MENU

विदेशी लोकेसनमा नेपाली चलचित्र

patan-college

अनन्त वाग्ले मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

 

काठमाडौं : केही वर्ष अघिसम्म चलचित्र छायांकनका लागि युरोप वा अमेरिका जाने कल्पना नेपाली निर्माताहरूले गर्नसक्ने अवस्था थिएन। तर, अहिले परिस्थिति फेरिएको छ। चलचित्रबाट कमाइ राम्रो हुन थालेपछि निर्माताहरू धक फुकाएर लगानी गर्न थालेका छन्। चलचित्रबाट हुने कमाइका साथमा लगानी पनि मनग्गे वृद्धि भएको छ।

४०, ५० लाखको सीमित बजेटमा बन्ने नेपाली चलचित्रमा अहिले करोडभन्दा माथि लगानी हुन थालेको छ। केही निर्माताले दुईदेखि पाँच करोडसम्म लगानी गरेर चलचित्र निर्माण गर्न थालेका छन्। स्वदेशमा मात्र होइन, गीत वा दृश्य छायांकन गर्न विदेश जाने क्रम अहिले निकै वृद्धि भएको छ।

पहिले विदेशमा बस्ने नेपालीले सोख पूरा गर्न केही नेपाली चलचित्र आफू रहेका स्थानमा छायांकन गरेका भए पनि अहिले व्यावसायिक रूपमै विदेश गएर चलचित्र छायांकन गर्न थालिएको छ। यसले एकातिर नेपाली चलचित्रले विदेशमा समेत बजार पाउन थालेको छ भने अर्कातिर कलाकार तथा प्राविधिकले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने अवसर पाउन थालेका छन्।

अहिले नायक आर्यन सिग्देल आफ्नो ड्रिम प्रोजेक्ट ‘कायरा’को छायांकनमा व्यस्त छन्। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन सेयर गर्दै उनले चलचित्रको छायांकन फिलिपिन्सका रमणीय स्थानमा गरेका छन्।

आफू अभिनीत चलचित्र बक्स अफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअर माथि उठाउन नयाँ लोकेसन हन्ट गरेका हुन्। कायराको निर्देशन लक्ष्मण रिजालले गरिरहेका छन्। लक्ष्मणले यसअघि आर्यनसँग फिल्म ‘धुवाँ यो नशा’मा काम गरेका थिए।

विदेशीहरू प्राकृतिक स्टुडियो भन्दै फिल्म, डकुमेन्ट्री खिच्न नेपाल आउने गर्छन् भने नेपाली निर्माताहरू नयाँ लोकेसन खोज्दै विदेश जाने क्रम बढ्दो छ।

यही क्रममा अभिनेता भुवन केसीले पनि चलचित्र ‘कृ’को एउटा गीत स्कटल्यान्डमा खिचेर हतारहतार चलचित्र प्रदर्शनमा ल्याए। अनमोल केसी र अदिति बुढाथोकीमाथि फिल्माइएको यो गीतले चलचित्रको हाइप निकै बढाएको छ।

निर्देशक मिलन चाम्सले ‘लिलिबिली’को छायांकन लन्डन, स्कटल्यान्ड, स्तानबुल लगायतका देशमा गरेका छन्। अहिले चलचित्र प्रदर्शनको मिति कुरिरहेको छ। कथाको मागअनुसार नै आफूले यसको छायांकन विदेशमा गर्नु परेको उनको भनाइ छ। मिलनले आफ्नो अघिल्लो चलचित्र ‘ह्याप्पी डेज’ पनि युरोपमा नै खिचेका थिए भने अर्को चलचित्र ब्लाइन्ड रक्स पनि बेलायतमा खिचिएको छ।

प्रदीप खड्का, प्रियंका कार्की र जसिता गुरुङ अभिनीत लिलिबिलीको लगानी समान्य चलचित्रमा भन्दा तेब्बर लागेको निर्माता गोविन्द शाहीको भनाइ छ।

यस्तै मुकुन्द भट्टको ‘लप्पनछप्पन’ युरोपका विभिन्न देशमा खिचिएको थियो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल र वर्षा शिवाकोटी मुख्य भूमिकामा थिए। केही समयअघि वसन्त निरौलाको निर्देशनमा ‘होलिडे’ नामक चलचित्र पनि युरोपमा छायांकन गरिएको छ।

अभिनेता दिलीप रायमाझीले सुरेशदर्पण पोखरेलको निर्देशनमा मलेसियामा ‘मिस यु’ छायांकन गरेका थिए। अस्ट्रेलियालगायत विश्वका अन्य केही देशमा खिचिएको थियो अर्को चलचित्र ‘दी विनर’।

हङकङनिवासी पृथ्वी रानाले ‘परे नि माया जालैमा’ नामक चलचित्र हङकङमा खिचेका थिए। चलचित्रमा दिलीप रायमाझी र झरना वज्राचार्य मुख्य भूमिकामा थिए।

रमित ढुंगानाले ‘बुद्ध बर्न इन’ नेपालका केही दृश्य अमेरिकामा खिचाए। अभिनेता सुधांशु जोशीले पनि ‘नेपाल’ नामक फिल्मका केही दृश्य अमेरिकामा खिचाएका थिए। आकाश अधिकारीले आफ्नो फिल्म ‘काठमाडौं’को केही दृश्य अमेरिकामा खिचेका थिए।

रामशरण पाठक निर्देशित ‘प्रेम गीत–२’को छायांकन थाइल्यान्डमा गरिएको थियो। अभिनेता नीरज बरालको ‘स्टुपिड मन’को केही दृश्य पनि थाइल्यान्डमा खिचिएको थियो। निर्देशक ऋषिराज आचार्यले ‘ड्रिम गर्ल’का केही दृश्य थाइल्यान्डमा खिचे।

निर्देशक मुस्कान ढकाल ‘समर लभ’ पर्दामा उतार्न व्यस्त छन्। चलचित्रका केही दृश्य नर्वेमा छायांकन हुँदैछ। सवीर श्रेष्ठको निर्देशनमा रमेश त्वायनाले निर्माण गरेको ‘आधी बाटो’को केही दृश्य र एउटा गीत बेल्जियम र लक्जेम्बर्गमा खिचिएको थियो।

राजवल्लभ कोइरालाको ‘राघव’को छायांकन अमेरिका र अस्ट्रेलियामा गरिएको थियो। निर्माता तथा अभिनेता कुशल थापाले ‘ह्याप्पी न्यु इअर’को छायांकन अस्टे«लियामा गरे।

‘मेरो एउटा साथी छ’ बनाएर चर्चामा आएको आइकोर इन्टरटेनमेन्टले अहिले चलचित्र ‘इन्टुमिन्टु लन्डनमा’ निर्माण गरिरहेको छ। कोरियोग्राफर हुँदै यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेकी रेनेशा राईले यसको छायांकन लन्डनमा गरिरहेकी छन्। झरना थापाले सुरज सुब्बाको निर्देशनमा ‘फेसबुक’ निर्माण गरेकी थिइन्। फेसबुकका केही दृश्य सिंगापुरमा खिचिएको थियो।

धेरै वर्षपहिले बेलायतमा कस्तुरी छायांकन गरिएको थियो। विनोद मानन्धरले निर्माण गरेको यो चलचित्र छायांकनकै क्रममा विनोद र करिश्माको भेट भएको थियो। फिल्ममा अजय शेखर र करिश्माको मुख्य भूमिका थियो।

विदेशमा नेपाली चलचित्रको व्यावसायिक रूपमै छायांकन हुने क्रम बढे पनि व्यापारिक हिसाबले भने प्रायः चलचित्र असफल नै देखिएका छन्। केही अपवाद छोडेर छायांकनका लागि विदेशमा गरिएको लगानीले नेपाली दर्शक तान्न भने सकेको छैन।


विदेशीहरू प्राकृतिक स्टुडियो भन्दै फिल्म, डकुमेन्ट्री खिच्न नेपाल आउने गर्छन् भने नेपाली निर्माताहरू नयाँ लोकेसन खोज्दै विदेश जाने क्रम बढ्दो छ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost