MENU

‘अध्यक्षकै हैसियतमा केपी ओली प्रधानमन्त्री’

patan-college

अन्नपूर्ण मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

काठमाडौँः नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

राईले एमाले र माओवादी केन्द्रवीचको एकता पनि चाँडै घोषणा हुने विश्वास दिलाए । उनले भने, ‘दुई पार्टीवीचको एकताबारे अब शङ्का तथा उपशंका गर्ने कुनै ठाउँ छैन, एकता छिट्टै घोषणा हुन्छ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ।’

उनले आफूले यसअघि पनि पटक पटक ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने भनेर सार्वजनिक रूपमै बोलिसकेकाले अब पनि त्यही हुने जिकिर गरे ।

उनले आफूले फागुन ३ गते दिउँसो ३ बजे प्रदेश नम्बर १ को मुख्यमन्त्रीको सपथग्रहण लिने पनि जानकारी दिए । त्यस्तै उनले सोही दिन आफूले सानो र छरितो क्याबिनेट विस्तार गर्ने जानकारी दिए ।

राईले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि कामका प्राथमिकताहरू सार्वजनिक गर्ने जनाए । उनका अनुसार आफ्नो पहिलो प्राथमिकतामा प्रदेश नम्बर १ लाई भ्रष्टाचारमुक्त बनाउने रहेको छ । उनले भने, ‘हामी भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्छौँ, भ्रष्टाचारलाई हामी शून्यमा झार्छौँ।’

त्यस्तै उनले उक्त प्रदेशलाई सुशासन र समृद्ध बनाउने पनि जनाए । राईले भने, ‘भ्रष्टाचारमुक्तपछि हाम्रो अर्को योजना विकास र समृद्धि नै हो, त्यसको लागि गुरुयोजना अघि बढाउँछौँ।’ राईले प्रदेश नम्बर एकलाई समृद्ध र देशकै नमुना प्रदेश बनाउनको लागि आफूहरूसँग गुरुयोजना रहेको बताउँदै उक्त गुरुयोजनाअनुसार नै काम गर्ने विश्वास दिलाए ।

उनले एक नम्बर प्रदेश कृषि, पर्यटन, जलविद्युत सबै हिसाबले सम्भावना बोकेको प्रदेश भएकोले सोही अनुसार आफूले काम गर्ने जनाए । उनले थपे,‘हाम्रो प्रदेशमा लाखौँ लाख पर्यटकहरू आउनुहुन्छ, पर्यटकीयस्थलको विकास गर्न हामी केन्द्रित हुन्छौँ, त्यस्तै जलश्रोतको विकासमा पनि हामी पूर्ण रूपमा केन्द्रित हुन्छौँ।’

राईले देशको कुल जलविद्युत क्षमताको एक तिहाइ क्षमता एक नम्बर प्रदेशमा भएकोले सोही अनुसार आफूले काम अघि बढाउने योजना सुनाए । राईले औद्योगिक विकास र आईटीको पनि विकासमा विशेष ध्यान दिइने बताए ।

उनले भने,‘हामी यो प्रदेशलाई समृद्ध र देशकै नमुना प्रदेश बनाउँछौँ, हामी सक्छौँ।’ उनले एक नम्बर प्रदेशको नामांकन र प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने कुरा प्रदेश सभाको अधिकारको विषय भएकोले सोही अनुसार निर्णय लिइने पनि जानकारी दिए ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost