपर्छ। यसलाई तहअनुसार सिक्दै र बढाउँदै जानुपर्छ।

यी यस्तैयस्ता कुराले हामीलाई मान्छे बनाउँछ। मान्छेको स्वरूपले मात्र मान्छे भइँदैन। अभिभावक र गुरुले बाटो देखाउने र वातावरण तयार पारिदिने मात्र हो। यसमा हामी आफैं जिम्मेवार बन्नुपर्छ। हरेक कुरालाई मेरोमात्र होइन हाम्रो भन्ने भावनाले सोच्नुपर्छ। यसले हामीलाई सामाजिक बन्न पेरणा प्रदान गर्छ।

हरेक कुरामा समाज जोडिएकै हुन्छ। समाजमा भिन्नभिन्न समुदायका, भिन्न धर्म मान्ने, फरक भाषा बोल्ने मानिसहरू हुन्छन्। समाजमा गरिबी र अभाव पनि हुन्छ। यसबारे सिक्न भिन्नभिन्न समाजको भ्रमण गर्नुपर्छ। साथीभाइसँग मेला, पर्व, चाडबाडबारे पनि जानकारी राख्नुपर्छ। यसबाट सामाजिक समानता, असमानता विभेद, अभाव आदिबारे थाहा हुन्छ।

न्यायको उद्देश्य असललाई प्रोत्साहन गर्ने र खराबलाई दण्ड दिएर समाजमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्नु हो। हामीले कसैप्रति खराब भावना राख्ने, पीडा दिने, अर्काको चीजवस्तुमा लोभ लालच गर्ने बानी गर्नु हुँदैन। यो नै न्यायपूर्ण एवं समतामूलक समाज निर्माणको बाटो हो। त्यसैले सानैदेखि आपसमा माया, सद्भाव राख्नुपर्छ। ईष्र्या र रिसले कहिल्यै कसैलाई फाइदा गर्दैन। यसलाई जीवनमन्त्र बनाउन जरुरी छ।

त्यसैले हामीमा लगनशीलता र दृढ संकल्प सधैं हुनुपर्छ। दृढ इच्छाशक्तिले गरेको कामको परिणाम पनि सार्थक र सही होस् भन्ने सधैं मनमा चिताउनु पर्छ। यस्तै यस्तै कुरा र संयोग पनि भनौं न्यायसेवाको उच्च पदमा काम गर्दागर्दै मलाई देशको उच्च कार्यकारी पदमा रहेर काम गर्ने मौका मिल्यो। जीवन सिकाइ नै त रहेछ। सिक्ने कुराको अन्त्य पनि हँदो रहेनछ। अनुभव पनि सिकाइको एउटा पाटो रहेछ।

 (मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश रेग्मीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost