MENU

६ महिनमाको अर्थतन्त्र : महत्वपूर्ण परिसूचक नकरात्मक

patan-college

नवीन अर्याल मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

 

काठमाडौं : नेपाली अर्थतन्त्रको अर्धवार्षिक प्रगति खासै उत्साहजनक देखिएन। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा हासिल भएका आर्थिक परिसूचकले मुलुकको अर्थतन्त्र दबाबमा रहेको देखाएको हो। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अर्थतन्त्रका महत्वपूर्ण परिसूचक आरालो लागिरहेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार मुलुकको गैरकृषि क्षेत्रको आर्थिक गतिविधि विस्तार भइरहेका छन् । तर, यो वर्ष अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहने कृषि क्षेत्रको उत्पादन घट्ने राष्ट्र बैंकको अनुमान छ । यसले समग्र आर्थिक वृद्धिमा समेत असर पार्ने देखिन्छ । यो वर्ष ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य छ । पछिल्लो समय ऊर्जा आपूर्तिमा भइरहेको क्रमिक सुधार र निर्माण क्षेत्रमा आएको तीव्रताले गैरकृषि क्षेत्र विस्तारमा सहयोग पुगेको छ ।

समीक्षा अवधि (पुस महिना) मा मूल्य वृद्धि चार प्रतिशत कायम छ । गत वर्षको सोही अवधिमा मूल्य वृद्धि ३.२ प्रतिशत थियो । खाद्यान्नको मूल्यमा भएको वृद्धिले समग्र मूल्य वृद्धिदर बढ्न गएको हो । यो अवधिमा तरकारी, दुग्धजन्य पदार्थ, अन्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, माछा-मासुलगायत वस्तुको मूल्यमा वृद्धि भएको छ ।

तरकारी, दुग्धजन्य पदार्थ, अन्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, माछा-मासुलगायत वस्तुको मूल्यमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर २.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.३ प्रतिशत छ । यो वर्ष मूल्य वृद्धि ७ प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य थियो । सोहीअनुरुप मौद्रिक नीति बनाएको राष्ट्र बैंकले सोमबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मूल्य वृद्धिको लक्ष्य ६ प्रतिशतमा झारेको छ । तर, कृषिजन्य वस्तुको मूल्यमा हुने उतार-चढाव, निर्माण सामग्री र पेट्रोलियम पदार्थको मूल्यमा हुने फेरवदलले मूल्य वृद्धिमा दबाब पर्न सक्ने राष्ट्र बैंकको अनुमान छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तार निक्षेपको तुलनामा उच्च छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप एक खर्ब ५७ अर्बले बढ्दा कर्जा प्रवाह दुई खर्ब ९३ अर्बले बढेको देखिन्छ । रेमिट्यान्स आप्रवाहमा आएको कमीको कारण निक्षेप वृद्धि सामान्य रहेको हो । ६ महिनामा रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले घटेर तीन खर्ब ४० अर्ब ५४ करोडमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.७ प्रतिशतले बढेको थियो । भारतबाहेकका मुलुकबाट समग्र विप्रेषण घटेको छ ।

यस अवधिमा आयात उच्च दरले वृद्धि भएको र विप्रेषण आप्रवाहमा कमी आएकोले चालू खाता घाटामा वृद्धि भई ७५ अर्ब ७१ करोड पुगेको छ । यही कारण मुलुकको समग्र शोधानान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा गएको छ । गत वर्षको सोही अवधिमा शोधानान्तर ४५ अर्ब नाफामा थियो ।

तर, पनि देशको वैदेशिक मुद्रा सञ्चिति १०.६ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । शोधानान्तर घटामा गएपछि विदेशी विनिमय सञ्चिति १० खर्ब ६७ अर्ब ३४ करोडमा खुम्चिएको छ । गत आवको अन्त्य (असार मसान्त)मा विदेशी विनिमय सञ्चिति १० खर्ब ७९ खर्ब ४३ करोड थियो ।

६ महिनामा कुल व्यापार घाटा १५.१ प्रतिशतले बढेर चार खर्ब ९३ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि व्यापार घाटा उचालिएको हो । यो अवधिमा निर्यात १३.४ प्रतिशतले बढेर ४१ अर्ब १४ करोड पुगेको छ । आयात १५ प्रतिशतले बढेर पाँच खर्ब ३४ अर्ब १६ करोड पुगेको छ ।यो अवधिमा निर्यात-आयात अनुपात ७.७ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो अनुपात ७.८ प्रतिशत थियो ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय वृद्धिदर ६.७ प्रतिशत छ ।

गत वर्षको यसै समयमा ८.१ प्रतिशत थियो । गत वर्षको तुलनामा खुद वैदेशिक सम्पत्तिको वृद्धिदर कम रहेकाले विस्तृत मुद्राप्रदाय वृद्धिदर घटेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूबीचको अन्तरबैंक ब्याजदर ४.४० प्रतिशत छ । गत वर्षको सोही अवधिमा २.७१ प्रतिशत थियो ।

पछिल्ला महिनामा पुँजीबजार निरन्तर ओरालो लागिरहेको छ । यो पुस मसान्तमा नेप्सो परिसूचक १४३१.१ अंक रहेको छ । गत वर्षको यसै समयमा नेप्से परिसूचक १४७९.९ अंकमा थियो । राष्ट्र बैंकले नेप्सेमा सामान्य उतार चढाव स्वभाविक रहेको जनाएको छ । सेयर बजार निरन्तर घट्न थालेपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा थियो । तर, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजार उकास्ने राहतका कार्यक्रम ल्याएको छैन ।

वार्षिक औसत तलब तथा ज्यालादर सूचाकांक वृद्धिदर ६.१ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो वृद्धि १४.१ प्रतिशत थियो । गत वर्षको ६ महिनामा ४० अर्ब बचतमा रहेको सरकारी बजेट यो वर्षको सोही अवधिमा ३५ अर्ब घटामा छ । राजस्व परिचालनको तुलनामा कुल सरकारी खर्च बढी भएकोले बजेट घटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा सरकारी खर्च वृद्धिदर ४७ प्रतिशत छ । तर, सरकारी राजस्व वृद्धिदर १९.३ प्रतिशतमात्र रहेको छ । गत वर्षको सोही अवधिमा सरकारी खर्च वृद्धिदर ५५.७ प्रतिशत रहँदा राजस्व वृद्धिदर ६८.९ प्रतिशत थियो । यो वर्ष भन्सार महशुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्कलगायत राजस्वको वृद्धिदर कम रहेको भन्सार विभागले जनाएको छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost