MENU

आजबाट वेबबेस मोबाइल आईएमईआई दर्ता

patan-college

रञ्जनहरि कोइराला मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

 

काठमाडौं : आजबाट अनलाइनमा आधारित रहेर मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सकिने भएको छ । मोबाइलको आईएमईआई दर्ता प्रक्रियालाई सहज बनाउने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो । यसको सुरुआतसँगै मोबाइल आयातकर्ता व्यवसायी र व्यक्तिले सिधै अनलाइनमार्फत मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सक्ने भएका छन् ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार मोबाइल सेट र डिभाइसको बिक्रीवितरण तथा प्रयोगलाई थप व्यवस्थित तथा नियमित गर्ने क्रममा यसको सुरुआत गरिएको बताए । प्राधिकरणले दुई वर्षअघिबाटै मोबाइल आयात तथा बिक्रीवितरण गर्नुपूर्व आईएमईआई÷ईएसएन÷एमईआईडी दर्ता अनिवार्य गराउनुपर्ने व्यवस्था गरेको थियो ।

मोबाइल आईएमईआई दर्ता सुरु गरेसँगै यसलाई एक वर्षको अवधिमा डिजिटलाइज्ड गरेर अघि बढ्ने योजना बनाएका भए पनि दुई बल्ल आएर यसको सुरुवात भएको छ । यसबीचमा प्राधिकरणले इमेलमाफत आईएमईआई दर्ता गराउँदै आएको थियो ।

नेपालमा ठूलो मात्रामा अवैध रूपमा मोबाइल भित्रिने गरेको व्यवसायीको गुनासोलाई मध्यनजर गरेर प्राधिकरणले यसको सुरुआत गरेको हो । सिस्टम लागू भएसँगै अवैधानिक रूपमा मोबाइल भित्रिन रोकिने विश्वास व्यवसायीका साथै प्राधिकरणको पनि छ । नेपाल मोबाइल आयात संघका अध्यक्ष दीपक मलहोत्राले आईएमईआई नम्बर दर्ता प्रक्रियाले अवैध रूपमा मोबाइल भित्रिने क्रममा कमी आउने बताएका थिए ।

माघ २ मा प्राधिकरणले आयोजना गरेको गोष्ठीमा बोल्दै मलहोत्राले आईएमईआई दर्ता प्रक्रियाको सुरुआतसँगै अवैध रूपमा भित्रिएका मोबाइल बन्द हुने र अवैध मोबाइल बन्द हुनेबित्तिकै सरकारको राजस्वमा समेत वृद्धि हुने बताएका थिए । उनले यसबाट मोबाइल आयातकर्तालाई ठूलो राहत मिल्ने उल्लेख गरे ।

प्रवक्ता अर्यालका अनुसार यो दुई वर्षको अवधिमा अहिलेसम्म नेपालमा पाँचभन्दा बढी डिभाइसको टाइप एप्रुभल भएको छ भने एक करोड ७७ लाख हाराहारीमा मोबाइल डिभाइसको आईएमईआई दर्ता भएको छ । अब यसको सुरुआतसँगै मोबाइल फोन आयातकर्ता, प्रयोगकर्तालगायत सम्बन्धित सबैले मोबाइल सेट र डिभाइसको युनिक आइडेन्टिफायर नम्बर अनलाइनमार्फत वेबसाइटमा आफ्नो लगइन डिटेल्स प्रयोग गरी दर्ता गर्न सकिन्छ ।

प्राधिकरणले सेवा सुरु भएको पहिलो तीन महिनासम्म परीक्षणस्वरूप अनलाइन वा पत्र दुवै माध्यमबाट आईएमईआई÷ईएसएन÷एमईआईडी दर्ता गर्न सकिने जनाएको छ । तीन महिनापछि दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाटै हुनेछ ।

प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार अनलाइन आईएमईआई दर्ता प्रक्रिया अघि बढेसँगै इक्विपमेन्ट आइडेन्टिटी रजिस्टर (ईआईआर) को काम पनि सुरु हुनेछ । यसमार्फत नेपालमा भित्रिएका सम्पूर्ण इक्विपमेन्टको आईएमईआई नम्बर प्राधिकरणमा दर्ता हुन्छ । यसले प्राधिकरणमा दर्ता भएका सामानलाई मात्र एप्रुभ गरेर बाँकीलाई रिजेक्ट गर्नेछ । यो हुनेबित्तिकै गैरकानुनी रूपमा भित्रिएका मोबाइल नेपालमा चल्ने छैनन् ।

यसले ग्रे मार्केटलाई पनि निरुत्साहित गर्नुका साथै सरकारको रावस्वमा समेत उल्लेखनीय वृद्धि हुनेछ । त्यसका लागि अन्तर्राष्ट्रिय कन्सल्टेन्ट लगाएर यसको नियमनको प्रारूप तयार भइसेकेको छ । यससँगै मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । साथै आईएमईआई दर्ता गर्दा मोबाइल हरायो भने खोज्नसमेत सहज हुनेछ । यसमार्फत चोरीको मोबाइल कुन ठाउँमा कुन सिम हालेर प्रयोग भइरहेको छ पत्ता लगाउन सकिन्छ ।

प्रवक्ता अर्यालले भने, ‘अहिले मानिसका हरेक गतिविधि मोबाइलमा जोडिएको छ । देशको आर्थिकदेखि शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा यो अछुतो छैन । जसरी हरेक क्षेत्र मोबाइलमा आधारित छ, सोहीअनुरूप समस्या सिर्जना हुँदै गएको छ ।’ मोबाइल प्रयोग गरी चोरी, ह्याकिङलगायत कार्य सुरु भएको छ । त्यसको निगरानीका लागि पनि यो आवश्यक थियो ।

यो हुँदा विदेशबाट गिफ्टको रूपमा आएको मोबाइल पनि प्रयोगकर्ताले सहजै मोबाइलको आइएमईआई दर्ता गराउन सक्ने भए । ‘अहिले विदेशबाट गिफ्टको रूपमा आएको एक दुईवटा मोबाइलको हकमा भने के कसरी काम गर्ने भन्ने निर्धारण भएको छैन’, उनले भने, ‘पहिले उनीहरूलाई कतिवटा मोबाइलसम्म ल्याउन दिने भन्ने कुराको निर्धारण हुनेछ, त्यसपछि उनीहरूलाई अनलाइनमार्फत नै आईएमईआई नम्बर दर्ता गर्न सक्ने सुविधा उपलब्ध गराइनेछ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost