MENU

उत्तर कोरियासँग निःशर्त वार्ता गर्न अमेरिका तयार

patan-college

अन्नपूर्ण मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग कुनै शर्तविना वार्ता गर्न वासिङटन तयार रहेको बताएका छन्। वाशिङटन पोस्टमा अमेरिकी उपराष्ट्रपति पेन्सलाई उद्धृत गर्दै लेखिएको छ, ‘यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ।’

यद्यपि प्योङयाङले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत्तर कोरियाविरुद्धका कडा प्रतिबन्ध कायम राखिने अमेरिकी उपराष्ट्रपति पेन्सको भनाइ छ। दक्षिण कोरियामा शीतकालीन ओलम्पिक्सको उद्घाटन समारोहमा सहभागी भई स्वदेश फर्केपछि पेन्सको यो भनाइ आएको हो। उनी दक्षिण कोरियामा रहँदा त्यहाँका राष्ट्रपति मुन जे–इनसँग भेटवार्ता भएको थियो। यसअघि ट्रम्प प्रशासनले उत्तर कोरियाली नेता किम जोङ–उन निःशस्त्रीकरणका लागि तयार नभएसम्म उत्तर कोरियासँग वार्ता नगर्ने जनाएको थियो।

दक्षिण कोरियाली राष्ट्रपति मुनसँगको भेटवार्तामा उत्तर कोरियासँग संवाद बढाउने एउटा खाकामा आफूले सहमति जुटाएको पेन्सले बताउनुभएको जनाइएको छ। यसअघि दक्षिण कोरियाबाट स्वदेश फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पेन्सले उत्तर कोरियालाई दबाव दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको उल्लेख गरेका थिए। त्यस बेला अमेरिकी उपराष्ट्रपतिले उत्तर कोरियासँग वार्ता गर्ने विषयमा कुनै प्रकारको मतभेद नभएको दाबी गरेका थिए।

शनिवार उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनलाई प्योङयाङमा वार्ताका लागि निम्तो दिएका थिए। दुई कोरियाबीच रहेको तनावका समय दक्षिण कोरियाले आयोजना गरेको शीतकालीन ओलम्पिकले कोरियाली नेताहरूको भेटलाई सहज बनाइदिएको थियो।

उत्तरको निम्ता मान्दै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा आयोजना हुने शिखर सम्मेलनमा गएमा यसले दुई कोरियाली नेतृत्वबीच एक दशकभन्दा पनि लामो समयपछि उच्च तहमा भेटवार्ता हुनेछ। दक्षिण कोरियाका राष्ट्रपति मुनले निमन्त्रणा स्वीकार गर्नुअघि उत्तरबाट निश्चित शर्त पालना हुनुपर्ने दक्षिण कोरियाका प्रधानमन्त्रीले आइतवार बताएका थिए।

उत्तर कोरियाली टोली स्वदेश फिर्ता

लोकतान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट आइतबार राति स्वदेश फर्किएको छ। प्योङचाङ शीतकालीन ओलम्पिक प्रतियोगिता २०१८ को उद्घाटन समारोहमा सहभागी हुन आएको टोली उच्चस्तरीय भेटघाट गरेर आइतबार फर्किएको छ।

उत्तर कोरियाको संसद्का प्रमुख तथा देशको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिने किम योङ नामको नेतृत्वमा उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया आएको थियो।

प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको प्रथम उपनिर्देशक किम यो जोङ पनि सहभागी थिए। उनीहरू दुईजनासहितको चार सदस्यीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई उनकै कार्यालय ब्लु हाउसमा भेटवार्ता गरेको थियो।

भेटवार्ताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणापत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गरेकी थिइन्।

उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्य समेत रहेकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्बन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ किओनले जानकारी दिए।

सर्वोच्च नेता किमले जति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले त्यस अवसरमा जानकारी गराएकी थिइन्।

राष्ट्रपति मुन र भ्रमण टोलीबीच अनौपचारिक कुराकानी भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको कुरा गरेकी हुन्। यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण र भेटवार्ता हो।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost