MENU

बिरामी भत्ता अब खातामा, मृत्युपछि लिए ब्याजसहित असुलिने

patan-college

दिनेश गौतम मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

काठमाडौं : मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई दिइने जीवननिर्वाह भत्ताबापतको मासिक पाँच हजार रुपैयाँ सरकारले सिधै खातामा जम्मा गरिदिने भएको छ।

सूचीकृत अस्पतालमार्फत सम्बन्धित बिरामीको खातामा जम्मा हुने गरी भत्ता उपलब्ध गराइने भएको हो। सरकारले जारी गरेको जीविकोपार्जन भत्ता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७४ मा रकम (चेक) लिन बिरामी स्वयं उपस्थित हुनुपर्ने व्यवस्थासमेत राखिएको छ। बिरामी उपस्थित हुन नसके हक लाग्ने व्यक्तिले आवश्यक कागजात पेस गरेमा अस्पताल प्रमुखको स्वीकृतिमा चेक दिइनेछ। कुनै कारणवश बिरामीको मृत्यु भएपश्चात पनि जानकारी नगराइ भत्ता लिएको पाइए कानुनबमोजिम ब्याजसहित असुलउपर गरिने कार्यविधिमा उल्लेख छ।

यी रोगका बिरामीलाई सरकारले उपचार खर्च दिँदै आएको भए पनि पोषणयुक्त खाना र अस्पताल आउन-जान यातायातका लागि समेत सहज व्यवस्थापन होस् भनेर भत्ता उपलब्ध गराउन लागिएको स्वास्थ्य मन्त्रालय, नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख प्रा.डा. श्रीकृष्ण गिरीले बताए।

जीविकोपार्जन भत्ता सेवा सञ्चालन र व्यवस्थापन समितिको सिफारिसका साथै सम्बन्धित विशेषज्ञ चिकित्सकको प्रेसक्रिप्सन र नागरिकताको प्रतिलिपिका आधारमा भत्ताको निर्णय गरिनेछ। बालकको हकमा भने जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिने गरी भत्ता उपलब्ध गराउने व्यवस्था कार्यविधिमा उल्लेख छ।

कार्यविधिमा उल्लेख भएअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिले भत्ता उपलब्ध गराउन सिफारिस गर्नेछ। समितिमा सरकारी अस्पतालका प्रमुख सदस्य र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सदस्य सचिव रहने व्यवस्था छ। जिल्ला जनस्वास्थ्य कार्यालयमा रहने समितिको सचिवालयले दरखास्त संकलन गरी समितिसमक्ष पेस गर्नेछ। समितिले एकभन्दा बढी कडा रोग लागेमा पनि सिफारिस गर्नु पर्नेछ।

बिरामीलाई जीविकोपार्जनमा सहज बनाउन थप औषधि खरिदका लागि उपलब्ध गराउने उद्देश्य लिएको भत्ता प्राप्त गर्न सम्बन्धित चिकित्सकले सिफारिस गर्नुपर्नेछ। मिर्गौला प्रत्यारोपण नगरी औषधि सेवन गरिरहेका, डाइलासिस गरिरहेका र प्रत्यारोपण गरी आराम गर्न चिकित्सकले सिफारिस गरेका बिरामीलाई भत्ता दिइने भएको छ।

त्यस्तै विशेषज्ञ चिकित्सकको सिफारिसको आधारमा क्यान्सर रोग उपचाररत बिरामी र नियमित आयआर्जन गर्न असमर्थ भई चिकित्सकले आराम गर्न सिफारिस भएका बिरामीलाई भत्ता उपलब्ध गराइने भएको छ। स्पाइनल इन्जुरी भई पारालाइसिस रोग भएको भनी सिफारिस भएका बिरामी आयआर्जन गर्न नसक्ने भएमा चिकित्सकबाट सिफारिसबमोजिम भत्ता दिइने कार्यविधिमा उल्लेख छ।

सूचीकृत अस्पतालमार्फत सम्बन्धित बिरामीको खातामा जम्मा हुने गरी भत्ता उपलब्ध गराइने भएको हो।

धुम्रपान तथा सूर्तिजन्य पदार्थको अन्तशुल्क करबाट प्राप्त हुने स्वास्थ्य कर कोषबाट आर्थिक स्रोतको व्यवस्थापन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। जीविकोपार्जनबापतको रकमको व्यवस्था मन्त्रालयले गर्नेछ। दुई साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाले वीर अस्पतालको ट्रमा सेन्टरबाट क्यान्सर र स्पाइनल इन्जुरी भएका २१ जना बिरामीलाई ५÷५ हजारको चेक दिई मासिक जीविकोपार्जन भत्ता वितरण कार्यक्रमको शुरुवात गरेका थिए। गत पुस १३ गते मन्त्रिपरिषदले जीवन निर्वाह भत्ता दिने निर्णय गरेको थियो।

हालसम्म सरकारले यी तीन रोगका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ उपचार खर्च दिँदै आएको छ। मिर्गौलाका बिरामीलाई नि:शुल्क डाइलासिस, प्रत्यारोपण गर्नु परे चार लाख रुपैयाँ, प्रत्यारोपण औषधि उपचारका लागि एक लाख रुपैयाँ, प्रत्यारोपणपछिको औषधि उपचारका लागि एक लाख रुपैयाँबराबरको उपचार सुविधा नि:शुल्क दिँदै आएको छ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost